डा. सुरेन्द्र झा, सहमहामन्त्री, राष्ट्रिय जनता पार्टी नेपाल
अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएपछि राजपामा असन्तुष्टि पैदा भएको हो ?
– जुन प्रक्रियाबाट संयोजक परिवर्तन भयो, यसबाट राजपा कतातिर जाँदैछ भन्नेमा गम्भीर आशंका र असन्तुष्टि पैदा भएको हो । संयोजक परिवर्तन भएकोमा असन्तुष्टि होइन, तर संयोजक परिवर्तन गर्दा जुन प्रक्रिया अपनाइयो, त्यसमा गम्भीर संशय उत्पन्न भएको छ ।
एकाएक किन यस्तो अवस्था आएको हो ?
–तत्कालीन ६ वटा मधेस केन्द्रित दलहरू मिलेर राजपाको गठन भएको हो । त्यसमा तत्कालीन तमलोपा सबैभन्दा ठूलो पार्टी थियो । त्यस पार्टीका अध्यक्ष महन्थ ठाकुरको निष्ठा, त्याग र व्यक्तित्व हामी सबैलाई थाहा छ । उहाँ जस्तो नेताको अगुवाइमा राजपा गठन गरिएको थियो । हामीले जुनबेला पार्टी निर्माण गरेका थियौ, त्यसबेला अध्यक्ष मण्डल चक्रिय प्रणालीबाट जाने छ भन्ने सहमति गरिएको थियो । सुरुमा ठाकुरजीलाई सबैभन्दा ठूलो पार्टीको हैसियतमा अध्यक्ष मण्डलको संयोजक बनाइयो । त्यसको दुई महिनापछि राजेन्द्र महतोको पालो आउने थियो । बैठकमा ठाकुरजीले प्रस्ताव राख्नुभयो, मेरो समय सकियो, अब जसको पालो छ, त्यसलाई संयोजक बनाऔं । तर महतोजीले चक्रिय प्रणाली हुँदैन, तपाईले नै नेतृत्व लिनुहोस्, तपाई अग्रज हुनुहुन्छ भन्नुभयो । यसमा अध्यक्ष मण्डलका अन्य सदस्यहरूले पनि समर्थन जनाए । यस विषयमा मिडियाले प्रश्न गर्दा महतोजीले यो तपार्ईहरूको प्रश्न होइन, यो हाम्रो आन्तरिक कुरा हो । मलाई महन्थ ठाकुर संयोजक हुँदा आपत्ति छैन भने तपाईललाई केको आपत्ति भयो भनी प्रतिक्रिया दिनुभएको थियो । तर एक साताअघि अध्यक्ष मण्डलको बैठकमा संयोजक फेर्न महेन्द्र यादवले प्रस्ताव गर्नुभयो र त्यसलाई शरतसिंह भण्डारीले समर्थन गर्नुभयो । सो प्रस्तावलाई महन्थजीले एकै स्वरमा कुनै तर्क नगरी हुन्छ भन्नुभयो । त्यसको एक मिनेट पनि नबित्दै सादा कागजमा विज्ञप्ति ल्याइयो । त्यो पहिले नै तयार गरिएको रहेछ । छापामार शैलीमा विज्ञप्ति बनाइयो । त्यसमा प्रयोग नै गर्न नहुने भाषा उल्लेख गरिएको छ । सबै दोष ठाकुरलाई लगाइयो । संविधान संशोधन नहुनुमा पनि ठाकुरलाई दोष लगाइयो । ठाकुरलाई असफल भएको देखाउन गैरराजनीतिक शब्द प्रयोग गरिएको थियो । पुरानो लेटरप्याडको माथिल्लो भागमा राखी विज्ञप्ति तयार गरियो । त्यहाँ एक लाइन बहुमतीय शब्दबाट संयोजक परिवर्तन गरिएको वाक्य पनि राखियो ।

हाम्रो विधानले नै अध्यक्ष मण्डलको निर्णय सर्वसम्मतबाट गरिने छ, भनेको छ । सर्वसम्मत निर्णय गर्दा महन्थ ठाकुर पनि एकजना सदस्य हो नि । अनिल झाले त्यसमा अहमति जनाउनुभएको छ । त्यसैले यसमा सर्वसम्मत निर्णय भएन । हामीले प्रधानमन्त्रीलाई छठ पर्वसम्म समय दिएका थियौ । यसबेला प्रधानमन्त्रीलाई ताकेता गर्नुपर्ने बेला हो । यसैगरी अहिले हाम्रो महाधिवेशन पनि आउँदै छ । यस्तो बेला संयोजक फेर्न‘ विना सन्दर्भको काम हो । अनावश्यक समयमा अनावश्यक डम्फू बजाउने काम भयो । यो किर्ते काम भयो । यसबाट हाम्रा पार्टीका नेताहरू नै मधेसलाई कमजोर बनाउन या संविधान संशोधन हुन नदिने खेलतिर लाग्नु भयो कि भन्ने आशंका जन्मेको छ । संविधान संशोधनमा ठाकुरजीले चट्टानी अडान देखाउनुभएको छ, यसलाई तुहाउन उहाँहरू लाग्नुभयो कि भन्ने शंका पनि देखिएको छ ।
यसले पार्टीलाई फुटको स्थितिमा ल्याएको हो ?
– महन्थ ठाकुरले नेपाली कांग्रेस त्याग गरेर तमलोपा बनाउनु भएको थियो । उहाँ संघर्षको बाटोमा हिँड्नु भएको थियो । उहाँ जस्तो सुझबुझ भएको र वरिष्ठ नेता मधेसमा आउनुभएको थियो । मधेसमा तीनवटा आन्दोलन गर्दै मधेसको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न उहाँ सफल हुनुभएको थियो । उहाँले आफ्नो पार्टीको हैसियतलाई समेत बिर्सेर रातारात पार्टी एकीकरण गर्नुभयो । तर कुनै नेतालाई भने अध्यक्ष मण्डलको सदस्य भएकै हैसियतले म पनि महन्थ ठाकुर बराबरकै नेताको हैसियतमा भएछु भन्ने लागेको रहेछ । त्यस्तो भ्रम राख्ने साथीहरू पनि अध्यक्ष मण्डलमा हुनुहुन्छ । पार्टीमा अध्यक्ष मण्डल असफल भयो, यो मोर्चा जस्तो भयो । आन्दोलनकारी साथीहरूलाई अपहेलना गर्ने काम भयो । समानुपातिकमा नियुक्त गर्दा करोडौंको खेल भयो । एक करोडदेखि सात करोडसम्म लिएर समनुपातिकमा मनोनयन गरियो । त्यसैले एकल नेतृत्वमा जानुपर्छ भनेर हामी दोस्रो तहका नेताहरूले एउटा अभियान सुरु गरेका थियौ । विगतको राजनीतिक समितिको बैठकले पनि महाधिवेशनपछि राजपा एकल नेतृत्वमा जानुपर्छ र यसको अगुवाइ महन्थ ठाकुरले गर्नुपर्छ भनेर उहाँलाई म्यान्डेट दिएको थियो । त्यसमा एकजना आमन्त्रित सदस्य केशव झाले मात्र अध्यक्ष मण्डलको पक्षमा बोल्नुभएको थियो । अरु सबै साथीहरूले अध्यक्ष मण्डल खारेज गर्नुपर्छ भन्ने पक्षमा बोल्नुभएको थियो । ठाकुरले संविधान संशोधनमा यसरी अडान राख्नुभयो कि, संशोधनविना सरकारमा जान्नौं भनी उहाँले प्रस्ट बोल्नुभयो । त्यसमा केही साथीहरूलाई अब हामी सरकारमा नजाने पो हौं कि, भ्रष्टाचार गर्न नपाउने भयौं कि भन्ने पनि लागेको हुन सक्छ । त्यो पनि एउटा कारण हुन सक्छ । मधेसलाई कमजोर बनाउन र महन्थ ठाकुरलाई कमजोर देखाउन एउटा अन्तर्राष्ट्रिय शक्ति लागेको छ । त्यसको हात छ कि भन्ने पनि आशंका देखिएको छ ।
के अब पार्टी विभाजन हुन्छ त ?
– महन्थ ठाकुरले एकलौटी र जातीय हिसाबले काम गर्नुभयो भन्ने आरोप उहाँमाथि लगाइएको छ । प्रदेशमा समानुपातिकमा सांसद नियुक्त गर्दा जब सहिद परिवारको पालो आउँछ, त्यो चाहिँ महन्थ ठाकुरको कोटामा राखियो । सहिदको आमालाई ठाकुरको कोटाबाट समानुपातिक सांसद बनाइयो । दलित महिला कोटाबाट सप्तरीकी एक महिलालाई समानुपातिकमा ल्याउँदा ठाकुरको कोटाबाट ल्याइयो । तर आफ्नो कोटामा परेकाहरूलाई भने बजारबाट पैसा उठाएर सांसद बनाइयो ।
महाधिवेशनको तिथि घोषणा भइसकेपछि सबैभन्दा पहिले राजेन्द्र महतोले पदाधिकारी नियक्त गर्नुभएको थियो । बारा र धनुषाबाट ल्याएर पदाधिकारी बनाउनुभयो । नेपालगन्जका एकजना साथीलाई पदाधिकारी बनाउनुभयो । सुरुवात उहाँले नै गर्नुभयो, तर दोष भने ठाकुरजीलाई लगाउनु भयो । त्यसमा एक दुईजना साथी हाम्रो पनि आउनुभयो । किनभने तत्कालीन तमलोपा सबैभन्दा ठूलो पार्टी थियो । हाम्रा ती साथीहरूलाई हामीले पनि समेट्नुपर्छ । जयप्रकाश ठाकुरलाई महामन्त्रीमा मनोनयन गर्ने काम राजेन्द्र महतोले गर्नुभयो । ठाकुरले हस्ताक्षर मात्र गर्नुभएको थियो, तर अहिले ठाकुरमाथि नै प्रश्न गर्ने काम भयो ।
तर ठाकुरले नीति आयोगमा तपाईलाई मनोनयन गर्नुभयो नि ?
– तपाईले प्रदेश २ को नीति आयोगको कुरा गर्नुभयो । नीति आयोगमा दुईजना सदस्य मात्र मनोनीत गर्नुभएको हो । त्यसमा एकजना राजकुमार लेखी हुनुहुन्छ । उहाँ आदिवासी थारु समुदायका नेता हुनुहुन्छ । अर्को सदस्यमा मेरो नियुक्ति भएको छ । पार्टीले मलाई योग्य ठानेर नियुक्त गरेको हो । म तीन÷तीनवटा मधेस आन्दोलनमा सक्रिय भएँ । आन्दोलनको नेतृत्व गरें । हातखुट्टा भाँच्चियो । त्यतिखेर अध्यक्ष मण्डलका सदस्यहरूले तपाई बाहुन हो, झा जातको हो तपाई किन आन्दोलनमा आउनुभयो भनेर कसैले सोध्नुभएन । त्यतिखेर म आन्दोलनको नेता थिएँ । पार्टीको पदाधिकारी थिएँ । अहिले पनि पदाधिकारी छु । यसको मतलब मेरो नियुक्तिमा कसैलाई आपत्ति छ भने शुभलाभ लिएर पार्टीभन्दा बाहिरको व्यक्तिलाई नियुक्त गर्ने जुन चलन छ, त्यो चलन उहाँले पूरा गर्न पाउनुभएन । त्यसबाट उहाँलाई उठेको आक्रोश मात्र हो । पार्टी बाहिरका साथीहरूले पनि नीति आयोगमा सक्षम व्यक्तिलाई मनोनयन गरियो भनेर चर्चा गर्ने गरेका छन् । त्यसमा महेन्द्र यादवलाई किन आपत्ति भयो ? पैसा लिएर नियुक्त गर्न नपाएकोमा उहाँमा आक्रोश जन्मेको हुन सक्छ ।
ठाकुर संयोजक हुँदा गरेका सबै नियुक्ति खारेज गर्ने भनेर अध्यक्ष मण्डलको बैठकले निर्णय गरेको छ । त्यो निर्णय तपाईंको हकमा लागू हुन्छ कि हुँदैन ?
– हेर्नुहोस्, एउटा वक्तव्य निकालेर संयोजकले गरेका नियुक्ति खारेज गर्ने चलन आयो भने यो पार्टीमा बाहिरबाट कुनै पनि मान्छे आउँदैन । आज एउटाले नियुक्त गर्ला, भोलि त्यसलाई अर्को संयोजकले खारेज गर्ला । त्यसैले ठाकुरले गरेका कुनै पनि नियुक्त खारेज हुँदैनन् । र, उहाँले गरेका राजनीतिक नियुक्तिहरू कुनै पनि खारेजी हुँदैनन् । केही नियुक्ति संवैधानिक नियुक्ति हुन्, संवैधानिक हिसाबबाट पनि खारेज गर्न मिल्दैन ।
तर अध्यक्ष ठाकुर एकलौटी र जातीय हिसाबबाट जानुभयो भन्ने आरोप लागेको छ नि ?
– यस्तो कुरा महेन्द्र यादवले गर्नुभएको मैले सुनेको हुँ । उहाँले गैरराजनीतिक शब्द बोल्नुभएको हो । महेन्द्र यादवलाई पार्टीले कारबाही गर्नुपर्छ ।
भनेपछि महेन्द्र यादवलाई नै पार्टीले कारबाही गर्नुपर्छ ?
– महेन्द्र यादवमथि कारबाही हुनुपर्छ भनेर हामी माग राख्छौं । उहाँलाई कारबाही नगरेसम्म पार्टी अघि बढ्न सक्दैन । यसको निरूपण भएन भने यसले जुनसुकै पनि रूप लिन सक्छ ।
के पार्टी फुट्न पनि सक्छ ?
– त्यो तपाईंले भन्ने कुरा हो । मैले जुनसुकै रूप लिन सक्छ भनेको छु ।
कारबाही गरिएन भने के गर्नु हुन्छ ?
– मैल भनिसकें । महन्थ ठाकुरप्रति महेन्द्र यादवले गैरराजनीतिक शब्द प्रयोग गर्नुभएकाले उहाँले माफी माग्नुपर्छ । उहाँलाई कारबाही हुनुपर्छ । कारबाही भएन भने जे पनि हुन सक्छ ।
ओली सरकारप्रति तपाईको धारणा ?
– हामीले प्रधानमन्त्री केपी ओलीलाई संविधान संशोधन र मधेस आन्दोलनका मुद्दा सम्बोधन गराउन दशैं, तिहार र छठ पर्वसम्म समय दिएका थियौं । तर प्रधानमन्त्रीले अहिलेसम्म केही काम गर्नुभएको छैन । अब हामीसँग संघर्षमा जानुबाहेक अर्को विकल्प छैन । यस विषयमा पार्टीमा छलफल भइरहेको थियो । प्रधानमन्त्रीसँग जवाफ माग्ने बेलामा पार्टीभित्रै रडाको मच्चाइएको छ । त्यसैले विदेशी र सत्ताधारीको मतियार कतै हाम्रै पार्टीका साथीहरू भए कि भन्ने पनि संशय पैदा भएको छ । त्यसैले गलत समयमा गलत मानसिकताबाट गरिएको निर्णय हो यो । त्यसैले यो निर्णय मधेसलाई सिध्याउन महन्थ ठाकुरलाई कमजोर बनाउन गरिएको प्रयास हो । ठाकुरमाथि गरिएको प्रहार भनेको मधेसमाथि गरिएको प्रहार हो । यसको हामी डटेर सामना गर्छौ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुन्छ ?
– समर्थन फिर्ता लिनै पर्छ । किनभने हामीले छठ पर्वसम्म समय दिएका थियौं । छठ सिद्धिएको छ । अहिलेसम्म प्रधानमन्त्रीले केही नगर्नु भएकाले सरकारलाई समर्थन दिइरहनुपर्ने कुनै आवश्यकता छैन । अहिले नेकपासँग राजनीतिक शक्ति छ । संघमा उहाँहरूले झन्डै झन्डै दुई तिहाइ पु¥याउनुभएको छ । २ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा उहाँहरूले सरकार बनाउनुभएको छ । संविधान संशोधन गर्ने संख्या नेकपासँग छ । जनताको म्यान्डेटलाई सम्मान गर्दै केपी ओलीलाई हामीले संसद्मा भोट दिएका थियौं । राष्ट्रपतिको चुनावमा पनि हामीले उहाँलाई मत दिएका थियौं । संशोधन गर्ने सवालमा मात्र हामीले भोट दिएका हौ । तर सरकारमा हामी सहभागी छैनांै । तैपनि हाम्रो मुद्दा सम्बोधन गर्ने सवालमा प्रधानमन्त्रीले कुनै प्रयास गर्नुभएको छैन । संविधान संशोधनको सवालमा प्रधानमन्त्रीले एउटा सिन्कोसमेत भाँच्नुभएको छैन । त्यसैले अहिले हामी स्वाभाविक ढंगले सरकारसँग टाढिँदै गएका छां । -तरुणखबर

