नागरिकता सम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल सकिएपछि संसदले संसोधन प्रस्ताव दर्ता गर्न सांसदहरूलाई समय दिएको छ।
नागरिकता ऐन २०६३ लाई नयाँ संविधान अनुकुल बनाउन भनेर ल्याइएको विधेयक झन् कठोर भएको भन्दै सैद्धान्तिक छलफलमा बोलेका अधिकांश सांसदले आपत्ति जनाएका थिए।
सैद्धान्तिक छलफलमा भाग लिएका अधिकांश महिला र केहि पुरूष सांसदहरूले आमाको नामबाट नागरिकता दिँदा बावुको पुष्ट्याइँ गर्नुपर्ने व्यवस्थाको विरोध गरे।

नेपाल कम्युनिष्ट पार्टीका हृदयेश त्रिपाठीले त आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न राज्यले आनाकानी गरेकोमा आपत्ति जनाए। उनले तिखो प्रश्न गरे- आमाको नामबाट नागारिकता दिन राज्यलाई किन कब्जियत हुन्छ?
हेर्नुहोस्…आमाको नागरिकता दिँदा राज्यलाई कब्जियत किन हुन्छ?: हृदेयश त्रिपाठी
नारिकतासम्बन्धी संसदमा पुगेको विधेयकमा आमाको नामबाट नागरिकता दिँदा बाबुको पहिचान खुलाउनु पर्ने, पहिचान नभए त्यसको पुष्ट्याइँ र स्वघोषणा गर्नुपर्ने उल्लेख छ।
सेतोपाटीले पुरूष सांसदसँग नागरिकतासम्बन्धी विधेयकमा अहिले महिलामाथि गरिएको विभेदबारे सोधेको थियो।
उनीहरूले ‘आमा सत्य र बावु विश्वास’ भएको भन्दै कानुनमा सत्यलाई मान्यता दिनुपर्ने धारणा राखे।
‘आमा भएको भरमा मातृत्वको सम्पूर्ण अधिकार उसकै हुनुपर्छ। नागरिकतामा पनि पूर्ण अधिकार हुनुपर्छ। एकल मातृत्वको आधारमा वंशजको नागरिकता दिनुपर्छ। महिलाले आफ्नो सन्तानको बावु को हो नभन्न सक्छ। त्यो उसको अधिकार हो’, नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले भने, ‘आमाले बाउको पहिचान नदिएर आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउन नसक्ने गरि अहिले विधेयक आएको छ। यो गलत छ।’
नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्णभक्त पोखरेलले आमाको नामबाट नागरिकता दिने कुरा विधेयकमा नभए पनि कानुन आउँदासम्म आफूहरुले सुनिश्चितता गर्ने बताए।
‘आमा सत्य बावु विश्वास हो। आमा जुन सत्य हो उसलाई नमान्ने अनि विश्वास गरेको बाउलाई चाहिँ मान्ने हाम्रो जुन प्रणाली हो त्यसलाई अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘म तपाईँलाई अहिलै भन्न सक्छु, हामीले संशोधन हालेर भए पनि यसलाई सहज बनाउँछौँ।’
कांग्रेस सांसद मिनेन्द्र रिजालको प्रश्न छ-आमाले चिनाए मात्र थाहा हुने बावुलाई राज्यले किन यति धेरै मान्यता दिएको?
अहिले विधेयकमा बावुको पहिचान नभएसम्म आमाको नामबाट नागरिकता नदिने जुन व्यवस्था गरिएको छ, त्यो बेठिक भएको सांसद मिनेन्द्र रिजालले बताए।
‘बावु को हो भन्ने आमाले चिनाए मात्र थाहा हुन्छ। त्यही आमाले सन्तानलाई नागरिकता दिन जाँदा राज्यले बावुको पहिचान किन खोजेको?’ उनले प्रश्न गरे।
नेपाल कम्युनिष्ट पार्टीका यूवा नेता तथा सांसद योगेश भट्टराईले पनि दोहोर्याए – आमा सत्य, बावु विश्वास हो।
आमाले ‘यो मैले जन्माएको बच्चा हो’ भन्नु नै सबैभन्दा ठूलो प्रमाण भएको उनले बताए।
‘एउटी आमाले त अर्काको बच्चालाई मेरो हो भन्दैनन्। राज्यले आमासँग उसको सन्तान कसको हो भनेर प्रश्न गर्नु भएन,’ उनले भने।
नेपाल कम्युनिष्ट पार्टीका अर्का सांसद रामनारायण विडारीको भने ‘आमा सत्य, बावु विश्वास’ भन्ने तर्कसँग आफू असहमत रहेको बताए। तर उनले आमाको नामबाट मात्र नागरिकता दिने व्यवस्थामा भने आफ्नो विमति नरहेको स्पष्ट पारे।
विदेशीबाट जन्मेको सन्तानले नागारिकता पाउछ कि भनेर नागरिकता कानुन कडा पार्न कतिपयले खोजेको कांग्रेस सांसद प्रदीप गिरिले बताए।
‘सन्तानको उत्पत्ति विशुद्धरूपबाट महिलाको अधिकारको कुरा हो। जहाँसम्म महिलाले विहे गरेर ल्याएका विदेशी पुरूषलाई नागरिकता नदिने भन्ने सवाल छ, त्यो पनि हाम्रो भयमात्र हो। विदेशीहरू यहाँ आउँछन् भन्ने भय। त्यसैले आमाको नामबाट मात्र नागरिकता दिन पनि कन्जुस्याइँ गरिएको छ,’ उनले भने।
तर विदेशी आएर यहाँ राज गर्छन् भन्ने डरले महिलाले विहे गरेका विदेशी पुरुष नेपालमै बस्न चाहे नागरिकता दिन्न भन्नु नहुने उनले तर्क गरे।
नेपाली आमाले जन्माएका सन्तानलाई नागरिकता दिने बेलामा बावुको खोजी त झनै नाजायज भएको उनले बताए।- सेतो पाटी

