नेपाल बन्द तुलनात्मक रुपमा कम हुँदै गइरहेका छन् । यद्यपी बेला बेलामा हुने बन्दले सर्वसाधारणमा भय र त्रासको वातावरण श्रृजना गरिरहेको छ । जनजीवन त्यती धेरै प्रभावित नपारे पनि विभिन्न ठाँउमा हुने घटनाले सबैलाई कुनै न कुनै रुपमा भने तनाव दिइनै रहन्छ ।
अचेल हुने बन्द गजबका छन् । पसलहरु खुलै हुन्छन्, गाडीहरु चलिरहेकै हुन्छन्, तर शैक्षिका संस्थाहरु चाँही बन्द सुन्ने वित्तिकै बन्द हुन्छन् । कतिपय अवस्थामा त यतीसम्म हुन्छ कि कसैलाई थाहा नभएको बन्द, स्कुल कलेजहरुलाई थाहा भैसकेको हुन्छ । यदि स्कुल कलेज बन्द भएका हिसाबले नेपाल बन्दको सफलता÷असफलता मापन गर्ने हो भने जसले आह्वान गरे पनि अत्याधिक सफल हुन्छ ।
यसलाई केलाएर हेर्दा विद्यालयहरु विद्यार्थीको सुरक्षाको चिन्ताले भन्दा एक दिनको खर्च जोगिने कुराले उत्साहित देखिन्छन् । नत्र सबका सब ठाँउ खुल्ने स्कुल कलेज चाही बन्द हुने कसरी ? राजनीति गर्ने पुराना चलनहरु पनि परिमार्जित गर्न सके परिर्वतन गर्न लागिपरेका दलले पनि जनताको समर्थन पाउथे ।
आज नेपाल बन्द गरेर सरकारका काम कारवाहीको विरोध गर्ने दलहरु र सरकार दुवै पक्षलाई केही टिप्स दिन मन लाग्यो । टाउकाको रौ समेत सिध्याएर विद्धान बनेका मगज नै मगजधारीहरुलाई हामी जाबोको सल्लाह त किन चाहिन्थ्यो र ?
तैपनि केही सल्लाह दिउँ, लिने न लिने उहाँहरुको मर्जी । यो नेपाल बन्द गर्ने, टायर, सायर बाल्ने, ट्याक्सीमा आगो झोस्ने, बसका शिशा फोड्ने, मान्छेको खप्पर फोड्ने, प्रेसर कुकर पड्काउने, स्कुुले केटोकेटी तर्साउने कामले अब कुन ठुलो राजनीतिक उपलब्धी हाँसिल होला ?
विप्लव जी र उहाँको समुहलाई घुमाएर होइन सिधा कुरा गरौ । विप्लप जी, मन्त्री चड्ने गाडीहरु मजाले कुद्छन्, जनता चड्ने गाडी किन बन्द गर्नु हुन्छ ? सक्नु हुन्छ भने नयाँ आइडियासहित रचनात्मक विरोधको परिपाटी शुरु गर्नुहोस न ।
प्रभावकारी पनि हुने, जनताले एक रत्ति दुख पनि नपाउने । नेपाल बन्द होईन, पार्टी कार्यालयहरु बन्द गरिदिनुस, मन्त्री सांसदका गाडी चल्न बन्द गरिदिनुस्, सिंहदरवार बन्द गरिदिनुहोस् तर दिनभरी काम गरेर राति परिवार पाल्नु पर्ने सर्वसाधारणको चुलो बन्द नगरिदिनुस् ।
अझ त्यो भन्दा पनि राम्रो आइडिया छ । बन्द गर्नुको साटो देशभरीका शहरहरुमा हुने ट्राफिक जाम मिलाउन कार्यकर्ता खटाइदिनुस्, पहिरोले अवरुद्ध सडक खोल्न कार्यकर्ता पठाइदिनुस्, विकास निर्माणका कामका श्रमदान गर्न कार्यकर्ता पठाइदिनुस् ।
आहा, क्या समर्थन मिल्छ जनताको । त्यही मौकामा आफ्ना मागहरु सर्वसाधारणलाई बुझाउनुस् । तपाई र तपाईका पार्टीले आजीवन नपाएको समर्थन यस्तो कामले प्र्राप्त गर्छ । बस तोडफोड गरेर के गर्नु विचरा चालक र सहालक बेरोजगार हुन्छन् ।
स्कुलका विद्यार्थी तर्साएर के फाइदा, बेकारमा अविभावकले तपाईलाई सराप्छन् । ठाँउ ठाँउमा बम पड्कीदा हामी मर्न पनि सक्छौ हामी तपाइ्र्र्रले राखेको बम पड्केर म¥यौ भने कसरी तपाइको समर्थन गर्ने ?
अनि प्रेसर कुुकरमा त दाल भात तरकारी र कहिलेकाँही मासु पकाउने हो, सिट्ठी लगाई लगाई । जमाना परिवर्तन भइसक्यो अब आन्दोलन, विरोध गर्न उही राणा शासन फाल्न प्रयोग गरेकै फर्मुला लगाएर हुँदैन । क्रियटिभ हुनुस् । अब विप्लव जी पछि ,सल्लाह सरकारलाई्र ।
अब नेपाल बन्द सरकारले गरोस । यो दिन नेपाल बन्द भनेर सरकारले घोषणा गरोस् र त्यो बन्द भएको दिन युद्ध स्तरमा बाटो खन्ने, पुर्ने, ढल हाल्ने, पाइप विच्छ्याउने, पोल सार्ने, तार अण्डरग्राउण्ड गर्ने, डे«न बनाउने, पिच गर्ने जस्ता काम गरोस ।
तर अल्छि पाराले एउटा स्क्याभेटरले टुक्क टुक्क खोस्रने, ४ जना कामदारले हाई हाई गर्दै सम्याउने, ४ जना साइडमा अभिएर चुरोट तान्दै नेता मन्त्रीलाई गाली गर्ने हो भने यो देश अर्को हजार बर्ष पनि बन्दैन । जापानिज, चाइनिज, कोरिएनहरुले काम गरेको देख्नु भएको छ ?
सयौँ, हजारौ, कामदार एकै पटक सुपर स्पीडमा काम गर्छन, काम हेर्न सुपरभाइजरले तिनको काम चिलले हेरेको जसरी आँखा नझिम्काई निगरानी गर्छ । अनि रातारात काम बन्छ ।
हाम्रो त ताल नै बेग्लै । लोसे तालले १०÷१२ जना मान्छे,्र २ वटा स्क्याभेटर, सुपरभाइजर छेउको भट्टीमा कुखुरा र वियरमा मस्त ।
समस्या यहि हो त्यसैले नेपाल बन्द अब सरकारले गरोस् र भोली पल्ट जब नेपाल खुल्छ, हाम्रो आँखाले बाटो, पुल, भवन रातारात बनेको देख्न पाउन ।
यस्तो हुन सक्छ भने म त नेपाल बन्दको समर्थन गर्छु, यस्तो बन्द भईरहोस् भन्ने कामना गर्छु र दिन भरी श्रमदान दिन पनि तयार छु । सरकार रेडी हो ? बाइ द वे कंलकी नागढुङ्गा सडक कालोपत्रे हुन अब १३ दिन बाकी छ ।
मन्त्री रघुविर महासेठले भन्नु भए अनुसार अब १३ दिन भित्र सडक कालोपत्रे भैसक्छ । आजको दिन गैहाल्यो त्यो दिन भैहाल्यो । मन्त्री ज्यु अब तपाईसँग ११ दिन बाँकी छ ।

