यिनी, रफिक आलम । जो चार वर्र्षअघि म्यानमारबाट लखेटिए । त्यसपछि बंगलादेश र भारतहुँदै नेपाल आइपुगे । म्यानमार सरकारको चरम दमन, शोषण र अत्याचार खप्न नसकेपछि उनी देशबाटै लखेटिए । सरकारले जहाँ भेट्यो त्यहीं गोली हान्ने खतरा बढेपछि उनी देश छाडेर भागेका हुन् । देश छाडेर त भागे, तर कहाँ जाने ? उनीसँग कुनै ठोस विकल्प थिएन ।
यद्यपि, सीमा क्षेत्र भएकाले उनी बंगलादेश आए । बंगलादेशमा पनि बस्नसक्ने स्थिति नभएपछि भारत आइपुगे । भारतमा उनका लागि झनै सहज स्थिति थिएन । अतिहेपिएर बस्न नसकेपछि उनी नेपालतिर लागे । पाँच दिन भोकभोकै हिँडेर उनी विराटनगर आइपुगे । उनको त्यो दर्दनाक दुखानुभूत उनकै आवाजमा सुन्नुहोस् ।
रफिक आलमका तीन दिदीहरु अहिले पनि कहाँ छन् ? थाहा छैन । म्यानरमार सरकारले मार्यो वा रफिकजस्तै कुनै देशमा शरण लिएर बसेका छन् ? उनकी आमा अहिले बंगलादेशको एउटा शरणार्थी शिविरमा भएको थाहा भएको छ ।
विराटनगर आइपुग्दासम्म उनलाई ‘नेपाल भन्ने देश छ’ भन्ने थाहा नै थिएन । उनीहरुलाई त नेपाल भनेको भारतकै एउटा प्रान्तजस्तो मात्रै लाग्दो रहेछ । अन्धाधुन्ध हिँड्दै विराटनगर आइपुगेपछि मात्रै उनलाई नेपाल एउटा बेग्लै स्वतन्त्र देश भन्ने थाहा भयो ।
रफिक आलम त एक प्रतिनिधि पात्र मात्रै हुन् । अहिले करिब ६ सय रोहिंगा शरणार्थीहरु नेपालमा बसिरहेका छन् । यसको आधिकारिक तथ्यांक त नेपाल सरकारसँग पनि छैन । यद्यपि, कपनस्थित राममन्दिर आपपासमा तीन वटा टहरो बनाएर तीन सय ४५ रोहिंगा शरणार्थी बसिरहेका छन् । उनीहरुलाई नेपाल सरकारले अझैसम्म शरणार्थीको दर्जा दिएको छैन । तर, उनीहरुलाई अरु देश प्रवेश गर्न भन्दा नेपाल सहज छ । प्रवेश मात्रै होइन, नेपालमा बस्न पनि उनीहरुलाई सजिलो छ । एक हिसाबमा रोहिंगा शरणार्थीका लागि नेपाल स्वर्ग नै हो । यहाँ पुलिसले सताउँदैन ।
उनीहरुको दैनिकी सहज भने छैन । उनीहरु यहाँ पनि गैरनागरिक भएर बसिरहेका छन् । आफ्नो देशबाट लखेटिएर अरुको देशमा अनागरिक भएर बस्नुको पीडा छ, उनीहरु भित्र । उनीहरुको बसाई गतिलो छैन । टिनको छानोमुनि अतिकष्टसँग उनीहरुले दिनरात गुजारिरहेका छन् । उनीहरु विभिन्न श्रमयुक्त काम गरिरहेका छन् । र परिवार पालिरहेका छन् । उनीहरुलाई नेपालमा पनि काम पाउन सजिलो भने छैन । काम पाए पनि मालिकहरुबाट गरिने व्यवहार सम्मानजनक छैन । उनीहरुसँग पीडा छ । गुनासो छ । अनि आफ्नै सरकारप्रति आक्रोश पनि ।
अल्पसंख्यक भएकै कारण आफ्नै देशबाट लखेटिनु पर्दाको पीडा अनि जुन देशमा शरण लिन गयो, त्यहीं देशमा समस्या । कुनै सरकार सम्प्रदायका नाममा नागरिकप्रति कति निर्मम हुनसक्छ ? भन्ने एउटा उदाहरण हो, म्यानमार सरकार र त्यहाँका रोहिंगा सम्प्रदाय ।
को हुन् रोहिंगा ? – रोहिंगा म्यानमारको मुस्लिम समुदायका अल्पसंख्यक हुन् । तत्कालिन बेलायती उपनिवेश सरकारले सन् १८२४मा पश्चिम म्यानमारमा ल्याएर उनीहरुलाई राखेको थियो । बौद्ध धर्मावलम्बीको बहुलता रहेको म्यानमारमा उनीहरुलाई कृषि मजदुरका रुपमा ल्याइएको थियो । बाहिरबाट ल्याएर राखेकै कारण सुरुदेखि नै उनीहरुले दमन र शोषणको सामना गर्नुपर्यो । दोस्रो विश्वयुद्धपछि म्यानमार बेलायती उपनिवेशवाट स्वतन्त्र भयो । त्यसपछि पनि रोहिंगाहरु त्यहीं बसे । र, क्रमशः मुस्लिम समुदायका रोहिंगा र म्यानमारका बौद्ध धर्मावलम्बीबीच द्वन्द्व सुरु भयो ।
दोस्रो विश्वयुद्धअघि म्यानमार पुगेकालाई अंगीकृत नागरिकता दिइयो । पछि पुगेकाहरुलाई नागरिकता समेत दिएन । नागरिकता मात्रै होइन, रोहिंगालाई तेस्रो दर्जाका मान्छेको व्यवहार हुन्थ्यो । मुस्लिमविरोधी कानून बनाएर मान्न बाध्य पारिन्थ्यो । पछि सन् १९८२ मा त रोहिंगालाई दिइएको अंगीकृत नागरिकता पनि खोसियो । रोहिंगालाई जबरजस्त लखेट्ने नीति ल्याइयो ।
सन् १९९६ पछि बौद्ध धर्मवाला र मुस्लिम धर्मवाला राहिंगाबीचको द्वन्द्व झन् चर्कियो । द्वन्द्व चर्कदैँ गयो । म्यानमारले रोहिंगालाई नागरिक नै मानेन । सन् २०१४ गरिएको जनगणनामा समेत उनीहरुलाई सामेल गरिएन । पछि हरेक अपराधकको कारण देखाउँदै म्यानमार सरकारले धमाधम रोहिंगालाई मार्न थाल्यो । अतिअत्याचार भएपछि रोहिंगाले पनि विद्रोह सुरु गरे । तर, म्यानमार सरकार र बौद्ध धर्मवालम्बीसँग उनीहरुको केही सीप लागेन ।
बसेको बस्तीमा बम खस्न थालेपछि, बस्तीमै आगो लाग्न थालेपछि, जहाँ भेट्यो त्यहीं गोली हान्न थालेपछि कसरी बस्न सक्नु देशमा ? न काम, न आम्दानी । कसैगरी पनि टिक्न नसक्ने भएपछि उनीहरु भारत, बंगलादेश, थाइल्याण्डलगायत देशसँगै नेपालमा पनि शरण खोज्न आइपुगेका हुन् । तथ्यांक अनुसार अझै म्यानमारमा करिब १० लाख रोहिंगाको बसोबास छ ।
र, उनीहरुलाई राज्यले उसैगरी दमन गरिरहेको छ । उनीहरु नेपालमा शरण लिन त आएका छन्, तर नेपालको नीतिले उनीहरुलाई शरणार्थी मानेको छैन । । र, उनीहरु ‘नेपाल सरकारले नै नागरिकको मान्यता दिए हुन्थ्यो, वा आफ्नै देश फर्कन पाए हुन्थ्यो’ भन्ने चाहिरहेका छन् ।
स्वदेश फर्कने चाहना- फरक धर्मावलम्बी भएकै कारण स्वदेशमा अतिअन्याय भएपछि परदेशमा शरण मागेर बस्नु पर्दाको दर्दनाक पीडा भोगिरहेका छन्, रोहिंगा समुदायले । म्यानमार सरकारले नागरिकको मान्यतै नदिई शोषण, दमन र अत्याचारको श्रृङ्खला बढाएपछि सहनै नसकेर थुप्रै रोहिंगाहरु बंगलादेश, भारत, थाइल्याण्ड, नेपाल लगायत देशमा शरण लिइरहेका छन् । अरु देशमा भन्दा नेपालमा शरणका लागि सहज अनुभव गरिरहेका रोहिंगाहरुको दुख चानचुने छैन । जुन कपनस्थित राममन्दिर आसपास टहरो हालेर बसेका रोहिंगाको यो आवाजले प्रमाणित गर्छ ।
यीनीहरुलाई आफ्नो देशबाट लखेटिने मन हुने कुरै भएन । तर राज्य निर्मम भएपछि ‘मर्नुभन्दा शरण लिनु ठीक’ लागेर उनीहरु नेपाल आइपुगेका हुन् । उनीहरुलाई नेपालमै यसैगरी बसिरहन मन भने छैन । उनीहरु सकेसम्म छिटो स्देश फर्कन चाहन्छन् । त्यसका लागि नेपाल सरकारले पनि पहल गरिदियोस् भन्ने चाहन्छन् ।
नेपाल सरकारले रोहिंगालाई शरणार्थी मानेको छैन । अर्थात् उनीहरुलाई शरणर्थीको सूचीमा सूचीकृत गरेको छैन । आधिकारिक रुपमा उनीहरु नागरिक त भएनन् नै, शरणार्थी समेत हुन सकिएरहेका छैनन् । नेपालमा रहेका करिब ६ सय रोहिंगालाई म्यानमार सरकारसँग कूटनीतिक पहल गरेर स्वदेश फर्काउन, नेपालले पहल गरिदिनु पर्छ ।
नत्र, अहिले शरणार्थीका रुपमा रहेका रोहिंगा नेपालका लागि पनि अर्को ठूलो समस्याको कारण हुन सक्छ । संसारकै सबैभन्दा अत्याचारमा परेको भनिएको रोहिंगामाथि निर्मम नभई, दीगो समाधान खोजिनु आवश्यक छ । तत्काल कुनै ठोस पहल नगर्ने हो भने, रोहिंगाहरु नेपाल भित्रने क्रम बढ्ने निश्चित छ । र, यसले नेपालमा दूरगामी प्रभाव पार्न सक्ने गतिविधिहरु हुन सक्छ । त्यसैले रोहिंगा शरणार्थीलाई नेपाल सरकारले नजरअन्दाज नगरोस् !

