हङकङमा आयोजना गरिएको नेपालको नेशनल डे विशेष समारोहमा निम्त्याइएका प्रमुख अतिथि हङकङ सरकारका मन्त्री जेम्स हेनरी लाउमाथि दुर्व्यवहार गर्ने टोपराज तामाङबारे सोधपुछ गर्दै पत्र आएपछि नेपाली महावाणिज्य दूतावास अप्ठेरोमा परेको छ।
दश दिन अघि, २० सेप्टेम्बर (असोज ४ गते, बिहिबार) हङकङस्थित नेपाली महावाणिज्य दूतावासले हुङहोमस्थित हार्बर ग्राण्ड होटलमा आयोजना गरेको समारोहमा हङकङ सरकारका सेक्रेटरी फर फाइनान्सियल सर्भिसेज एण्ड ट्रेजरी जेम्स हेनरी लाउ प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए। जहाँ उनीमाथि समारोहमा आफुखुशी घुसेका टोपराज तामाङले अभद्र व्यवहार गरेका थिए।
विभिन्न देशका दर्जनौं विदेशी कुटनीतिक अधिकारीसहित झण्डै दुई सय जना सहभागी समारोहमा दूतावासबाट निम्ता नगरिए पनि आफुखुशी आएका टोपराज तामाङले प्रमुख अतिथि लाउलाई छेकेर छेउतिर लैजान खोज्दै ‘आदिवासी नागरिकप्रति नेपाल सरकारको व्यवहार राम्रो नरहेको’ गुनासो पोखेका थिए।
हङकङमा राज तामाङको नामले चिनिने टोपराज हङकङ आइडी भएका नेपाली हुन्, जसलाई हङकङ प्रहरीले यो वर्षका लागि युनलोङ जिल्लाको ‘फाइट क्राइम एम्वेष्ठर’ नियुक्त गरेको प्रमाणपत्र समेत दिएको देखिन्छ।
समारोहमा महावाणिज्यदूत कमलप्रसाद भट्टराईले सहभागीलाई स्वागत गरेपछि प्रमुख अतिथि लाउले हङकङ सरकारका तर्फबाट शुभकामना मन्तव्य दिएका थिए। मन्तव्य सकेर फ्लोरमा झरेपछि लाउ भट्टराई लगायतका नेपालीहरुसँग संवाद गर्दै थिए। त्यहीबेला तामाङले लाउलाई कुटनीतिक मर्यादा विपरित व्यवहार गर्न सुरु गरेका थिए। पत्रकार जगत गुरुङले लिएको तामाङ सहितको तस्बिरमा लाउ र महावाणिज्यदूत भट्टराई दुबै स्तब्ध देखिएका छन्। लाउले तामाङको कुरा सुन्न नचाहँदा नचाहँदै पनि उनलाई हातमा समातेर छेउतिर लैजान खोजेको प्रत्यक्षदर्शीले बताएका छन्।
नेशनल डे जस्तो कुटनीतिक समारोहमा निम्त्याइएका प्रमुख अतिथि हङकङका मन्त्रीमाथि तामाङले देखाएको अभद्र व्यवहारले समारोहका अधिकांश सहभागीलाई पनि स्तब्ध बनाएको थियो। महवाणिज्यदूत भट्टराईको आग्रहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङकी अध्यक्ष टीका गुरुङले अभद्र व्यवहार रोक्न तामाङलाई पटक पटक सम्झाएपनि असफल भएकी थिइन।
घटना भएको एक सातापछि हङकङ सरकारले होटलको सिसि क्यामेराको भिडियो फुटेज सहित महावाणिज्य दूतावासलाई पत्र पठाएर टोपराज तामाङबारे सोधपुछ गरेको छ। ‘हङकङ सरकारबाट त्यो घटनामा संलग्न व्यक्तिबारे औपचारिक अनौपचारिक रुपमा सोधपुछ गर्ने काम भइरहेको छ’, नाम नखुलाउन अनुरोध गर्दै दूतावासका एक अधिकारीले सोमबार नेपालखबरसँग भने, ‘त्यो अभद्र व्यवहारले नेपाल र हङकङबीचको कुटनीतिक सम्बन्धलाई समेत अप्ठेरोमा पारेको छ।’

हङकङ सरकारले तामाङको अभद्र व्यवहारबाट कुटनीतिक मर्यादा मात्रै होइन सुरक्षाको प्रश्न पनि उठाएको बुझिएको छ। आयोजकका नाताले तामाङको अभद्र व्यवहारप्रति कार्यक्रम स्थल छाड्नुअघि लाउसँग पटक पटक माफी मागेका महावाणिज्यदूत भट्टराई सरकारको पत्र आएपछि अप्ठेरोमा परेका छन्। आइतबार र सोमबार उनले हङकङका नेपाली अगुवाहरूसँग यो घटनामा कसरी अगाडि बढ्ने भनेर प्रत्यक्ष अप्रत्यक्ष छलफल गरेका थिए। सरकारको पत्र आउनु अघिदेखि नै दूतावास आफैले पनि घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ।
एनआरएनए हङकङकी अध्यक्ष गुरुङका अनुसार अभद्रता प्रदर्शन नगर्न अनुरोध गर्दा गर्दै पनि तामाङले त्यसो गर्न नछाडेपछि लाउले कार्यक्रम स्थल छोड्न खोजेका थिए। त्यसबेला पनि उनले बाटो छेकेर लाउलाई रोक्ने प्रयत्न गरेका थिए।
हङकङका नेपाली आदिवासी जनजाति समुदायले लामो समयदेखि हङकङमा जनजाति समुदायको महावाणिज्यदूत पठाउन नेपाल सरकारसँग माग गर्दै आएका छन्। यो मागमा हङकङमा बेलाबेला आन्दोलन समेत हुने गरेको छ। तामाङले भिडियोमा स्पष्ट रुपमा नभनेपनि उनले नेपाल सरकारसँगको त्यही असन्तुष्टी हङकङका मन्त्री लाउसँग राख्ने क्रममा अभद्रता देखाएको हुन सक्ने अध्यक्ष गुरुङले बताइन। ‘विचार फरक हुन सक्छ, असन्तुष्टिहरु हुन सक्छन् तर त्यो जाहेर गर्ने स्थान र तरिका हुन्छ्न्’, गुरुङले नेपालखबरसँग भनिन्, ‘त्यो घटनाले हामीलाई लज्जित तुल्याएको छ, हङकङमा हाम्रो इज्जत माटोमा मिलेको छ।’
तामाङले यसअघि बारम्बार कार्यालयमा आएर दूतावासले बनाउन नमिल्ने कागजात बनाउन दबाब दिँदै आएको दूतावास स्रोतले जनाएको छ। ‘पछिल्लो पटक उनी २५ सेप्टेम्बरमा पनि दूतावासमा आएर कर्मचारीहरूलाई गाली गर्दै आफुले भनेको कागजात नबनाइदिए हातपात गर्ने सम्मको धम्की दिएका थिए’, दूतावासका अधिकारी भन्छन्, ‘हामीले प्रहरी बोलाउँछौं भनेपछि उनी बाहिर निस्किए।’

तामाङले आफ्नो फेशबुक पेजमा एउटा भिडियो र तस्बिर पोष्ट गर्दै आफुले मन्त्री लाउसँग ‘नेपाल सरकारको असमान व्यवहारबारे भनेको’ बताएका छन्। घटना भएको दुई दिनपछि पोष्ट गरिएको भिडियोमा ‘नेशनल डे इज ब्ल्याक डे’ भन्दै त्यसैले विरोध गरेको उनले बताएका छन्। उनले हङकङस्थित नेपाली महावाणिज्य दूतावासले ‘कन्सुलर सेवा शुल्क दुई सय हङकङ डलरबाट चार सय पुर्याएको’ भन्दै विरोध गर्नु परेको दाबी गरेका छन्।
‘त्यसैले मैले त्यो दिनका प्रमुख अतिथि सेक्रेटरी लाउलाई यो कुरा भनेको हुँ’, उनले भिडियोमा स्वीकार गरेका छन्, ‘मैले लाउलाई नेपालका आदिवासी नागरिकप्रति नेपाल सरकारको व्यवहारबारे भन्दै थिएँ।’
-nepalkhabar

