राम ढुंगाना
इजरायल, तेलअभिब । चारैतिर भूमध्य सागरले घेरेको मध्यपूर्वमा पर्ने सानो, विकसित, शतप्रतिशत रोजगार रहेको राष्ट्र हो, इजरायल । त्यसैले इजरायलीहरू अत्यन्त व्यस्त रहन्छन् ।
आधुनिक जीवन शैलीमा रमाउने अधिकांश इजरायली एकल परिवारमा बस्न रुचाउने हुनाले अशक्त, अपांग, मानसिक हालत ठीक नभएका र वृद्धवृद्धाको हेरविचारका लागि आवश्यकअनुसार यहाँको सरकारले विदेशी कामदार राख्ने अनुमति दिन्छ ।
जसलाई ‘केयर गिभर’ वा सुसारे भनिन्छ । इजरायल सरकारले भारत, श्रीलंका, फिलिपिन्स र रोमानियालगायत देशबाट कामदार ल्याउने गर्छ ।
इजरायल विदेशी कामदारका लागि सुरक्षित देश हो । यहाँ कार्यरत विदेशी कामदार शोषणमा र हेपाइमा परेका भन्ने समाचार कमै सुनिन्छन् ।
यहाँका कामदारहरू आफू अन्यायमा पर्दा आफ्नो हकहित र पाउनुपर्ने सुविधा नपाएमा रोजगारदातासँग कानुनी लडाइँ लड्न सक्ने हैसियत राख्छन् ।
यहाँको कानुनले विदेशी कामदारलाई पनि इजरायली नागरिकसरह नै समान हक-अधिकार दिएको छ ।करिब आठ वर्षदेखि इजरायलमा काम गर्दै रहेको यस पंक्तिकारको सबैभन्दा सुखद अनुभव भनेको यहाँ कुनै पनि विदेशी कामदारलाई अपवादबाहेक दोस्रो दर्जाको नागरिकको रुपमा हेरिँदैन ।
श्रम र कामप्रतिको लगाव र इमानदारिताको उच्च मूल्यांकन गरिने देश हो, इजरायल ।

नेपालीको संख्या घट्दो
केही वर्ष अघिसम्म करिब २०-२५ हजारको हाराहारीमा नेपाली कामदार रहेकामा हाल करिब ५-६ हजार मात्र नेपाली कामदार बाँकी रहेका छन् । सम्झौताअनुसार समयावधि सकिएर नेपाल फर्केका र यतैबाट क्यानडा, युरोपलगायत अन्य देशमा जाने हुँदा नेपाली कामदारको संख्या घट्दो छ ।
इजरायल प्रवेश गरेको दिनदेखि चार वर्ष तीन महिनासम्म यहाँ काम गर्न पाउने सम्झौता हुन्छ ।
चार वर्ष तीन महिनापछि भनेको रोजगारदाताले राख्न चाहेमा र आफूले हेरविचार गरिराखेको व्यक्ति बाँचुन्जेलसम्म काम गर्न पाइन्छ ।
पुरुषभन्दा महिला केयर गिभरको बढी माग रहेको छ, इजरायलमा ।
आफ्नो देश अनि घर-परिवारदेखि टाढा रहनुपर्दाको पीडाबाहेक अन्य कुरामा यहाँ कार्यरत नेपाली खुसी नै देखिन्छन् ।
सानो देश प्रायः सबै साथीभाइसँग भेटघाट भइरहने इन्टरनेट, फोन सुविधामा सहज पहुँच अनि तेलअभिब, जेरुसलेम लगायत मुख्य सहरमा छुट्टी मनाउनका लागि लिइएका अपार्टमेन्टमा साथीभाइको जमघट हुने गर्छ ।
चाडपर्वहरू र विभिन्न समयमा नेपालदेखि कलाकार बोलाएर सांस्कृतिक लगायत अन्य विभिन्न कार्यक्रम गरिने र इजरायलका विभिन्न रमाइला ठाउँमा बेलाबखत भ्रमण हुने हुँदा दुःख-पीडा भुलिने गरेको छ
नेपालीले मन जिते
नेपाली महिला बेरोजगारीको चपेटामा परेर खाडीलगायत अन्य देशमा अत्यन्त कम तलबमा त्यसमाथि विभिन्न किसिमका शारीरिक, मानसिक शोषण, विभिन्न हिंसा सहेर काम गरिराखेका छन् ।
इजरायलमा कार्यरत नेपाली दिदी-बहिनी प्रायः खुसी छन् र आफ्नो कमाइप्रति सन्तुष्ट छन् । घर-परिवारदेखि टाढा हुनुपर्दाको पीडा त अवश्य नै होला, तर आफ्नो आर्थिक अवस्था सुधारेका छन् ।
नेपाली कामदार इमान्दार हुने र आफ्नो काम जिम्मेवारीपूर्वक निभाउने हुनाले नेपाली कामदारलाई इजरायलीले विशेषः मन पराउने गर्छन् ।
इजरायलले कृषिमा पनि ठूलै फड्को मारेको छ । आधुनिक प्रविधिद्वारा खेती गरिने इजरायल विश्वमै प्रख्यात छ ।
यहाँ कृषि कामदारको पनि ठूलो माग छ । आकर्षक तलब हुने नेपाली कामदार कृषिको क्षेत्रमा ल्याउन सकेमा बेरोजगार युवाले काम पाउनुका साथै यहाँको आधुनिक खेती प्रणालीबारे सिक्ने मौका पाउनेछन् र नेपाल फर्किएपछि स्वदेशमै आफूले सिकेको आधुनिक कृषि प्रविधि विकास गर्न सक्छन् ।
२०७२ चैत २१ गते मा प्रकाशित यो लेख पुन:प्रकाशित गरिएको हो।

