– डाक्टर विशेष्य
दर्शन पढाउन गुरु कक्षाकोठामा आउनुभयो । सेतोपाटीमा पाठको शीर्षक लेख्नुभयो – दर्शन । त्यसपछि धाराप्रवाह रूपमा भन्न थाल्नुभयो, “ज्ञानमा दर्शन छ, विज्ञानमा दर्शन छ, प्रकृतिमा दर्शन छ, सुखमा दर्शन छ, दुःखमा दर्शन छ, हाँसोमा दर्शन छ, आँसुमा दर्शन छ, जीवनमा दर्शन छ, मरणमा दर्शन छ, आगोमा दर्शन छ, पानीमा दर्शन छ ……।”
“सर, अरू के–के चीजमा दर्शन हुन्छ ? बताइदिनुहोस् न ।” मैले मेरा आदरणीय गुरुलाई जिज्ञासा राखेँ ।
“दैलेखबाट राउटेहरू काठमाडौँ आएर प्रधानमन्त्रीलाई भेटे, खसी लिएर गए, यसैमा त दर्शन छ अरूमा दर्शन नहुने कुरै भएन ।” गुरुले भन्नुभयो ।
कक्षामा हाँसोको फोहोरा छुट्यो । विद्यार्थी साथीहरू मतिर हेर्दै हाँसिरहे । गुरु पनि मुसुक्क मुस्कुराउनु भयो । म भने टोलाइरहेँ ।
राउटे मेरो मन, मुटुमा बसेका थिए– अमिट छाप पारेर । उनीहरूको हाँसो मेरो खुशी थियो । आँसु मेरा दुःख थिए । गुरु र साथीको हाँसोमा म हाँस्न सकिनँ । सबैको हाँसोमा हाँसो थप्न सकिनँ । मेरो मन एक तमासको भयो । भित्र भित्रै जलिरह्यो । आँखाबाट आँसु खस्न खोजे पनि आँसु रोक्न बाध्य भएँ ।
अरूका लागि कक्षाकोठाको वातावरण राम्रो थियो अनि रमाइलो पनि । मैले त दिउँसै औँसीको रात देखिरहेको थिएँ ।
राउटेले प्रधानमन्त्रीलाई भेटेर खसी लिएको सन्दर्भसँग दर्शन जोडिएको थियो वा थिएन दर्शन नबुझेको मेरो दिमागले छुट्याउन सकेको थिएन । राउटेहरूसँग भने परिचित थिएँ म । राउटे मध्यपश्चिमका जङ्गल–जङ्गल घुमिरहन्थे । घाँस दाउरा काट्न जाँदा, गाई बाख्राको गोठालो गएको वेला भेट भइरहन्थ्यो । कहिलेकाहीँ गाउँघरतिर पनि भेट हुन्थ्यो उनीहरूसँग ।
राउटेहरू भर्खर भर्खर सहर पस्न थालेका थिए । रेडियो, टेलिभिजन र अखबारका माध्यमबाट चर्चामा आएका थिए । प्राध्यापकका मस्तिष्कमा प्रवेश गरेर दर्शनमा पुग्न सफल भएका थिए । मानव मस्तिष्क जीवन, जगत्, ईश्वर, सत्य, सुख, दुःख आदिका बारेमा आश्चर्य प्रकट गर्छ, शङ्का व्यक्त गर्छ, जान्न उत्सुक हुन्छ र दर्शनको सुरुवात हुन्छ । प्रत्येक मानिसले चिन्तन मनन गर्दछ । जीवन र जगत्लाई हेर्ने आफ्नै छुट्टै दृष्टिकोण बनाउँछ । यसरी जीवन, जगत्प्रतिको मानव चिन्तन मनन नै दर्शन हो । अनुमानमा आधारित तार्किक विचारको सार हो । यो व्यापक हुन्छ ।

‘दृश्यत अनेन इति दर्शनम् ।’ ज्ञानको विज्ञान नै दर्शन हो । दर्शन भनेको विज्ञानको पनि विज्ञान हो । दर्शनले मानिस के हो ? संसार के हो ? सत्य के हो ? ज्ञान के हो ? प्रकृति के हो ? सुख के हो ? दुःख के हो ? मूल्य के हो ? मान्यता के हो ? ईश्वर के हो ? राम्रो के हो ? नराम्रो के हो ? आत्मा के हो ? जीवन के हो ? भनी खोजी गरेर ज्ञान प्राप्त गर्दछ । यी कुरा दर्शनको किताब पढेर थाहा पाएको थिएँ । दर्शन मेरो रुचिको विषय थियो । दर्शनको बारेमा अझ बढी जान्न चाहन्थेँ । दर्शन बुझ्ने मेरो धोको पूरा हुन सकेको थिएन । मैले गुरुलाई सोधेँ, “सर, दर्शन भनेको के हो ?”
“दैलेखबाट राउटे आए, प्रधानमन्त्रीलाई भेटे, खसी लिएर गए यो पनि दर्शन हो ।” गुरुले सजिलैसँग उत्तर दिनुभयो तर गुरुको उत्तरले मेरो जिज्ञासा मेटिएन ।
गुरुले दर्शन र राउटेहरूले प्रधानमन्त्रीलाई भेटेर खसी लिएर गएको प्रसङ्गलाई गाँसेर हेर्नुभयो । किन मैले सोधेका प्रश्नको उत्तर राउटेसँग मिसाएर दिनुभयो ? मलाई थाहा भएन । दर्शन र राउटे एक अर्काका पूरक हुन त ? मलाई अचम्म लाग्यो । मेरो मगजमा अनेकौँ प्रश्नहरू उब्जिए । मैले गुरुलाई फेरि सोधेँ, “सर, राउटेले प्रधानमन्त्रीलाई भेटेर खसी लिएर गएको प्रसङ्लाई नै दर्शन हो भन्नुभयो तर राउटे को हुन् ? के काम गर्छन् ? कुन कुन चाडपर्व मनाउँछन् ? तिनीहरूको धर्म, संस्कृति, वेशभूषा आदिका बारेमा थाहा छ ? सरको राउटेसँग कहिल्यै भेट भएको छ ? राउटेका बारेमा एउटा क्लास लिन सक्नुहुन्छ ?”
“राउटेले प्रधानमन्त्रीलाई भेटेको वेला राउटेलाई टेलिभिजनमै हेरेको थिएँ । रेडियोबाट सुनेको थिएँ । पत्रिकामा पनि पढेको थिएँ । राउटेसँग आजसम्म मेरो प्रत्यक्ष भेट भएको छैन । राउटे मध्यपश्चिमका जङ्गलमा बस्छन् भन्ने सम्म थाहा छ । यो भन्दा बढी राउटेका बारेमा मलाई केही थाहा छैन ।”
“सर, राउटेले प्रधानमन्त्रीलाई भेटेर खसी लिएको सन्दर्भलाई स्नातकोत्तर तहको दर्शनको कक्षाकोठासम्म पु¥याउनुभयो – धन्यवाद । यहाँ जस्तो विज्ञ व्यक्तिले राउटेको जीवन दर्शन बुझ्ने प्रयास गर्दा कस्तो होला ? राउटेप्रतिको गलत दृष्टिकोणलाई हटाएर राउटेलाई हास्य पात्रको रूपमा चित्रण नगर्दा उचित होला कि ?”
“टेलिभिजनमा आफूले फरक खालका मान्छे देखेकाले विद्यार्थीलाई जानकारी गराएको हुँ ।”
“स्नातकोत्तर तहको कक्षामा राउटेको बारेमा एउटा क्लास लिन हजुरलाई मुस्किल पर्दाे रहेछ । साक्षात् राउटेको दर्शन गर्न पाउनुभएको नै रहेनछ । दर्शनको विद्वान् भए पनि राउटे दर्शन बुझ्न बाँकी रहेछ । टेलिभिजनका पर्दामा देखिएका, अखबारका पानामा छरिएका राउटेका तस्वीर देखेर राउटे दर्शनको कुरा गर्न सुहाउँछ त सर ?”
“हा हा .. सुहाउँछ नि ! किन नसुहाउँने ?”
“जङ्गलमा राउटेका के–के समस्या थिए ? तिनीहरू किन जङ्गलदेखि सहर आए ? सरले बुझ्न सक्नुभयो ? कल्पनासम्म गर्न सक्नुभएन । राउटेहरू जङ्गललाई प्राण जत्तिकै प्यारो ठान्थे । समस्याका भारी बोकेर सहर छिरेका थिए । आफ्ना समस्या, दुःख, पीडा प्रधानमन्त्री समक्ष राखेका थिए ।”
गुरुले राउटेका दुःख, पीडा, समस्यालाई देख्नु भएन तर प्रधानमन्त्रीलाई भेटेर खसी मागेर लिएको भने सजिलैसँग देख्नुभयो र राउटेलाई वर्षभरि स्नातकोत्तर तहको कक्षामा हास्य पात्र बनाएर प्रस्तुत गरिरहनु भयो ।
दर्शनको विद्वान् भए पनि गुरु तपाईको दर्शन पक्षपाती थियो । त्यो दर्शनले सबै विद्यार्थीलाई समान व्यवहार गर्न सकेको थिएन । न्याय गर्न सकेको थिएन । सम्पूर्ण विद्यार्थीको हितमा थिएन । आफूलाई मनपर्ने विद्यार्थीलाई शिखर चढाउँथ्यो । अन्य विद्यार्थी अगाडि बढ्न खोज्दा पनि पछाडि धकेलिदिन्थ्यो ।
दर्शनले सबै विद्यार्थीलाई समान रूपले हेर्न सकेको थिएन । कसैलाई काखा कसैलाई पाखा गरेको थियो । त्यो दर्शन हजारौँ शब्दहरू एक जनाको लागि खर्च गर्दथ्यो । सिङ्गै पिरियड उसैको प्रशंसा गरेर गुणगान गाएरै बिताउँथ्यो । त्यसो गर्दा एक जनाको मन त प्रफुल्ल हुन्थ्यो होला तर म जस्ता सयौँ विद्यार्थीहरूको मन दुखिरहन्थ्यो । आफूलाई सहरको सभ्य नागरिक, सुखसयलमा रमाएको सुखी र पढे लेखेको बुद्धिमान् ठान्नुहुन्थ्यो– गुरु । ठीकै हो, तपाईको बुझाइ सही थियो । तपाई पढेलेखेको सहरमा बसेको सभ्य नै हुनुहुन्थ्यो । विद्यार्थीलाई नपढाएरै हाजिर गरे पनि तलब खान पाउनुहुन्थ्यो । आइ.एन.जी.ओ. बाट डलर आइहाल्थ्यो । सुखी सम्पन्न हुनुहुन्थ्यो । विद्वत् वर्गको व्यक्ति भनेर सबैले मान सम्मान गर्थे ।
गुरुको दर्शनमा राउटे जङ्गलमा बस्ने जङ्गली थिए । असभ्य थिए । समस्या नै समस्याले जेलिएका दुःखी थिए । लेखपढ गर्न नजान्ने बुद्धि नभएका व्यक्ति थिए ।
मैले चिनेका राउटेको दर्शन र तपाईको दर्शनमा आकाश पातालको फरक थियो । राउटेको दर्शनमा तपाईको जस्तो स्वार्थ थिएन । उनीहरू पनि आफ्नो समाजका लागि सभ्य थिए । काठका कलात्मक सामग्री बनाउने हातमा सीप थियो । त्यही सीपको उपयोग गरेर खाइरहेका थिए; बाँचिरहेका थिए । स्कुल, क्याम्पसका चार दिवार भित्र पसेका थिएनन् । लेखपढ गर्न जानेका थिएनन् तर पनि प्रकृतिबाटै धेरै कुरा सिकेका थिए । पढेलेखेर उच्च डिग्री हासिल गरेका मान्छेभन्दा बुद्धिमान् थिए । उनीहरूको अनुकरणीय कामबाट हामीले पाठ सिक्न बाँकी थियो ।
हप्तादिन पछि गुरु कक्षामा आउनुभयो । कक्षालाई अगाडि देखि पछाडिसम्म राम्ररी नियाल्नुभयो । स्टेजबाट मतिर चोर औँलो ठड्याउँदै भन्नुभयो, “गलबन्दी बाँधेको साथी सधैँ अगाडिको बेन्चमा बस्नुहुन्थ्यो । आज पछाडि गएर बस्नुभएछ । किन हो कुन्नि ? के वैराग लागेर पछाडि गएर बस्नुभयो ? मलाई त शङ्का लाग्यो । यही नै हो – शङ्कावाद ।” अगाडि बसेका साथीहरू पछाडि फर्किएर मलाई हेरिरहे । गुरुले फेरि थप्नुभयो, “दैलेखबाट राउटे आए, प्रधानमन्त्रीलाई भेटे, प्रधानमन्त्रीसँग खसी मागे, प्रधानमन्त्रीले खसी दिन्छन् कि दिन्नन् भन्ने द्विविधामा परे । उनीहरूलाई शङ्का लाग्यो । शङ्कावाद भनेको यही हो ।” कक्षामा साथीहरू गलल्ल हाँसे । गुरु पनि हाँस्नुभयो ।
मैले प्रश्न गर्थेँ । गुरुले जवाफ दिनुहुन्थ्यो । जवाफलाई सधैँ घुमाइ फिराइ राउटेमा लगेर टुङ्ग्याउने गर्नुहुन्थ्यो । मैले प्रश्न नगर्दा पनि मेरो उदाहरण दिनुहुन्थ्यो । त्यसपछि उदाहरण र राउटेसँग सम्बन्ध देखाउनुहुन्थ्यो ।
एक, दुई, तीन दिन मलाई देखाएर उदाहरण दिने राउटेसँग जोड्ने गरे पनि मेरा सम्मानित गुरुलाई मैले केही भनिनँ ।
कक्षामा भएका चार सय विद्यार्थीमध्ये प्रत्येक दिन मेरै उदाहरण दिने, उदाहरणको अन्त्यमा दैलेखबाट राउटे आए, प्रधानमन्त्रीलाई भेटे, खसी लिएर गए …. भन्न थालेपछि मैले गुरुलाई सोधेँ, “सर, तपाई किन सधैँ एउटै कुरालाई दोहो¥याउनु हुन्छ ? यसो गर्नुको खास कारण के हो ?”
गुरुले मेरा प्रश्नको उत्तर दिनुभएन । मुसुमुसु हाँस्नुभयो र सरासर आफ्नो बाटो लाग्नुभयो । गुरुले प्रायजसो दैलेखबाट राउटे आए, प्रधानमन्त्रीलाई भेटे, खसी लिएर गए भन्ने गरिरहनुहुन्थ्यो । राउटेले प्रधानमन्त्रीलाई भेटेर खसी लिएको सन्दर्भलाई मसँग किन जोड्नु हुन्थ्यो ? खै मलाई थाहा थिएन । यसका बारेमा म जान्न उत्सुक थिए । आइतवार गुरुको प्यारो शिष्यलाई अनुरोध गरेँ, “साथी, तिम्रो सरले जहिले पनि मलाई दैलेखबाट राउटे आए, प्रधानमन्त्रीलाई भेटे, खसी लिएर गए … भन्नुहुन्छ । मैले उहाँलाई प्रश्न सोधेपछि किन राउटेसँग जोड्नुहुन्छ ? यसो गर्नुको कारण के रहेछ ? एकपटक सरसँग सोधिदिनु ल ।”
“मैले यी कुरा धेरै पटक कक्षामा सुनेको छु । मलाई पनि यस बारेमा बुझ्न मन लागेको छ ।” उनले भने । गुरु समक्ष सबै कुरा राखिदिने वचन पनि दिए ।
गुरुले निर्माणवाद पढाउन थाल्नुभयो । भिगोत्स्की र पियाजेको खुब चर्चा परिचर्चा गर्नुभयो । त्यसै सिलसिलामा मलाई अगाडि बोलाउनु भयो । मलाई अगाडि जान मन लागेको थिएन तर पनि गुरुको वचन काट्न सकिनँ । उहाँले मलाई जे जस्तो व्यवहार गरे पनि उहाँ मेरो श्रद्धेय गुरु हुनुहुन्थ्यो । मेरो मनले उहाँलाई पुष्प गुच्छा चढाइरहेको थियो ।
गुरुको आज्ञा पालना गर्दै म कक्षाको अगाडि गएँ । गुरु स्टेजमा उभिरहनु भएको थियो । मलाई स्टेजको तल नै उभिन लगाउनु भयो । म खम्बा झैँ त्यही उभिरहेँ । साथीहरू सबैका आँखा मतिरै थिए । मलाई नै नियालिरहेका थिए ।
गुरुले मलाई जुरुक्क उठाउनुभयो, आमाले बच्चालाई उचाले झैँ । स्टेजमा लग्नुभयो । स्टेजमा पुनः आफ्ना दुवै हातले उठाएर माथि पु¥याउनुभयो र विद्यार्थीलाई भन्नुभयो, “निर्माणवादमा सपोर्ट (सहयोग) भनेको यही हो । सिकारुमा जेड.पी.डी. को विकास गराउन शिक्षकले सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । शिक्षार्थीलाई सिर्जनशील बन्न प्रेरित गर्नुपर्छ । सिकारुले आफूसँग भएको पूर्वज्ञान र अनुभवका आधारमा नयाँ ज्ञानको निर्माण गर्दछ । ज्ञान सामाजिक परिवेशबाट प्राप्त हुन्छ; निर्माणवादले यही भन्दछ । यसरी निर्माणवादका अनुसार शिक्षक सिकारुको सहयोगी, मार्गदर्शक र वातावरण निर्माता हो ।”
मलाई गुरुले बच्चा जस्तै गरी उठाएको देखेर साथीहरू हाँसिरहेका थिए । गुरु र म स्टेजमा सँगै थियौँ । त्यति वेला मैले मेरा गुरुसँग नम्र निवेदन गरेँ, “सर, मलाई अगाडि बोलाउनु भयो । उठाएर माथि पु¥याउनु भयो अनि निर्माणवादमा सपोर्ट भनेको यही हो भन्नुभयो । यसमा दैलेखबाट राउटे आए, प्रधानमन्त्रीलाई भेटे, खसी लिएर गए, भन्ने प्रसङ्ग मेल खान्छ कि खाँदैन ?”
साथीहरूले हाँस्दै डेक्स ठोकेर ताली बजाए । गुरुको कुनै प्रतिक्रिया आएन ।
गुरुले अर्काे पाठ आधुनिकवाद र उत्तरआधुनिकवाद पढाउन सुरु गर्नुभयो । उहाँको दर्शनले आधुनिकवादलाई विश्वास गरेन । आधुनिकवादको विरोध गर्दै उत्तरआधुनिकवादको पक्षपोषण ग¥यो । आफू नौलो दर्शन भएको दाबी ग¥यो । त्यसैमा गौरव गरेर मख्ख प¥यो । वस्तुगततालाई अस्वीकार ग¥यो । विषयगततामा जोड दियो । हरेक व्यक्तिका आँखामा सत्य भिन्नाभिन्नै देख्यो । केही राम्रो पनि देखेन अनि केही नराम्रो पनि देखेन । विश्वमा राम्रो नराम्रो केही छैन । सबै राम्रो छ, सबै नराम्रो पनि छ । कसैले राम्रो भन्दैमा राम्रो हुने र कसैले नराम्रो भन्दैमा नराम्रो हुने होइन भन्ने तर्क ग¥यो । केन्द्रीयताको विरुद्धमा उभियो । बहुलतावादी धारणालाई आत्मसात् ग¥यो । शाश्वत सत्यको विरोध ग¥यो । साइवर संस्कृतिमा जोड दियो । भूमण्डलीकरणका पक्षमा वकालत ग¥यो । विश्व ब्रह्माण्डका सम्पूर्ण चीजमा आफ्नो प्रभाव पारी सर्वव्यापी भएको घोषणा ग¥यो ।
उत्तरआधुनिकवाद पढाउँदा गुरुले मलाई कक्षामा खोज्नु भएछ । दर्शन मेरो मगजमा भरिएर अटाउनै नसक्ने भएपछि दर्शनले म टन्न अघाएर दर्शनको कक्षाबाट बाहिरिसकेको थिएँ; फेरि कहिल्यै नफर्किने गरी ।
संयोगले गुरुसँग बाटोमा भेट भयो । गुरुले भन्नुभयो, “कक्षामा उत्तर–आधुनिकवाद पढाइ भइरहेको छ । पढ्न किन नआएको ?”
“सर, मेरो दिमाग दर्शन नै दर्शनले अटेसमटेस भएको छ । उत्तर–आधुनिकवादी दर्शनको भारी बोक्न असमर्थ छ । त्यसैले पढ्न आइनँ ।”
“उत्तरआधुनिकवाद पनि खासै अप्ठ्यारो छैन । दैलेखबाट राउटे आए, प्रधानमन्त्रीलाई भेटे, खसी लिएर गए, यो पनि उत्तरआधुनिकवाद हो । राउटेहरू जङ्गलदेखि सहर पस्नु, प्रधानमन्त्रीलाई भेट्नु, खसी लिएर जानु उत्तरआधुनिक काम हुन् ….. ।”
“भयो सर भयो मलाई पुग्यो– नमस्कार ।”
सरका कुरा सुन्न सकिनँ मैले । आँखा बन्द गरेँ । कान थुनेँ र आफ्नो बाटो लागेँ ।

