दिवाकर पाण्डे- केहि हप्ता अगि प्रधानमन्त्री ओलीको टाउको बाँदरको जिउमा जोडेर फेसबुकमा सेयर गरेका कारण प्रहरीले होमनाथ सिग्देललाई पक्राउ गरेको समाचार अन्तर्राष्ट्रिय मिडियामा भाइरल भैरहेको थियो। त्यस घटनाको लगत्तै एक-दुइ दिन पश्चात उप-प्रधानमन्त्रि उपेन्द्र यादबलाई कालो झण्डा देखाउने क्रममा राम मनोहर यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।
तर आज एका-एक खबर आउँछ, प्रहरी हिरासतमा राखिएका यादवको हात खुट्टा नचल्ने भएसी जिल्ला अस्पताल गुलरियामा भर्ना गरिएको थियो र, उपचारका क्रममा काठ्माण्डौ लगिंदै गर्दा निधन भएको छ । तर यो भनिएको छैन कि किन र कति कारणले हात खुट्टा चल्न बन्द भएको हो । हिरासत भित्रै हातखुट्टा चल्न बन्द कसरी ? के प्रहरी टर्चर कै कारणले उनको हात खुट्टा चल्न बन्द भएको हैन ? प्रहरी प्रशासनले पछिल्लो समय जुन बर्बरता प्रदर्शन गरिरहेको छ, यी सबैलाई हेर्ने हो भने सबै कुरा प्रष्ट हुदैन र ?
हामी यहाँनेर नजाउँ कि राम मनोहर यादवको पृष्ठ भुमि के थियो ? उनि कसका कार्यकर्ता थिए ? ति कुराहरु आफ्नो ठाउँमा छन् तर देशले फेरी अर्को ३० बर्षे युवक गुमाएको छ र त्यो पनि प्रहरीको कस्टडि भित्र ! नेपालको संबिधानमा प्रष्ट लेखिएको छ कि कसैलाई पनि मृत्युदण्डको सजाय दिनेगरी कानुन बनाइने छैन तर प्रहरीले जुन हर्कत प्रदर्शन गरिरहेको छ लाग्छ उ सँग आम जनताको ज्यान लिने लाइसेन्स सुरक्षित छ । त्यसैले त प्रहरीले एक पश्चात अर्को बर्बरता निडर भएर प्रदर्शन गरिरहेको छ ।
उसो त प्रहरी प्रशासनको यो ज्यादती नौलो हैन । प्रहरी प्रमुख सर्वेन्द्र खनाल आफै इन्काउन्टर आतंकबाट वाहि वाहि बटुलेका पात्र हुन् । घैंटे प्रकरण हुँदै गर्दा अपराध महाशाखाका प्रमुख यिनै खनाल थिए । केहि हप्ता अगि एघार बर्षीय निशान खड्काको अपहरण पश्चात हत्या गर्ने अजय तामाङ र गोपाल तामाङलाई पनि प्रहरीद्वारा फेक इन्काउन्टरमा मारिएको थियो । आफ्नो अकर्मण्यताबाट बच्न र जनताको आखाँमा धुलो छोप्न प्रहरीले विभिन्न हत्कण्डा मच्चाउनु अब हाम्रो लागि केहि नौलो कुरो हैन ।
अहिले अत्याधिक गम्भीर र चर्चित रहेको निर्मला काण्डमा पनि निर्दोषलाई फसाउन प्रहरीले हदैसम्म प्रयास गरेको र कानुनलाई हातमा लिएर गैर न्यायिक ज्यादती गरेका कुराहरु एक पश्चात अर्को हुदैँ बाहिरि रहेका छन् । निर्दोष चक्र बडु लगायतकालाई हिरासतमा एघार दिन सम्म क्रुर यातना दिएको घटना बाहिर निस्केको धेरै भएको छैन । यी घटनाहरु नसेलाउदैं फेरी अर्को घटना घट्नुलाई आम जनताले के भनेर बुझ्ने?? के देशमा दुई तिहाइ बहुमत बलशाली सरकारले प्रहरीलाई जे सुकै गर्नको लागि छुट दिएको हो ?
नेविसंघ भारतका केन्द्रीय सहमहामन्त्री हुन् )नेविसंघ भारतका केन्द्रीय सहमहामन्त्री हुन् )
यतिखेर मधेश भरि होहल्ला छ, “मधेशी सपुतहरुको खुनको सिंचाईमाउप प्रधान मन्त्री बनेका यादबले मधेशकै अर्को छोरा मारेर आफ्नो अनि सरकारको बल र दम्भ देखाए ।” यो बल र दम्भ उनमा मात्र हैन सरकारमा आसिनरत सबैमा देखिन्छ, पत्रकारको सवाल चित्त नबुझेर जागीर खाइदिने मन्त्री देखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीसम्म सबैमा । होला, उनले कालो झण्डा देखाउँदा उप प्र मको शिष्टाचार माथि अपमान भयो होला तर के त्यसको सजायँ राम मनोहर यादवको जीवन हो? यसलाई के भनेर बुझ्ने ?हाम्रो संविधानले बिचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ । कानुन र संबिधानमाथि राज्य सत्ता आफै यति निर्मम भएर प्रस्तुत हुन्छ अनि ति बाटाहरु आफ्नो अनुकुल हुँदा मात्र सहि, नत्र तोड मोड गर्ने मानसिकता राख्छ भने अधिनायकबादको जग यिनै असहिष्णु अनि निर्लज्ज हर्कत हरु हुन् भनेर किन नभन्ने ?
राम मनोहर यादव तिन बच्चाका बाबु हुन् । प्रहरी प्रशासन र राज्य संयन्त्रले ति टुहुरा बालक र बालिकालाई अनि उनकी पत्नीलाई के जवाफ देला ? समस्त नेपाली दाजुभाईलाई के जवाफ दिन्छ ? गणतंत्र त आयो, दुई सय पचास बर्षे राज शासन पनि ढालियो तर पनि कालो झण्डाकै बदलामा ज्यानलिने कस्तो नयाँ ज्यान तन्त्र आयो ? के आम नागरिकको जीवनको मूल्य यहि हो ? जनतामा निहित सार्वभौम सत्ता र राजकीय सत्ता भनेको यहि हो?? कहाँ छन् आधारभूत मानव अधिकारका सिद्दान्तहरु ? किन चुपचाप छन् नागरिक समाज, मिडियाका अगुवाहरु? यो घटना को सत्य तथ्य छानबिन कहिले हुने ?
के राम मनोहरका छोराले आफ्नु बाबुको हत्याको न्याय नपाउने? किन यो घटनाले उति चर्चा पाएन जति अरु घटनाले पाउथें ? किन बिरोधका आवाजहरु यति मलिन ? के उनि मधेशी हुन, त्यसैले ? किन यो घटना आम जनमानस सम्म संचारित छैन, के उनि मधेशका हुन् त्यसैले ? या यादव हुन् त्यसैले ? या उनि काला छन्, त्यसैले ? हैन भने सत्य तथ्यको छानबिनको लागि आवाज उठाउने दायित्व हामी आम नागरिकको हैन र ?
सरकारको यस्तो निर्लज्ज दमन माथि सबै चुप, आखिर कैलेसम्म ?
– नेविसंघको भारत प्रवास कमिटिका सहमहामन्त्री रहेका पाण्डे नयाँ दिल्लीको लक्ष्मीनगरमा सिए फाईनल अध्ययनरत छन् ।

