२०८२ भदौ १/अगस्ट १६ -इजरायलको तेल अविवमा श्रीकृष्णाष्टमीको अवसरमा माँ पाथीभरा भक्ति समाज इजरायलले झाँकीसहितको एक धार्मिक र्याली सम्पन्न गरेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

यही दिनको सुअवसर पारेर पाथीभरा भक्ति समाज इजरायलले उक्त धार्मिक कार्यक्रम आयोजना गरेको थियो।

हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा जन्म भएको मान्यता रहिआएको छ ।

इजरायलबासी नेपाली र नेपाली भाषीहरुको उपस्थिति रहेको उक्त धार्मिक र्यालीमा कृष्ण र राधाको भूमिकामा ससाना बालबालिकाको राम्रो सहभागिता रहेको थियो ।

उक्त धार्मिक र्यालीबारे इजरायली नागरिकहरुले पनि उत्सुकतापूर्वक चासो राख्दै सोधेका थिए ।

श्रीपाथीभरा भक्ति समाजको मन्दिर परिसर यसोद हमालाबाट शुरु भएको झाँकीसहितको धार्मिक र्याली लेभान्दा यसोद हमाला, हार्चियोन आकिभा इगेरमा हुदै पुनः यसोदहमाला पुगेर टुंगिएको थियो।

सन् २०१९ मा स्थापित श्रीपाथीभरा भक्ति समाज इजरायलले बिभिन्न समयमा धार्मिक सांस्कृतिक कार्यहरु गर्दै आइरहेको छ ।
यस्तै सत्य साई सेन्टर इजरायलले पनि श्रीकृष्ण जन्माष्टमी श्रद्धाभक्तिपूर्वक मनाएको छ ।
साई सेन्टर इजरायलको मन्दिरमा केहि इजरायलीहरुसमेतको उपस्थितिमा भक्तिसङ्गीतसहित जन्माष्टमी मनायो । साई सेन्टर इजरायलले बिभिन्न समयमा धार्मिक सांस्कृतिक कार्यहरु गर्दै आइरहेको छ ।
भारतको सिलगुरिमा माँ पाथीभराको मन्दिर निर्माण अन्तिम चरणमा !

कृष्ण जन्माष्टमीलाई सुअवसरमा समाजकि अध्यक्ष एलित्रा क्षत्रीले समाजको पहलमा भारतको सिलगुरि शहरमा माता पाथीभराको भब्य मन्दिर निर्माण हुँदै गरेको जानकारी गराएकी छिन् ।
क्षत्रीका अनुसार गएको अप्रिल ७ तारीख भूमि पुजन गरि मन्दिर निर्माणको कार्य तीव्रताको साथ चलिरहेको र आगामी कार्तिक महिनामा मन्दिरको प्राण प्रतिष्ठा गरिने छ ।

आफ्नै निजि निवासको हाता भित्र निर्माण हुँदै गरेको मन्दिर निर्माणको रेखदेख उनकै जिवनसाथी ढेन्ढुप तामाङले गरिरहेका छन् ।
मन्दिरमा स्थापन गरिने पाथीभरा माताको मुर्ति , भगवान शिव र भगवान गणेशको मुर्ति नेपालको धरानमा तयार भैइसकेको छ । ती मुर्तिहरुलाई भारत लैजानको लागि आबस्यक कानूनी प्रक्रिया पनि शुरु गरिएको छ ।

गत तिहारको लक्ष्मी पूजामा इजरायलमा देउसीभैलो खेलेर उठेको रकमबाट मन्दिर निर्माणमा शुरूवात गर्दै उक्त मन्दिर निर्माणकार्यमा इजरायलमा रहेका धेरै धार्मिक ब्यक्तिहरुले पनि सकेको सहयोग उपलब्ध गराएका छन् ।


