आयुष चौलागाई, काठमाडौं –
नेकपा एमालेका सचिव योगेश भट्टराईले जेठ ७ गते शुक्रबार फेसबुकमा लेखे, ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सही गरेँ कि, गलत गरेँ, इतिहासको कठोर मूल्यांकनमा खडा छु।’
यसको दुई दिनपछि जेठ ९ गते आइतबार भट्टराईको अर्को धारणा आयो। उनी लेख्छन्, ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्याएको छैन, र पुर्याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो विगतलाई हेरौ। धैर्य गरौ, संवाद गरौ।’
अब एमाले सचिव एवं सांसद् भट्टराईको धारणाको विश्लेषण गरौँ। भट्टराईले जेठ ६ गते प्रधानमन्त्रीमा प्रस्तावित शेरबहादुर देउवाको पक्षमा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले हस्ताक्षर अभियान चलाइरहँदा हस्ताक्षर गरेनन्।
बरु ‘आफ्ना लागि इतिहासको कठिन दिन’ भनेर फेसबुकमा लेख्दै बसे। नेपाली कांग्रेसका नेता एवं सांसद् गगन थापा भन्छन्, ‘राजनीतिक पार्टी र एउटा नेताले के सही हो, त्यो गर्ने हो, रहर र बाध्यताको कुरा गरेर मात्रै हुँदैन, तर, आफूले लिएको निर्णयको औचित्य पुष्टि गर्न सक्नुपर्छ।’
केपी ओली र योगेश भट्टराईः ‘हेट एण्ड लभ’ सम्बन्ध
एमाले सचिव भट्टराईले अहिले नेपाल–खनाल गुट त्यागेर ओलीकै समूहमा जान चाहनुको औचित्य पुष्टि गर्न अब अपरिहार्य बनेको छ। संविधानसभाका दुई निर्वाचनमा काठमाडौंमा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचन–२०७४ मा ताप्लेजुङबाट चुनाव लडे। जिते पनि।
सदरमुकाम फुङलिङ बजारमा आयोजित चुनावीसभामा एमाले अध्यक्ष ओलीले घोषणा नै गरिदिए, ‘तपाईहरू जिताउनुस्, म तपाईहरूलाई मन्त्री दिन्छु।’ अर्थात् ओलीले भट्टराईलाई मन्त्री बनाउने आश्वासन दिए।
तर, चुनाव जितेपछि काठमाडौं आउने बित्तिकै भट्टराईले एक टेलिभिजन अन्तरवार्तामा ‘ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिनुपर्छ’ भनिदिए। त्यसपछि ओली आगो भए। भट्टराईलाई मन्त्री बनाएनन्।

लामो समयदेखि भट्टराईले मन्त्री बन्न लबिङ गरिनै रहेका थिए। र, ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि ओलीले भट्टराईलाई सोही मन्त्रालय दिए।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूहबन्दी गर्दै आएका सचिव भट्टराईले जेठ ६ गते नयाँ सरकार गठनको निर्णायक दिनमा आइपुग्दा नेपालको साथ छाडेका हुन्।
मन्त्री भएपछि ओलीसँग भट्टराई निकै नजिकिएका थिए। तर, ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि भट्टराईले मन्त्री पदबाट राजीनामा दिएका थिए।
त्यसपछि पनि भट्टराईले ओलीसँगको संवादलाई निरन्तरता दिए। अपितु ओलीले विश्वास गर्ने आधार निर्माण गर्न सकेनन्। एकपटकको दुश्मनी सधैंको दुश्मनीका रुपमा लिने ओलीको बानीले भट्टराईलाई बालुवाटार क्याम्पमा पुग्न समस्या परिरहेको छ।
मन्त्री भएपछि विवादित बनेका भट्टराई अवसरवादी छन्। २०७७ पुस ५ गते ओलीले संसद् विघटन गरेपछि भट्टराई मन्त्री पदबाट राजीनामा दिन राजी थिएनन्। तर, नेपालको निर्देशनपश्चात उनले राजीनामा दिए।
राजीनामा नदिएको भए…
पुस ५ गतेको ओली कदमपछि राजीनामा नदिएको भए अहिले भट्टराई मन्त्री पदमा सुरक्षित रहिरहने थिए। उनलाई त्यही लोभले अहिले ओली क्याम्पमा पुर्याएको हो।
भट्टराईले नेपाल समूह छोडेर ओली समूहतिर लागेको विषयमा फेसबुकमा सञ्जय पोखरेल लेख्छन्, ‘उसो भए जिब्रोमा चार्टर्ड उडानको स्वाद गइसकेको रहेनछ।’
‘बैगुनी केटो’ले खोजेको ओलीको साथ
प्रधानमन्त्री ओलीले नेकपा रहँदै प्रचण्ड र नेपाल समूहमा लागेपछि नेता भट्टराईलाई ‘बैगुनी केटो’ भने। २०७७ माघमा नेकपा ओली समूहको प्रदेश १ कमिटीले काठमाडौंमै आयोजना गरेको कार्यकर्ता भेलामा ओलीले भनेका थिए, ‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन। आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ। मन्त्री पनि बनाइयो। एकदिन पुक्क लात्ताले हानेर भाग्यो। को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ।’
अबको अप्ठ्यारो
एक– अवसरवादीको ट्याग लागेका भट्टराईलाई ओली समूहमा जम्न समस्या हुनेछ। किनभने ओली समूहमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङदेखि रामबहादुर थापासम्म उनका सिनियर छन्।
सचिव भट्टराईका प्रतिस्पर्धी विष्णु पौडेल, शंकर पोखरेल, शेरधन राईदेखि प्रदीपकुमार ज्ञवालीसम्म छन्। अरु कयौं नेता ओली गुटमा शक्तिशाली भएर बसेका छन्। त्यसैले अर्को समूहमा गएर जम्न उनलाई गाह्रो पर्ने छ।
दुई– वरिष्ठ नेता नेपाल पक्षले अब सचिव भट्टराईलाई विश्वास गर्न समय लाग्ने छ। देश संकटको संगीन घडीमा रहेका बेला ‘एमालेको एकता बचाउने’ भन्ने भट्टराई भनाईमा कुर्सी स्वार्थ देखिएको विश्लेषण नेपाल पक्षले गरेको छ।
तीन– एमाले सचिव योगेश भट्टराईलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न समस्या पर्ने छ। किनभने भट्टराईलाई विजयी बनाउन ताप्लेजुङमा दिनरात खटिएका एमाले जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङवो अहिले ओली समूहमा छन्।
अर्का चुनावी सारथी नेकपाका ताप्लेजुङ जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाथोकी (पराग) अहिले सर्वोच्चको आदेशपछि नेकपा माओवादी केन्द्रको जिल्ला नेतृत्व सम्हालिरहेका छन्।
चार– अब कहाँबाट उठ्छन् योगेश भट्टराई? ताप्लेजुङबाट? एमालेले उनलाई ताप्लेजुङमा टिकट दिने सम्भावना निकै कम छ। किनभने प्रतिनिधिसभामा उम्मेदवारी दिने आकांक्षामा ओली पक्षका तिलकुमार मेन्याङबो, सञ्चपाल मादेनदेखि टंक आङबुहाङसम्म छन्।
ओली पक्षले उनीहरूलाई व्यवस्थापन गर्नकै लागि भए पनि भट्टराईको नाम सिफारिस नगर्ने एमालेका एक जिल्ला नेताले बताए। तर, चुनावसम्ममा एमालेको नेपाल–खनाल पक्ष र माओवादीबीच एकता भएर नयाँ कम्युनिष्ट पार्टी बनेको खण्डमा हेबीवेटको हिसावले भट्टराईलाई नै अघि सार्ने माओवादीको जिल्ला नेतृत्वको तयारी छ।
पाँच– मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध आगो ओकल्दै हिँडेका भट्टराईलाई ओलीले विश्वास गरिहाल्छन् भन्ने अवस्था छैन।
एमाले ओली समूहको कारबाहीको सूचीमा रहेका भट्टराई प्रतिगमनका सहयात्री बन्छन् कि सच्चिन्छन् भन्ने विषय उनको राजनीतिक जीवनमा महत्त्वपूर्ण हुन्छ।
प्रष्टवक्ता। तर, अडिग हुन सकेनन्
नेकपा एमालेमा सुस्पष्ट विचार र दृष्टिकोण भएका नेताका रुपमा परिचित छन् सचिव योगेश भट्टराई। एमालेको पाचौं महाधिवेशनमा जननेता मदन भण्डारीले अघि सारेको नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादको विचारलाई स्थापित गर्न भट्टराईले अनेरास्ववियूको तत्कालीन नेतृत्वका हिसाबले अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
अहिले पार्टीका नेताका रुपमा निरन्तर क्रियाशील छन्। राजनीतिक दलहरुको लोकतान्त्रिक रूपान्तरणका लागि दबाबमूलक काम गर्दै उनी पार्टी र समाजमा युवा पुस्ताको निर्णायक उपस्थिति हुनुपर्छ भन्ने मान्यता राख्छन्।
त्यसलाई स्थापित गर्न उनी विभिन्न पार्टीका युवाहरूका बीच अन्तरपार्टी सञ्जाल बनाएर विभिन्न क्रियाकलापमा सक्रिय रहेका छन्। उनी पार्टीमा प्रौढहरूलाई सम्मान तथा युवाहरूलाई जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता स्थापित गर्न चाहन्छन्।
शान्तिपूर्ण अप्रिल क्रान्तिले लोकतान्त्रिक राजनीतिक क्रान्तिका मूख्य कार्यभार पूरा भएकाले अब आर्थिक क्रान्तिलाई मूल मन्त्र बनाएर राष्ट्रको आर्थिक–सामाजिक समृद्धिका लागि सिंगो राष्ट्र एकताबद्ध भएर लाग्नु पर्दछ भन्ने उनको दृष्टिकोण छ। देश बाहिर पोखिएको नेपाली युवाहरूको रगत र पसिनालाई नेपाली माटोमा नै एकाकार गराउनुपर्नेमा उनको जोड छ।
सम्पूर्ण नेपाली नागरिकले श्रम गर्दै उत्पादनका काममा लाग्नुपर्छ, राष्ट्रिय पूँजी र उद्योगको विकासमा प्राथमिकता दिनुपर्छ, सबैले अनिवार्य कर तिर्नुपर्छ, अनि मात्र देशभित्र रोजगारीका अवसर सिर्जना हुन्छ भन्ने भट्टराईको विचार छ।
२०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रुपमा आन्दोलनको अगुवाई गरेका छन्। २०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका रुपमा आन्दोलनको अगुवाई गरेका छन्। नेपालको सार्वभौम, स्वतन्त्र, नेपाली–नेपाली बीचको एकताको पक्षमा उनले सम्झौताहीन संघर्ष गर्दै आएका छन्।
नेपाललाई शिरमा राखेर समृद्धिका रेखा कोर्ने अभियानमा लागेका योद्धाहरुले यो देशलाई गतिशील राष्ट्रको रुपमा उभ्याउन सक्छन्, जसमध्येका एक हुन् योगेश भट्टराई।
नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई मुलुकको नेतृत्व दिने यात्रामा निस्किएका जुझारु नेता हुन्। एमालेका कार्यकर्ता तथा शुभेच्छुकहरुले मात्रै होइन, अरु पार्टीका नेता–कार्यकर्ता र आमनेपालीहरुले पनि उनको नाम गर्वका साथ लिने गरिन्छ। तर, बेला–बेला उनी बहकिने गर्छन्।
अझ दोस्रो पुस्ताका अरु पार्टीका नेताहरुले भट्टराईको प्रशंसा गरेर सार्वजनिक रुपमा नै लेखिरहेका–बोलिरहेका हुन्छन्। त्यो केवल कुनै एक घटना वा संयोगले होइन, विद्यार्थी राजनीतिदेखि पार्टीको सचिवसम्म आइपुग्दा उनले हिँडेको बाटो र देखाएको उज्यालोको कारण सम्भव भएको हो। उनले तय गरेका लामो राजनीतिक यात्राको कारण यो विश्वास र आशा जागेको हो।
मध्यमवर्गीय परिवारका मेहनती
योगेश भट्टराई वि.सं. २०२३ भाद्र २१ मा ताप्लेजुङको साँघुमा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराको रुपमा जन्मिएका हुन्। मध्यम् वर्गीय परिवार। तीन दिदी, एक दाजु र एक बिहिनी उनी दुई वर्षको छँदा नै बुवाको निधन भयो।
बुवा समाजसेवी थिए। नयाँ विद्यालय स्थापना गर्न प्रेरित गर्थे। स्थापना भएका विद्यालयहरुलाई सकेसम्म आर्थिक सहयोग गरेकै हुन्थे। स्कूलमा विद्यार्थीहरु पठाउन प्रेरित गर्थे। उनले २००८ सालमा २० हजार भारु चन्दा दिएको त्रिमोहन स्कूल पूर्वकै प्रख्यात विद्यालयमा पर्छ। उनको आर्थिक सहयोगमा खुलेका स्कूलहरु अहिले उच्च माविका रुपमा सञ्चालन भइरहेका छ।
मादीको हड्तालदेखि केन्द्रीय कारागारसम्म
योगेश भट्टराई साँघुकै नारायणी निमाविमा कक्षा सातसम्म अध्ययन सकेर माध्यमिक शिक्षाका लागि संखुवासभाको मादी माविमा भर्ना भए। त्यहाँ पुग्न साँघुबाट दुई दिन पैदलयात्रा गर्नुपर्छ। गाउँमा मावि नभएको कारण २०३७ मा मादी गएको उनले बताए।
२०३६ सालको विद्यार्थी आन्दोलनको रापताप विस्तारै गाउँसम्म फैलिदै थियो। गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो। पञ्चायती व्यवस्था विरुद्ध ०३७ चैत १४ मा पहिलो पटक अनेरास्ववियुले आमहड्ताल गर्याे। नेपालकै पहिले ऐतिहासिक नेपालबन्द सफल पार्न सक्रियरुपमा सहभागी भए। संगठित हिसाबले राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो।
उनी सम्झिन्छन्, ‘आम हड्ताल भनेपछि अनिश्चितकालका लागि होला भनेर हामीले २० दिनसम्म माविमा हड्ताल गर्यौं।’ त्यसो त उनले स्कूले जीवनका पछिल्ला दिनमा ताप्लेजुङका अगुवा शिक्षकहरु डिल्ली घिमिरे, हरि घिमिरे, बोलिनन्द फागोबाट राजनीतिक सम्पर्क र शिक्षा पाएकै थिए।
एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्र रत्न क्याम्पसमा भर्ना भए भट्टराई। पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा विषाक्त दूधका विरुद्ध भएको आन्दोलनका क्रममा १८ वर्षको उमेरमा नै पहिलो पटक काठमाडौंको केन्द्रीय कारागारमा उनले थुनिनु पर्याे।
सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिन खासै समय लागेन। उनी छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित भए। भट्टराई २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियू निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्याधिक मतले विजयी भए।
यतिबेला पोल्याण्डबाट आयातीत विषाक्त दूध बिक्री गरिएको विरुद्धको चर्चित आन्दोलन होस् या भारतको मेघालयबाट नेपाली लखेटिँदाको आन्दोलन होस् वा शहीद लक्ष्मी पाण्डे हत्याविरूद्धको आन्दोलन। अग्रपंक्तिमा रहेर नेतृत्व गरेका छन् भट्टराईले।
यसरी पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अगाडि बढ्दै जाँदा उनले थुप्रै पटक जेलनेल र कठोर यातना भोग्नु पर्यो। जेल बसाइँको बेलामा झापा संघर्षका चर्चित अगुवाहरु केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारी लगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तरक्रिया गर्ने अवसर पाएका थिए, जसले गर्दा राजनीतिक यात्रालाई अझ निख्खर बनाउन सहयोग पुग्यो।
यही क्रममा उनले अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बागमती अञ्चल कमिटीको सचिव भएर जिम्मेवारी सम्हाले। उनले त्यहीबीचमा त्रिभुवन विश्वविद्यालयवाट समाजशास्त्र मानवशास्त्रमा स्नातकोत्तर गरे।
पञ्चायती व्यवस्थालाई समाप्त गर्न पञ्चायती चुनावलाई उपयोग गर्ने पार्टी नीतिलाई कार्यान्वय नगर्ने सिलसिलामा २०४३ मा भएको निर्वाचनमा काठमाडौंबाट वामपन्थी नेता पद्मरत्न तुलाधारलाई विजयी बनाउन काठमाडौंका गल्लीगल्ली र गाउँगाउँमा चुनाव प्रचारकका रूपमा उनले महत्वपूर्ण योगदान पुर्याएका थिए।
२०४३ सालको जनपक्षीय उम्मेदवारको प्रचारको क्रममा राती–राती साथीभाईहरुसँग संगठन गर्दै जनताको घरआँगनमा मकैभटमास खाँदै हिँडेको सम्झना गर्दा उनी भावुक हुन्छन्। त्यही निर्वाचनमा ताप्लेजुङका लोकप्रिय नेता अम्बिका साँवालाई जनपक्षीय उम्मेदवारको रुप विजयी बनाउन ताप्लेजुङका बिभिन्न गाउँमा चुनावी प्रचारकका रुपमा सक्रिय रहेका थिए नेता योगेश भट्टराई।
जनआन्दोलनको जुझारु नेता
योगेश भट्टराई २०४६ सालको जनआन्दोलनको सक्रिय रुपमा सहभागी भए। बसाइ कीर्तिपुरको होस्टल। अखिलको केन्द्रीय सदस्य। जनआन्दोलनका लागि अखिल र नेवि संघबाट समन्वय गर्ने समिति थियो।
अखिलको तर्फबाट समन्वयको जिम्मा थियो। शुरुमा कांग्रेस र वामपन्थीहरुको सहकार्य थिएन। उनीहरुकै पहलकदमीबाट विद्यार्थीहरुले सहकार्य शुरु भयो। नारा तय भयो, ‘आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रका निम्ति पञ्चायतको अन्त्य।’
२०४६ साल फागुन ७ गते काठमाडौंको नयाँ सडकमा प्रदर्शन गर्ने कार्यक्रम थियो। उपत्यकाको कमाण्डरको हिसाबले त्यसको व्यापक तयारीमा थिए योगेश। तर, ६ गते नै रातको दुुई बजे पक्राउ गरियो।
केही दिनपछि सिन्धुुपाल्चोकका चौतारामा लगेर राखियो। प्रजातन्त्र आएपछि मात्रै छोडियो। पञ्चायतले चुनौतीको रुपमा राखेको विद्यार्थी नेता भएकै कारण आन्दोलनको शुरुमै पक्राउ गरियो।
उनी भन्छन्, ‘२६ गते राति हामीलाई पनि जेलबाट छोडियो, भोलिपल्ट हामीलाई बिहानै गाडीबाट काठमाडौं ल्याइयो, चौतराबाट आउँदा बाटैभरि रमाइला दृश्यहरु थिए।
दोलालघाटमा धेरै मान्छेहरु रातो झण्डा बोकेर नाचगान गरिरहेका थिए। पहिलोपटक त्यतिधेरै मानिसहरुले कम्युनिष्टको झण्डा बोकेर निस्किएको देख्दा असाध्यै खुसी लाग्यो। हामी सिधै खुलामञ्च गयौं। गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, झलनाथ खनालले बोल्नुभयो। प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो।’
जनआन्दोलनदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म
वि.सं. २०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका योगेशले संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि ०५६ सम्म अध्यक्ष रहेर काम गरे। २०४८ मा गठित कांग्रेसको सरकारले गरेका जनघाती तथा राष्ट्रघाती कदमका विरुद्ध काठमाडौं उपत्यकामा भएका सडक संघर्षहरूको नेतृत्व गरे।
जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्या विरुद्धको आन्दोलनमा अगुवाई गरेका थिए। यसरी अनेक आन्दोलनबाट खाँरिदै, माझिँदै युवाजोश र उत्साहका साथ अघिबढिरहेका योगेशले खासगरी २०५०।०५१ सालतिर शिथिल भएको नेपाली विद्यार्थी आन्दोलनलाई नेपाली समाजमा पुनर्स्थापित गराएका हुन्।
नेपाली विद्यार्थी आन्दोलनको शक्तिशाली संगठन अखिललाई नेपाली कम्युनिष्ट आन्दोलनको सफलताको संवाहक शक्तिका रूपमा स्थापित गर्न उनले भूमिका निर्वाह गरे। मुलुकमा राष्ट्रवादी आन्दोलनको अगुवा शक्तिका रूपमा स्थापित गरेका हुन्।
योगेश वि.सं. २०४८ को संसदीय निर्वाचनमा केही समय काठमाडौं र पछिल्ला दिनहरुमा ताप्लेजुङमा सक्रिय रहे। आफ्नो गाउँबाट झण्डै ७० प्रतिशत भोट सूर्य चिन्ह्रमा खसाएर अम्बिका साँवाको विजयी र्यालीमा सहभागी बनेर काठमाडौं फर्किए।
योगेशको आम व्यक्तित्व नेपाली राष्ट्रियताको पक्षमा संगठित ढंगले आवाज बुलन्द गर्ने एक देशभक्त तथा प्रखर राष्ट्रवादी नेताका रूपमा स्थापित छ। यसर्थ उनी नेपाली राष्ट्रियताका सच्चा पहरेदार हुन्।
राष्ट्रवादी आन्दोलनका अनेक महत्वाकांक्षी कार्यक्रमलाई कार्यान्वयन गरेर उनले यो यथार्थलाई पुष्टि गरेका छन्। उनकै नेतृत्वमा भारतले कब्जा गरेको नेपालीभूमि कालापानी फिर्ता अभियान भयो।
२०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर आफ्नो राष्ट्रवादी छविलाई झन् अग्लो पार्न सफल भए। त्यहीदेखि कालापानी मुद्दा राष्ट्रिय बहसको साझा विषय बनेको थियो।
२०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्च भयो। नेपालका ६२ स्थानमा भारतले सीमाअतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो।
पूर्व पाँचथरको च्यांगथापूदेखि सुस्ता, महेशपुर, टनकपुर हुँदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाई उनकै नेतृत्वमा भयो। यसरी उनी वैदेशिक हस्तक्षेपविरुद्ध आन्दोलनमा आफूलाई अग्रभागमा उभ्याउन सफल भएका छन्।
पार्टीको नवौं राष्ट्रिय महाधिवेशन (२०७१ असार १९–साउन १) बाट सचिव पदमा निर्वाचित भएपछि योगेश भट्टराईले पार्टी प्रचार विभागको जिम्मेवारी सम्हालेका छन्। पार्टी प्रचार विभागको जिम्मेवारी सम्हालेपछि बदलिएको आम सञ्चार र प्रचार शैली अनुसार पार्टीको प्रचारलाई व्यवस्थित बनाएका छन्। पार्टी प्रचार शैलीमा आमूल परिर्वतन गरेका छन्।
पार्टीको अफिसियल बेवसाइड छिनछिनमा अपडेट छ। नवयुगको ग्राहक विस्तारलाई अभियानकै रुपमा चलाइयो। प्रचारका भेलाहरु पटक पटक भए। पार्टीको अफियिसल फेसबुक पेज निर्माणदेखी सामाजिक सञ्जालमा कार्यकर्ता र आम जनतालाई जोड्न व्यवस्थित हिसाबले अभियान नै चलाइयो।
विद्यार्थी हुँदै एमाले सचिवसम्म
२०३९ देखि तत्कालीन नेकपा मालेसँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका योगेश पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म काम गरेका छन्।
२०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा एमालेको आठौं महाधिवेशनमा उपत्यकाबाट अत्यधिक मत ल्याई केन्द्रीय कमिटीमा निर्वाचित भए। उनी पार्टीको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भए।

