काठमाडौँ, फागुन १० गते । लोकतन्त्र प्राप्तिको आन्दोलन र राजनीतिक रुपान्तरणसँगै गणतान्त्रिक शासन व्यवस्थामा देश गएपछि प्रथम राष्ट्रपति डा. रामवरण यादव बने । त्यसपछि दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी बनिन् । उनी दोस्रो कार्यकालको उत्तरार्धमा छिन् ।
सन्तुलित, निर्विवादित र संविधान घोषणा गर्ने क्रममा विभिन्न किसिमका दबाबका बीच अभिभावकीय भूमिकामा डा. यादव देखिए । तर दोस्रो राष्ट्रपति भण्डारीको भूमिकामाथि सधैँ प्रश्न उठिरह्यो ।
त्यसैले नेपाली राजनीतिक वृत्तमा गैरराजनीतिक र सामाजिक क्षेत्रका अगुवालाई राष्ट्रपति बनाउनुपर्ने माग उठिरहेको छ । त्यही रुपमा बहस भइरहेको छ ।
गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउने भन्ने सन्दर्भमा अहिले मूख्यतः चार जनाको नाम आइरहेको छ । चर्चा भएअनुसार मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री खिलराज रेग्मी, सामाजिक अभियन्ता एवं पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला, पूर्व प्रधान्यायाधीश कल्याण श्रेष्ठ र अन्तर्राष्ट्रिय जगतमा सुप्रशिद्ध प्राध्यापक सूर्य सुवेदीलाई राष्ट्रपति पद दिन उपयुक्त हुने बहस चलिरहेको छ । यसै विषयमा यी चार जनाबारे खोज गरेर यो समाचार तयार पारिएको हो ।
विवादित छविका खिलराज
२०६९ मा संविधान सभा–२०७० को निर्वाचन गराउने गरी मन्त्रिपरिषद् अध्यक्ष भएका खिलराज रेग्मीले प्रधानन्यायाधीशको जिम्मेवारी छोडेनन् । ‘बाहिरी इन्ट्रेस्ट’मा परेर उनले दुवै पद लिएको भनेर व्यापक आलोचना भयो ।
कार्यपालिका र न्यायपालिकाको प्रमुख एउटै व्यक्ति हुन नमिल्ने तर्कका साथ लामो समय रेग्मीको विषयमा बहल भयो । तर उनले प्रधानन्यायाधीशको जिम्मेवारी छोडेनन् ।
न्यायक्षेत्रमा उनका केही फैसला विवादित भए पनि संविधान सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरे ।
हजारौँलाई नवजीवन दिने ‘दिज्यू’
हजारौँकी ‘दिज्यू’ अर्थात् अनुराधा कोइरालाको नाम पनि राष्ट्रपति पदका लागि चर्चामा आएको छ । नेपाली राजनीतिक आन्दोलन होस् या मानव बेचबिखनविरुद्धको अभियानमा अविराम सक्रियताकै कारण सामाजिक सञ्जालमा राष्ट्रपतिका लागि उनको नाम चर्चामा आएको हो ।
त्यसो त ‘दिज्यू’को योगदान सन् २०१० मै सिएनएन हिरोको अवार्डबाट अन्तर्राष्ट्रिय बगैंचामा फुल्ने अवसर पाइसकेको थियो । उनले सन् २०१४ मा मदर टेरेसा सम्मान पनि प्राप्त गरेकी थिइन् । ‘मैले निस्वार्थ सेवा गरेकी हुँ,’ कोइराला भन्छिन्, ‘त्यसैले मेरो कामको मूल्यांकन गरिएको हो भन्ने लाग्छ ।’
पद्म श्री सम्मान समेत प्राप्त गरेकी कोइरालाले तीन दशकयता मानव तस्करीविरुद्ध युद्ध छेडिरहेकी छिन् । उनले प्रदेश प्रमुख भएर कुशलतापूर्वक राजकाज चलाएकी छिन् । निर्विवादित छवि र राजनीतिक सुझबुझ भएकै कारण उनलाई राष्ट्रपति बनाउनुपर्ने दबाब दलहरूमा आन्तरिक रुपमा बढेको छ ।
हजारौं चेलीबेटीको अस्मिता बँचाएकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको कामको प्रकृति फरक रहे पनि लोकतान्त्रिक आन्दोलनमा उनको सक्रिय सहभागिताकै कारण राष्ट्रपति बनाउनुपर्नेमा राजनीतिज्ञ र सामाजिक अभियन्ताहरूको जोड छ ।
न्यायमूर्ति कल्याण श्रेष्ठ
तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरू सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा ओखलढुंगाका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो ।
त्यो एउटै न्यायीक कर्मले श्रेष्ठको ख्याती चुलियो । उनले न्यायक्षेत्र सुधारसम्बन्धी विभिन्न आयोग र समितिको संयोजकसमेत भएर काम गरे । नेतृत्वदायी भूमिकाका कारण श्रेष्ठ न्यायक्षेत्रमा चर्चामा आउने गर्थे । श्रेष्ठ जिल्ला न्यायाधीश, अञ्चल न्यायाधीश, पुनरावेदन हुँदै वि.सं. २०६२ मा सर्वोच्च अदालतमा पुगेका थिए । प्रधानन्यायाधीशबाट २०७२ चैतमा अवकाश लिँदा उनी बेदाग न्यायकर्मीको रुपमा बिदा भए ।
प्रवासबाट प्रा. सूर्य सुवेदीको नाम
बेलायतमा बसोबास गर्ने प्रतिष्ठित नेपाली प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाम पनि राष्ट्रपति पदका लागि चर्चामा छ । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सुवेदी लमजुङको एक सामान्य परिवारमा जन्मिएका हुन् ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् उनी । नेपालमा जनमत संग्रह ल्याउने प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्दा जेलसमेत भोगेका प्रा. सुवेदीले दोस्रो जनआन्दोलनलाई अन्तर्राष्ट्रियस्तरमा बौद्धिक र नैतिक समर्थन जुटाउन अग्रणी भूमिका निर्वाह गरेका थिए ।

