तेल अविव/ इजरायल – १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा २५७० औं बुद्ध जयन्तीको अवसरमा इजरायलमा कार्यरत नेपालीहरुलाई ‘सामाजिक सुरक्षा कोष’ सम्बन्धी बिभिन्न जानकारी दिने उद्देश्यले हिजो शुक्रबार एक दिने अनलाइन अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको आयोजनामा भएको उक्त कार्यक्रममामा अनलाइन मार्फत नै भए पनि धेरै नै उत्सुक सहभागीहरुले भाग लिएका थिए ।
सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले प्रमूख प्रशिक्षकको रुपमा सहभागीहरुले उठाएका प्रश्न र जिज्ञासाको समाधानमूलक उतर दिएका थिए ।
सुरक्षित जीवनका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु महत्त्वपूर्ण अवसर भएको ठहर गर्दै मजदुर दिवसको सन्दर्भमा एनआरएन इजरायलले गरेको यो अनलाइन छलफलमा आधिकारिक व्यक्तिबाटै प्रष्ट सूचना दिने सकरात्मक कार्यलाई सबैले राम्रो कदम भन्दै प्रसंसा गरेका थिए ।
आयोजक संस्थाको अध्क्षय गणेश गिरिको सभापतित्वमा सम्पन्न उक्त अनलाइन अभिमुखीकरण कार्यक्रमको प्रमुख अतिथिमा य कार्यबाहक राजदूत ओमकुमार भण्डारी रहेका थिए ।
साथै विशिष्ट अतिथिमा एनआरएनए, अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. हेमराज शर्मा,अन्तर्राष्ट्रिय समिति उपाध्यक्षहरु, महासचिव, युरोप क्षेत्रीय संयोजक र इजरायलबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य अलि महम्मद मिया , संरक्षक श्रीकृष्ण भण्डारी निवर्तमान आइसिसि सदस्यद्य विशाल ज्ञवाली र ज्योति शर्मा , लगायत विभिन्न देशका एनआरएनए अध्यक्षहरु सहित इजरायलका बिभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरु पनि रहेका थिए ।
उक्त कार्यक्रमको विशेष आकर्षणको रूपमा विभिन्न देशमा कार्यरत सहभागीहरुबाट १० भाग्यशाली उपहार विजेता छनोट गरेको थियो ।

उपहार विजेताहरू – १.बिजय चौधरी,इजरायल २.बिजय घले ३.पदम लामा इजरायल ४.एल बि कटुवाल, बहराइन ५.राधिका शिलवाल ६.केशबराज खनाल, इजरायल ७.सुस्मा पुन ८.गंगादेवि गुरुङ, इजरायल ९.बिधान के सी, जापान १०. लेखबिक्रम ओली रहेका छन् ।
विजेताहरुलाई प्रोत्साहन स्वरूप सामाजिक सुरक्षा कोषमा दाखिला गरिने एक महिनाको न्यूनतम रकम २५०० सय नेपाली सम्बन्धित व्यक्तिकै खातामा उपलब्ध गराइएको छ ।
जुम भर्चुअल कार्यक्रमका संयोजक राजन दुवाडी रहेका थिए भने अनलाइन कार्यकमका संचालक महसचिव चित्र कार्की रहेका थिए ।
सामाजिक सुरक्षा कोष (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६७ बमोजिम नेपाल सरकारद्वारा स्थापना गरिएको कोष हो। यस कोषको स्थापना २०६७ साल चैत्र ७ मा भएको थियो। यस कोषले सामाजिक सुरक्षा करको व्यवस्थापन गर्ने तथा सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिमको कार्य गरिरहेको छ । यस कोषको उद्देश्यहरूमा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु रहेको छ ।
यस कोषको व्यवस्थापन तथा सञ्चालनका लागि नेपाल सरकारका श्रम तथा रोजगार मन्त्रालयका सचिवको अध्यक्षतामा १३ सदस्यिय त्रिपक्षीय सञ्चालक समिति गठन गरिएको छ। जसमा सरकारका सम्बद्ध निकायहरु, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिहरू रहेका छन् ।

