नयाँदिल्ली — आगामी वर्ष हुने केन्द्रीय संसद् (लोकसभा) को चुनावको ‘सेमिफाइनल’ का रूपमा हेरिएको पाँचवटा प्रदेश चुनावमा भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो धक्का व्यहोरेको छ ।

कांग्रेसका कार्यकर्ता खुशीयाली मनाउँदै
राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यको विधानसभा चुनावको पछिल्लो मतपरिणामलाई हेर्दा भाजपाले निराशाजनक नतिजा हात पार्ने निश्चित देखिएको छ । पाँच राज्यमध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाकै सरकार थियो । यी तीनै राज्यमा उसले नमिठो हार व्यहोरेको छ ।मध्यप्रदेश र छत्तीसगढको परिणामले भने भाजपाका लागि ठूलो झड्का ठानिएको छ । भाजपा नेतृत्व मध्यप्रदेशमा कंग्रेसले कडा टक्कर दिने भए पनि सरकारको नेतृत्व गर्न पाउनेमा ढुक्क देखिन्थ्यो । मुख्यमन्त्री शिवराज सिंह चौहान राज्यमा लोकप्रियरहेको हुँदा केही असन्तुष्टिका बाबजुद सरकार बनाउनेमा भाजपा नेतृत्व निश्चिन्त थियो ।त्यसमाथि मायावती नेतृत्वको बहुजन समाजवादी पार्टीलेकंग्रेससँग चुनावी समीकरण नगरेपछि भाजपा थप उत्साही बनेको थियो । तर, मंगलबारको परिणामले भाजपाको ती सबै आकलनलाई गलत सावित गरेको छ । परिणामस्वरूप पन्ध्र वर्षपछि कंग्रेसले मध्यप्रदेशको नेतृत्व भाजपाबाट छिनेको छ ।
पाँच वर्षअघि २३० मध्ये १६५ सिट जितेको भाजपा यस पटक भने १०९ सिटमा सीमित भएको छ । मध्यप्रदेशमा भाजपाको हारका पछाडि विशेषगरी नोटबन्दी, जीएसटी, कृषकहरूले व्यहोर्नुपरेको सास्तीलगायतलाई कारण ठानिएको छ ।त्यस अतिरिक्त राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भने एन्टीइन्कम्बेन्सी फ्याक्टर पनि हारका लागि जिम्मेवार रहेको राजनीतिक विश्लेषकहरूले दाबी गरेका छन् । साथै प्रदेश सरकारको नेतृत्व र आमजनताबीच आवश्यक संवाद नहुनु पनि धक्काको कारण रहेको बुझाइ छ । त्यसैगरी विगत पन्ध्र वर्षदेखि छत्तीसगढमा सरकारको नेतृत्व गर्दै आएको भाजपा चुनाव जित्नेमा ढुक्क देखिन्थ्यो ।मुख्यमन्त्री रमण सिंहको कार्यकाल सन्तोषजनक नै ठानिएको थियो । मतगणनाअघिका सर्वेक्षणहरूले पनि छत्तीसगढमा भाजपा पुन: दोहोरिन सक्ने सम्भावना देखाएका थिए । तर मतगणनाको अन्तिम नतिजा सबैलाई चकित पार्ने खालको रह्यो । कांग्रेसले कुल ९० सिटको प्रदेशसभामा ६८ सिटसहित बहुमत हात पारेको छ । जबकि सत्ताधारी भाजपा १६ सिटमै सीमित छ । पाँच वर्षअघि भाजपाले ४९ सिटसहित सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो ।
राजस्थानको परिणाम त अपेक्षित नै ठानिएको छ । यहाँ २०० सिटमा चुनाव भएकोमा कंग्रेसले ९९ सिटमा जित हात पारेको छ भने भाजपा ७३ सिटमा सीमित छ । बहुजन समाजवादी पार्टीले तीन सिटमा जित हासिल गरेको हुँदा प्रस्ट बहुमत नभए पनि कंग्रेस नेतृत्वमा सरकार बन्ने निश्चित छ ।जबकि पाँच वर्षअघि भाजपाले १६३ सिटमा जित हासिल गरेको थियो । राजस्थानमा केन्द्र सरकारका नोटबन्दी र जीएसटी लागू गर्ने निर्णयभन्दा पनि मुख्यमन्त्री बसुन्धरा राजेविरुद्ध पार्टीभित्रै व्यापक असन्तुष्टि हुनु र राज्यमा बनेको जातीय राजनीतिक समीकरणलाई भाजपाको हारका लागि प्रमुख कारण ठानिएको छ ।मुख्यमन्त्री राजेविरुद्ध कार्यकर्तासँग सम्पर्कमा नरहेको लगायत आरोपसमेत थियो । त्यस अतिरिक्त अघिल्लो चुनावमा साथ दिएको राजपुत समुदाय यस पटक राजेविरुद्ध उत्रिनुलाई पनि भाजपाको हारका लागि जिम्मेवार ठानिएको छ । विपक्षी भारतीय राष्ट्रिय कंग्रेसको विगतमा जस्तो प्रदेश नेतृत्वमा विवाद नहुनु, तल्लोतहसम्म संगठन परिचालन बलियो हुनु पनि भाजपा हारको कारण बन्न पुग्यो ।
दक्षिणी भारतीय राज्य तेलंगानामा भने सत्ताधारी दल टीआरएसले भारी बहुमत हासिल गरेको छ । राज्यको कुल ११९ विधानसभा सिटमध्ये मुख्यमन्त्री केसीआर राव नेतृत्वको टीआरएस गठबन्धन ८८ सिटमा विजयी भएको छ । कंग्रेस र तेलगुदेशम पार्टी गठबन्धनले १९ सिट जितेको छ ।अघिल्लो चुनावमा पाँच सिट जितेको भाजपा एक सिटमा सीमित भएको छ । राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा ऐतिहासिक जित हात पारेको कंग्रेसले मिजोरममा भने नमिठो हार व्यहोरेको छ । ४० सिटको मिजोरम विधानसभामा कंग्रेस ५ सिटमा सीमित भएको छ । त्यहाँ मिजोरम नेसनल फ्रन्टले २६ सिटसहित बहुमत हासिल गरेको छ ।भाजपाको हारका पछाडि केन्द्रीय सरकारले पछिल्लो साढे चार वर्षमा लिएका नीति र प्रदेश सरकार सञ्चालनमा रहेका कमीकमजोरी प्रमुख रूपमा जिम्मेवार ठानिएका छन् । त्यस्तै भाजपाले चुनावताका दिएको धार्मिक अतिवाद नाराविरुद्धको अभिमतसमेत भनेका छन् । उसले विशेषगरी मध्यप्रदेश र राजस्थानमा अयोध्यामा राम मन्दिर निर्माणलगायत धार्मिक मुद्दालाई बढी उचालेको थियो । मतदातालाई धार्मिक मुद्दा ध्रुबीकृत गर्न सकिन्छ भन्ने आकलनसहित भाजपाले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पछिल्लो निर्वाचनमा प्रमुख प्रचारकका रूपमा परिचालन गरेको थियो । योगी एक्लैले चार राज्यका ७४ वटा चुनावी सभालाई सम्बोधन गरेका थिए । जबकि प्रधानमन्त्री मोदीले ४३ वटा सभालाई मात्र सम्बोधन गर्न भ्याएका थिए ।
योगीले प्राय: सबैजसो चुनावी सभामा हिन्दुत्व, राम मन्दिरलगायत मुद्दालाई जोडतोडका साथ उठाएका थिए । त्यसबाहेक पछिल्लो पाँच वर्षमा केन्द्रदेखि प्रदेशसम्म पूर्वाधार निर्माण र भ्रष्टाचार न्यूनीकरणका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गरिएको थियो । विपक्षीहरूले भने रफाल लडाकु खरिद प्रकरण, किसानका समस्या, बेरोजगारी, नोटबन्दी, जीएसटीलाई प्रमुख चुनावी मुद्दाका रूपमा अघि सारेका थिए ।नतिजाले भारतीय मतदाताको चासो राम मन्दिर निर्माणलगायत हिन्दुत्वको राजनीतिमा भन्दा पूर्वाधार, बेरोजगारी, महँगी, बजार भाउजस्ता मुद्दामा बढी रहेको देखाएको छ । चार वर्षअघि सत्तामा आएको भाजपाले देखाएको राजनीतिक असहिष्णुतालाई पनि उसको हारको कारण ठान्नेहरू पनि प्रशस्त छन् ।विपक्षी भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धीले ‘कांग्रेसमाथि ठूलो जिम्मेवारी आएको बताएका छन् ।’ उनले टिवटरमा लेखेका छन्, ‘हामी अब राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा त्यस्तो सरकार दिनेछौं, जसमा त्यहाँका किसान र युवाले गर्व गर्नेछन् ।’
कंग्रेस प्रवक्ता सन्जय झाले भाजपाको हिन्दुत्वको नाराविरुद्ध कांग्रेसले किसानका समस्या, बेरोजगारी, दलित र अल्पसंख्यकले भोगेका समस्याहरूलाई चुनावी मुद्दा बनाएका कारण विजय हासिल गरेको बताए । ‘भ्रष्टाचार र संस्थागत हमलाका विरुद्धपन हो । भाजपाले हिन्दुत्वको मुद्दा उचाल्यो । सबै मुद्दाहरूलाई धार्मिक रंग दिने प्रयास गर्यो । उसको अतिवादविरुद्ध जनताले प्रकट गरेको अभिमत हो,’ झाले भने ।
-सुरेशराज न्यौपाने/ कान्तिपुर

