काठमाडौं – कोभिड–१९ महामारीविरुद्धको अभियानमा सघाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले नेपाल पठाएको सामग्री हस्तान्तरण गर्न नदिन सङ्घकै एक केन्द्रीय पदाधिकारीले चलखेल गरेको खुलासा भएको छ। संघका सचिव गौरी राज जोशीले संघको आगामी निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले ती सामग्री नेपाल पठाइएको दावी गर्दै तिनको हस्तान्तरण रोक्न अध्यक्ष कुमार पन्तलाई पत्र लेखेका थिए।
उनले त्यस्तो सहयोग आइसीसी मार्फत मात्रै जानु पर्ने भन्दै संघको आपत्कालीन बैठक बोलाउन पनि माग गरेका थिए। उनले त्यस्तै इमेल काठमाडौँस्थित अमेरिकी दूतावास तथा नेपालको परराष्ट्र मन्त्रालयलाई पनि पठाएको सूत्रले जनाएको छ।
अमेरिकावासी नेपालीले नेपाल र नेपालीको सेवाका लागि पठाएको करोडौं रुपियाँ बराबरको स्वास्थ्य सामग्रीको हस्तान्तरण नै रोक्ने प्रयास गर्ने जोशीको प्रयासको चौतर्फी आलोचना र निन्दा गरिएको छ। उनै जोशीले ८० भन्दा बढी देशमा फैलिएको गैर आवासीय नेपाली सङ्घको केन्द्रीय महासचिव पदमा उम्मेदवारी दिएका छन्। मानवीय सेवा जस्तो पुण्य कार्यमा पनि तल्लोस्तरको राजनीति गर्ने जोशीलाई स्पष्टीकरण सोधी साधारण सदस्यबाट समेत निलम्बन गर्न एनसीसी अमेरिकाका सदस्यहरूले माग गरेका छन्।
हस्तान्तरण समारोहमा संघका केन्द्रीय उपाध्यक्ष सोनाम लामा, सल्लाहकार कुल आचार्य, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल, आइसीसी सदस्य बेद खरेल लगायतको उपस्थिति थियो। तर, अध्यक्षको दावी गर्दै आएकोअर्की उपाध्यक्ष रबिना थापा काठमाडौँमै रहेकी भए पनि कार्यक्रममा सहभागी भइनन्।
स्वास्थ्य उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुबेदीले एनआरएनए अमेरिका ३ करोड १६ लाख रुपिया मूल्य भन्दा बाढीका स्वास्थ्य सामग्री र उपकरण बुधबार एक समारोह बीच स्वास्थ्य राज्य मंत्री उमेश श्रेष्ठ लाई हस्तान्तरण गरे। उक्त अवसर मा राज्य मंत्री श्रेष्ठले उक्त सहयोगका लागि एनआरएनए अमेरिका, अमेरिका निवासी सबै नेपाली हरु तथा अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए।
गत शुक्रवार अमेरिकाको युटाह राज्यको साल्ट लेक सीटीबाट झन्डै ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामग्री लिएर अमेरिकी सेनाको जहाज नेपालका लागि उडान भरेको थियो।
एनआरएनए अमेरिका र अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगत अमेरिकी सेना मार्फत सहयोग सामग्री ढुवानीमा सहमति भएपछि अमेरिकी सेनाको जहाजले स्वास्थ्य उपकरण र सामग्री नेपाल लगेर गएको हो ।आगामी दिनमा आपत् – विपद्को समयमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अमेरिकी सेनाको जहाजमा सहयोग सामाग्री नेपालसम्म निःशुल्क ढुवानी गराउन सक्ने गरी सहमति भएको छ ।
गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अक्सिजन कन्सनट्रेटर ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रास्फरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाव टेस्टर, सी प्याप उपकरण १५ बक्स सहित पाँच प्यालेटमा ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन सामग्री नेपाल पुगेको छ ।
यो सहमतिको आधार तयार गर्न महत्त्वपूर्ण सहयोग गर्नुहुने सेक्रेटरी अफ डिफेन्स अन्तरगतको युटाह नेशनल गार्ड स्टेट पार्टनरसिप कार्यक्रमका निर्देशक मेजर जनरल विलियम के बेइसिन्जर प्रति गैर आवासीय नेपाली सङ्घ अमेरिकाले आभार व्यक्त गरेको छ ।
यस कार्यक्रममा जोड्न र सहयोग जुटाउन अथक मेहनत गर्नुहुने अमेरिका स्थित नेपाली दूतावासका होमकान्त भण्डारी, डाइरेक्ट रिलिफका ड्यानियल होभी, स्मृत कम्वोइ, नेपालीज एसोसिएसन अफ ह्युस्टनका अध्यक्ष डाक्टर विष्णु नेपाल, अवकाश प्राप्त अमेरिकी सैनिक अधिकृत श्याम ज्ञवाली, महावाणिज्यदूत ऋषि ढकाल, सेवा इन्टनेशनलका अचलेश अमर, स्वदेश कटोच र शिव मिश्र, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व सल्लाहकार संकेस सुवेदी लगायतलाई गैर आवासीय नेपाली सङ्घ अमेरिकाले धन्यवाद दिएको छ ।
हस्तान्तरण कार्यक्रममा परराष्ट्र मन्त्रालय, नेपाली सेना, अमेरिकी राजदूतावास, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआइडीका प्रतिनिधि पनि सहभागी थिए ।
यस अघि गैर आवासीय नेपाली सङ्घ अमेरिकाले गत जुन १५ तारिख कोभिड १९ विरुद्ध नेपाल र नेपालीलाई सहयोग पठाउन गरेको प्रयास असफल भएको थियो । सेक्रेटरी अफ डिफेन्स अन्तरगतको यो कार्यक्रममा गैर आवसीय नेपाली सङ्घ अमेरिकाको तर्फबाट संयोजन गर्न अध्यक्ष बुद्धिसागर सुवेदीले कोषाध्यक्ष राजीव श्रेष्ठलाई जिम्मेवारी दिएका थिए ।

