-गोपीकृष्ण प्रसाई”
साहित्यकार लक्ष्मी उप्रेतीको नयां कृति बजारमा आएको छ “मृत्यु स्पर्श”! जीवनको संघर्ष भन्दा फरक,जीवन संग धावा बोल्ने मृत्युलाई परास्त गर्न लाग्दाका कठिन तर आत्मा विश्वासले भरिएका दैनिकीहरूलाई लिपिबद्ध गर्ने लेखकका स्वीकारोक्तिहरूले पुस्तक रोचक भएको छ। लक्ष्मीका अन्य कृतिहरू भन्दा यसको महत्ता अझ चुलिएको हो कि जस्तो लाग्छ मलाई,किनकि मृत्युलाई लल्कार्ने उनको दृढ ईच्छा शक्तिले अरू धेरै विचलित मनहरूमा आशाको दियो बाल्दै जान्छ,क्षितिजभरि सुनौला किरणहरू छर्दै जान्छ र सरिताका कल कल ध्वनि अवतरित गराएर जीवनमा आनन्दको संगीत भर्दै जान्छ।

निश्चयनै मृत्यु स्पर्शले जीवनको अर्थ बोकेको छ, जीवन प्रतिको मायां अनि धरतीको अनुराग बोकेको छ। कसैले जीवनलाई त्यति गहन संझिरहेका हुंदैनन् ।स्वास्थ्य प्रति त्यति गंभीर नभैकन निष्फिक्री जिन्दगी चलाईरहेका हुन्छन्,। खानपीन हरेक कुराहरूको ख्याल गर्ने बानी सबैमा कहां हुन्छ र?यिनै सचेतनाको कमीले रोग जन्माउंछ र रहर लाग्दो जीवन धराशायी बन्दै जान्छ,आफ्नो स्वास्थ्यको ख्याल समयमा सचेत भएर गर्नु पर्ने कुरालाई पनि लक्ष्मीका भोगाईहरूले उठान गरेका छन्न्।यो रंगीन पृथ्वी यति राम्रो छ कि जीवन प्रति वितृष्णा प्राय कसैलाई हुन्न, बिभिन्न अप्ठ्याराहरूलाई चिर्दै मान्छे जीवन संग अपार खुसी सांटिरहेको हुन्छ, जीवनदायिनी यस ग्रहमा खुसी खोज्ने अनेकौं बाटाहरु छन्, झिना मसिना, ठुला, साना सबै खाले संघर्षलाई पार गर्दै मान्छे जीवनसंग धेरै रमाएको हुन्छ।त्यसैले मान्छेका संगीत भरि राग, वितराग र वैराग जोडिएर आउंछ, जीवन संग गुनासो जोडिएर आउंछ तर जीवन प्रतिको मीठास अनि तृष्णा कहिल्यै सिध्दिदैन,यो धरती संग जीवनको अनौठो,रहस्यमय र सदाबहार साईनो हो।

लक्ष्मीका जीवनमा उब्जेको अर्बुद र यसको भष्मासुरे प्रबृतिले उनलाई अत्यायो, उनी चिच्याईन, कराईन, आफन्तहरूको मायां, आफ्ना सृजनाहरूले दिएको मीठास सबैबाट बिमुख हुने परिस्थितले सुरूमा विचलित बनायो उनलाई, दुख गरेर हुर्काएका सन्तान अनि उनीहरूको सुखमा आफु पनि एकाकार भएर रम्ने उनका अभीप्साहरू लछार पछार गर्ने दानवीय क्रुरताले उनलाई रूवायो, विचलित बनायो। छिन्न भिन्न जिन्दगीलाई संहाल्दै तीन दशक भन्दा बढी समय देखि एक्लै, फगत एक्लै अविचलित भएर तीन सन्तानलाई खुसी साथ हुर्काएर सक्षम बनाउन सक्ने उनको उच्च साहस र मनोबललाई आज डर लाग्दो आंधी बेहरीले चारैतिरबाट घेरेको छ निक्लने उपाय कहीं छैन, त्यही परिवेशमा कोरिएका विचलन र वेथितिका कहालीलाग्दा संगीतहरूले उनको छाती चरचरि चिरियो, जतिसुकै विरह र प्रलापमा डुबे पनि शरीर भित्र डेरा जमाएर अठ्ठाहास गरेर जीवन लल्कार्ने रक्तवीजहरू टसका मस हुंदैनन त? सपना भरि यमराजको साईरन बज्छ, विपना भरि बाटोमा हाप्सिलोको आवाज मात्र सुनिन्छ। यो लक्ष्मीले भोगेको जीवनको डरलाग्दो, भीषण र आततयी कालखण्ड हो। त्यो कालखण्ड छिचोलेर आफ्नो सामान्य मायालु जीवनमा फर्कन उनले प्रसस्तै पापड बेल्नु पर्यो, अत्यन्तै कठिन चुनौतीहरूको सामना गर्नु पर्यो, काला बिषालु सर्पहरूलाई पन्छाउंदै आफ्नो गोरेटो तय गर्नु पर्यो। निराश वायुमंडलमा पनि सदैव ईन्द्रेणी सपनाहरू देखाउने आफ्ना छोरा छोरीको अपूर्व लगाव अनि मायां र उ भित्रको प्रबल बांच्ने ईच्छाले उनले क्यान्सरलाई जितेरै छाडिन र यति बेला उनी सामान्य जीवन बांचिरहेकी छिन, लाखौं क्यान्सरग्रस्त जीवनमा उज्यालो छर्ने कोसिस गरिरहेकी छिन्। यही घटनाक्रम र शिलशिलामा पुस्तक जन्मिएको छ, रमाईलो, उर्जावान र गर्विलो अनुभूति छर्नेछ यसले पाठकहरूमा।
नेपालमा राम्रा क्यान्सर हस्पिटलहरू छन् , राम्रा डाक्टरहरू छन्।तर त्यो सबैको पहुंचमा छैन्। सरकारी हस्पिटलमा ब्यबस्थापन त्यति राम्रो छैन, सिरियसनेस छैन, डायग्नोसिस राम्रो छैन, त्यतातिर सम्बन्धित निकायको ध्यान जान जरूरी छ- लक्ष्मी भन्छिन। मैले त आफ्नो छोरा ईण्डियामा राम्रो जागिरे भएको हुंदा राजीव गान्धी जस्तो एक विख्यात हस्पिटलमा राम्रो उपचार गरेर फर्कें। त्यो त मेरो छोराको कारणले मात्र संभव भयो,म जस्ता रोगीहरू कति छन् यहां, उनीहरूको अवस्थाले मेरो मन अत्यन्तै भावुक हुन्छ। खर्चको अभाव, पहुंच र शिक्षाको कमीले जीवन गुमाईरहेका कयौं नेपालीहरूको क्रन्दनले लक्ष्मीको मन रूवाउंछ, केही गर्न सकिएला कि भनेर क्यान्सर रोगीहरूमा उर्जा भर्ने जागरणमा लागेकी छन् उनी।हामीमा भएको स्रोत साधन विशेषज्ञहरूलाई सरकारी तवरबाटै अधिकतम परिचालन गर्न सके क्यान्सर रोगको उपचार नेपालमा पनि धेरै राम्रो संग हुन्छ- लक्ष्मीका भावनाहरू यसरी प्रकट हुन्छन्।
स्तन क्यान्सरको प्रारम्भिक चरणको क्यान्सरलाई उनले जितिन र उनी क्यान्सरकै कारणले मेरो मृत्यु अब हुंदैन भनेर दृढ निश्चयी बनेकी छन्। राजीव गान्धी हस्पिटलका दुई डाक्टरहरू डा. वेदा र डा. राजीवले मुख्य भूमिका निभाएका छन् उनको उपचार गर्न। डा. वेदा र राजीवको उपचार गर्ने शैलीको मुक्त कण्ठले प्रसंसा गरेकी छिन उनले।आफ्ना दुई छोरी र एक छोराले आफु प्रति देखाएको अपार मातृ प्रेमले उनका हर्षका आंसुहरू अविरल छल्केको आभास हुन्छ हामीलाई!क्यान्सर रोगीलाई उपचार संगै माया र ममताको खांचो हुन्छ, संवेदनशील घडीमा उर्जा र उत्साहको खांचो हुन्छ ती यावत कुराहरूको नाली बेली लक्ष्मी आफ्नो पुस्तकमा पटक पटक उल्लेख गरेकी छन्।लक्ष्मी उप्रेती विगत, वर्तमान र सुदुर भविष्य सम्म क्षितिज भरि आशा उमारेर बांच्ने संघर्षशील सर्जक हुन्। जीवन जिउने क्रममा आफुलाई हर दुखमा साथ दिने अाफ्ना आफन्त र साथीलाई पल पल संझिन पुग्छिन क्यान्सर रूपी करबीरे मसानले सास्ती दिएको बेला। आफु उपचारको क्रममा रहेको बेला आफ्नी अत्यन्तै मायालु दिदीको अवसान हुनु, आफ्नी प्राण प्रिय छोरीलाई सर्पले टोकेर आतेश खेलाउनु, आफ्नी प्यारी नन्दको मृत्युको घटना सुनेर उनी कतिपय ठाउंमा भावसून्य भएर एकोरिएकी छन्। भयंकर रोगले सास्ती दिएको त्यस समयमा अन्य दुखद घटनाको पीडादायी क्षणलाई बडो कष्टदायी रूपमा वरण गरेकी छन्।समग्रमा पुस्तक एउटा अर्थपूर्ण सन्देश बोकेर आएको छ

