दुई फ्रान्सेली नागरिक १० महिना अघि काठमाडौँ आइपुगे। दुबै पर्यटक भीषामा काठमाडौँ आएका थिए। अध्यागमनले कार्यालयले युरोपका पर्यटकलाई सजिलै प्रवेशाज्ञा उपलब्ध गरायो। उनीहरु एक महिना नेपाल बसे, अनि स्वदेश फर्किए।
फ्रान्सेली नागरिकद्वय क्रिस्टेफी ग्यूलेक्स २०१७ सेप्टेम्बर र डेनिस म्याथ्यू माइकल चुपु सोही वर्ष अक्टुबर २५ मा नेपाल छिरेका थिए। अभिन्न मित्र हुनुका बाबजुद दुबैले नेपाल बसाईं अवधिभर होटल होइन, उपत्यकाको ग्रामिण क्षेत्रमा डेरा लिएका थिए।


यो घटनापछि ग्यूलेक्स ३० नोभेम्बर २०१७ मा र चुपु १२ अप्रिल २०१८ मा दोस्रो पटक नेपाल आए। दुबैले पुन सोही क्षेत्रमा कोठा भाडामा लिएर बस्न थाले। ‘हामी नेपाल र नेपालीको सहयोगका लागि आएका हौँ’ गाउँलेहरुलाई आफ्नो नेपाल आगमनको कारण उनीहरु यही बताउँथे।
तर, फरक हर्कत
स्थानीय स्वीमिङ पुलमा जाने, त्यहाँ पौडी खेल्न आउने साना बालकहरुसँग सँगै पौडी खेल्ने- उनीहरुको दिनचर्या यही थियो। यसैगरी उनीहरुले स्थानीय बालकहरुसँग निकटता बढाउँदै लगे। पौडी खेल्न आउने बालकसँगै उनीहरुका घरमा जाने गर्न थाले। उनीहरुलाई खेलकुदका सामाग्री पनि किनिदिन थाले। यो क्रम लामो समय चल्यो।
बालकहरुसँग निकटता र परिवारसँग घनिष्ठता बनेपछि दुबैले आलोपालो बालकहरुलाई आफ्नो डेरामा लैजान थाले। गोरो छालाप्रति नेपाली समाजको मानसिकता सधैँ सकारात्मक छ, त्यसैले बालकका अविभावकहरुले पनि यसलाई सामान्य रुपमा लिए।
तर फ्रान्सेली गोराहरुको डेरामा जाने बालकहरु केही समयपछि अस्वस्थ, थकित र रिसाहा पाराका देखिन थाले। अविभावकहरुले आफ्ना सन्तानमा आएको फरक व्यवहारको कारण खोज्ने क्रममा एक बालकले ती फ्रान्सेलीले डेरामा लगेर गर्ने कुकर्मको पोल खोलिदिए।
त्यसपछि थाहा भयो, दुबैजना कुख्यात यौनदुराचारी रहेछन्। आफ्नो फरक यौन चाहना पुरा गर्न उनीहरुले नेपाललाई गन्तब्य बनाएका रहेछन्। उनीहरुले निशाना बनाएको ठाउँ हो, काठमाडौँको उत्तरी क्षेत्र साँखु।
यसरी खुल्यो रहस्य
स्थानीयवासीहरुबाट उनीहरुको हर्कतबारे जानकारी पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले साउनको पहिलो साता पक्राउ गरी थुनामा राखेको छ।
ब्युरोको अनुसन्धानमा पछिल्लो समय सहरी क्षेत्रका होटलभन्दा यौन दुराचारीले काठमाडौं उपत्यकाका ‘काँठ’ क्षेत्रलाई निशाना बनाउने गरेको निष्कर्ष निकालेको छ। सस्तोमा कोठा पाइने र दूराचारका लागि सहजै बालकहरु पनि भेटिने भएकाले उनीहरुको रोजाईमा काँठ क्षेत्र परेको विश्लेषण छ ब्यूरोको।
ब्यूरोका अनुसार, दुबै फ्रान्सेली यौन दुराचारीहरुको सञ्जाल ‘नामबला’ (नर्थ अमेरिकन म्यान बोए लभ एशोसिएशन) मा समेत जोडिएका थिए। उनीहरु समयमै पक्राउ नपरेको भए थप यौन दुराचारी अपराधका लागि नेपाल भित्रिने ब्युरोको दाबी छ, किनभने उनीहरुले आफ्नो सञ्जालमा यस्तो कर्मका लागि नेपाल सहज भएको प्रचार आफ्नो सञ्जालभित्र गरिसकेका थिए।
पहिलो पटक नेपाल आउँदा यौन चाहना पुरा हुने थाहा पाएका उनीहरुले दोस्रो पटक नेपाल आउँदा अझै व्यवस्थित र योजनावद्ध ढंगले ग्रामिण क्षेत्रका बालकहरुलाई दूराचार गरिरहेको अनुसन्धानबाट खुलेको छ।
‘दुबैको नेपाल आउनुको एकमात्र उद्देश्य यौन दुराचार थियो, एकजना त कुख्यात दुराचारी हुन्’ ब्यूरोका एक अनुसन्धान अधिकारीले नेपालखबरसँग भने, ‘अध्यागमनमा नै हाम्रो संयन्त्र भए यस्ता व्यक्तिहरुलाई रोक्न सकिन्थ्यो।’
ती अधिकारीका अनुसार डेनिस त सन् २००४ मा फ्रान्समा यौन दुराचारकै आरोपमा पक्राउ परी सजाय भुक्तान गरेका अपराधी हुन्।
ब्युरोमा १० जना बालकका अभिभावकले आफ्ना सन्तान उनीहरुको दुराचारको शिकार भएको दावीसहित कारवाहीका लागि जाहेरी दिएका छन्। ब्युरोको अनुमान छ, यो संख्या अरु बढ्न सक्छ।(नेपाल खबरबाट)

