‘नेपाल पुगेर यति मिठो चिकेन करी खान बिर्सिएछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’, जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामाले बेइजिङमा फोटो खिचाएर आफ्नो प्रशंसा गरेको सम्झिँदै नेपाल सेफ (भान्से) संघका अध्यक्ष श्रीराम अधिकारीले सुनाए।

नेपाल-चीन दौत्य सम्बन्ध स्थापनाको ६३औं वार्षिकोत्सवका अवसरमा अगष्ट १ देखि बेइजिङमा सुरू भएको खाना महोत्सव १५ तारिख सकिएपछि फुड फेस्टिभलको समीक्षा गर्दै उनले भने, ‘चीनको सरकारी होटल भएकाले पनि भीआईपीहरूको आवतजावत हुने रहेछ। अधिकांश सार्क मुलुकका राजदूतहरू र अन्य देशका कूटनीतिज्ञहरूले होटल पुगेर नेपाली खाना चाखेका छन्।’
सन् १९५९ मा खुलेको मिन्चु होटलले हालसम्म ३४ वटा देशको खाना महोत्सव संचालन गरेको छ। यसअघि श्रीलंकाली फुड फेस्टिभल गरेको होटेलले नेपालको १५ दिने फुड फेस्टिभल सकिएपछि स्पेनिश फुड फेस्टिभल गर्दैछ। चार तारे होटलमा अधिकांश दैनिकजसो डिप्लोम्याट र भीआईपीहरू पुग्ने गर्थे। संयोगवश जापानी पूर्व प्रधानमन्त्री पनि नेपाली फुड फेस्टिभल चलिरहेकै बेला त्यहाँ पुगेका थिए।
नेपालप्रतिको उनको गहिरो भावनाले पनि आकर्षित गरेको हुनुपर्छ। त्यसैले त्यहाँ रहेका नेपाली भान्छेहरू र होटलभित्र राखिएका नेपाली संस्कृति झल्किने पोखरा, लुम्बिनी लगायत होडिङ बोर्डलाई पृष्ठभूमि पारेर फोटो पनि खिचाए।
सन् २०१७ को मार्च अन्तिमतिर जापानी पूर्वप्रधानमन्त्री हातोयामाले नेपालको भ्रमण गरेका थिए। नेपाल चेम्बर अफ कमर्सको निमन्त्रणामा नेपाल गएका उनले पोखराको भ्रमण गरेर व्यापारीहरूसँग अन्तर्क्रिया पनि गरेका थिए। सन् २००९ सेप्टेम्बरदेखि २०१० को जुनसम्म उनी जापानको प्रधानमन्त्री थिए। जापानका ९३औं प्रधानमन्त्री बनेका हातोयामा नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक थिए।
मन पराएनन् चिनियाँले नेपाली बेसार
१५ दिने खाना महोत्सव अवधिमा चिनियाँले सर्वाधिक मन नपराएको मसला भनेको बेसार थियो। नेपाल सेफ संघका अध्यक्ष श्रीराम अधिकारी र नेपाल सेफ संघका पूर्व उपाध्यक्ष सुरेशचन्द्र बस्नेतले लगातार नेपाली खानेकुरा पकाएर चिनियाँ उपभोक्तामाझ पस्किएपछिको अनुभव हो यो।
‘चिनियाँहरूले खाना बेस्सरी पकाउने नेपाली प्रचलन र फुराएको जीरा अनि बेसारयुक्त मरमसलाको गन्ध पनि मन पराउँदा रहेनछन्’, उनीहरूले ठहर गरे, ‘चीनमा भाषाको समस्या भएकाले पनि बुझाउन कठिन भएको हो तर नेपाली खानामा गुन्द्रुक र सेलरोटी लिएर मात्रै अब पहिचान जोगाउन नसकिने रहेछ। अब गुन्द्रुक र सेलरोटी जस्तो नेपाली खाना चल्दैन। केही न केही फ्युजन फुड त निकाल्नैपर्छ।’
नेपाली खानामा विशेष तत्व थपेर पुनः सिर्जना गर्नुपर्ने निचोडमा पुगेको संघका अध्यक्ष अधिकारीको भनाइ छ, ‘नेपाली सेकुवा, कवाबहरू अलिकति फ्युजन गरेर, धेरै ट्याम्परिङ नगरिकन, पिरो र चिल्लो नहाली प्रस्तुत गर्ने हो भने सेकुवा र जोगी भातले केही नाम राख्नसक्छ। जोगी भातलाई पनि नाम फेरेर बासमति भुजा भन्ने नाम राख्न सकिन्छ।’
चीनमा ५ हजार वर्ष पुरानो खानपान संस्कृति छ। चीनमा विश्वकै सर्वाधिक अद्भूत खाद्य परिकार पनि पाइन्छन्। चिनियाँ खानाको प्रचार विश्वस्तरमा पुगेको छ र विदेशीहरू चिनियाँ परिकार खाएर दंग पर्छन्। मुलुकको राजनीतिक सिस्टमले खाद्य परिकारबाट देशको प्रतिष्ठा राख्नेतर्फ कुनै चासो नदिएकोमा पनि भान्छेहरूले चित्त दुखाए। चीनमा ६६१ भन्दा बढी सिटी छन्, प्रत्येक सिटीमा प्रदर्शनी गर्न सकिन्न तर वर्षमा २, ४ वटा सहरमा नेपाली खाना प्रसार गर्न सकिने उनीहरूले बताए।
नेपालीहरूको खानपान भारतीय संस्कृतिबाट प्रभावित हुने भएकाले धेरै मसालेदार हुन्छ। मसालेदार खाना चिनियाँ युवा पुस्ताले रूचाए पनि पाको पुस्ताले पाचनमा समस्या हुने ठानेको छ। त्यसले उनीहरू उसिनेको र उमालेको खानामा रूची राख्छन्। सेमिनारहरूमा सहभागी हुँदै आए पनि नेपालले अन्तर्राष्ट्रिय बजारमा नेपाली परिकारको प्रसार गरेको यो पहिलोपटक हो।
मिन्चु होटलको मेनुमा नेपाली खाना
चीनको प्रसिद्ध चारतारे मिञ्चु होटेलमा केही नेपाली खानेकुराका परिकारहरू समावेश गरिने भएको छ। विगत लामो समयदेखि अन्तर्राष्ट्रिय परिकारको प्रदर्शनी गर्दै आएको मिन्चु होटेलले नेपालको फुड फेस्टिभलपश्चात् ग्राहकको रूचिअनुसार केही खानेकुरा समावेश गर्ने निधो गरेको हो।
होटलका म्यानेजेरले छोइला, सिकर्नी, खीर, फर्सिको मुन्टा, चिकेन मसला, चिकेन करी र सेकुवा, पोर्क करी र सेकुवा, ल्याम्ब (भेडा) करी राख्ने जानकारी दिएका हुन्। होटलले जाडो महिनामा नेपाली मःमः पनि राख्ने योजना बनाएको छ। ट्रेडिशनल नेपाली फुड भन्ने नाम राखेर नेपाली खानेकुराहरू मेन्युमा राखिनेछ। नेपाली भान्सेकाअनुसार चिनियाँहरूबाट सर्वाधिक रूचाइएको खानेकुरामा ल्याम्ब करी, सिकर्नी, खीर, जोगी भात हो।
चिनियाँ खाना बजारबाट नेपालले लाभ लिनसक्छः नेपाली दूतावास
बेइजिङस्थित नेपाली राजदूतावासले पहिलो पटक नेपाली फूड फेस्टिभलको संयोजन गरेको हो। नेपाली खानेकुराको जानकारी दिन चिनियाँ मिडियाले पनि राम्रो कभरेज गरेकोमा दूतावास उत्साही छ। नेपाली पर्यटन प्रवर्द्धनका क्रममा संस्कृति अन्तर्गत नेपाली खानाको पनि प्रचार प्रसार गर्नु जरूरी देखिएको भन्दै दूतावासले आगामी गन्तव्य चीनको अर्को शहर छङ्तु रहेको बताएको छ।
फुड फेस्टिभलका क्रममा पाकिस्तानी कुटनीतिज्ञलाई निम्त्याएको स्मरण गर्दै दूतावासका मिनिस्टर सुशील लम्सालले भने, ‘ती कूटनीतिज्ञले नेपाली खानाबारे मीठो प्रतिक्रिया दिइन्, फुड इज फेमिलियर, बट इट्स डिफरेन्ट।’ उनले नेपाली खाना भारतीय वा पाकिस्तानीभन्दा फरक रहेको सुनाइन्।
चीनको उपभोक्ता बजार ठूलो भएकाले यहाँ नेपाली खानाको बानी बसाल्न सके ठूलो फाइदा हुने लम्सालको बुझाइ छ। उनले भने,‘संयोगवश जापानी पूर्वप्रधानमन्त्री पनि सोही होटेलमा पुगेको बेला नेपाली स्वादसँग रम्न पाए, त्यो भन्दा पनि बढी चिनियाँ सर्वसाधारणले नेपाली खानाबारे केही हदसम्म जानकारी पाए। अब होटलले केही परिकार समावेश गरिदियो भने नेपालबारे चिनियाँहरू अझै जानकार हुनेछन्।’- नेपाल खबर

