तेल अविव – यहि हप्ताको अगस्ट १६ तारिखका शनिबारका दिन इजरायलमा बिशेष धार्मिक कार्यक्रम आयोजना गर्दै भगवान श्रीकृष्णको जन्मोत्सव भब्य रूपमा मनाईने भएको छ ।

माँ पाथिभरा भक्तिसमाज इजरायलले हरेक बर्ष झै यो साल पनि श्रीकृष्ण जन्माष्टमी भव्यताका साथ सम्पन्न गराउने तयारी गरिरहेको छ । माँ पाथिभरा भक्तिसमाज इजरायलले श्रीकृष्ण जन्माष्टमीको दिन इजरायलमा रहेका सम्पूर्ण नेपालीहरु तथा श्रद्धालु भक्तजनहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
यस्तै उक्त दिन सत्य साई सेन्टर इजरायल पनि भजनकृतनसहितको पूजापाठ कार्यक्रम आयोजना गर्दैछ । श्रद्धालु भक्तजनहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्रीजयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो ।
सूचना:-

भगवान श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमी २०८२ को उपलक्ष्यमा माँ पाथिभरा भक्ति समाज इजरायलले आयोजना गर्ने जन्माषट्मी महोत्सव तथा रथ यात्रामा सहभागी भै पुण्य आर्जन गर्दै प्रसाद ग्रहण गर्न हार्दिक अपिल गर्द्छौ ।
स्थान – यसोद हमला ३२ तेल अविव ।
समय – दिउसो ४ बजे ।
मिति – २०२५ अगस्ट १६ तारीख शनिबार ।
प्रार्थी ।
माँ पाथिभरा भक्तिसमाज इजरायल
यस्तो छ श्रीकृष्णको लिला
कृष्ण जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो।
कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो।
जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ। यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघ/संस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ। भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।
देवकी तथा वासुदेवका आठौ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी, १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र वहाँ १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्ती लोकमा रहेका थिए । कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए ।
मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो । देवकीको भाई राजा कंशले[८] आफ्ना बुवा उग्रसेनलाई जेल गरी आफु राज्य सत्ता कब्जा गरेका थिए । एउटा भविष्यवानीबाट डाराएर उसले दुवै जनालाई जेल भित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौ सन्तानको हातबाट हुने थियो । कंशले सुरूका छ वटा बच्चालाई मारेपछी देवकीले सातौ बच्चालाई गायब गरेकी थिइन् । (असलमा देवकीले गोप्य रूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थियो ।) आठौ सन्तानको रूपमा कृष्णको जन्म भयो ।
जन्म भए सँगै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुगाउन लगाए जहाँ कृष्ण आनन्दले आफ्नो काका कंशबाट टाढा रही बाँच्न सक्थे । वासुदेवले कृष्णलाई लिएर यमुना पारी सकुशल गोकुल पुगाए । त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नादिकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए । कंशले त्यस अबोध बच्चालाई देवकीको आठौ सन्तान ठानी ढुङ्गामा फालेका थिए । तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक)को रूपमा स्थानान्तरित भईन र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भईन । कृष्ण गोकुलमै आफ्ना दाई बलरामसँग हुर्केका थिए । पछी वहाँ मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे ।

