नेपालले ऐतिहासिक रूपमा चीनसँगको बन्दरगाह प्रयोग गर्न पाउने सहमति भए पनि कार्यान्वयनमा चुनौती देखिन सक्ने भएको छ ।
तत्काल सबै बन्दरगाहहरू नेपालले प्रयोग गर्नका लागि पूर्वाधारको अभाव र तेस्रो मुलुकसँगको कारोबारमा हुने प्रक्रियागत झन्झट मुख्य चुनौती बन्नसक्ने विज्ञ तथा ढुवानी व्यवसायीहरूको भनाइ छ ।

दुई देशका अधिकारीबीच एउटा महत्वपूर्ण मानिएको पारवहनसम्बन्धी सम्झौताको प्रोटोकल (कार्यविधि) को मस्यौदामा सहमति भएपछि वर्षौंदेखिको भारतसँगको परनिर्भरता भने तोडिएको छ ।
भारतीय नाकाबन्दीको पीडा भोगेका नेपाली जनताले त्यस्तो अवस्था भोग्नु नपरोस् भनी ०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा यातायात पारवहन सम्झौता गरेका थिए । उक्त ऐतिहासिक सम्झौतापछि चीनहुँदै तेस्रो देशसँगको व्यापार र पारवहनको अधिकार प्राप्त भएको थियो ।
तर, उक्त सहमतिपछि पनि कुन कुन नाका प्रयोग गर्ने, कुन बाटो प्रयोग गर्नेजस्ता विषय समेटिएको प्रोटोकल टुंग्याउन बाँकी थियो । ओली दोस्रोपटक प्रधानमन्त्री भएपछिको चीन भ्रमणमा उक्त प्रोटोकलमा हस्ताक्षर हुने बताइए पनि दुबै देशको तयारी नपुग्दा भएको थिएन ।
काठमाडौंमा भएको पारवहन सम्झौता प्रोटोकलको तेस्रो परामर्श बैठकले ती प्रोटोकल मस्यौदालाई अन्तिम रूप दिएपछि अब यो कार्यान्वयनमा आउने भएको हो । सम्झौताअनुसार चीनले नेपाललाई आफ्ना ठूला बन्दरगाहहरूमा पहुँच दिनेछ ।
यससँगै नेपालले अब तेस्रो मुलुकबाट सामान ढुवानी गर्दा तियान्जिन, सेन्जेन, लियान्ग्याङ, झान्जियाङ लगायतका खुला सामुन्द्रिक बन्दरगाह तथा ल्यान्झोउ, ल्हासा, सिगात्से लगायतका सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ । सहमतिअनुसार नेपालले चीनका चार वटा सामुन्द्रिक र तीन वटा सुख्खा बन्दरगाहको प्रयोग गर्न पाउने भएको हो ।
यसैगरी नेपालतर्फका रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङचुङगोला गरी ६ वटा नाकामार्फत ढुवानी गर्न सक्नेछ । नेपालमा दर्ता भएका ढुवानीका साधन सिगात्सेसम्म जान पाउने सहमति पनि भएको छ ।
यी सबै बन्दरगाह नेपालभन्दा करिब चारदेखि पाँच हजार किलोमिटर टाढा रहेका छन् । भारतीय बन्दरगाहहरूको तुलनामा चीनका बन्दरगाहहरूसँगको दुरी निक्कै टाढा छ । सबैभन्दा नजिकको भनिएको तियान्जेन बन्दरगाह पुग्नसमेत करिब चार हजार किलोमिटर यात्रा गर्नुपर्छ । बन्दरगाह प्रयोग गर्न दिने भए पनि रेल र सडकमार्ग धेरै प्रयोग गर्नुपर्ने तथा चीनले केकस्ता प्रक्रिया पूरा गर्नुपर्ने प्रावधानहरू राख्ने हो त्यसमा पनि पारवहनको सहजता निर्भर हुने बताइएको छ ।
कति टाढा छन् बन्दरगाह
तियान्जिन बन्दरगाह
तियान्जिन बन्दरगाह उत्तरी चीनको सबैभन्दा ठूलो बन्दरगाह हो । यो बन्दरगाह चीनको राजधानी बेइजिङको मुख्य सामुद्रिक प्रवेशद्वारसमेत हो । चीनको मुख्य खाडी पोहआईमा अवस्थित यो बन्दरगाह राजधानी बेइजिङबाट १ सय ७० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ भने थियान्जिन सहरबाट ६० किलोमिटर पूर्वमा पर्छ ।
यसलाई नयाँ बन्दरगाहको रूपमा पनि चिनिन्छ । यो बन्दरगाह १ सय ७० वर्ग किलोमिटरमा फैलिएको छ । यो बन्दरगाह उत्तरी चीनको मुख्य विशेष आर्थिक क्षेत्र (सेज) हो । यस बन्दरगाहामा चार वटा क्षेत्रहरू छन् । पूर्वी, उत्तरी, दक्षिण र हआइह नदी पोर्ट ।
सेन्जेन बन्दरगाह
सेन्जेन बन्दरगाह विश्वकै फास्टेस्ट ग्रोइङ पोर्ट हो । विश्वको व्यस्त कन्टेनर पोर्ट मध्ये तेस्रो स्थानमा रहेको यस बन्दरगाहमा सन् २०१७ मा मात्र २ करोड ५६ लाख ७० हजार कन्टेनरहरू उतारिएको थियो । यो बन्दरगाह चीनको सेन्चेन सहरमा २ सय ६० किलोमिटर फराकिलो सामुद्रिक किनारामा पैmलिएको छ ।
यो बन्दरगाह चीन र चिनियाँ विशेष प्रशासनिक केन्द्र हङकङको प्रवेशद्वार पनि हो । यो बन्दरगाह हङकङबाट ३७ किलोमिटरको दुरीमा छ भने गोन्जाओबाट १ सय ११ किलोमिटरको दुरीमा छ । २००७ को जुलाई १ बाट सञ्चालनमा आएको यो बन्दरगाहको उद्घाटन चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव तथा राष्ट्रपति हु जिन्ताओले गरेका थिए ।
लियान्ग्याङ बन्दरगाह
चीनको उत्तरपूर्वी कियांसु प्रान्तमा अवस्थित यो बन्दरगाह सन् १९०५ देखि वैदेशिक व्यापारका लागि खुला गरिएको थियो । प्रान्तको अग्लो हिमाल युन्थाई हिमालदेखि समुद्री किनारसम्म फैलिएको यो बन्दरगाह वैदेशिक व्यापारका लागि पहिला खोलिएका प्रवेश विन्दु मध्ये एक यो । यो बन्दरगाह नजिक चीनकै ठूलो न्युक्लियर पावर प्लान्ट थियानवान न्युक्लियर पावर प्लान्ट छ ।
यस बन्दरगाहदेखि २५ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट देशका प्रमुख सहरहरूमा नियमित उडान हुँदै आएको छ । साथै नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । यसको निर्माण सन् २०२० सम्म सम्पन्न हुने बताइएको छ । यो बन्दरगाह चीनको १०औँ र विश्वको ३०औँ ठूलो बन्दरगाह हो । सन् २०१७ मा यहाँ ४ करोड ७० लाख ३ हजार कन्टेनर भित्रिएका थिए ।
झान्जियाङ बन्दरगाह
यो बन्दरगाह चीनको हान शासनकालदेखि नै प्रयोगमा रहेको बताइन्छ । यो बन्दरगाह चीनको इनल्यान्ड रिभर पोर्ट हो । यो बन्दरगाह यांकथ्च नदीको किनारमा अवस्थित छ । यो नदीको औषत गहिराई ११ मिटर रहेको छ । वर्षभर यहाँ ५० हजार डिडब्लुटी जहाज सञ्चालन हुन सक्छन् । यो बन्दरगाह वैदेशिक व्यापारका लागि सन् १८५८ देखि खुला गरिएको हो । यो बन्दरगाह ३८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
ल्यान्झोउ सुख्खा बन्दरगाह
यो सुख्खा बन्दरगाका चीनको उत्तर–पूर्वी कोङसु प्रान्तको राजधानीमा अवस्थित छ । एल्लो नदीको किनारमा अवस्थित लान्चाओउ सहर उत्तरी सिल्क रोडको मुख्ख लिंक पनि हो । यो सहर औद्योगिक तथा पेट्रोकेमिकल उद्योगका लागि प्रख्यात छ ।
यही पोर्ट भएर भारतले नाकाबन्दी लगाउँदा नेपालका लागि चिनियाँ रेल छुटेको थियो । यही बन्दरगाह हुँदै नेपालसम्म नाकाबन्दीको समयमा सन् २०१६ मा १४ बिलियनभन्दा बढीको सामग्री भित्रिएको थियो ।
- सौर्य अनलाइन

