अरुणकुमार सुवेदी
केही महिनापछि एउटा साथीले मलाई भन्यो– “रसुवाको गणेश हिमालको रुबीखानी हेर्न जाऊँ ।” मैले भनें–“ जाऊँ त नि ! के छ र ?
हामी फेरि रुबी खानीका निम्ति यहाँबाट हिँड्यौं । सेनाले धुन्चेभन्दा उता मान्छे जान दिँदो रहेनछ । सेनाले सोध्दो रहेछ– “कहाँ जाने ? किन जाने ? केका निम्ति जाने ? को छ तपाईंको ?”
मैले ढाँटें– “म खानी विभागको इन्जिनियर हुँ । हामी त्यहाँ रिसर्चका निम्ति जान लागेका हौं । हामीलाई रोक्ने तपाईं को हो ?”

त्यति भनेपछि त्यहाँबाट हामीलाई जान दियो । तर, दुई जना पुलिस हाम्रोपछि लागेछन् । हामी स्याब्रुबेसी पुग्यौं । स्याब्रुबेसीमा त्यतिखेर सानो बजार थियो । त्यतिबेला नुवाकोटको आर्मी क्याम्प कर्नेल कुमारबहादुर फुदुङको नेतृत्वमा थियो । त्यहाँ नुवाकोट आर्मीले बाटो खन्ने काम गरेको रहेछ ।
त्यो बाटोको गन्तव्य रहेछ, जस्ताखानी । ‘जस्ताखानी इन्डियाको टाटा ग्रुपले लिएको छ’ भन्थे सबै जना । मैले सोधें– “टाटाका निम्ति आर्मीले किन बाटो खनेको त ? त्यहाँ कुनै गाउँ छ ?” उनीहरुले भने– “कुनै गाउँ छैन । त्यहाँ त गणेश हिमालमात्रै छ ।”
यत्तिका निम्ति आर्मीले यत्रो पैसा खर्च गर्यो त ? म मनमनै कुरा खेलाउँदै अघि बढें । त्यहाँ हामी दुई दिन बस्यौं । दुई दिन बसेपछि हामीले सल्लाह ग¥यौं– ‘हिउँ धेरै छ । त्यसैले माथिल्लो बाटो नजाऊँ । तलको बाटो जाऊँ ।’
बाटोको रेकी गर्न साथीहरु गए । ‘हिउँ चिप्लो छ । चिप्लिन्छ धेरै । तलको बाटोबाट जाऊँ’ भनें ।
तलको बाटोबाट बिहानै हिँड्यौं । जाँदाजाँदै हाम्रो गाइडले बाटो भुलेछ । उसले त बाटो भनेर कस्तुरी–मृग कुद्ने ट्रयाकमा पो लगेछ । तब हामी डाँडाबाट तल झ¥यौं । कहाँ गयौं ? कहाँ गयौं ?
‘ए, कहाँ छौ ? ए, के छ ?’ भनेर कराउँदाखेरि बिस्तारै धुम्म बादल आयो । यति र त्यति पनि नदेख्ने गरी बादलले घे¥यो । पानीको छिटा–छिटा आउन थाल्यो ।
हाम्रो टोलीको तामाङ बूढो रुन थाल्यो । उसले भन्यो– “तपाईंहरु जस्तोसँग हिँड्न सकिँदैन । कराउनु हँुदैन यो हिमालमा । अब एकछिनमा हिउँ पर्छ र पुर्छ हामीलाई !”
घँुडा–घँुडासम्म त हिउँ छँदै थियो । हिउँ प¥यो भने त हामी सबै पुरिन्थ्यौं । अब के गर्ने ? भन्दा बूढोले भन्यो– “चुप लागेर बस । कोही नबोल । जो जहाँ छ, त्यही बस् । त्यहीँ खडा हौं ।”
त्यो तामाङ बूढोले सुसेल्यो । २० मिनेटजति जो जहाँ थियौं, त्यही खडा भयौं । त्यसपछि बिस्तारै बादल फाट्न थाल्यो । पानीका छिटा बन्द भए ।
त्यहाँ त कडा बोलेपछि बादलले घेर्दोरहेछ । हिउँले पुर्दाेरहेछ । हिमालमा त धेरै करायो भने हिउँले पुर्छ भन्छन् । त्यहाँ नबोलीकन हिँड्नुपर्छ भन्छन् । यो त आश्चर्यको हिमाल रहेछ । मान्छेले कराउँदा बादलले ढाक्ने । कालो न कालो यति कडा बादल आउँछ कि अगाडिको मान्छे पनि देखिँदैन । गणेश हिमाल यस्तो ठाउँ हो— जहाँ कराउँदाखेरि बादल आउँछ; जहाँ कराउँदा पानी पर्र्छ; अझ करायो भने हिउँ पर्छ । त्यस्तो हिमाल पनि हाम्रो देशमा रहेछ ।
आकाश बिस्तारै खुलेपछि मैले भनें– “अब डोरी निकाल । जहाँ बस्न अलिकति ठाउँ देख्छौ, सीधा त्यसैलाई ताकेर हिँड्नुपर्छ ।” पर एउटा खाली ठाउँ देखियो । हामी त्यसैलाई लक्ष्य गरेर अघि बढ्न थाल्यौंं । तर, हामीले बाटोको ट्रयाक भेटेनौं । करिब–करिब एक घन्टामा हामी त्यो ठाउँमा पुग्यौं ।
पहिले इन्डियाको टाटा कम्पनीले जस्ता निकाल्ने सुरुङ खन्यो
( अरुणकुमार सुवेदीको आत्मवृतान्त बाट साभार । )

