- बाल जोशी
टेक्सासको डालस नजिकै रिचर्डसन सहर भित्र पर्ने एक ‘अफिस कम्प्लेक्स’ भित्रको कोठा नम्बर १०६ मा हामीले क्रिस्टिनालाई भेट्यौ। उनको जन्म नाम ‘मारियाला’ हो तर विगत ३ महिनादेखि उनी ‘मारियाला’ बाट क्रिस्टिना भएकी छिन्। भेनेजुयलाकी मारियाला ‘क्रिस्टिना’ बन्नुमा लामो कारण छ। यही कारण बुझ्न हामी ‘पीप्म’, जसलाई नेपालीमा यौन दलाल भनिन्छ, को सहारामा त्यो अत्यासलाग्दो कोठामा प्रवेश गरेका थियौं।

उनको नाम मात्र परिवर्तन भएको छैन, जीवनमा उथलपुथल नै आएको छ।
‘नो फोटो प्लिज’… ! मैले आफ्नो खल्ती बाट फोन बाहिर निकालेपछि आफ्ना तस्बिरहरू नखिच्न क्रिस्टिनाले आग्रह गरिन्। उसो त उनको तस्बिर होइन, आवाज मात्र रेकर्ड गर्न मैले फोन निकालेको थिएँ।
मैले सरसर्ती कोठा नियालेँ। मधुरो बत्ती, रातो र पहेँलो रङ्गले पोतिएका दिवारहरु, छेउमै राखिएको एक ‘मसाज टेबल’ र सानो ‘साइड टेबल’ जहा लोसनका प्रकारहरू र एउटा डिजिटल घडी, अनि पृष्टभूमीमा बजिरहेको ‘रिल्याक्सेसन म्युजिक’। यो त ‘मसाज पार्लर’ जस्तो पो छ त? मैले आफ्नो परिचय दिँदै कुराकानी यही उत्सुकताबाट सुरू गरेँ। ‘‘दुनियाँका लागि यो मसाज पार्लर नै हो, तर भित्रको कुरा तिमीले बुझिसकेका छौ। मैले भनिरहन परेन’, टुटे फुटेको अङ्ग्रेजीमा क्रिस्टिनाले मेरो उत्सुकता मेटिन्।
सम्पन्नताको शिखर पुगेको भनिएको देश अमेरिकाका धेरै भित्री कथाहरू आवरण भन्दा बेग्लै छन्। भत्किएका सपना र चुलिएका महत्वाकांक्षा बोकेर जीवन बाFचिरहेकाकाहरू अरूका नजरमा ‘गतिलो’ देखिनु अब बाध्यता मात्र होइन- रोग नै बनिसकेको छ।
सायद, क्रिस्टिना पनि त्यही रोगको सिकार हुन्। आफ्नो अनुमानलाई प्रमाणित गर्न उनलाई मैले प्रश्न गरेँ – ‘अनि तिमी यो पेसामा किन?’ ‘यिनका लागि’ छेउमै राखेको रातो पर्सबाट मायालाग्दी बालिकाको तस्बिर देखाउँदै क्रिस्टिनाले दुई शब्दमा आफ्नो कारण सुनाइन्।
पृष्ठभूमिमा बजिरहेको रिल्याक्सेसन म्युजिक अब चीत्कारमा परिणत भइसकेको भान भयो। मलाई लाग्यो, त्यो अँध्यारो कोठाबाट क्रिस्टिनाको पीडा आवाज बनेर बाहिर चियाउन खोजिरहेछ।
दक्षिण अमेरिकाका गरिब राष्ट्रहरू मध्यको एक भेनुजुयलामा भइरहेको मुद्रास्फिति (इन्फ्लेशन) का कारण पछिल्लो एक वर्षमा झन्डै ३० लाख नागरिकले देश छोडेका छन्। तिनै ३० लाख मध्येकी एक हुन् क्रिस्टिना।
गत महिनाको तथ्याङ्क अनुसार भेनुजुयलाको वार्षिक इन्फ्लेसनदर ८३ हजार प्रतिशत पुगेको छ। जसका कारण महँगी चरम छ। यो समाचार तयार पार्दा बखत १ अमेरिकी डलर बराबर २ लाख ४८ हजार भेनुजुलियन बोलिभर छ। यही महंगो डलर कमाउन ९ वर्षको छोरीलाई उतै छोडेर तीन महिनाअघि चोर बाटोहुँदै अमेरिका छिरेकी हुन् क्रिस्टिना।
दिनमा १०-१२ ग्राहकलाई यौन सन्तुष्टि दिने क्रिस्टिना भित्रबाट बिलकुल असन्तुस्ट छिन्। तर, असुन्तष्टी देखाउने अधिकार उनले ‘पिम्प’ लाई बेचिसकेकी छिन्। ‘एउटा ग्राहकबाट ५०-१०० डलरसम्म कमाइ हुन्छ। तर, ८० प्रतिशत जति पिम्पले नै लिन्छ र पनि राम्रै कमाई भइरहेको छ,’ उनले भनिन्।
अमेरिकासम्म पुग्दा लागेको खर्च तिरेको दलालले नै ग्राहकहरू खोज्ने, कोठाको सजावटदेखि भाडा तिर्ने भएकोले ठूलो हिस्सा लिने उनको बुझाई छ। ‘तर, धेरै लामो समय यो काम गर्दिनँ, जिन्दगी अहिले ‘होल्ड मोड’ मा छ- धेरै गरे १ वर्ष’, अघिदेखि हातमा समातिराखेको छोरीको तस्बिरतिर टोलाउँदै क्रिष्टिनाले झर्न लागेका आशुका थोपा परेलामा नै कतै लुकाइन्।
मानव सभ्यताकै सबैभन्दा पुराना पेसामध्येको एक ‘देह व्यापार’ अमेरिकाका गैर कानुनी छ। नभाडा राज्यका ८ वटा काउन्टीका २१ वेश्यालयबाहेक अमेरिकाभरी यो पेषा पूर्णरुपमा प्रतिबन्धित छ। तर, क्रिस्टिना र क्रिस्टिनाजस्ता लाखौँ महिलाहरू यो व्यवसायमा संलग्न छन्। यौन हिंसाका विषयमा कार्यरत युरोपियन संस्था, फाउन्डेसन स्केल्लासको एक तथ्याङ्क अनुसार अमेरिकामा मात्र वार्षिक १५ बिलियन डलर बराबरको कारोबार देह व्यापारले गर्छ।
विश्वका अन्य मुलुकको तुलनामा अमेरिकामा देह व्यापारसँग सम्बन्धित कानुन अत्यन्त कडा छ। अमेरिकी न्याय मन्त्रालय (डिपार्टमेन्ट अफ जस्टिस) का अनुसार वार्षिक रूपमा अमेरिकामा करिब ५५ हजार देह व्यापारसँग सम्बन्धित प्रक्राउ हुन्छन्। जसमध्ये दुई तिहाइ महिला छन्।
-सेतो पाटी

