नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको चार दिने भ्रमण पूरा गरी बुधबार राती काठमाडौं फर्केका छन्। शान्तिपूर्ण राजनीतिमा आएपछि एक दशकयता करिब एक दर्जन पटक चीन पुगेका प्रचण्डको यो भ्रमण अलि ‘फरक’ देखियो, जुन भ्रमणको क्रममा उनी राजधानी बेइजिङ पुगेनन् र, चीनका राष्ट्रपतिसँग भेटवार्ता नै नगरी काठमाडौं फर्किए।

चाइना साउदर्नको नियमित उडानबाट शनिबार राती दक्षिण चीनको ग्वान्झाओ झरेका प्रचण्ड चार दिन चीनमा बिताएर बुधबार राती ग्वान्झाओबाटै काठमाडौंका लागि उडेका थिए।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउले शनिबार राती ग्वान्झाओमा ‘क्याजुअल’ स्वागत गरेर संभवतः प्रचण्डलाई उनको यो भ्रमण अनौपचारिक हुने संकेत दिइसकेका थिए। ग्वान्झाओमा साँझ प्रचण्डसँगको संक्षिप्त वार्तापछि पोष्ट गरिएको तस्बिरमा पनि गुओ क्याजुअल ड्रेसमै देखिए, जुन चिनियाँ कुटनीतिक आतिथ्यता भन्दा फरक लाग्थ्यो। आइतबार प्रचण्ड ग्वान्झाओबाट माओको क्रान्ति कालमा ‘रेड क्यापिटल’ भनेर चिनिएको सान्सी प्रान्तको येनान पुगे। येनान पढ्दै र कार्यकर्तालाई पढाउँदै नेपालमा एक दशक लामो सशस्त्र माओवादी आन्दोलन चलाएका प्रचण्डमा यो ठाउँप्रतिको आकर्षण अहिले पनि विशेष नै देखियो।
सोमबार च्याङसु प्रान्तको नानचिङ पुगेका प्रचण्डसँग मंगलबार सीपीसी अन्तर्राष्ट्रिय विभागका मन्त्री सुङ थाओले भेटे। बुधबार बिहान नानचिङमा अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसलाई सम्बोधन गरेपछि प्रचण्डले चीनका उपराष्ट्रपति वाङ छिशानसँग दुई पटक भेटवार्ता गरे। तर अन्तिमसम्म प्रयास गर्दा पनि बेइजिङ जाने र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम नबनेपछि वाङसँगको भेटलाई नै अन्तिम बनाएर बुधबार राती उनी सपरिवार काठमाडौं फर्के।
यसअघि सीपीसीको सात सदस्यीय स्थायी समिति सदस्य र भ्रष्टाचार नियन्त्रण आयोगको अध्यक्ष रहिसकेका उपराष्ट्रपति वाङ सीका एकदमै निकट नेता हुन जसलाई भेटेर प्रचण्डले राष्ट्रपति समक्ष आफ्नो सन्देश पुर्याउन खोजेका छन्। तर बेइजिङ पुगेर राष्ट्रपति सीसँग भेटवार्ता गर्ने इच्छा अधुरै राखेर पूर्व निर्धारित कार्यक्रम अनुसार उनी काठमाडौं फर्कन बाध्य भए।
एक दशकयता चीन ओहोर दोहोर गर्ने क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपतिसँग प्रचण्डले भेटवार्ता गर्न नपाएको संभवतः यो दोस्रो पटक हो। २०१० मा सांघाई वल्र्ड एक्स्पोको अवलोकनपछि सहकर्मी कृष्णबहादुर महरासँग हाइस्पिड रेलमा हान्जाओ हुँदै बेइजिङ पुगेका थिए, तत्कालीन प्रमुख विपक्षी दलका नेता प्रचण्ड। तर चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग भेटवार्ता नमिलेपछि उनी खाली हात काठमाडौं फर्केका थिए।
एमालेसँग माओवादी पार्टी मिलाएर नेकपाको अध्यक्ष बनेपछि प्रचण्डको यो पहिलो चीन भ्रमण थियो। प्रचण्डका निम्ति यो भ्रमण किन बढी महत्वपूर्ण थियो भने प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्के लगत्तै झण्डै तीन महिनाअघि नै उनले ‘आर्थिक विकासमा सहयोग जुटाउनेबारे उच्च नेतृत्वसँग छलफल गर्न’ भारत र चीन भ्रमण गर्ने सार्वजनिक गरेका थिए।
प्रचण्डको घोषणाले त्यसबेला नै दिल्ली र बेइजिङ जाने उनको कार्यक्रम बनिसकेको भान परेको थियो धेरैलाई। नभन्दै, दुई साताअघि प्रचण्ड दिल्ली पुगे, जहाँ उनलाई झण्डै बहालवाला प्रधानमन्त्रीकै स्तरको सम्मान दिइएको देखियो। दिल्लीबाट कतै बाहिर नगएका प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी, वरिष्ठ मन्त्री राजनाथ सिंह र सुष्मा स्वराजसँग एक्लाएक्लै भेटवार्ता मात्रै गरेनन्, अध्यक्ष ओलीसँग ‘समान अवधी’ सरकारको नेतृत्व लिने सहमती भएको खुलासा पनि गरिदिए दिल्लीमै।
काठमाडौंमा ‘यही सरकारले पाँच वर्ष निरन्तरता पाउँछ’ भन्दै आएका प्रचण्डले दिल्ली पुगेर गोप्य सहमती भएको खुलाएपछि उनी फर्कंदासम्म काठमाडौंमा नेकपाभित्र त्यसले हलचल मच्चाइसकेको थियो। बालुवाटारमा बसेको नेकपाको सचिवालयको बैठकमा ‘मिडियाले आफ्नो भनाई बंग्याएर प्रस्तुत गरेको’ स्पष्टिकरण प्रचण्डले दिए, जुन धेरैले पत्याएनन्।
बालुवाटार स्रोतहरूका अनुसार बैठकमा केही नबोलेर ओलीले यो विषय पन्छाउन खोजेपनि दिल्लीमा जुन स्तरको सम्मान दिइयो र प्रचण्डबाट जस्तो अभिव्यक्ति आयो त्यसप्रति उनी असन्तुष्ट छन्। बिम्स्टेक राष्ट्रहरूबीच भारतमा भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नगराउने ओलीको निर्णयमा पनि यो असन्तुष्टी प्रतिविम्वित भएको देख्नेहरू धेरै छन्। प्रचण्डले दिल्लीबाट ओली र आफुले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने वा पार्टी र सरकारको नेतृत्व बाँडफाँड गर्ने ‘गोप्य सहमती’ अनुसार अगाडि बढ्नु पर्ने सन्देश दिन खोजेका थिए। त्यसपछि प्रचण्डको चीन भ्रमणलाई झन् बढी चासोका साथ हेरिएको थियो काठमाडौंमा। प्रचण्ड बेइजिङ नगई बुधबार नै काठमाडौं फर्कने खबर आउँदा नआउँदै ‘सी चिनफिङले प्रचण्डसँग किन भेट्न चाहेनन्’ भन्ने चर्चा नेकपाभित्र सुरु भैसकेको थियो।
सीपीसीको अठारौं अधिवेशनबाट पार्टीको महासचिव र राष्ट्रपति बनेलगत्तै २०१३ को सुरुमै सीले केही प्रभावशाली र बेइजिङका निम्ति महत्वपूर्ण नेताहरूसँग भेटावार्ता गरे। ती मध्ये दक्षिण एशियाबाट बेइजिङ निम्त्याइएका थिए प्रचण्ड र, त्यसयता पनि यी दुई नेताबीच पटक पटक भेटवार्ता भैसकेको छ। पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्ड दिल्ली भन्दा पहिले बेइजिङ पुगेपछि बेइजिङले उनलाई निकट राखेको देखिन्थ्यो। तर भारतीय नाकाबन्दीको समयमा प्रधानमन्त्री बनेका ओलीको अडान देखेपछि बेइजिङले उनलाई झन् निकट राख्न थाल्यो। दुई वर्षअघि एमाले–माओवादी गठबन्धन टुटेर ओली सरकार असफल भएयता प्रचण्ड र र ओलीमध्ये बेइजिङसँग को बढी नजिक हुन् भन्ने चासो नेकपाभित्र व्याप्त देखिन्छ।
सांघाईबाट याङचे नदी हुँदै ३०० किलोमिटर माथिको शहर नानचिङबाट प्रचण्ड त्यही हाइस्पिड रेलमा बेइजिङ पुग्न सक्थे, जुन रेलबाट २०१० मा महरासँगै हाङजाओ हुँदै राजधानी बेइजिङ पुगेका थिए। तर सोमबार मस्कोबाट बेइजिङ फर्केका सीले यसपाली प्रचण्डसँग भेट्ने समय निकाल्न चाहेनन्। नेकपाका दुई अध्यक्षबीच शक्ति संघर्ष सुरु भैसकेको अवस्थामा प्रचण्डसँग नभेटेर सीले के सन्देश दिन खोजेका हुन् त्यत्ति प्रष्ट भैसकेको छैन। खुमलटारको सचिवालयका सदस्यहरूका अनुसार जतिबेला प्रचण्ड चीन भ्रमणमा जाने कार्यक्रम तय भयो, त्यसबेला राष्ट्रपति सी रुस जाने भन्ने थिएन। राष्ट्रपति सीसँग भेटवार्ता हुने अवस्थामा मात्रै चीन भ्रमणमा आउने सन्देश प्रचण्डले बेइजिङ पठाएका थिए र उताबाट पनि सकारात्मक जवाफ आएको थियो। सी रुसमा रहेको र बेइजिङमा भेटवार्ता अनिश्चित जस्तो देखिएपछि प्रचण्डले केही दिन अगाडि पनि तत्कालै चीन भ्रमणमा नआउने खबर पठाएका थिए। तर सी रुसबाट फर्केपछि भेटवार्ता मिलाइने भन्दै नानचिङको कार्यक्रममा वक्ता रहेकाले प्रचण्डलाई जसरी पनि आउन आग्रह गरिएको थियो।
त्यस्तो अवस्थामा चीन गएर पनि प्रचण्डले बेइजिङ जाने र सीसँग भेटघाट गर्ने प्रयास जारी राखेका थिए। सायद ग्वान्झाओबाट काठमाडौं फर्कंदा बुधबार राती चार घण्टाको उडानमा प्रचण्डले आफ्नो भारत र चीन भ्रमणबारे बढी आत्ममन्थन गरे। प्रचण्डको सचिवालयले ‘परिस्थितिजन्य’ कारणले बेइजिङ भेटवार्ता हुन नसकेको प्रष्टिकरण जतिसुकै दिन खोजे पनि जबसम्म सी–प्रचण्डबीच अर्को भेट हुँदैन तबसम्म हुन नसकेको यो भेटबारे संशय रहिरहने छ।
-नेपाल खबरबाट

