काठमाडौँ – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को कार्यकाल थप्नु पर्ने मागलाई आइसीसीका बहुमत सदस्यहरुले अस्वीकार गरी दिएका छन्।
शनिबार भर्चुएल माध्यमबाट झन्डै सात घण्टा चलेको बैठकको शुरुमा केन्द्रीय अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको पत्र पछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी संघको दशौँ महाधिवेशन स्थगित गर्नु परेको बताएका छन् ।
उनले महाधिवेशन र चुनाव गराउन विधान अनुसार आइसीसीको पदावधि ६ महिना थप गर्न प्रस्ताव गरेका थिए। उनले ३० नोभेम्वर २०२१ भित्रै चुनाव गराउने गरी काम गर्ने पनि जनाएका थिए ।
बैठकमा सहभागी एक आइसीसी सदस्यका अनुसार झण्डै ८० प्रतिशत आइसीसी सदस्यहरुले वर्तमान नेतृत्वले समय रहदै संस्थाभित्र उत्पन्न समस्याहरु समाधान गर्नेतर्फ कुनै पहल नगरेकाले अधिवेशन तथा चुनाव गराउने जिम्मा संरक्षक परिषद्लाई दिनु पर्ने माग गरेका थिए।
उनीहरुले ३० नोभेम्वरमा चुनाव गराउने प्रस्तावप्रति विश्वास गर्न नसकिने जनाएका थिए। उनीहरुले पदावधि बढाउनु पर्ने नै भए एउटा ुरोड म्यापु ल्याउन र डेलिगेट्स सम्बन्धी विवाद तत्काल समाधन गर्न पनि माग गरेका थिए।
युरोप क्षेत्रीय संयोजक तथा २०२१(२३ का लागि सचिव पदका उम्मेदवार नारायण आचार्यले संस्थालाई अनिर्णयको बन्दी नबनाउन र प्याकेजमा सहमति खोज्नु पर्ने धारणा राखेका थिए । उनले संस्थामा हैकमवाद जारी रहे संस्था विघटनतिर जाने चेतावनी पनि दिएका थिए।
ती सदस्यका अनुसार उपाध्यक्ष मन केसीले परराष्ट्र मन्त्रालयले उठाएका विषयहरुलाई सम्बोधन गरेर मात्रै अगाडी बढ्नु पर्ने बताएका थिए। उनले संरक्षकहरुमाथि विश्वास गर्न पनि आग्रह गरेका थिए।
पूर्व अध्यक्षहरूमाथि विश्वास गर्न सक्दैनौं भने यो संस्था नै चाहिँदैन भन्दै उनले चुनावमा नजाने कार्यसमितिका पदाधिकारीहरु र पूर्व अध्यक्षहरुको टिम बनाएर महाधिवेशन र चुनाव गराउनु पर्ने सुझाव दिएका थिए। संस्थाका बहुसंख्यक आइ सी सी सदस्यको भावना विपरीत निर्णय गरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी पनि उनले दिएका थिए।
संरक्षक परिषदलाई जिम्मा दिनु पर्ने माग
त्यस्तै उपाध्यक्ष सोनाम लामाले पनि बैठकमा संरक्षक परिषदलाई जिम्मा दिनु पर्ने माग राखेका थिए। उनले परराष्ट्र मन्त्रालयको चिठीलाई सहज रुपमा लिनु पर्ने बताउदै जतिसक्दो चाँडो चुनाव गराउनु पर्ने बताएका थिए।
आइएलओ घोटालामा मुछिएका उपाध्यक्ष बद्री केसीले परराष्ट्रको चिठीलाई संस्था भित्र शुद्धिकरण गर्न अवसरको रुपमा उपयोग गर्नु पर्ने बताउँदै विद्यार्थीहरूलाई पनि एनआरएनको परिभाषा भित्र पार्नु पर्ने बताएको ती आइसीसी सदस्यले जनाए । वर्तमान कार्यसमितिको म्याद थप्ने विषयमा उनले कुनै प्रतिकृया जनाएनन् ।
त्यस्तै केन्द्रीय सल्लाहकार तथा २०२१–२३ का लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले परराष्ट्र मन्त्रालयले संघको विधानमा भएको कुरा मात्रै उल्लेख गरेको र विधानभन्दा बाहिर गएर केही पनि नलेखेकाले विधान र प्रकृया मिचेर गरिएका गल्ती सच्याएमा समस्या नै नहुने भनाइ राखेको बैठकमा सहभागी एक आइसीसी सदस्यले जानकारी दिए।
उनका अनुसार आचार्यले साथीहरु परराष्ट्र मन्त्रालयसम्म जाने स्थिति कसरी बन्यो, त्यसको कारण पत्ता लगाएपछि मात्रै समस्याको समाधान खोज्न सकिने बताएका थिए।
आचार्यले एमआइएस प्रणालीको दुरुपयोग गरिएका प्रमाणहरु फेला परेको बताउँदै आफुले अनैतिक राजनीति गरेर अरुलाई राजनीति गरेको दोष नलगाउन चेतावनी पनि दिएको एक सहभागीले बताए ।
अर्का केन्द्रीय सल्लाहकार सोम सापकोटाले संघभित्र अहिले संकटकालको जस्तो अवस्था रहेको बताउँदै समस्या समाधानका लागि संरक्षक परिषद र सल्लाहकारहरुसंग बैठक राख्न सुझाव दिएका थिए।
तर, बैठकको अन्त्यमा अध्यक्ष पन्तले सबै सदस्यहरुलाई आफुमाथि विश्वास गर्न र आइसीसीको पदावधि ६ महिना बढाउन प्रस्ताव राख्ना साथ उक्त प्रस्तावमाथि मतदान वा थप छलफल नै नगराइ जूम मिटिङ बन्द गरिएको थियो। पन्तले २–३ दिन भित्र एउटा कमिटी गठन गर्ने पनि बताएको जनाइएको छ।
संघको १८ वर्षे इतिहासमा महाधिवेशन पर सारिएको यो पहिलो पटक हो। महाधिवेशन तथा चुनाव नै नगराइ कुमार पन्त नेतृत्वको आइसीसीको कार्यकाल आइतबार राती १२ बजेदेखि सकिँदै छ।
आइसीसी बैठकको बहुमत विना नै संस्थापन पक्षले पदावधि थपिएको दावी गरे त्यसको सशक्त विरोध गरिने एक आइसीसी सदस्यले जनाएका छन्।

