-शुष्मा छिनाल
क्रिश्चियनको बढ्दो संख्या र धर्म परिवर्तन नेपाली समाजमा एउटा जल्दोबल्दो बिषयबस्तु बनेको छ । हरेक दिन कुनै न कुनै माध्यमबाट यस बिषयमा चर्चा भईरहेको हुन्छ । वि.स. १९६१ सालको जनगणनामा जम्मा ४५८ जना क्रिश्चियनको संख्या देखिएको भएता पनि वि.स. २०६८ सालको जनगणनामा क्रिश्चियहरुको संख्या ३,७५,६९५ रहेको देखिन्छ । क्रिश्चियन समुदाय र संघसंस्थाहरुले यो संख्यामा वृद्धि भएको दावी गर्दछन् । क्रिश्चियनको जनसंख्यामा ६५% जनसंख्या दलितको रहेको नेपाल फेडेरेशन अफ क्रिश्चियनको तथ्याङ्कले देखाउँदछ । यसरी नेपालमा क्रिश्चियनको संख्या बढ्नु त्यसमा पनि दलितहरुको संख्या धेरै देखिनु सोधकर्ताहरुको लागि राम्रो विषय बन्न पुगेको छ । यस विषयलाई अध्ययन गरी लेखिएका लेखलाई पत्र पत्रिकाहरुले पनि राम्रै स्थान दिईरहका छन् । “दि गार्डियन”नामक अमेरिका बाट प्रकाशित ब्रिटिस पत्रिकाले छापेको पिट पिटरसनको लेखमा नेपालका दलित समुदायले क्रिश्चियन धर्म निकै व्यबहारिक कारणले अपनाएको बताएका छन् । मुख्य चार कारक तत्वहरु (सामाजिक, आर्थिक, धार्मिक र जातिय विभेद )ले गर्दा दलितहरुले धर्म परिवर्तन गरेको कुरा स्पष्ट रुपमा भनेका छन् । तर पनि त्यसैलाई आधार बनाएर विश्लेषण गर्ने नेपाली वौद्धिक जगतका बुद्धिजिवीहरुले आर्थिक पक्षलाई मात्र बढि ध्यान दिएको देखिन्छ ।

त्यही पिट पिटरसनको लेखमा बारखरी नामक अनलाईन पत्रिकाले आफ्नो प्रतिक्रिया “पैसाको नाममा यति सम्म पनि भएछ” शिर्षक दिएर आर्थिक पक्षलाई मात्र केन्दित गरेर लेखेको छ । प्राय कमजोर आर्थिक स्थिति हुने दलितहरुले क्रिश्चियन धर्म अनुुसरण गर्दा एकोहोरो आर्थिक पक्षलाई मात्र आधार वनाई उनीहरुमाथि धर्म बेचेको आरोप सम्म लगाउने गर्दछन् । आर्थिक पक्षत्यसको एउटा पाटो हुनसक्छ तरउनीहरुको मानवीय अस्तित्वलाई नै विक्षिप्त वनाउने हिन्दु सामाजिक तथा सांस्कृतिक पक्षलाई ध्यानै नदिई एकतर्फि विश्लेषण गर्नु त दलितहरु माथि थप अन्याय गरेकोे भएन र ?
हाम्रो देश हिन्दु धर्मावलम्वीहरुको बाहुल्यता भएको समाज हो । जातिय बिभेद भोग्दै आएका दलितहरुले आफु दलित भएकै कारणले समाजमा तल्लो दर्जाको जिन्दगी बिताउन बाध्य छन् ।
बदलिदो समाजसँगै दलितहरु पनि जातिय विभेदको अन्त्य भएको देख्न चाहन्छन् र अन्य जाति सरह जिउन चाहन्छन् । तर विडम्वना चाहेर पनि उनीहरु अन्य जाती सरह समान भएर वाँच्न पाईरहेका छैनन् । यसै क्रममा दलितहरुले जातिय विभेदबाट छुट्कारा पाउन क्रिश्चियन धर्मलाई अपनाईरहेका छन् ।
यसको ज्वलन्त उदाहरण १ बर्ष अघि दैलेखमा २१ बर्षिय दलित युवालाई पानी छोएको भनि र्निमम तरिकाले कुटेको र राज्य तथा संबन्धित निकायबाट न्याय नपाएपछि एकै गाँउका २०० जना दलितले एकै पटक क्रिश्चियन धर्म अँगालेको घटनालाई लिन सकिन्छ । त्यस्तै दलितलाई मन्दिर प्रवेशमा निषेध गरिनु, पानी पधेंरोमा रोक लगाईनु आदी समाजद्धारा निर्मित अतिनै अमानवीय र क्रुर नियम र यी यस्तै कारणहरुले कहि न कहि दलितहरुलाई क्रिश्चिन बन्न मदत गरेको स्पष्ट देखिन्छ ।
यस्ता अमानविय नियमलाई परिवर्तन गर्न न त समाजका बुद्धिजिवीले सुधारात्मक कदम चालेका छन् न राज्यद्धारा नै कुनै प्रभावकारी ठोस कदम चालिएको छ । उल्टो दलितहरुले जातिय विभेदको पीडाबाट मुक्तिकालागि अपनाएको क्रिश्चियनिटिको पक्षलाई लिएर आलोचना भने हुने गर्छ। यसरी आफुहरुले खेपीरहेको अमानवीय समस्या प्रति राज्य उदासिन भैरहदा दलित आफैले जातीय विभेद रहित धर्म अनुसरण गरेकामा उल्टो उनीहरुलाईनै धर्म बेचेको आरोप लगाउनु त थप अन्याय होईनर ? यस्तो आरोपले हिन्दू उच्च जातीकाहरुको पुर्वाग्रहयुक्त शोषण क्षमतामा ह्रास हुने चिन्ता जस्तो देखिदैन र? दलितहरुको धर्म परिवर्तनको पछाडीको कारण बुझ्ने क्रममा,भदौ १० गते शनिवार घोराही स्थित एक चर्चमा एक जना इसाई धर्मका अनुयायीसंग कुराकानी गर्ने अवसर पाएँ ।उहाँको भनाई अनुसार एक जना छिमेकी ब्राह्मणद्धारा अपहेलित भएकै कारण उहाँले धर्म परिवर्तन गर्नु भएको रहेछ । उहाँले भन्नु भयो, “म हिन्दु भएकोले ती ब्राहमणको अपमान भोग्नु पर्यो ।हिन्दु जाती व्यवस्था अनुसार म कथित तल्लो जात भएकाले म अपमानित हुनु पर्यो । त्यस क्षणको अपमानले मैले त्यसै वखतबाट अठोट लिए की म आजबाटै हिन्दु पनि होइन र मेरो कुनै जात पनि छैन् ।त्यहि हप्ता देखि मैले क्रिश्चियन धर्म अंगालेको हुँ” । यस्तै एकजना शिक्षित दलित युवाले पनि हिन्दू जाति व्यवस्थालाई लत्याउनकै लागि क्रिश्चियन भएको हुँ भन्नु भयो ।
एउटा महत्वपुर्ण कारण तत्व आर्थिक पक्ष, यसलाई नर्कान सकिन्न ।वि. स. २०७१ साल देखि वि. स. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक हेर्दा शिक्षामा पहँच, गरीवीको अवस्था भयाभह नै देखिन्छ । शिक्षाको पहुच हेर्दा विद्यालय कहिल्यै नजाने व्राम्हण–क्षेत्रीमा २६.६%, नेवारमा २८ % छ भने दलितहरुको ७६.४% छ रनेपालको कुल जनसंख्याको २५.२ % जनसंख्या राष्ट्रिय गरीवीको रेखामुनी रहेकोछ भने उक्त जनसंख्याको ४६% जनसंख्या दलितको रहेको छ (रा.त.वि.२०११) ।
गरिवी र अपहेलनाको चपेटामा परेको जमात सुविधा र सम्मानजनक जीवन जिउन र गरिबीको चपेटाबाट बाहिर आउन धर्म परिवर्तनको मार्ग रोज्न सक्दैनन् र ? नेपालको स्थिति अनुसार दलितहरुनै सवै भन्दा धेरै गरिब छन् र विभेदको मारमा छन् त्यसैले धर्म परिवर्तन तर्फ पनि उनीहरुकै संख्या बढि देखिन्छ । यसको मतलब यो होईन कि दलित बाहेक अरु जातिले धर्मनै परिवर्तन गराएका छैनन् ।
गरिबीको संख्या कम भएकोले र जातिय विभेद नहुने भएकोले अन्य जातिको संख्या क्रिश्चियन भित्र कम देखिन्छ । तर हरेक पटक दलित लाई मात्र केन्दि«त गरी क्रिश्चियन धर्म परिवर्तनको कुरा गर्नुदलितहरुमाथि जातिय विभेद हो ।
धर्म नै परिवर्तन गर्नु भनेको सानो कुरा होईन, आफ्नै समाजमा अपमानित र अपहेलित भएर बस्न मन नभएरनै धेरै दलितहरु क्रिश्चियन भएको जस्तो देखिन्छ । “राष्ट्र भएका र राज्य नभएका, धर्म भएका र धार्मिक अधिकार नभएका” यस्ता व्यक्ति जो आफ्नै समाजमा सम्मानित छैनन् यस्तो बेला उनीहरुले आफ्नो लागि नयाँ बाटो बनाउँदा पनि आलोचनाको पात्र किन ? अब यस्तो अबस्थामा पनि उनीहरुलाई धर्म बेचेको आरोप लगाउने कि सामाजिक नियममा सुधार गर्न तर्फ ध्यान दिने ?
नेपालमा “धर्म परिवर्तन” को इतिहासमा नेपाल जब गणतन्त्राम्क राज्यमा परिणत भयो त्यस पश्च्यात निकै मात्रामा बाहिर आएको देखिन्छ । मानव शाश्त्री डम्बर चेम्जोङ पनि यस कुरामा आफ्नो बिचार यसरी राख्दछन। “देखावटी गणतन्त्रले नेपाली समाजमा जातिय विभेदलाई अझै बढावा दिईरहेको छ (चेम्जोङ २०७४)। अहिलेको समाज भनेको राणाको निरङकुशता, पन्चायतको एक तन्त्रात्मक राज्य व्यबस्थालाई हटाउदै गएकोले पनि हरेक नागरिकमा समानता र आफ्नो अस्तित्वलाई खोज्ने समय हो । यस्तो बदलिदो राजनैतिक व्यवस्था र समाजले रुप परिवर्तन गरीरहँदा धर्म परिवर्तनको कुरामा बिशेष गरी दलितहरुको बारेमा भन्दा पैसाको नाममा यति सम्म, र धर्म बेचुवाको आरोप कति सम्म जायज हुन सक्छ ? यस लेखको सोधकर्ताकोे हैसियतले मेरो अध्ययनले जाने जति नेपाली क्रिश्चियनको जनसंख्यामा दलितहरुको वाहूल्यता रहनुको प्रमुख कारण सामाजिक तथा साँस्कृतिक रुपले गरिने जातीय उत्पीडन तथा विभेद नै मुख्य भए पनि अन्य पक्षहरु पनि रहेको देखिन्छ । अन्य पक्षहरुमा निम्न तथ्यहरु अगाडि देखिन्छन । जस्तै; क्रिश्चियन धर्मको मुल पक्ष विस्तार हो भने त्यस्को अर्को पक्ष समानताको अवसर । नेपाली समाजमा दोस्रो पक्षको अवसर खास गरी कथित दलितहरुकालागि अतिनै न्युन छ जस्तो मेरो अध्ययनले देखाउँदछ ।
लेखक, युवा सशक्तिकरण तथा मानव अधिकार र सामाजिक न्याय लगायत मानव समानताको पक्षधर नागरिक हुन् । उनी मानव शास्त्र विषयसंग सम्वन्धीत अनुसन्धान तथा अभ्यास की अनुयायी हुन । मानवशास्त्री विद्यार्थीहरुको अनौपचारिक अनुसन्धान समुहकी संस्थापकका रुपमा समेत उनी कार्यरत हुनुहुन्छ । -सम्पादक

