अध्याय १३ क्षेत्रक्षेत्रज्ञ योगको सार– आध्यात्मिक वार्तालापको क्रमलाई निरन्तरता दिंदै श्रीकृष्णले अब क्षेत्र र क्षेत्रज्ञ यी दुई शब्दको दार्शनिक अर्थ बताउनु हुन्छ । शरीर क्षेत्र वा भूमि हो र आत्मा क्षेत्रज्ञ वा भूमिको ज्ञाता । दुवैको सविस्तार वर्णन मुनिहरूद्वारा अनेक ग्रन्थमा गरिएको छ । अन्ततः के निष्कर्ष प्राप्त हुन्छ भने परम परमेश्वर श्रीकृष्ण नै सबै क्षेत्रमा क्षेत्रज्ञ हुनु हुन्छ । पांच तत्त्व, अहंकार, बुद्धि, इन्द्रिय, मन, इन्द्रिय–विषय, सुख र दुख यी सबै क्षेत्र अन्तर्गत छन् । ज्ञान वा विद्या निर्धारित गुणहरूको विकासमा निहित छ । जस्तै– विनम्रता, सरलता, अहिंसा, सदाचार, गुरुसेवा पवित्रता, आत्मसंयम र अनासक्ति, अहंकार–अभाव, समभाव, तथा परमेश्वर श्रीकृष्णको भक्ति । एकान्तसेवी, भीडबाट अलग, आध्यात्मिक भावमा स्थिर रहनु जस्ता कुराहरू पनि ज्ञान प्राप्तिमा सहायक छन् ।
यस पछि ज्ञेयका सम्बन्धमा वर्णन गर्दै त्यस (ब्रह्म) लाई जाने पछि अमरत्व प्राप्ति हुन्छ भन्ने कुरा बताउनु हुन्छ। उनी अनादि छन् । उनको अस्तित्व वा अनस्तित्वलाई शब्दले परिभाषित गर्न सकिंदैन । उनका हात खुट्टा आंखा, कान, र मुख सर्वत्र छन् । उनी प्रत्येक वस्तुमा व्याप्त छन् । यद्यपि आफूलाई इन्द्रियका कार्यद्वारा व्यक्त गर्छन्, तर उनी इन्द्रियरहित छन् । उनी सबै प्राणीहरू भित्र पनि छन् र बाहिर पनि । उनी प्रकाशका पनि प्रकाश हुन् । उनी ज्ञान हुन्, त्यसै गरी ज्ञेय हुन् । र सबका हृदयमा वास गर्छन् ।
प्रकृति (क्षेत्र) र पुरुष (क्षेत्रज्ञ) दुवै अनादि छन् । पुरुष प्रकृतिमा स्थित भएकोले गुणहरूबाट उत्पन्न सुख र दुखको अनुभव गर्छ । गुणहरू प्रतिको आसक्ति नै राम्रा–नराम्रा योनिहरूमा आवागमन हुने कारण बन्छ । जसले पुरुष र प्रकृतिलाई बुझ्छ, त्यो पुनर्जन्मबाट मुक्त हुनजान्छ । जसले शुद्ध मन वा ज्ञानयोग वा कर्मयोगबाट आत्मानुभूति गर्छ, त्यो मृत्युबाट पार हुनजान्छ । क्षेत्र–क्षेत्रज्ञको संयोगले यस संसारका सबै पदार्थ निर्मित भएका छन् । र परमेश्वर बिना भेदभाव सबैमा वास गर्छन् । जसले यस कुरालाई अनुभव गर्छ उसले जीवनको अन्तिम लक्ष्य प्राप्त गर्छ । प्रकृतिले नै कार्य गर्छ । हुनत, पुरुष शरीरमा स्थित छ तर त्यो आकाश जस्तो निर्लिप्त छ । त्यसले न काम गर्छ, न कलुषित हुन्छ । क्षेत्रज्ञ (आत्माको ज्ञाता) ले चैतन्यद्वारा क्षेत्र (शरीर) लाई त्यसै गरी प्रकाशित गर्छ, जसरी सूर्यले सम्पूर्ण जगतलाई प्रकाशित गर्दछ । जसले क्षेत्र र क्षेत्रज्ञ यी दुवैको यस अन्तरलाई आफूभित्र अनुभव गर्नसक्छ, उसले ब्रह्मानुभूति अनुभव गर्छ । यस अध्यायलाई प्रकृति पुरुष र चेतना (विवेक) पनि भनिन्छ । यथार्थ गीताका लेखक स्वामी अडगडानन्दले यस अध्यायलाई विशेष महत्त्व दिएका छन् ।
सनातन धर्म संस्कृतिका ज्ञाता त्रिभुवन विश्व बिद्यालयका प्राध्यापक डा. बाबुराम ज्ञवालीद्वारा लिखित ”श्रीमद् भागवत गीता – एक विवेचना” नामक महत्वपूर्ण धार्मिक ज्ञान भएको पुस्तक हो । धर्म संस्कार प्रति चाख राख्ने पाठकहरुको मागलाई ध्यानमा राख्दै पढ्न र संग्रह गरेर राख्न पनि सजिलो होस् भन्दै हरेक अध्यायलाई फाइल नै बनाएर पोष्ट गर्दै जाने छौ, सात शय श्लोकी गीतालाई १०० अध्यायमा विभाजन गरेर गरिएको व्याख्या क्रमिकरुपमा प्रस्तुत गर्दै जाने छौ । पहिले प्रकाशित भागहरु हेर्न स्वदेश नेपालको धर्म संस्कार क्याटागोरीमा हेर्नुहुनु अनुरोध छ, सबै लिंकहरु यहाँ समाबेश गर्न सम्भब देखिएन ।
पढ्नुहोस डा. बाबुराम ज्ञवाली लिखित श्रीमद्भगवद्गीता अध्याय १३ को विवेचनाको पूर्णपाठ
उपसंहार– अध्याय १३ को नाम हो क्षेत्रक्षेत्रज्ञ विभागयोग । शरीरलाई क्षेत्र र यसको मालिकलाई क्षेत्रज्ञ भनिएको छ । यसलाई प्रकृति–पुरुष वा परा–प्रकृति र अपरा–प्रकृति पनि भनिन्छ । त्यसैले यसमा प्रकृति, पुरुष र चेतनाको सम्बन्ध बताइएको हो । जीव नित्य शुद्ध, बुद्ध,मुक्त, प्रतिक्षेत्रमा एक अद्वितीय ब्रह्मरुप छ, कर्ता भोक्ता, संसारी प्रतिव्यक्ति नाना देखिएको भ्रान्ति मात्र हो भन्ने कुरा क्षेत्रक्षेत्रज्ञ विभागमा स्पष्ट गरिएको छ । अध्याय १३–१८ सम्म ज्ञान काण्डको यो प्रारम्भ हो । आत्मा अजर अमर छ, त्यसका निम्ति शोक गर्नु पर्दैन । मर्ने मार्ने क्रिया झुट्ठा हुन् । त्यसैले स्वधर्म युद्धमा प्रवृत्त हुनै पर्दछ भन्ने सिद्ध हुन्छ । यस अध्यायको सार हो मायालाई त्याग्नु, ईश्वरसंग जोडिनु ।

