-रमेश भारती
रोजगारीको खोजीमा ठूलो संख्यामा नेपाली युवा विदेश गइरहेका छन्। तर नेपालमा भने कामको खोजी गर्दै भारतलगायत अन्य देशबाट श्रम जनशक्ति आउने क्रम बढ्दै गएको छ।
विगत तीन वर्षदेखि कामको खोजीमा विदेशी श्रमिक नेपाली श्रम बजारमा भित्रिने क्रम कयौं गुणाले वृद्धि भइरहेको श्रम विभागले जनाएको छ।

देशका विभिन्न क्षेत्रमा निर्माण भइरहेका सडक, जलविद्युत सरकारी भवन, व्यक्तिगत घर, पुल निर्माण र पुनर्निर्माण क्षेत्रमा काम गर्नका लागि त्यस्ता कामदार भित्रिरहेका छन्। दैनिक करिब दुई हजार विदेशी श्रमिक नेपाल भित्रिने गरेको अनुमान विभागको छ।
नेपालमा निर्माण भइरहेका राष्ट्रिय गौरवका आयोजना र अन्य निर्माण क्षेत्रमा विदेशी कामदारको सहभगिता ठूलो रहेको छ। यस्ता आयोजनामा सामान्य काम गर्नका लागि पनि विदेशी श्रमिकमा निर्भर हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ।

विदेशी कामदार नेपालको श्रम बजारमा प्रवेश गर्ने क्रम मासिक रुपमा बढदै गएको श्रम विभागका निर्देशक वरुणकुमार झाले बताएका छन्। उनले भने– ‘तीन वर्षअघि नेपालमा काम गर्ने आउने विदेशी श्रमिकको संख्या थोरै मात्र थियो। तर, भुकम्प गएको सालदेखि विदेशी कामदारको चाप नेपालमा ह्वात्तै बढेको छ। श्रम स्वीकृति लिने विदेशी कामदारको संख्यामा वार्षिक दोब्बरका दरले वृद्धि हुँदै गएको छ।’नेपाल काम गर्न आउनेमा भारतको विहार, उडिसा, गुजरात, हिमाञ्चल प्रदेश, हरियाणाका धेरै छन्। यस्तै, श्रीलंका, बंगलादेश चीन, जापान, पाकिस्तान, मल्दिभ्स र भुटानबाट पनि नेपालमा काम गर्ने श्रमिक आउने गरेको विभागले जानकारी दिएको छ।
विगत तीन वर्षदेखि कामको खोजीका विदेशीने कामदारभन्दा रोजगारीको खोजीमा नेपाल आउने श्रमिकको संख्या बढिरहेको विभागको भनाइ छ।
अहिले नेपालमा १० लाखभन्दा बढी विदेशी श्रमिक रहेको अनुमान सरकारको छ।
हाल भइरहेको पुनर्निर्माण कार्यमा अधिकांश विदेशी श्रमिक रहेका प्राधिकरणको तथ्यांकमा छ।
सिकर्मी, डकर्मी, इन्जिनियर र प्रविधिक क्षेत्रमा धेरै विदेश श्रमिक काम गर्ने आउने गरेको विभागको तंथ्याकमा उल्लेख छ।मुख्य शहरमा दैनिकजसाे श्रमिकको पारिश्रमिकमा मोलमोलाइ
राजधानीभित्रका मुख्य शहरमा बिहान ७ देखि १० बजे नेपाल र विदेशका श्रमिकहरुको पारिश्रमिक मोलमाल हुने गरेको देखिन्छ।
रत्नपार्क, कंलकी, नयाँबानेश्वर, नयाँ बसपार्क र कोटेश्वरको सडक पेटीमा बिहान दैनिकजसो कामदारको मोलमोलाइ हुनेगरेको छ। त्यहाँ भारत, बंगलादेश र श्रीलंकाबाट आएका श्रमिकहरुको बाक्लो उपस्थिति देखिन्छ।शहरको मुख्य केन्द्रमै यसरी श्रमिकको ज्यालामा हुने मोलमोलाइका विषयमा सरकार बेखबर नै छ। श्रमिक नियमन गर्ने संस्था श्रम विभागलाई नै श्रमिकको पारिश्रमिकमा हुने मोलमोलाइका विषयमा बेखबर रहेको पाइएको छ। त्यस्ता कामदारले दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म ज्याला पाउने गरेको रत्नपार्कमा भेटिएका श्रमिक आपूर्तिकर्ता मंगल साहले बताएका छन्।
‘भारतबाट कामदार ल्याएर नेपालका निर्माण कम्पनी र अन्य श्रमिकलाई काम लगाउने ठेकदारलाई जिम्मा लगाउँछु’, साहले भने, ‘भारतबाट मासिक १० हजारभन्दा बढी श्रमिक रोजगारीका लागि नेपाल ल्याउने गरेको छु। भारतीय बेरोजगार युवा काम गर्ने नेपाल आउन रुचाउने गरेका छन्।’
भारतमा मासिक भारु १० हजारसम्म कमाउने श्रमिकले नेपालमा दैनिक ८ घन्टा काम गरेर नेरु ३० हजारभन्दा बढी कमाउने रोजगारीका लागि आएका श्रमिकहरुले बताउँछन्। ग्रामीण भेगमा काम गर्ने श्रमिकले कामसँगै खाना र बस्नको सुविधा पनि पाउने भएकाले कमाइमा बचत हुने उनीहरु बताउँछन्।
भारतीय श्रमिकको आकर्षणमा नेपालको श्रम बजार
भारतमा भन्दा नेपालमा राम्रो कमाइ हुन थालेपछि त्यहाँका श्रमिकलाई नेपाली श्रम बजारप्रति आकर्षण बढ्दै गएको देखिन्छ। ‘गुजरातमा महिनाभरी काम गर्दा मुस्किलले १० हजार मात्र बचत हुन्छ’, रोजगारीका लागि गुजारातबाट आएका तुलना राउजी बताउँछन्।
रत्नपार्कमा भेटिएका राउजीले नेपालमा काम गर्न पनि सजिलो र कमाइ पनि राम्रो हुने भएकाले गुजरातदेखि काम गर्न नेपालमा आएको बताए।

आफूले मासिक ३५ हजारसम्म बचत गरेको राउजी बताउँछन्। उनीसँगै गुजरातबाट अन्य ४० जना पनि काम गर्नैका लागि नेपाल आएका छन्।
भारतको हिमाञ्चल प्रदेश धान रोपाई सकिएकाले काम गर्न समस्या भएपछि धेरै त्यहाँका युवा काम गर्ने नेपाल आउने गरेका नयाँ बानेश्वरमा भेटिका हिमाञ्चल प्रदेशबाट रोजगारीका लागि जोन कासीले बताएका छन्।
काम गर्नेका लागि उनीहरु जस्ता हजारौ युवाको रोजाई नेपालको श्रम बजार पर्नेगरेको छ। कामदारका अभाव खेपिरहेको नेपाली रोजगार दाता कम्पनीले भारतबाट कामदार ल्याएर काम गर्नु परिरहेको नेपाल निर्माण व्यवसाय महासंघका कोषध्यक्ष रोशन दाहालले बताएका छन्।
नेपाली श्रम बजारमा काम गर्ने भारतीय श्रमिकले रुचाउने गरेको उनको भनाइ छ।
भारतीय कामदारसँग मिसिएर पश्चिम तराईका कामदार समेत पछिल्लो समय रोजगारीको खोजीमा उपत्यका आउने गरेका छन्।
भारतको मोतीहारी जिल्लाबाट ५ सयभन्दा बढी कामदार एकैसाथ पुनर्निर्माणमा काम गर्न लिएर आएको कामदार आपूर्ति गर्ने सत्यदेव सहनीले बताए।
सहनीले सातामा ५ सय भारतबाट श्रमिक नेपाल ल्याउने गरेको जानकारी दिए।
आन्तरिक श्रम बजारको बेवास्ता
विदेशी देशका कामदार नेपाल भित्रिरहेका बेला नेपाली युवाको रोजाइमा भने विदेश पर्ने गरेको छ। ठूलो लगानी गरेर विदेश जाने कामदारलाई नेपालमै सञ्चालित आयोजनामा सरकारले आकर्षित गर्न सकेको छैन। यस्ता काममा युवालाई आकर्षित गर्नेतर्फ सरकारी तथा गैरसरकारी क्षेत्रबाट कुनै प्रयास नगरिएको श्रम विज्ञ दिपेन्द्र थापाको भनाइ छ।
साभार- नेपाल लाइभ

