मुकेश पोख्रेल – २७ असार रातिको वर्षाबाट भक्तपुरमा डुबानको विपत्ति निम्तिनुको कारण थियो– हनुमन्ते खोलामा जथाभावी फालिएको फोहोर । फोहरले पानीको निकास थुनिंदा खोला बस्तीतर्फ सोझियो । अनियन्त्रित बसोबास र खोला क्षेत्र अतिक्रमण गरी बसाइएका बस्ती पनि डुबानको कारण बने ।
२७ असार राति काठमाडौं उपत्यका खानेपानी लिमिटेडको जगातीस्थित भक्तपुर शाखाको पम्पहाउसमा ‘ड्यूटी’ मा थिए रत्नबहादुर भरेल । पम्प चलाउने विद्युत् ट्रान्सफर्मर पड्केको आवाजले उनलाई मध्यरातमा ब्यूँझायो । बाहिर निस्कँदा घुँडासम्म पानी आइसकेको थियो । “टर्च बालेर हेर्दा खोलो पसिसकेको रहेछ” उनी भन्छन्, “त्यसपछि पम्पहाउस छेउमा पसल गर्ने रीता साहको परिवार र मोक्तान ग्यारेजमा सुतेकाहरूलाई उठाएँ ।”
झमझम पानी परिरहेको त्यो बेला साह परिवारका पाँच र ग्यारेजमा १५ जना मस्त निदाएका थिए । हनुमन्ते खोलाको बाढी पसिसकेकोले दौडने अवस्था नभएपछि सबै जना ग्यारेजमा राखिएको एउटा बसबाट भागे । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार २७ असारको बाढीबाट ५०० घरपरिवार विस्थापित भए । तरकारी र पशुचौपाया गरी रु.४ करोडभन्दा बढीको क्षति भयो ।
कटुञ्जेमा जग्गा भाडामा लिएर गाईपालन गरेका प्रेमबहादुर बस्नेतका १५ मध्ये ५ वटा गाई बाढीमा बगे । वार्षिक रु.५० हजार जग्गा भाडा तिर्ने गरी गत चैतदेखि व्यवसाय थालेका उनले ८० बोरा दाना पनि गुमाए । त्यही ठाउँमै जग्गा भाडामा लिएर बंगुर पालन गरेका बिर्खमान मगरका माउ र पाठा गरी ५० वटा बंगुर बाढीमा परे ।
सुनापति गाउँपालिका–२ रामेछापका उनले व्यवसाय थालेको एक वर्ष पुग्दै थियो । “पहिलो छिमल पाठाबाट लागत उठ्ला भन्ने सोचेको बेला बाढीले बगायो” उनी भन्छन्, “धन्न ज्यान बच्यो ।” मगर र बस्नेतलाई बिहान प्रहरी टोलीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको थियो ।
बाढीकाे कारण
२७ असार रातिको बाढीले भक्तपुरका राधेराधे, सल्लाघारी, कमलविनायक, इथुली, निकिसेरा लगायतका ठाउँ डुबाएपछि यसका कारणबारे अनेक अड्कलबाजी गरिए ।
कसैले विगतमा भन्दा ठूलो वर्षा भएर आएको बाढीले डुबाएको अड्कल काटे भने कसैले अतिक्रमणले खोला साँघुरो भएकोले बस्तीतिर बाढी पसेको ठाने । तर, दुवाकोटका प्रेम खत्री हनुमन्ते खोलालाई फोहोर फाल्ने ‘डम्पिङ्ग साइट’ बनाउँदा यो अवस्था आएको बताउँछन् । “अनियन्त्रित बसोबास र खोला अतिक्रमणका कारण मात्र यो भएको होइन” उनी भन्छन्, “फोहोरले पानीको निकास थुनिंदा खोलो बस्तीतिर पसेको हो ।”
हुन पनि, त्यो रात भक्तपुरको नगरकोटमा ११७ मिलिमिटर, चाँगुनारायणमा ७६ र भक्तपुरमा १२९.६ मिलिमिटर पानी परेको थियो । मौसमविद्हरूका भनाइमा, एक्कासी बाढी आउने गरिको वर्षा थिएन, त्यो । यसअघि योभन्दा ठूलो वर्षा हुँदा यसरी डुबान नभएको प्रेम खत्री बताउँछन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, २८ साउन २०४७ मा भक्तपुरमा २६० मिलिमिटर, चाँगुनारायणमा ७ साउन २०५९ मा १६५ मिलिमिटर र १६ साउन २०४३ मा नगरकोटमा १७९.४ मिलिमिटर वर्षा भएको थियो ।
डुबान क्षेत्र डुल्दा पनि प्रेम खत्रीले भनेजस्तै देखियो । मिचिएर साँगुरो बनेको खोला किनारमा प्लाष्टिक मात्र होइन फोहोरका ठूल्ठूला बोराहरू पनि अड्किएका देखिए । बाढी पसेको खेत र घरआँगन समेत फोहोर प्लाष्टिकले भरिएका थिए । एक दशक अघिसम्म हनुमन्ते किनारमा खेत मात्र थियो, अहिले धेरैजसो ठाउँमा खोलालाई सिमेन्टका घरहरूले मिचेको छ ।
ती घर र टोलहरूका फोहोर खोलामै फालिन्छ । पूरै डुबानमा परेको निकिसेराको हनुमन्ते पुल छेउको टोलका शालिकराम पाण्डे सबैतिर सिमेन्टले लिपिएपछि आकाशबाट परेको पानी जमीनमा भिज्न नपाई जम्मा भएर बाढीमा परिणत भएको बताउँछन् । “पहिला साउनसम्म रोपाइँ हुन्थ्यो, अहिले पानी सोस्ने जमीन नै छैन” उनी भन्छन्, “घरको छाना र छतबाट पानी खस्नासाथ बाढी बनेर डुबान हुन्छ ।”
त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभाग प्रमुख डा. नरेन्द्र खनाल पनि भक्तपुरको बस्ती डुबान हुनुको पछाडि वर्षात् भन्दा बाहेकका प्रमुख दुई कारण औंल्याउँछन्– खोलामा पानीको बहाव रोक्ने गरी बनाइएका भौतिक संरचना र खोलामा फ्याँकिएका प्लाष्टिक लगायतका फोहोर । “घरहरू बनाउँदा सकेसम्म खोलातिर च्याप्ने गरियो
। त्यसरी साँगुरिएको खोलामा प्लाष्टिकजन्य फोहोर फालेर बहाव बन्द गरियो” उनी भन्छन्, “त्यसैले यसलाई जनधनमाथि मूर्खतापूर्ण ढंगले निम्त्याएको संकट भन्न सकिन्छ ।”
यो डुबानले हाम्रो योजना र कार्यशैलीलाई गिज्जाएको उनले बताए । भक्तपुरको पाठबाट सिकेर तत्काल योजनाबद्ध बस्ती विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ । हनुमन्ते खोलासँगै जोडेर मलिलो जग्गामा अहिले पनि धमाधम घरहरू ठडिंदैछन् ।
सल्लाघारीको एसएस चोक दक्षिणको होचो जग्गामा यसरी नै बस्ती बस्यो, जहाँ २७ असारको औसत वर्षाले ठूलो कहर ल्यायो । “खासमा यो खेतीको लागि उपयुक्त जग्गा हो” स्थानीय विष्णु बख्रेल भन्छन्, “खोलो हिंड्ने ठाउँमा घरहरू उम्रेपछि जे डुब्नुपर्ने हो, त्यही डुब्यो । यसमा कसलाई के भन्ने !”
शहरमा बाढीको कहर- शेखर खरेल
अहिलेको डुबान प्राकृतिक प्रकोप नभएर मानवसिर्जित समस्या हो भन्नेमा कुनै शंका छैन । २७ असार बुधबारको रात हजारौं माइल टाढा मस्कोमा इङ्गल्याण्ड र क्रोएसिया विश्वकपको सेमिफाइनलमा दिलोज्यानले भिड्दै थिए । टेलिभिजनको पर्दामा त्यो दृश्य प्रत्यक्ष हेरिरहँदा घरबाहिर जोडतोडले परिरहेको वर्षा सिनेमाको ब्याकग्राउण्ड स्कोर झैं अनुभूति हुन्थ्यो ।
रूसमा क्रोएसियाले विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्दै इतिहास रचिसक्दा यता भने झरी रोकिएको थिएन । भोलिपल्ट अलि अबेर ओछ्यान छाड्दा राति छाडेका टेलिभिजन र मोबाइलका स्क्रिन अर्कै दृश्यले भरिएका थिए । काठमाडौं उपत्यकाको पूर्वी भेग बाढीमा डुबिसकेको थियो ।
भक्तपुर हुँदै बग्ने हनुमन्ते र काठमाडौं–भक्तपुर छुट्याउने मनहरा खोलाले कुनै निशाचरले झैं रातभर ताण्डव मच्चाएपछि मानिसहरू बिचल्लीमा परेका थिए । समाचारमा आएका तस्वीरहरू देख्दा हनुमन्ते र मनहरा आसपासका क्षेत्रहरू डुबानमा परेका तराईका बस्ती प्रतीत हुन्थे ।
अरनिको राजमार्गका केही खण्ड समेत डुबानमा परेपछि केही घण्टाका लागि यातायात ठप्प बन्न पुग्यो । घरभित्रै बाढी पसेपछि मानिसहरू सुरक्षाका लागि माथिल्ला तला र उँचो भागतिर लागेका थिए । नेपाली सेना र प्रहरीका उद्धारकर्ताहरू डुबान क्षेत्रमा दिलोज्यानले खटिएका देखिन्थे ।
भक्तपुरको चाँगुनारायणमा पहिरोबाट एकै परिवारका तीन जनाको मृत्युबाहेक हनुमन्ते र मनहराका डुबानका कारण मानवीय हताहती भएको खबर सुनिएन ।
धेरै नेपालीको मानसपटलमा कर्णाली भेगले गरीबीको बिम्ब निर्माण गरेजस्तै तराई डुबान र पहाडी क्षेत्रहरू पहिरोका प्रतीक बन्दै आएका छन् । तर, गरीब खोज्न कर्णाली लगायत दूरदराजका क्षेत्र पुग्नु आवश्यक नभए जस्तै बाढीले पनि शहरलाई आफ्नो चपेटामा नपार्ने होइन ।
फरक यत्ति मात्र हो, शहरको मनसुनी सकस गाउँको भन्दा भिन्न हुन्छ । हनुमन्ते र मनहराको डुबान पछि शहरी क्षेत्रमा आइलाग्ने बाढीको कारणहरू खोतल्न थालिएको छ ।
नाला जसरी खुम्चिएका र हिउँदमा कमिला दौडने खोलाहरू वर्षायाममा कसरी ताण्डव मच्चाउन सक्छन् भन्ने उदाहरण हनुमन्ते र मनहरा नै हुन् । अनियन्त्रित शहरीकरणका कारण प्राकृतिक स्रोतहरूको निर्मम दोहन हुँदै आएको छ र यसको सबभन्दा ठूलो मार नदीनालाहरूमा परेको छ । लाग्छ, नदीनालाहरू पनि आफूमाथि भएको अत्याचारको बदला लिन वर्षात्मा उग्र रूप धारण गर्छन् ।
एकाध वर्षअघि भू–माफियाहरूले एस्काभेटर र डोजर लगाएर एकै रातमा हनुमन्ते खोलाको धार परिवर्तन गरिदिएका थिए । त्यस कृत्यको विरोधमा आन्दोलित स्थानीयवासीले अरनिको राजमार्ग बन्द गरिदिएका थिए । समयमै जनता नजुर्मुराएको भए संभवतः हनुमन्तेको बाढी अहिलेको भन्दा पनि वितण्डाकारी हुन सक्थ्यो । भूमाफिया विरुद्ध लड्न एकजुट भएका मानिसहरू शायद हनुमन्तेको संरक्षणमा चाहिं जुट्न सकेनन् !
हनुमन्तेले आज जुन वितण्डा मच्चाएको छ, त्यसको मूल कारण उमाथिको अतिक्रमण नै हो । खोलाछेउका घरहरूले बगर मिचिदिएका कारण हनुमन्ते र मनहराको स्वाभाविक वहाव अवरुद्व हुन पुगेको छ । वर्षात्को पानी सोहोरिएर खुम्चिएको खोलामा पुग्दा निकास पाउँदैन र जम्दैजम्दै छेउका बस्तीहरूतिर फैलन्छ ।
बाढी नियमित आकस्मिकता हो । यो हिजो पनि आएकै थियो र भोलि पनि आइरहनेछ । हिजोको बाढी र आजको बाढीका प्रकृतिमा भने धेरै फरक आएको छ । हिजो नदीहरू खुम्चिएका थिएनन्, बाढीबाट मानव बस्ती कमै मात्र प्रभावित हुन्थ्यो ।
आज नदीहरूलाई ढलको आकारमा खुम्च्याइएको छ । हिजो नदीहरूका बगर हुन्थे, त्यसभन्दा पर खेतबारी र अझ् पर मात्र मानव बस्ती हुन्थे । जब पानीको बहाव बढ्थ्यो, नदीहरू बगरसम्म फैलिन्थे । बगरमा पनि नअटाउने बाढी आउँदा खेतबारीसम्म पस्न पुग्थे, मानव बस्ती सुरक्षित रहन्थे ।
आज राजधानी शहरले डुबानको कहर काट्नु पर्नाको खास कारण पानी निकासको दुरवस्था नै हो । यो त वर्षायाम नै भयो, एकाध घण्टाको बेमौसमी झ्रीले पनि शहरका सडकहरू डुबाउन थालेको छ । विकासका नाममा यत्रतत्र खनेर छाडिएका सडक, ढल, मर्मतसम्भार नगरेर खाल्डाखुल्डी परेका सडकहरूमा जब पानी जम्छ, ती दहमा रूपान्तरित हुन्छन् । खुला छाडिएका ढलहरू कतिसम्म जोखिमयुक्त छन् भनेर गत वर्ष एक स्कूले बालिका सामाखुशीको ढलमा बगेको घटनाले देखाइसकेको छ ।
हिजो शहरका उँचा सडकको बीचमा ढ्वाङ्प्वाल (अर्ध–वृत्ताकार निकासद्वार) हरू बनाइएका हुन्थे, जसले पानीलाई नजिकैको खोलासम्म सहज निकास दिन्थ्यो । आज ती सबै ‘उहिलेका कुरा खुइले’ भइसके । शहर नामको कंक्रिटको जंगलमा वर्षात्को पानी ‘रिचार्ज’ हुने ठाउँ समेत बचेको छैन ।
घर र सडकदेखि सोहोरिंदै बग्ने पानीले जबर्जस्ती खुम्च्याइएका खोला–नदीमा पुग्दा समेत निकास पाउँदैन र कहर बनेर बस्तीतिरै फर्कन्छ । सरासर मानवसिर्जित यो समस्याको निम्ति सरकारलाई मात्र दोष दिएर पुग्ने अवस्था छैन ।
हिमालखबरबाट

