दैवासुरसम्पद्विभागयोगको सार- यस अध्यायमा भगवान् श्रीकृष्णले मानवीय चरित्रका यस्ता लक्षणहरू बताउनु हुन्छ जसले मानिसलाई उच्च वा निम्नकोटिमा पुर्याइदिन्छ । उच्चकोटि पुर्याउने गुणलाई दैवी सम्पद् (दैवी गुण) भनिएको छ । यसको विपरीत गुणलाई आसुरी सम्पद् (आसुरी गुण) भनिएको छ । दैवी गुणले मुक्तितर्फ लैजान्छन् भने आसुरी गुणले बन्धनतर्फ लैजान्छन् ।
आसुरी वा दुर्गुणी मानिस र उनको जीवनधाराको विस्तृत र रोचक वर्णन श्रीकृष्णले यसरी गर्नु भएको छ– उनीहरूले सत्कार्य गर्न जानेका पनि हुंदैनन् र दुष्कर्मबाट जोगिन जरुरी पनि ठान्दैनन् । उनीहरूमा पवित्रता पनि हुंदैन र सत्य पनि हुंदैन । उनीहरूले काम (भोग) लाई सृष्टिको एकमात्र कारण बुझ्छन् ।
व्यसनमा भुलेका उनीहरूले अपवित्र वस्तु प्राप्त गर्ने प्रयत्न मात्र गरिरहन्छन् । उनीहरूले आफ्नो मामूली धन वा सानो कृत्यको ठूलो डम्फु बजाउंदै हिंड्छन् । र आफ्ना शत्रुलाई नाश गर्नमा तल्लीन र प्रफुल्लित रहन्छन् । उनीहरूले ईश्वर, जुन सबै प्राणीको आत्मा हो, लाई मन पराउंदैनन् । यस्ता मानिस ईश्वरद्वारा घृणास्पद जीवनमा हुत्त्याइन्छन् ।
जुन अन्ततः स्वनाशको कारण बन्छ, यस्तो नरकका तीन ढोका हुन्छन्– काम, क्रोध र लोभ । जो यी तीनबाट मुक्त छ उसले उच्चतम अवस्था प्राप्त गर्छ । तर यसका लागि वेद र शास्त्रले बताए अनुसार श्रद्धा एवं विश्वासपूर्वक कार्य गर्नु जरुरी हुन्छ ।
सनातन धर्म संस्कृतिका ज्ञाता त्रिभुवन विश्व बिद्यालयका प्राध्यापक डा. बाबुराम ज्ञवालीद्वारा लिखित ”श्रीमद् भागवत गीता – एक विवेचना” नामक महत्वपूर्ण धार्मिक ज्ञान भएको पुस्तक हो । धर्म संस्कार प्रति चाख राख्ने पाठकहरुको मागलाई ध्यानमा राख्दै पढ्न र संग्रह गरेर राख्न पनि सजिलो होस् भन्दै हरेक अध्यायलाई फाइल नै बनाएर पोष्ट गर्दै जाने छौ, सात शय श्लोकी गीतालाई १०० अध्यायमा विभाजन गरेर गरिएको व्याख्या क्रमिकरुपमा प्रस्तुत गर्दै जाने छौ । पहिले प्रकाशित भागहरु हेर्न स्वदेश नेपालको धर्म संस्कार क्याटागोरीमा हेर्नुहुनु अनुरोध छ, सबै लिंकहरु यहाँ समाबेश गर्न सम्भब देखिएन ।
पढ्नुहोस् डा. बाबुराम ज्ञवालीद्वारा लिखित श्रीमद्भगवद्गीता अध्याय १६ को विवेचना पूर्णपाठ
उप संहार – यस अध्यायको नाम हो दैवासुरसम्पद्विभागयोग। सम्पद्को अर्थ हो भरिएको, कोश, गुण । दिव्य गुणहरुलाई दैवी गुण भनिएको छ । यस्ता गुणले मानिसलाई जीवनका अझ उच्च सोपानमा पुर्याउंछ । दैवी सम्पदामा २६ गुण छन् । यिनमा प्रमुख गुणहरू यस प्रकार छन्– निर्भयता, मनको पवित्रता, आत्मसंयम, वैदिक अभ्यास, तप, अहिंसा, सत्य, त्यागको भावना, करुणा, क्षमा र गर्वको अभाव । आसुर गुणको अर्थ हुन्छ बन्धनकारक गुण ।
यस्ता गुण जुन मानिसको व्यक्तित्व विकासको अवरोधक हो र माथिल्लो सोपानमा जान दिंदैन बरु तल, अझ तल ओरालिरहन्छ । आसुरी सम्पदा (राक्षसी वृत्ति) को सूचीमा छवटा दुर्गुणहरू बताइएका छन्– स्वाङ्, झुटो अभिमान, अहंकार, क्रोध, कठोरवाणी र उच्चतर मूल्यहरुबारे अनभिज्ञता । यस अध्यायको सार हो– जीवनलाई झन् झन् असल बनाउ, त्यो नै पुरस्कार हो ।

