कातिर हिमाल र पडाडी भू–भागलाई चिनाउने चित्र, अर्कातिर उपत्यकाका सम्पदा झल्किएका छन्। लालिगुराँस, गौत्तम बुद्ध, जंगली जनावर र ताल तलैयाको फोटो राखिएको छ। बीचबीचमा सार्क मुलुकका रंगीन झन्डा सजाइएका छन्। करिब ५३ रोपनी क्षेत्रफल रहेको पार्कको दुईपट्टि चमकधमक सहितका खर्चिला कृत्रिम गेट बनाइएको छ।
(फ्लेक्स ब्यानर टाँगेर छाेपिएकाे तिनकुने पार्क। तस्बिर : दिपेश/नागरिक)
बिमस्टेक सम्मेलनमा आउने पाहुनाको मुख्य नजर पुग्ने ठाउँ तीनकुने पार्क अहिले यस्तै–यस्तै तस्बिरले छोपिएको छ। बाहिर सुन्दर र अमूल्य तस्बिरका प्लेक्स ब्यानरले छोपिए पनि पार्कको भित्री रूप भने हेर्न लायक छैन। सबैतिर झारैझार मात्रै देखिन्छ। ठाउँ–ठाउँमा निर्माण सामग्री छरपस्ट अवस्थामा राखिएका छन्।
२०३१ सालदेखि मुआब्जा विवादका कारण निर्माण हुन नसकेको अलपत्र खाली जग्गा पाहुनाले देख्लान् भनेर लाज छोप्नका लागि यसो गरिएको प्रष्ट हुन्छ।
तीनकुने पार्क बाहिर सुन्दर र अमूल्य तस्बिरका ब्यानरले छोपिए पनि पार्कभित्र झारैझार मात्रै देखिन्छ ।
यो जग्गामा ओहोरदोहोर गर्दा सबैका आँखा ठोक्किन्छन्। तर, अहिले उक्त जग्गा बाहिर जस्तापाता र विभिन्न कला संस्कृति झल्कने प्लेक्स टाँसेर ‘सुन्दर’ बनाइएको छ। यो विशुद्ध पाहुनाको लागि सिँगारिएकोे हो।
एयरपोर्टबाट सिधैं आउने पाहुनाले झल्यास्स कुरुप पार्क देख्न नसक्ने गरी ब्यानर टाँगिएका छन्। बाहिरी भागमा घेरिएका तस्बिरले सारा नेपाललाई नै प्रतिनिधित्व गरेका छन् । ‘खाली जग्गामा पार्क बनाएर चिटिक्क पार्ने बेलामा भित्री कुरूपता छोप्न बाहिर लाखौं खर्च गरेर ब्यानर राखिएको छ,’ बिहीबार पार्कको छेवैमा सजाइएको तस्बिर नियाल्दै तीनकुनेका घनश्याम अधिकारीले भने, ‘सरकारले चाहेको भए मु–आब्जा विवाद टुंगाएर अहिलेसम्म पार्क बनाइसक्थ्यो, तर सरकारले गतिलो कामको अभ्यास नै गरेन ।’ उनले दुई दिनको लागि देखाउन मोटो रकम खर्च गरेर जनतालाई सरकारले आर्थिक भार पारेको बताए।
पार्कको वरिपरिको जग्गामा सजाइएका तस्बिरमध्ये सगरमाथा, गौतम बुद्ध, पाटनको कृष्ण मन्दिर, पाटन दरबार, भक्तपुर दरबार, हनुमानढोका, काष्ठमण्डप, इलामको चिया बगान, रारा ताल, पशुपतिनाथ मन्दिर, पाचतले मन्दिर, मुक्तिनाथ, गोसाइकुण्ड, मनकामना मन्दिर, केबलकारलगायत नेपालको भेषभूषा र अमूल्य धरोहर देखिने चित्रहरू छन् । यी तस्बिरले सम्मेलनका लागि आउने पर्यटकलाई नेपाललाई चिनाउन पनि मद्दत गर्छ । तर, तस्बिरमा भन्दा केही सम्पदा क्षेत्रमै लगेर विदेशी पाहुनालाई अवलोकन गराउन सके त्यसले नेपालका सम्पदाको महिना बाहिरी मुलुकमा प्रतिनिधिले पनि थाहा पाउने संस्कृतिविद्को भनाई छ।
‘नेपालमा विभिन्न सम्मेलनमा भाग लिन संसारका धेरै नागरिकहरू आउँछन्, तिनलाई मुख्य रुट मात्रै घुमाएर फर्काइन्छ । तर, वास्तविक नेपालका कहाँ छ भनेर देखाउने प्रयास सरकारले गर्दैन,’ संस्कृतिविद् सत्यमोहन जोशीले भने, ‘एकातिर सम्पदा लडेका छन्, अर्को तिनै सम्पदा जिवित हुँदाका तस्बिर देखाएर विदेशी फर्काउने हाम्रो चलन छ । यसले हामीलाई फाइदै गर्दैन।’
उनका अनुसार १५/२० वर्षअघिका धेरैजसो सम्मेलनमा आउने विदेशीलाई यहाँको संस्कृति अवलोकन गरेर पठाइन्थ्यो । तर, पछिल्लो समय त्यो परम्परा हटेको छ । ‘दैलोमा आएका विदेशीलाई हामीले नजिकैका सम्पदामा ल्याएर देखाउन सक्दैनौं, त्यो हाम्रो कमजोरी हो,’ उनले भने।
तीनकुने मात्रै होइन, काठमाडौं उपत्यकाका मुख्य रुट यसैगरी चिरिच्याट्ट पारिएका छन् । मुख्य–मुख्य सडकमा स्वागतद्धार बनाइएका छन् । सडकमा पेटीमा रंग लगाइएको छ । पाहुनाका आँखै ठोक्किने गरी कृत्रिम बोर्ड सजाइएको छ । पाहुना हिड्ने सडक मार्गमा रहेका खाल्डा टालिएको छन् । ठाउँठाउँमा देशका खास ठाउँहरू चिनाउने तस्बिर राखिएको छ । तीनकुने क्षेत्रमा तस्बिरसहितका ब्यानर राख्ने र गेट बनाउने जिम्मा डिजिटल प्रिन्ट एन्ड साइनेज नेपालले पाएको थियो।
भौतिक पूर्वाधार योजना तथा यातायात मन्त्री रघुवीर महासेठले तीनकुने पार्कमा फोटोसहितका प्लेक्स बनाउन निर्देशन दिएका थिए । प्लेक्स ब्यानर पार्कको चारैतर्फ घेरिएको छ।
मन्त्रालयले ४१ लाख रुपैयाँमा उक्त ब्यानर र गेट बनाउनका लागि ठेक्का दिएको साइनेज नेपालका प्रबन्धक प्रकाश लामिछानेले जानकारी दिए । उनले मन्त्रीकै आदेश अनुसार ब्यानरमा फोटो प्रयोग भएको बताए।
‘अनुमति बिनै तस्बिर छापियो’
बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई देखाउन ठाउँ–ठाउँमा राखिएका ब्यानरमा प्रयोग भएका तस्बिर फोटो पत्रकारको अनुमति बिनै प्रिन्ट गरेर टाँगेको पाइएको छ। आफूले खिँचेको फोटो अनुमति बिनै सडक छेवैको ब्यानरमा टाँसेको देखेपछि फोटो पत्रकारले त्यसबारे गुनासो गरेका छन् । उनीहरूले आफूले दुःख गरेर खिँचेको फोटो सरकारी निकायले अनुमतिबिनै प्रयोग गरेको आरोप लगाएका छन्।
‘तीनकुने पार्कको वरिपरि केही कुमारीमा तस्बिर राखिएका छन्, ती तस्बिर मैले खिचेको हुँ,’ फोटो पत्रकार स्कन्द गौतमले ट्विटरमा लेखेका छन्, ‘त्यो फोटा ब्यानरमा अचानक देख्दा छक्क परें । मेरो फोटो प्रयोग गर्दा मलाई नै सोधिएन।’
अर्का फोटोग्राफर सुमन दोङले पनि आफूले खिँचेको हनुमानढोकाको फोटो अनुमति बिनै प्रयोग गरेको गुनासो गरे।
‘हामीले खिचेको फोटो प्रयोग गर्दा एकपल्ट सोधेको भए राम्रो हुने थियो,’ उनले भने, ‘सरकारी निकाय हो भन्दैमा व्यक्तिगत सम्पति चोर्न पाइन्न, त्यो फोटोमा मेरो पूर्ण हक छ।’
त्यस्तै, दिपेश श्रेष्ठले खिँचेको गोसाइकुण्डको फोटो तथा केशव थोकर र चन्द्रशेखर कार्कीको फोटो पनि अनुमति वेगर प्लेक्स ब्यानरमा प्रयोग भएको छ।
यसबारे संस्कृति तथा पर्यटन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यनयले पर्यटन बोर्ड, भौतिक पूर्वाधार योजना तथा यातायात मन्त्रालय र परराष्ट्र मन्त्रालयले प्लेक्स ब्यानर बनाउने र फोटो संकलन गर्ने कार्य गरेको बताए।
‘अरुले खिँचेको फोटा अनुमति बिना प्रयोग गर्न नहुने हो,’ उनले भने, ‘हतारमा काम गर्दा केही कमजोरी भएको रहेछ भने हामीले त्यसलाई सच्याउँछौं।’
पूर्वाधार योजना तथा यातायात मन्त्री रघुवीर महासेठले नै फोटो खिँच्नेको नाम राख्दा विदेशी पाहुनाको अगाडि राम्रो नहुने भन्दै त्यसै अनुसार काम गर्न साइनेज नेपाललाई जिम्मा दिएका थिए।
-नागरिक न्युज

