सन् २०१७ अप्रिलदेखि अहिलेसम्म २५० भन्दा बढी (अमेरिकी) प्रभावशाली सेलिब्रिटी, राजनीतिज्ञ, सञ्चारकर्मीहरू यौन दुव्र्यवहारका घटनामा मुछिएका छन् । पीडितहरू न्यायका लागि अगाडि आउने क्रम जारी छ । उनीहरूको कदमबाट प्रेरित भएर आफूमाथिका दुव्र्यवहारसम्बन्धी घटना सतहमा ल्याउने पनि बढिरहेका छन् । अमेरिकी समाचार अनलाइन ‘भक्स’ले यस्ता घटना संकलन गरेको छ । यो सूची अद्यावधिक पनि क्रमैसँग भइरहेको छ ।

विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिले यौन दुव्र्यवहारको आरोप खेपिरहँदा ‘फक्स न्युज’का होस्ट बिल ओ’रेइली अप्रिल २०१७ मा राजीनामा दिन बाध्य भएका थिए । ‘फक्स न्युज’बाट बिल निस्किएपछि यौन दुव्र्यवहारका घटनामा खुलेर अगाडि आउने क्रम अझ बढेको हो । त्यसकै बलले हार्वे विन्सटाइन जस्ता प्रख्यात सिनेकर्मीको कर्तुत बाहिर आयो र अमेरिकामा #MeToo अभियानको जग बस्यो । यसपछि अमेरिकामा दुव्र्यवहारका अनेक किस्साहरू बाहिर आइसकेका छन् ।
यो सूचीमा २५० मध्ये त्यस्ता केही १५ प्रभावशाली व्यक्ति र उनीहरूलाई आरोप लगाउने पीडितको भनाइ दिइएको छ—
……………………………………………..
(१) बिल ओ’रेइली
पूर्वप्रस्तोता, फक्स न्युज
घटना दर्ताः २०१७ अप्रिल १
थुप्रै महिलाले आफूमाथि बिलले यौन दुव्र्यवहार गरेको उजुरी गरेपछि उनलाई ‘फक्स न्युज’ले बर्खास्त गरेको थियो ।
“अफिसमा उनले कसैले नदेख्ने गरी महिला कर्मचारीलाई दुव्र्यवहार गर्थे ।”
– परकिता बर्गेस, पूर्वकर्मचारी, फक्स
……………………………………………..
(२) मोर्गन फ्रिम्यान
अभिनेता । सहसंस्थापक, ‘रिभिलेसन्स इन्टरटेनमेन्ट’
घटना दर्ताः २०१८ मे २४
गलत तरिकाले छोएको, अपाच्य गतिविधि गरेको, यौन दुव्र्यवहार गरेको भन्दै आठ महिलाले फ्रिम्यानविरुद्ध उजुरी गरेका छन् । हलिउडमा आफ्नो छुट्टै नाम बनाएका फ्रिम्यान अभिनेताका रूपमा पोख्त मानिन्छन् । ‘द शशंक रिडेम्पसन’, ‘मिलियन डलर बेबी’, ‘ब्रुस अलमाइटी’, ‘ब्याटम्यान बिगिन्स’, ‘द डार्क नाइट’ जस्ता ५६ वटा फिल्ममा अभिनय गरिसकेका फ्रिम्यान ८१ वर्षका छन् ।
“हामी यस्तो अवस्थासम्म पुगिसकेका थियौं कि उनी (फ्रिम्यान) हामी भएतिर आउँदै छन् भने पहिल्यै सतर्क भएर बस्नुपथ्र्यो । उनका व्यवहारबाट हामीले स्पष्ट बुझिसकेका थियौं कि उनको अगाडि वक्ष र नितम्ब ढाकिने लुगा लगाउनु बर्जित जस्तै छ ।”
– चलचित्र ‘नाउ यु सी मी’ निर्माण दलकी सदस्य
……………………………………………..
(३) लुक बेस्सन
निर्देशक
‘द ट्रान्सपोर्टर’, ‘लुसी’, ‘डिस्ट्रिक १३’ जस्ता २० वटा चलचित्र निर्देशन, ८८ वटा चलचित्र निर्माण गरिसकेका ५९ वर्षीय लुक बेस्सनविरुद्ध बलात्कार, यौन दुव्र्यवहारका थुप्रै उजुरी परेका छन् । फ्रान्सेली प्रहरीले बलात्कार आरोपमा छानबिन गरिरहेको छ ।
“म लुकको निजी गुडिया जस्ती भएकी थिएँ, जसलाई उनी नियन्त्रण गर्न सक्थे, जसलाई लुगा लगाइदिन्थे र जसलाई तोड्थे ।”
– अभिनेतृ स्यान्ड भान रोय
……………………………………………..
(४) माइकल डगलस
अभिनेता
घटना दर्ताः २०१८ जनवरी १८
७४ वर्षीय डगलस नाम चलेका अभिनेता र निर्माता हुन् । करिब ६० चलचित्रमा अभिनय गरिसकेका डगलसले दुई दर्जनभन्दा बढी टेलिभिजन कार्यक्रममा पनि काम गरेका छन् । उनलाई एक महिला लेखकले आफूमाथि यौन दुव्र्यवहार गरेको र आफ्नो सामु हस्तमैथुन गरेको आरोप लगाएकी छन् ।
“डगलसलाई लाग्थ्यो कि उनी आफूले चाहेको जे पनि गर्न सक्छन् । किनकि उनी मभन्दा कैयन् गुणा शक्तिशाली थिए ।”
– सुसान ब्राउडी, लेखक
……………………………………………..
(५) ब्रायन सिंगर
निर्देशक
घटना दर्ताः २०१७ डिसेम्बर ४
‘एक्स–मेन’ शृंखलाका निर्देशक ५३ वर्षीय सिंगरलाई एक युवक सिजर सान्चेजले बलात्कार आरोपमा मुद्दा दर्ता गरेका छन् । आफू १७ वर्षको हुँदा सिंगरले बलात्कार गरेको आरोप सान्चेजको छ ।
“मलाई बलात्कार गरिसकेपछि सिंगर जोडले हाँसे । मैले यो घटना बाहिर ल्याएँ भने मेरो इज्जत, करिअर सबै बर्बाद गरिदिने धम्की दिए । आफू लोकप्रिय भएको दम्भ उनमा थियो ।”
– सिजर सान्चेज–गुजम्यान
……………………………………………..
(६) ओलिभर स्टोन
लेखक, निर्देशक, निर्माता
घटना दर्ताः २०१७ अक्टुबर १२
तीन पटक (दुईवटा निर्देशनमा र एउटा पटकथामा) ओस्कार अवार्ड हात पारिसकेका चर्चित लेखक र निर्देशक ओलिभर स्टोनले २७ वटा चलचित्र निर्देशन गरिसकेका छन् । आफूमाथि दुव्र्यवहार गरेको भन्दै मोडल र अभिनेतृ क्यारी स्टिभन्सले उनीविरुद्ध उजुरी गरेकी छन् । अर्की महिलाले पनि आफूलाई असहज हुने गरी स्टोनले दुव्र्यवहार गरेको बताएकी छन् ।
“मलाई अझै पनि उनको कुटिल अनुहार याद आउँछ, जब उनले मलाई गलत तरिकाले सुम्सुम्याए ।”
– क्यारी स्टिभन्स, अभिनेतृ तथा मोडल
……………………………………………..
(७) रोबर्ट निपर
अभिनेता
घटना दर्ताः २०१७ नोभेम्बर ८
प्रख्यात टेलिभिजन सिरिज ‘प्रिजन ब्रेक’का अभिनेता रोबर्ट निपरले ४५ वटा चलचित्रमा काम गरिसकेका छन् । उनीविरुद्ध थुप्रै महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका छन् ।
“म थचक्क बसें र धेरै बेर रोएँ । मेरा लुगा च्यातिएका थिए, मलाई उसले फोहोर बनाएको थियो ।”
– सुसान बट्र्राम, कस्ट्युम डिजाइनर
……………………………………………..
(८) बेन अफ्लेक
अभिनेता
घटना दर्ताः २०१७ अक्टुबर १०
४६ वर्षीय अमेरिकी अभिनेता तथा फिल्मकर्मी बेन अफ्लेकले ६२ वटा चलचित्र र १७ वटा टेलिभिजन कार्यक्रम बनाइसकेका छन् । अभिनेतृ हिलारी बर्टन र अर्की एक महिलाले उनलाई यौन दुव्र्यवहारको आरोप लगाएकी छन् ।
“म त्यतिबेला रुन नपरोस् भनेर हाँसेर बसें ।”
– हिलारी बर्टन, अभिनेतृ
……………………………………………..
(९) क्रिस्चियानो रोनाल्डो
फुटबल खेलाडी
घटना दर्ताः २०१७ अप्रिल १९
विश्वकै शीर्ष स्थानमा रहँदै आएका पोर्चुगाली फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप छ । अमेरिकाको लास–भेगासकी मोडल क्याथरिन मयोर्गाले उनीविरुद्ध बलात्कारसम्बन्धी मुद्दा दायर गरेकी छन् । प्रहरीले यसमा अनुसन्धान गरिरहेको छ ।
“मैले रोनाल्डोलाई पर धकेल्दै पटक–पटक ‘हुन्न’ भनिरहें ।”
– क्याथरिन मयोर्गा, मोडल
……………………………………………..
(१०) हार्वे विन्सटाइन
निर्माता । सह–संस्थापक, ‘विन्सटाइन कम्पनी’ ।
घटना दर्ताः २०१७ अक्टुबर ५
१३ चलचित्रका निर्माता, १८४ चलचित्रका कार्यकारी निर्माता र दुई चलचित्रका निर्देशक हार्वे विन्सटाइन त्यस्तो नाम हो, जसले सबैभन्दा धेरै यौन दुव्र्यवहारसम्बन्धी आरोप खेपिरहेको छ । ८० भन्दा बढी महिलाले उनीविरुद्ध उजुरी गरेका छन् । बलात्कार, दुव्र्यवहारजस्ता मुद्दामा पोलिएपछि उनलाई ‘विन्सटाइन कम्पनी’ले बर्खास्त गरिसकेको छ । उनले गरेका दुव्र्यवहार एकपछि अर्को सतहमा आउन थालेपछि अमेरिकामा ३ःभत्यय अभियान शुरु भएको हो ।
“उसको शरीर, उसको उपस्थिति, उसको अनुहार देखें भने मलाई आफ्नो २१ वर्षे उमेरको सम्झना अउँछ । म त्यतिबेला कति कमजोर र निरीह थिएँ भनेर पछुताइरहन्छु ।”
– एसिया अर्गेन्टो, अभिनेतृ
……………………………………………..
(११) रोमन पोलन्क्सी
निर्देशक, निर्माता, लेखक
घटना दर्ताः २०१७ अगस्ट १५
आफूहरू १८ वर्षभन्दा कम उमेरको हुँदा यौन दुव्र्यवहार र बलात्कार गरेको भन्दै थुप्रै महिलाले पोलन्क्सीविरुद्ध उजुरी दिएका छन् । सन् १९७७ को बालिका बलात्कारमा उनी दोषी प्रमाणित भइसकेका छन् । ‘द पियानिस्ट’सहित ३४ वटा चलचित्र निर्देशन गरिसकेका ८५ वर्षीय पोलन्क्सी आठ पटक ओस्कारमा मनोनीत भएर ‘द पियानिस्ट’बाट सवोत्कृष्ट निर्देशकको अवार्ड पाएका व्यक्ति हुन् ।
“उनीबाट पीडितहरू अरु पनि छैनन् भनेर कसरी विश्वास गर्नू ? उनले अहिले पनि त्यस्ता कुकृत्य गर्दैनन् भनेर कसरी ठोकुवा गर्नू ?”
– मरियाने बर्नाड, कलाकार
……………………………………………..
(१२) केभिन स्पासे
अभिनेता
घटना दर्ताः २०१७ अक्टुबर २९
नेटफ्लिक्सको चर्चित सिरिज ‘हाउस अफ कार्ड्स’मा अमेरिकी राष्ट्रपतिको भूमिका खेल्ने केभिन स्पासे समलैंगिक बलात्कारमा आरोपित भएपछि सिरिजबाटै निष्कासित भए । आफूहरू १८ वर्ष नपुग्दै केभिनले जबर्जस्ती यौनजन्य क्रियाकलाप सहभागी बनाएको आरोप उनीहरूको छ ।
“मलाई छाडेर जाँदा उनले मबाट धेरै थोक लिएर गए । म यही लायक छु भन्ने पारेर गए । म अझै त्यो गाँठोमा बेरिएको छु ।”
– नाम गोप्य (‘भल्चर’मा प्रकाशित)
……………………………………………..
(१३) सिल्भेस्टर स्टालोन
अभिनेता
घटना दर्ताः २०१७ नोभेम्बर १६
एक महिलाले आफू १६ वर्षको हुँदा ‘¥याम्बो’ नामले प्रख्यात सिल्भेस्टर स्टालोनले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । ७२ वर्षीय अभिनेता स्टालोन एक समयका नामी एक्सन हिरो हुन् ।
“म भयभीत छु र सँगसँगै लज्जित पनि । मैले जस्तो भोगें, त्यस्तो अरू कसैले भोग्नु नपरोस् । तर, मलाई मुद्दामामिला गर्नु छैन ।”
– नाम गोप्य (प्रहरीलाई उद्धृत गर्दै ‘डेली मेल’)
……………………………………………..
(१४) रोस लेभिनसोह्न
पूर्वप्रकाशक, ‘लस एन्जलस टाइम्स’
घटना दर्ताः २०१८ जनवरी १८
पत्रकार रोस लेभिनसोह्न दुई छुट्टाछुट्टै यौन दुव्र्यवहारसम्बन्धी मुद्दा खेपिरहेका छन् । यी घटना सार्वजनिक भएपछि ‘लस एन्जलस टाइम्स’ले उनलाई बेतलबी बिदामा पठाएको थियो, त्यसपछि उनी आफैंले राजीनामा दिए । छानबिनपछि उनले सफाइ पाए । त्यसपछि उनी ‘लस एन्जलस टाइम्स’को भगिनी संस्था ‘ट्रोङ्क’अन्तर्गत एउटा एकाइको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने ।
“रोसले केटाहरूको यस्तो समूह बनाएका थिए, जसले खुलेआम महिलाहरूलाई ‘रेटिङ’ गथ्र्यो । महिला देख्यो कि उनीहरूको चरित्रलाई लिएर अंकबाजी गर्थे ।”
– जेस्सी डेन्नेन, पूर्व मानवसंसाधन प्रमुख, अल्टा भिस्टा
……………………………………………..
(१५) एन्ड्रयु क्रिग्टन
अध्यक्ष, ‘भाइस मिडिया’
घटना दर्ताः २०१७ डिसेम्बर २३
क्रिग्टनसँगको सम्बन्धलाई लिएर ‘भाइस मिडिया’कै महिला कर्मचारीलाई बर्खास्त गरिएपछि यो घटना सतहमा आएको हो । संस्थाले क्रिग्टनलाई बिदामा राखेको छ । ती कर्मचारीले क्रिग्टनबारे संवेदनशील विषय बाहिर ल्याएकी छन् ।
“हामीकहाँ पुरुषहरूले वाहियात बोल्न सक्ने र खुलेआम भद्दा चुट्किला भन्न सक्ने विषाक्त अवस्था छ । त्यसकै समानान्तर रूपमा महिलालाई पुरुषभन्दा कम तौलिने अर्को विषाक्त परिस्थिति पनि छ ।”
– सान्ड्रा मिल्लर, पूर्वप्रमुख, ब्रान्डेड प्रडक्सन, भाइस मिडिया
– साभार-बाह्रखरी

