रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक बमलाई तयारी राख्ने निर्देशन दिएसँगै विश्व त्रस्त भएको छ ।
युक्रेनमाथि रुसको आक्रमण जारी रहँदा पुटिनले आणविक बम तयारी अवस्थामा राखेर संसारलाई गम्भीर बन्न बाध्य पारेका छन् ।
रुससँग कुल ४ हजार ४ सय ७७ आणविक बम छन् । युक्रेनलाई पश्चिमी मुलुकहरूले हातहतियार र अन्य सहायता उपलब्ध गराएको अनि पुटिन लगायतका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएपछि पुटिनले आणविक बम तैनाथ गराएका हुन् । नेटो देशहरूले हस्तक्षेप गरेका इतिहासको सबभन्दा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत पुटिनले दिएका छन् ।
रुसका आणविक बमहरू जमीन, समुद्र र आकाश तीनै ठाउँबाट प्रहार गर्न सकिन्छ । रुससँग प्रशस्त्र ट्याक्टिकल आणविक बम छन् । तिनलाई युद्धमा तुरुन्त तैनाथ गर्न सकिन्छ । तिनले कम ठाउँमा विनाश मच्चाउँछन् । यिनबाट रेडियो विकिरण पनि कमै मात्र फैलिन्छ ।
रुससँग यी आणविक बमलाई लामो दूरीसम्म प्रहार गर्न सक्ने शक्तिशाली क्षेप्यास्त्रहरू पनि छन् । ती क्षेप्यास्त्र रुसबाट २० मिनेटमा बेलायत र आधा घन्टामा अमेरिका पुग्न सक्छन् ।
पुटिनलाई गम्भीरताका साथ लिन यी आणविक हतियारहरूले बाध्य बनाएका छन् ।
युक्रेनमा भारतीय विद्यार्थीको मृत्यु
भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सो जानकारी दिएका हुन्। बीबीसी हिन्दीले मृत्यु भएका विद्यार्थी नवीनसँगै युक्रेनको खार्किभमा बस्ने भारतीय विद्यार्थी श्रीकान्त चेन्नागौडासँग कुरा गरेको छ। नवीनले आफ्ना नजिकका साथी श्रीकान्तलाई खाना किन्नका लागि पैसा ट्रान्सफर गर्न अनुरोध गरेका थिए।
खार्किभबाट बीबीसी हिन्दीसँग कुरा गर्दै मेडिकल विद्यार्थी श्रीकान्तले भने, ‘उनले मलाई बिहान ८ बजे फोन गरे र खानाको पैसा सकिएकोले पैसा ट्रान्सफर गर्न भने। उनी हामी सबैका लागि खाना किन्न गएका थिए।’ कर्नाटकको हावेरी जिल्लाको रानेबेन्नुर तालुकको चालगेरी गाउँका नवीनले ४ वर्षदेखि श्रीकान्तसँगै खार्किभ नेसनल मेडिकल युनिभर्सिटीमा मेडिसिन पढिरहेका थिए।
कर्फ्यु सकिएपछि बाहिर निस्केका थिए, फर्किएनन्
कर्फ्यु सकिएपछि बिहान ६.३० बजे नवीनले आफ्नो बंकर छाडेको बताइएको छ। सहरमा दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको थियो। नवीन र श्रीकान्त आफ्ना साथीहरूसँग त्यहाँ बस्छन्। यो बंकर उनको अपार्टमेन्ट तल छ। सुपरमार्केट उनी बस्ने ठाँउबाट करिब ५० मिटर टाढा छ।
श्रीकान्तले बीबीसी हिन्दीसँग भनेका छन्, ‘मैले पैसा ट्रान्सफर गरें र पाँचदेखि दस मिनेटमा उनलाई फोन गरेँ तर उनले फोन उठाएनन्। त्यसपछि मैले उनको स्थानीय नम्बर डायल गरें। उनले अझै फोन उठाएनन्। त्यसपछि कसैले मलाई फोन गर्यो, उठाएँ र युक्रेनी भाषामा कुरा गर्दै थियो, जनु मैले बुझ्नि बुझ्दिनँ।’
श्रीकान्तले नजिकैका एक व्यक्तिलाई फोन दिए। कुराकानीपछि ती व्यक्तिले श्रीकान्तलाई भने, ‘तिम्रो साथी रहेनन्।’
‘मैले पत्याउनै सकिनँ। त्यसपछि म सुपरमार्केट गएँ। त्यहाँ विस्फोटजस्तो कुनै संकेत थिएन’, श्रीकान्तले भनेका छन्।
श्रीकान्तले नवीनलाई कतैबाट गोली हानिएको अनुमान गरेका छन्। ‘खार्किभमा धेरै वम विस्फोट भइरहेको छ। बंकरमा हामी ९ जना थियौं। पाँच जना गइसकेका थिए, तर हामीले जोखिम मोल्न चाहेनौं, यहीँ बस्यौं। हामी बुधबार बिहान जाने योजनामा थियौं’, उनले भनेका छन्।
उनका अनुसार नवीन भावुक मनका मानिस थिए। पढाइमा पनि तेज थिए। श्रीकान्तले सुनाएका छन्, ‘यहाँ मेडिकलको तेस्रो वर्षमा उनले ९५ प्रतिशत अंक ल्याएका थिए।’
उनले गुनासो गरेका छन्, ‘हामीलाई अहिलेसम्म भारतीय दूतावासले सम्पर्क गरेको छैन। उनको शव कहाँ छ हामीलाई थाहा छैन।’ श्रीकान्त कर्नाटकको मैसुरका हुन्।

