
इटहरी २० तरहरामा शुक्रवार आयोजित एक कार्यक्रमका वीच स्थानिय घर तरहरा भएका हाल लन्डन निवासी रुद्र अघिकारी ‘निर्दोषी’ द्वारा लिखित लघुकथासङग्रह “मनश्चक्षु”को लोकार्पण गरियो ।
लघुकथासङग्रह “मनश्चक्षु”को लोकार्पण कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि एवम् संस्कृतिविद् तुलसी दिवस, इटहरी उप-महानगरपालिकाका अध्यक्ष हेमकर्ण पौडेल, वडा नं २० का वडाध्यक्ष मणीराम शेष्ठ, लेखक डा. अस्मिता बिष्ट, डा. धनकेशर खड्का, नेता प्रकाशचन्द परियार, चलचित्र निर्देशक नवल नेपाल, बरिष्ठ पत्रकार तथा अग्रज कवि कृष्णबिनोद लम्साल, श्री जनसहयोग मा. बि.का पुर्व शिक्षिकाद्वय कमला सुब्बा,कमला चापागाँई , लघुकथाकारका पिता हरीलाल अधिकारी र माता खड्गकुमारी अधिकारीले संयूक्त रुपमा गर्नुभएको थियो ।

उदायिमान साहित्यकार ‘निर्दोषी’ पनि जन सहयोग कै उत्पादन हुन् । स्कुल तह देखिकै साहित्यमा रुची राख्दै लेखनमा अघि बढ्दै आएका थिए ।

कार्यक्रममा वक्ता तथा लेखक डा. अस्मिता बिष्ट लघुकथासङग्रह “मनश्चक्षु” बारे परिचर्चा गर्नु भएको थियो ।

साहित्यकार ‘निर्दोषी’को यो तेश्रो कृति हो । यो भन्दा पहिले “दृष्टि” लघुकथासङ्ग्रह, २०८० र -“DRISHTI”, A Collection of Short-Short Stories( -“दृष्टि” लघुकथासङ्ग्रहको अंग्रेजी अनुवाद, २०८१) प्रकाशित भैसकेको छ ।
श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहका अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको संयोजक लेखक, साहित्यकार तथा अंग्रेजी भाषा प्रशिक्षक मुक्तिनाथ घिमिरे ‘पथिक’ हुनुहुन्थ्यो भने कार्यक्रमको संचालन कवि गणेश घिमिरे ‘प्रयासी’ ले गर्नुभएको थियो ।
पुस्तक बिमोचन संगै राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिताको पनि आयोजना गरिएको थियो । ‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६ कवितामध्ये १० वटा कविता छनोट गरी वाचन गरिएको थियो । जसमध्ये कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ शीर्षकको कविता द्धितीय, रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ शीर्षकको कविता तृतीय, सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प’ शान्तवना पुरस्कार प्राप्त गरेको छ ।
समूहका अध्यक्ष सन्तोष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुने कवि भट्टराईले नगद ५१ हजार एक सय प्राप्त गरेका छन् । यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्राप्त गरे ।उत्कृष्ट १० मा छनोट भएका गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ शीर्षकको कवितालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरियो ।
सोही कार्यक्रमको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याएका आठ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जनसहयोग मा. बि.का पुर्व शिक्षिका द्वय गकमला सुब्बा,कमला चापागाँई, डाक्टर धनकेशर खड्का, फिल्म डाईरेक्टर नवल नेपाल, ईटहरी उप-महानगरपालिका वडा.नं २० का वडाध्यक्ष मणिराम श्रेष्ठ रहनुभएको जानकारी कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले दिनुभयो ।

