– डा. तारानाथ शर्मा भाषाविद तथा वरिष्ठ साहित्यकार
“मेरो योगदानका लागि राज्यद्वारा साहित्यिक क्षेत्रमा मलाई जति सम्झना गरिनु पर्थ्यो त्यति गरिएको छैन।”
नेपाली भाषा-साहित्यमा डा. तारानाथ शर्माको नाम नै आफैमा सिंगो परिचय हो । उनलाई परिचय गराउन थप विषयवस्तु वा विशेषणको आवश्यकता पर्ने छैन । नेपाली साहित्यमा निबन्धकार, सम्पादक, समालोचक र संस्मरण लेखकको रुपमा सुपरिचित, स्थापित अनि प्रतिष्ठित डा. शर्माका यी विषयमा थुप्रै पुस्तकहरु प्रकाशित छन् । बेलायतको विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. शर्माले त्यही नै लामो समयसम्म गोराहरुलाई उनीहरुकै भाषा अंग्रेजी पनि पढाएका थिए ।
नेपालमा आएर पद्मकन्या कलेजबाट प्राध्यापन सुरु गरेका यिनले आफ्नो जीवनको उर्जाशील समय प्राध्यापनको क्षेत्रमा नै बिताए भन्दा पनि हुन्छ । प्राध्यापनसंगसंगै यिनी समालोचना , पाठ्यपुस्तक र निबन्ध आदि लेखनमा पनि अग्रसर रहे । झर्रोबादी आन्दोलनका अगुवा यिनी खरो समालोचकका रुपमा नेपालमा दरोसंग उभिएका समालोचक हुन् । कवि राजा महेन्द्रको कृति ‘उसैको लागि” र ‘ फेरी उसैका लागि’ माथि खरो समालोचना गर्ने साहस तत्कालीन पंचायती व्यबस्थाको जगजगी भएको बेलामा डा. तारानाथ शर्मा जस्ता निडर र खरो समालोचकले मात्र गर्नसक्ने काम थियो ।कालान्तरमा यिनले कवयित्री चाँदनी शाहका गीति कविताहरुको अंग्रेजीमा अनुवाद पनि गरेका छन् ।
”पछिल्लो समयमा अमेरिका गएको नियात्रा बढी आइरहेका छन्”
जब नेपाली साहित्यमा नियात्रा शब्दको प्रचन सुरु भैसकेको थिएन त्यसबेलामै यिनले नियात्रा लेखेर नेपाली साहित्यमा हल्लीखल्ली मच्याउन्दै देशकै ठूलो धनराशीको पुरस्कार ‘मदन पुरस्कार’ समेत प्राप्त गर्न सफल भए । त्यसका अलावा यिनले साझा पुरस्कार, शंकर लामिछाने पुरस्कार, रत्नश्री स्वर्ण पदक आदि प्राप्त गरेका छन् ।
कृतिका दृष्टिले यिनी ‘पाताल प्रवाश’ र ‘बेलाइततिर बरालिंदा’ बाट नै नेपाली साहित्यमा परिचित र स्थापित हुन पुगेका हुन्भन्दा फरक पर्ने छैन। त्यही परिचय आज डा. तारानाथ शर्माको प्रतिष्ठा पनि बन्न पुगेको छ ।नेपाली साहित्यलाई ‘नियात्रा’ तर्फ डोर्याउन डा. शर्माको संस्मरण ‘घनघस्याको उकालो” को ठूलो भूमिका छ । नेपाली साहित्यमा धेरैले यही संस्मरण पढेर नियात्राको साहित्यिक स्वाद लिएपछि नै आफू पनि संस्मरण लेखनतर्फ डोरिएको कुरा नेपाली साहित्यिक वृत्तमा नसुनिएका हैनन् ।
दर्जनौ पाठ्य पुस्तकका लेखक डा. शर्माका समालोचनाका पनि थुप्रै पुस्तकहरु प्रकाशित छन् । त्रिविविको सेवाबाट अलग भएपछी पनि उनी विभिन्न शैक्षिक संस्थाहरु संग आवद्ध भएर शैक्षिक उन्नयनमा जुटिरहे । तर पछिल्लो एक दशकभन्दा बढी समयदेखि उनी नेपाली साहित्यबाट अलि ओझेलमा परेझै भएका छन् । तर ८४ बर्षको उमेरमा पनि शारीरिक रुपले उनी उत्तिकै तन्दुरुस्त र टाठो देखिन्छन र उनको स्मरण शक्ति पनि उत्तिकै बलियो रहेको पाइछ । समालोचक, प्राध्यापक, नियात्राकार, लेखक डा. तारानाथ शर्मासँग उनको बेलाइतको यात्रादेखी ८४ बर्षे उमेरको अनुभवसम्मलाई लिएर स्वदेश नेपाल डट कमका लागि उनीसंग इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ले गरेको कुराकानीका क्रममा उनी भन्छन-
उमेर छिप्पिंदै गएपछि स्वास्थ्य भनेजस्तो राम्रो र प्रबल त हुँदैन तैपनि त्यस्तो नराम्रो पनि केही छैन । स्वास्थ्यले पठन पाठन वा अध्ययनमा खासै असर गरेको छैन । पत्रपत्रिका जे जति आउछन म हेरिरहेको छु, पढिरहेको छु । पछिल्लो समयमा लेखिएका राम्रा कृति धेरै छन्, एउटा मात्रै त कहाँ छ र ?
पछिल्लो दिनलाई सम्झिन्दा बेलाइततिर बरालिंदा लेख्दाको समयको सम्झना आउँछ, पाताल प्रवास लेख्दाको समयको सम्झना आउछ. म अलिकति प्रबन्धहरू र विश्लेशणहरुमा ध्यान दिने मान्छे । विशेष गरेर म आलोचनामा ध्यान दिने मान्छे, आलोचना र विश्लेषणमा ध्यान दिंदादिंदै हामीले झर्रो आन्दोलन सुरु गर्यौं ।
पछी गएर मात्र मैले थाहा पाएँ नेपाली भाषा पनि शुद्ध हुँदो रहेछ, हाम्रा बाआमाले जे बोल्छन तिनै सुद्ध हुँदा रहेछन् जस्तै मानिसहरुले बेलायत भन्छन जबकी शुद्ध चै बेलाइत हो । आफ्नो भाषालाई बिर्सिनु हुँदैन, आफ्नो भाषाको उच्चारणलाई बिर्सनु हुँदैन नत्र उच्चारण बिग्रिन्छ ।
नेपाल घुम्नैका लागि मैले परीक्षकको जिम्मेवारी लिएर अछाम, डोटी, डडेल्धुरा पुगेको छु, म त्यतातिर जानु नै एउटा क्रान्ति थियो । किनकि जो कोही त्यो जिम्मेवारी लिएर त्यता जान चाहदैन थिए. मलाई त नेपाल घुम्नु थियो, अब त्यो जिम्मेवारी लिएर जाँदा पैसा पनि पाइने, जाने, बस्नेको ब्यबस्था पनि सहज हुने । ती जिल्लाहरुको भ्रमणले नै मेरो उक्त नियात्रा ‘घनाघश्याको उकालो’ जन्माएको हो ।
पछिल्लो समयमा आएका राम्रा नियात्राहरु पढिरहेको छु । विशेष गरेर पछिल्लो समयमा अमेरिका गएको नियात्रा बढी आइरहेका छन्, केही स्पेन गएका नियात्रा पनि आइरहेका छन् ।
मैले चाँदनी शाहका कविताहरुको अनुवाद गरें, अब अनुवाद गर्दा जस्तसको गर्ने त कुरा आएन,अनुवाद गर्दा पनि अलिकति प्रभाव त होस्न, लेखनमा क्षमता हुनुपर्यो त्यस्तो मान्छेको अनुवाद गर्नु पर्यो । अब यिनीहरुको राम्रो थियो, राम्रोमा केही गल्ति भए पनि तिनलाई औंल्याउना पाइयो. तर अनुवाद गर्दैमा प्रगतिशीलातालाई छाडिएन तर प्रगतिशीलता भन्दैमा आफ्नो बिपक्षी हुँदैमा त्यसलाई गाली गरेर धुस्नो बनाउनु पनि त भएन नि, राम्रो कुरालाई राम्रो भन्नु पर्छ । राम्रो कुरालाई राम्रो भन्ने क्रममा उहांहरु पर्नु भएको हो । यसो गर्दा उहांहरु खुशी हुनु भयो । मलाई दरबारमा बोलाइरहनु हुन्थ्यो, म दरबारमा गैरहन्थे ।
नेपाली साहित्य अनि प्राध्यापनको क्षेत्रमा ५ दशकभन्दा लामो साधनको इतिहास रहेका विशिष्ठ श्रष्ठा डा. तारानाथ शर्माको सबै विचार सुन्नका लागि भिडियोमा क्लिक गर्नुहोस् ।
क्यामेरा/सम्पादन:- बिराज प्रधान

