इजरायल, तेल अविव -श्रीकृष्णाष्टमीको अवसरमा श्रीपाथीभरा भक्ति समाज इजरायलले हिजो बुधबार झाँकीसहितको एक धार्मिक र्याली सम्पन्न गरेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

यही दिनको अवसर पारेर श्रीपाथीभरा भक्ति समाज इजरायलले हिजो उक्त धार्मिक कार्यक्रम आयोजना गरेको थियो।
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा जन्म भएको मान्यता रहिआएको छ ।

इजरायलबासी नेपाली र नेपाली भाषीहरुको उपस्थिति रहेको उक्त धार्मिक र्यालीमा कृष्ण र राधाको भूमिकामा ससाना बालबालिकाको राम्रो सहभागिता रहेको थियो ।

उक्त धार्मिक र्यालीबारे इजरायली नागरिकहरुले पनि उत्सुकतापूर्वक चासो राख्दै सोधेका थिए ।
श्रीपाथीभरा भक्ति समाजको आकिभा इगेर बाट शुरु भएको झाँकीसहितको धार्मिक र्याली हामज्गेर लेभान्दा यसोद हमाला सलामे हुदै हार्चियोन स्थित सत्यसाईमा पुगेर सहभागी हुदै श्रीपाथीभरा भक्ति समाजको आकिभा इगेरमा पुगेर टुंगिएको थियो।
श्रीपाथीभरा भक्ति समाज इजरायलले बिभिन्न समयमा धार्मिक सांस्कृतिक कार्यहरु गर्दै आइरहेको छ ।

यस्तै सत्य साई सेन्टर इजरायल र हिन्दू जागरण नेपाल अभियान इजरायलले पनि श्रीकृष्ण जन्माष्टमी श्रद्धाभक्तिपूर्वक मनाएको छ ।
साई सेन्टर इजरायलको मन्दिरमा केहि इजरायलीहरुसमेतको उपस्थितिमा भक्तिसङ्गीतसहित जन्माष्टमी मनायो जसमा इजरायलको लागि नेपाली महामहिम राजदूत कान्ता रिजाल आफ्नो सपरिवारर राजदूतावासको कर्मचारीसहित उपस्थिति भएकी थिइन् ।
साई सेन्टर इजरायलले बिभिन्न समयमा धार्मिक सांस्कृतिक कार्यहरु गर्दै आइरहेको छ ।
हिन्दू जागरण नेपाल अभियान इजरायलले जुम अनलाइन मार्फत भक्तजनहरुलाई जन्माष्टमीको दिन कथाबाचन गर्दै श्रद्धाभक्तिपूर्वक मनाएको छ ।
श्रीमद्भाग्वत गीतामा कृष्ण स्वंयमले अर्जुनलाई भनेका छन्ः
यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्
अर्थात्ः
जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।

