सन् २००१ मा जर्मनीको संसदलाई सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए– रुस युरोपेली राष्ट्रको मैत्रीपूर्ण मुलुक हो। यस महादेशमा स्थायी शान्ति रुसको प्रमुख लक्ष्य हो। लोकतान्त्रिक पद्धति र स्वतन्त्रता रुसको नीति हो।’
सोभियत संघको पतनमा बर्लिन पनि कारक थियो। पुटिनको यो अभिव्यक्तिलाई जर्मन सांसदहरुले पुनर्मिलनको सन्देश ठाने। पुटिनको सन्देशलाई सम्मानस्वरुप सांसदहरुले उठेर परर्र ताली पिटे।
त्यस दृश्यको साक्षी थिए नोबर्ट रोटगेन। ‘पुटिनले हामीलाई मन्त्रमुग्ध बनाए। नरम लवजमा उनले गरेको सम्बोधनले हामीलाई आश्वस्त बनायो। स्थायी शान्तिका निम्ति युरोप एजकुट हुनेछ भनेर विश्वस्त बनाए,‘ नोबर्ट भन्छन्।
आज पुटिनकै कारण युरोप एकजुट हुन सकेन। युक्रेनको राष्ट्रवाद मिथक रहेको पुष्टिका निम्ति उनले युद्ध छेडे। यसले ३ लाख ७० हजार युक्रेनीलाई शरणार्थी बनायो। मृत्यु हुनेको संख्या पनि उकालो लागिरहेकै छ। पुटिनको यस कदमको रुसमा समेत विरोध भइरहेको छ। तर आफ्नो कदमको विरोधीहरुप्रति उनी कर्कश सुनिन्छन्। पुटिनको अधिनायकवादी चरित्रविरुद्ध सडकमा उत्रनेहरुलाई उनको आक्षेप छ, ‘पश्चिमाहरुको इशारामा विरोध गरिरहेकाहरु देशद्रोही र गद्दार हुन्।’
युक्रेनमा सांघातीक हमला तीव्र बनाइरहेका पुटिन भन्छन्, ‘पश्चिमा इशारामा चल्न थालेपछि युक्रेनले दुर्भाग्यको सामना गरेको हो।’ ‘सच्चा रुसीहरुले मुखमा परेको झिँगालाई थुकेझैँ युक्रेनीहरुलाई थुक्नेछन्। यसले नै सामाजिक आत्मशुद्धि गराउनेछ,’ पुटिन घृणाको अभिव्यक्ति दिन्छन्।
पुटिन आफ्ना युवालाई फासीवादी राष्ट्रवादको प्रशिक्षण दिन्छन्। यो २२ वर्षमा अमेरिकाले पाँचवटा राष्ट्रपति व्यहोर्यो। चीन शक्तिशाली बन्दै उदायो। प्रविधिले फड्को मार्यो। इराक र अफगानिस्तानमा गरेको युद्धको औचित्य अमेरिकाले पुष्टि गर्न सकेन। पुटिनको तर्क र उत्तेजना, भनाइ र गराइको भिन्नताका बीच पुटिनको नेतृत्वमा रुस रहस्यमयी बन्दै गएको छ।
रुस रहस्यमयी बन्दै जानुमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुमाथि पनि प्रश्न उठ्ने गरेका छन्। के पश्चिमा राष्ट्रहरुले पुटिनले सुरुवातमा प्रस्तुत गरेको शालीन र नरम व्यक्तित्वका कारण उनलाई गलत आकलन गरे?
वा पश्चिमा राष्ट्रहरुकै व्यवहारका कारण उनी यस्तो बन्न पुगे? प्रश्न यो पनि उब्जिएको छ– कतै कोरोनाकालमा रुसलाई एक्लो बनाएपछिको परिणाम त होइन यो?
पुटिन रहस्यमयी सार्वजनिक व्यक्तित्व हुन्। युक्रेनमा पुटिनले छेडेको युद्ध होस् वा अरु विषय, पुटिन पश्चिमाविरुद्ध खरो उत्रिएका छन्। पुटिनविरुद्ध असन्तुष्टि जति चुलिँदो छ, उनी उत्तिकै शक्तिशाली बन्दै गएका छन्। उनको शासकीय महिमा यस्तो भइसक्यो कि पुटिन भनेकै रुस र रुस भनेकै पुटिनको भाष्य निर्माण भइसकेको छ।
ग्रेटर रसियाको लक्ष्यकै कारण पुटिनसँग पश्चिमाहरु असन्तुष्ट रहेको कोन्डोलिजा राइस बताउँछिन्। पुटिनको पहिलो कार्यकालमा अमेरिकी विदेश सचिवका रुपमा उनीसँग नियमित संवादमा रहने राइस भन्छिन्, ‘पुटिन सोभियत संघको पतनपछि २० करोड ५० लाख जनसंख्या सोभियत साम्राज्यबाट बाहिर रहनु नै २० औँ शताब्दीको ठूलो प्रकोप ठान्छन्,’ उनले भनिन्।
सोभियत संघको पतनले व्याकुल नबनेका हुन्थे भने पुटिनका अन्य प्राथामिकता हुने थिए। आखिर पुटिन रुसको राष्ट्रसेवक थिए। सन् १९९० मा रुसमा बोरिस यल्तसिन पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनको कार्यकालमा रुसमा गडबडी सुरु भयो। रुसमा सुरु भएको आन्दोलनलाई रोक्न उनले संसदबाट संकटकालको प्रस्ताव पारित गराए। उनको यो निर्णयका कारण रुसमा १ सय ४७ जनाको ज्यान गयो। रुस आर्थिक संकटमा यसरी फस्यो कि उद्योगधन्दा धनाढ्यहरुको कब्जामा गयो। गरिबी यति बढ्यो पश्चिमाहरुले मानवीय सहायता पठाउनुपर्यो। यो स्थितिलाई पुटिन तबाही मान्छन्। पश्चिमाहरुले मानवीय सहायता पठाउनुपर्ने स्थिति पुटिनका निम्ति रुसको सबैभन्दा ठूलो अपमान हो।
‘रुसमा जे भयो पुटिनले त्यस घटनालाई घृणा गरे। अझ पश्चिमाहरुको सहयोगलाई त झनै घृणा गरे,’ १२ वर्ष जर्मन चान्सलर एंगेला मर्केलको कूटनीतिक सल्लाहकार रहेका क्रिष्टोफ ह्युगसन भन्छन्।
सन् २००० को राष्ट्रपतीय निर्वाचन अभियानको घोषणापत्रमा पुटिनले उल्लेख गरेका थिए– ‘राज्यबाट बजारलाई शक्ति हस्तान्तरण गर्ने पश्चिमा षड्यन्त्रलाई उल्टाइनेछ। समग्र परिवर्तन सुनिश्चित गर्ने स्रोत नै राज्य हो। राज्यलाई बलियो बनाउन सबैले लड्नुपर्छ।’
पुटिनले स्टालिनकालीन राष्ट्रगान व्युँत्याए तर उनी मार्क्सवादी होइनन्। सन् १९८५ देखि १९९० सम्म रुसको जासुसी संयन्त्र केजीबीमा काम गर्दा उनले रुस र पूर्वी जर्मनीमा केन्द्रिकृत अर्थतन्त्रको विपत्ति देखिसकेका छन्। रुसका राष्ट्रपतिले झागिँदो पुँजीवाद, अराजक पुँजीवाद र कुलीन वर्गसँग काम पनि गरेका छन्। पुटिनका रणनीतिक साझेदारहरु भन्छन्, ‘कम्युनिस्ट सिद्धान्तमा निष्ठा नदेखाएमा शासक हटाइनुपर्छ। यो नै सार्वभौम प्रजातन्त्र हो।’
१८ औँ शताब्दीमा पिटर द ग्रेटले सेन्ट पिर्टसवर्ग शहर बनाएका थिए। त्यसलाई युरोपको झ्याल पनि भनिन्छ। सन् १९९१ मा सेन्ट पिटर्सवर्गका मेयर सोबाकका वैदेशिक मामिला सल्लाहकार थिए पुटिन। राजनीतिक करियरको सुरुवाती चरणमा उनी रुसमा वैदेशिक लगानी आकर्षित गर्ने काम गर्थे। त्यसबेला पुटिन पश्चिमाहरुप्रति उदार नै थिए।
सन् २००० मा राष्ट्रपति बनेपछि आफ्ना अमेरिकी समकक्षी विल क्लिन्टनलाई उनले रुस नाटोको सदस्य बन्ने सम्भावना रहेको बताए। सन् १९९४ मा युरोपियन युनियनसँग रुसले आर्थिक, सास्कृतिक र राजनीतिक क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो। पुटिनले यसलाई निरन्तरता दिए। सन् २००२ मै नेटो रुस परिषद्को स्थापना पनि भयो। त्यसपछि आधुनिक पिटर्सवर्गका मानिसहरुले पुरातन सोभियतकालीन मानिसहरुसँग वैचारिक संघर्ष गर्नुपर्ने भयो।
यी दुई विचारधारका मानिसबीच सन्तुलन ल्याउने अभिभारा पुटिनमा आइपर्यो। पुटिनले अमेरिकी चलचित्र निर्देशक ओलिभर स्टोनसँग ‘द पुटिन इन्टरभ्युजमा भनेका छन्, ‘आफ्नो नियन्त्रण कहिले पनि गुमाउनु हुँदैन।’

