डिफेन्डर मार्सेलोले लेभान्टेविरुद्ध शनिबार सान्त्वना गोल फर्काउँदा रियल मड्रिडले ४ सय ८२ औं मिनेटपछि आफ्नो ‘गोल खडेरी’ संघर्षपूर्ण तवरबाट ताेडेकाे थियाे।

१ सय १६ वर्षे इतिहासमा यो नै मड्रिडको लामो गोलको खडेरी थियो। जुन एक डिफेन्डरले तोडिदिए। यस सिजन विश्वकै सबैभन्दा बलियो मानिएको क्लब रियल मड्रिडले गएको पाँच खेल जित्न सकेको छैन। ला लिगामा ९ खेल खेलिसक्दा मड्रिड ३ खेल हारिसकेको छ।
उसको चिर प्रतिद्वन्द्वी मानिएको बार्सिलोना लिगमा १८ अंकसहित शीर्ष स्थानमा छ। मड्रिड १४ अंकसहित लिगको ७ औं स्थानमा छ। याे तालिकाले मड्रिड यस सिजनमा कति कमजोर प्रदर्शन गरिरहेछ भन्ने प्रस्ट पार्छ।
खराब प्रदर्शनको सिलसिला जारीरहँदा प्रशिक्षक जुलेन लोपेटगीले आफ्नो जागिर गुमाउने अनुमान गरिएको छ। सोमबार मात्र वेलायतकाे पत्रिका द सनले मड्रिडले लोपेटगीलाई बर्खास्त गर्ने तयारी गरिरहेकाे समाचार छापेकाे छ।
उनको स्थानमा पूर्व मड्रिड प्रशिक्षक जोसे मोरिन्होलाई ल्याउने तयारी भइरहेकाे साे पत्रिकाले उल्लेख गरेकाे छ। तर ऐतिहासिक क्लबको कमजोर प्रदर्शनबारे कसले जिम्मा लिने कसलाई आरोप लगाउने?
के यो प्रशिक्षक लोपेटगीको गल्ती हो?
तीन पटक लगातार रियल मड्रिडलाई महत्वपूर्ण च्याम्पियन्स लिगको उपाधि दिलाएका जिनेदिन जिदानले आश्चर्यजनक रुपमा क्लबबाट विदा लिएपछि उनको स्थानमा जुलेन लोपेटगीलाई ल्याइएको थियाे। तर लोपेटगीले आफ्नो प्रशिक्षणको सुरुवातमै हार चाखे। प्रि–सिजनमा भएको यूइएफए सुपर कप फाइनलमा लोपेटगीको प्रशिक्षणमा पहिलो पटक मड्रिड मैदान उत्रँदा टोली एथलेटिको मड्रिडसँग ४–२ ले पराजित हुँदै उपाधिबिहीन हुन पुग्यो।
मड्रिडले यस सिजन १२ खेल खेलिसक्दा जम्मा ५ खेल मात्र जितेको छ। यसले प्रशिक्षणमा समस्या अथवा खेलाडीले प्रशिक्षकको कुरा नमाने अर्थमा बुझिएको छ। यस पटक डिफेन्स, मिडफिल्ड, स्ट्राइकर कसैले उल्लेख्य प्रदर्शन गर्न सकिरहेका छैनन्।
खेलाडीको अवस्था
यस सिजन रियल मड्रिडले ९ घरेलु लिग खेलिसक्दा मात्र १३ गोल गरेको छ। बार्सिलोनाले २३ गोल गरिसकेकाे छ। मड्रिडमा ग्यारेथ बेल, करिम बेन्जेमा, मारियानो जस्ता चर्चित स्टार स्ट्राइकरहरु हुँदा समेत एक डिफेन्डरले ४ सय ८२ औं मिनेटपछि गोलको खडेरी तोड्नु हास्यास्पद विषय हो। सबै खेल मध्यनजरगर्दा मड्रिडले राम्रो प्रदर्शन गरे तापनि फिनिसिङमा मुख्य समस्या देखिएको छ।
क्लब प्रमुख पेरेजसँग समर्थकहरु रुष्ट
क्लबका समर्थकहरु प्रशिक्षक लापेटगीभन्दा क्लब प्रमुख फ्लोरेन्टिनो पेरेजसँग बढी रुष्ट देखिन्छन्। क्लबको पत्रिका डाएरियो एएसका अनुसार आइतबारको जनमत संग्रहमा ८५ प्रतिशत भोट क्लब प्रमुख पेरेजले पाएका छन्। जसलाई क्लबको खराब प्रदर्शनको मुख्य कारक मानिएको छ। प्रशिक्षक जिनेदिन जिदानले मड्रिड छाडेसँगै राम्रा क्लबका नामी प्रशिक्षक भित्राउन समर्थकले सुझाव दिएका थिए।
तर हालैका दिनमा मड्रिडले लोपेटगीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जोसे मोरिन्हो ल्याउने कसरत सुरु गरेको बताइएको छ। मोरिन्हो पनि इंग्लिस क्लब म्यानचेस्टर यूनाइटेडमा खराब प्रदर्शनकाबीच गुज्रिरहेका छन्। उनले क्लब छाड्ने मनसाय बनाएकाे चर्चा छ।
यसैगरी रोनाल्डोले मड्रिड छाडेपछि समर्थकले पेरेजलाई नेमार, एमबाप्पे, ह्याजार्ड, लेवानडोस्कीजस्ता खेलाडी भित्राउन अनुरोध गरेका थिए। तर पेरेजले उनीहरुको साटो मारियानो डियाज भित्राए। रोनाल्डोको ७ नम्बर जर्सी पाएका उनले यस सिजन मात्र एक गोल गरेका छन्। आफ्नो भनाइ नसुनेका कारण पनि समर्थकहरु पेरेजसँग रुष्ट भएका हुन्।
रोनाल्डोको स्थान प्रतिस्थापन गर्न चुकेको हो?

क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि रियल मड्रिडले उनको स्थान ग्यारेथ बेल, करिम बेन्जेमा, मारियानो डियाजजस्ता खेलाडीले लिने बताएको थियो। मड्रिडका कप्तान सर्जियो रामोसले रोनाल्डोबिनानै मड्रिड बलियो भएको उल्लेख गरेका थिए। तर यस सिजन लेभान्टे, आलाभेस, सिएसकेए मस्को जस्ता क्लबसँगको हारपछि मड्रिडमा रोनाल्डोको खाँचो देखियाे।
रोनाल्डो मड्रिडका गोल मसिन थिए। उनी मड्रिड क्लबको इतिहासकै सर्वाधिक गोलकर्ता हुन्। ९ वर्षको मड्रिड बसाइमा उनले ४ सय ५० गोल गरेका छन्। प्रत्येक खेलमा उनको गोल टोलीको जितका लागि निर्णायक बन्ने गरेको थियो। तर यतिबेला रोनाल्डोको स्थान मड्रिडले पूर्ति गर्न नसकेको आभास भइरहेकाे छ। (बीबीसीबाट अनुवाद)

