एजेन्सी- चाउरिएका गाला। फुलिसकेका छोटो कपाल। उमेरले एक शताब्दी पुग्न आठ वर्ष मात्र बाँकी छ तैपनि खुसीले अनुहारको चमक कतै छिपेको छैन। तर लामो समयसम्मका लागि आएको खुसी होइन यो। मात्र ६ दिनका लागि। अगस्ट २० देखि २६ सम्म उनी परिवारका सदस्यसँग भेट गर्न पाउनेछिन्। यसपछि भने फेरि उनले दक्षिण कोरिया नै जानुपर्नेछ। त्यसपछि उनको यो चम्किलो अनुहारको खुसी टिकिरहला?

९२ वर्षीया ली केउम सिओम दक्षिण कोरियाली नागरिक हुन्। उनमा खुसीको सीमा भेटिन्न। ६८ वर्षदेखिको एउटै मात्र मनोकामना पूरा भएकाले पनि उनलाई औधी खुसी बनाएको हो। पारिवारिक पुनर्मिलनका लागि उनी उत्तर कोरिया पुगिन् र छोरासँग भेट गरिन्। ७१ वर्षीय उनका छोरा साङ चोलचाहिँ उत्तर कोरियामा छन्। उनीहरुबीच भएको यो पहिलो भेट हो।
जब उनको उमेर २४ वर्षको थियो एउटा बज्रपात पर्यो। दुई कोरियाबीच युद्ध भयो। हज्जारौं मानिस विस्थापित हुन पुगे। परिवारका साथ विस्थापित हुनसमेत पाइनन् उनले। यतिसम्म कि, दिनमा पटक–पटक छातीमा टासेर दूध नचुसाई मातृत्व शान्ति नहुने बेलामा ४ वर्षे दूधेबालकलाई पनि साथमा लिएर जान सकिनन्। आमालाई दूधे छोराको माया कति होला! उनले त्यो समय कसरी गुजारिन्? यसको व्यथा भनिसाध्य छैन।‘हुलमुलमा जिउ जोगाउनु’ भन्ने उखान आमा र सन्तानका बीच लागू हुँदैन। सन्तान आमा छोडेर जान सक्ला तर आमाका लागि यो असम्भव जस्तै हो। आफ्नो ज्यान जोगाउन उनले भागेर अन्यत्रै जानैपर्ने भयो। विस्थापित नै हुनुपरे पनि परिवारसँगै विस्थापित भइएला भन्ने लागेको लागेको हुन सक्थ्यो तर त्यस्तो भएन नियति। तर युद्धका आँखा हुँदैनन्, मातृत्व बुझ्दैन युद्धले। उनी आफूमात्र भाग्न सकिन्, छोरा कहाँ पुग्यो उनलाई पत्तो भएन।
सन् १९५० देखि सुरु भएको दुई कोरियाबीचको युद्धमा हज्जारौँ उत्तर कोरियाका मानिस भागेर दक्षिण कोरिया पुगे। परिवारका सदस्य को कता पुगे, कसैलाई पत्तो भएन। तर सन् १९५३ मा युद्ध त सकियो तर उनीहरु आफ्नो परिवार भेट्न अतृप्त चाहना भने पूरा हुन सकेको थिएन। युद्धताका भागेर दक्षिण कोरिया पुगेको पुस्ता अहिले निकै बूढो भइसकेको छ। सामान्य हिँडडुल गर्न पनि धेरैलाई अब साथी चाहिन थालेको छ। हातले समात्नुपर्ने अर्को खुट्टाले धेरैलाई साथ दिनुपरेको छ। धेरैलाई लागेको छ, अब जीवन निर्जीव बन्ने समय पनि नजिकिएको छ, अब कहिल्यै छुट्टिएको परिवारसँग भेट हुँदैन।
सोमबार उनको छोरासँग ६८ वर्षपछि पहिलोपटक भेट भयो। एक आपसमा चिन्ने अवस्था थिएन। तर कर्मचारीले सहयोग गरे। केही क्षण आफूले आफैलाई विश्वास दिलाउन पनि सकेनन्। सियोम ६८ वर्ष पहिलेकै समयमा फर्किइन्। तर फरक यत्ति थियो त्यसबेला उनी छोरालाई आफ्नो छातीमै टाँसेर जहाँ पनि सजिलै जान सक्थिन्, आज त्यही छोराको अँगालोमा बाँधिन पुगिन्।
युद्ध भएको तीन वर्षपछि युद्धविराम भयो। देश छोडेका नागरिकका परिवारका सदस्यको पुनर्मिलन गराउन प्रयास हुन थाले। र सम्भव भयो उनीहरुको मिलन।
पारिवारिक पुनर्मिलनका लागि ८९ जनाको टोली उत्तर कोरिया पुगेको हो। टोलीमा सहभागी सबैको उमेर ९० वर्षभन्दा बढी छ। टोलीमा सहभागी एक जना सदस्यको उमेर १०१ वर्ष पुगिसकको छ। उनी सबैभन्दा ज्येष्ठ सदस्य हुन्।
दक्षिण कोरियाली सरकारले छनोट गरेको भाग्यशाली ८९ जनाले यस पटक पारिवारिक पुनर्मिलनका लागि अवसर पाएका हुन्।
विस्थापित भएर दक्षिण कोरिया पुगेको ५७ हजारभन्दा बढी नागरिकले उत्तर कोरियामा रहेका परिवारसँग भेट गर्ने आवेदन दिएका थिए। यसमध्ये उनीहरुलाई भाग्यशालीका रुपमा छनोट गरिएको हो। बढी उमेर समूहका मानिसलाई पुनर्मिलनका लागि प्राथमिकतामा राखिएको थियो।
उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच गत अप्रिल महिनामा भएको भेटवार्तामा पारिवारिक पुनर्मिलन गर्ने सम्झौता भएको थियो। सन् २०१५ पछि भएको पुनर्मिलनको यो पहिलो कार्यक्रम हो।
घाउ लाग्छ, निको पनि हुन्छ, तर खतले जीवनभर साथ छोड्दैन। समय क्रमसँगै आउने तितामिठा अनुभवबाट हुने प्रत्यक्ष पिराई त सकिएला तर ती अनुभवको असर छोटो हुँदैन। युद्ध आफैमा विभत्स र कारुणिक मनोभावनाको स्रोत त हुँदै हो। तैपनि निश्चित समयपछि युद्ध रोकिएला तर यसका डोब र घाउको दुखाइ एक पुस्ताले मात्र पनि खेप्नुपर्दैन। पुस्तौँपुस्तालाई असर गर्छ भन्ने कुरा वैज्ञानिक प्रमाणले समेत उल्लेख गरिसकेको छ। जब युद्ध हुन्छ, युद्ध रोकिए पनि युद्ध खेपेको पुस्ता विभत्स वेदनाबाट मुक्त हुन कहिल्यै सक्दैन, चाहेर पनि बिर्सन सक्दैन। दिन बित्दै गए घाउ निको हुन्छ तर मानसपटलमा परेको गहिरो चोटको दागले पिरोल्दै लैजान्छ। त्यही चोटले उसलाई निर्जीव बनाइदिन्छ र अर्को पुस्तामा चोट सारिदिन्छ।
सोमबार औधी खुसी देखिएकी उनलाई अर्को वेदनाले छोडेको चाँहि छैन। ६८ वर्षसम्मको मातृत्व प्रदान गर्न ६ दिन थोरै लाग्न थालेको छ उनलाई। अब बाँकी जीवनभरको पनि मातृत्व दिनुछ उनलाई। जीवनभरको लागि छोराको निकटता लिनु पनि छ।
यही कुराले पिरोल्छ उनलाई, ‘अब फेरि कहिल्यै भेट हुँदैन।’

