“१”
तिमी बिना फुल्न सके,
खै ! कसरी खुल्न सके ।।
मेरी आमा तिम्रै झल्को,
खै ! कसरी भुल्न सके ।।
भौतिक ति सपनामा,
खै ! कसरी घुल्न सके ।।
भाग्य खोटो कर्म दोषी,
परदेश डुल्न सके ।।
न्यानो काख बिना तिमी,
खै ! कसरी झुल्न सके ।।
आफ्ना भए पराई ति,
छातिभरी हुल्न सके।।
स्वार्थी भइ जन्मभुमी,
खै ! कसरी भुल्न सके ।।
“२”
भाषणमा छक्याई दिनु,
जनमत लत्याई दिनु ।।
आन्दोलन सडकलाई,
कतिसम्म तताई दिनु ।।
नैतिकता सिद्धान्त छैन,
तिम्रो झुट पत्याई दिनु ।।
हाम्रो देश जाँदैछ कता,
थाहा भए बताई दिनु ।।
सक्छौं नेता जनता दुबै,
राष्ट्रघात सच्याई दिनु ।।
“३”
खेतिपाती जस्तो रोप्यो उस्तै फल्छ भन्नेहरु,
जसोतसो जिन्दगीको यात्रा चल्छ भन्नेहरू ।।
थाहा छ कि बुझे होलान् जिन्दगीका सँघर्ष ति,
साहारा छ ठिकै हुन्छ छैन ढल्छ भन्नेहरू ।।
आक्रोशले प्रतिशोध पश्चाताप हुँदैन कि,
बिद्रोहमा मान्छे मर्ने आगो बल्छ भन्नेहरू ।।
बाँचेकै छन् पिडा बोकी आँसु रोकी हाँस्नेहरु,
छातिभित्र मन मुटु किन जल्छ भन्नेहरू ।।
गल्ती हुन्छ बराबरी तर दोषी अर्कै ठान्ने,
जिन्दगीले आफैं कहिँ कतै छल्छ भन्नेहरू ।।

यम महरा, घोराही-५, कचिला गनार, दाङ देउखुरी, राप्ती, नेपाल

