आफूलाई जातीय छुवाछूत र कुटपिट गर्नेलाई अदालतले जेल सजाय तोकेपछि महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ४, भब्सीटोलकी बुद्धमाया विश्वकर्माले विष खाएर आत्महत्या गर्ने प्रयास गरेकी छन्। दोषीले दिएको दबाबका कारण उनले आत्महत्या गर्ने प्रयास गरेको आशंका गरिएको छ।

धारामा पानी छोएको भन्दै उनकी छोरी मनिषा र उनलाई कुटपिट गर्ने स्थानीय कमला गिरीविरुद्ध जिल्ला अदालत महोत्तरीले यही असार २४ गते जातीय विभेदको कसुर गरेको ठहर गर्दै ६ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। यसलाई दलित समुदायले ऐतिहासिक फैसला मानेका छन्।
त्यसको तीन दिनपछि गत बुधबार दिउँसो बुद्धमायाले विष खाएकी हुन्। विष खाएर बेहोस भएकी उनको उपचार अहिले बर्दिबास चोकस्थित शुभस्वस्तिक अस्पतालमा भइरहेको छ।
अहिले अस्पतालमै रहेका बुद्धमायाका छोरा माधव विश्वकर्माले हिजो अस्तिको भन्दा आमाको स्वास्थ्यमा सुधार भए पनि अझै बोल्न सक्ने अवस्थामा नभएको नेपालखबरलाई जानकारी दिए।
रोजगारीको सिलसिलामा काठमाडौं बस्ने गरेका माधव आमा अस्पताल भर्ना भएको खबर सुनेर बिहीबार मात्र बर्दिबास पुगेका हुन्। घटनाका बेला आफू घरमा नभए पनि कुरा बुझ्दा अदालतको फैसलापछि पीडक पक्षधर गाउँलेले दिएको दबाब र धम्कीकै कारण आमाले विष सेवन गरेको देखिएको बताए।
‘घरमा कुनै झगडा छैन, अरू केही चिन्ता पनि थिएन। आमा पढेलेखेको हुनुहुन्न, पक्कै कसैले कुनै त्रास देखाएको हुनुपर्छ।’ अहिले आमा बोल्न सक्ने स्थितिमा नरहेकाले बोल्न सक्ने भएपछि वास्तविक कुरा बाहिर आउने उनले बताए।
बुद्धमायालाई न्याय दिलाउन नेतृत्व गरेका विश्वकर्मा समाज नेपाल प्रदेश २ का अध्यक्ष मीन रहपालले पनि दोषीले दिएको दबाब र तनावकै कारण बुद्धमायाले विष खाएको दाबी गर्छन्।
यसअघि मुद्दा चलिरहेका बेला पनि पीडक परिवारले बुद्धमायाको परिवारलाई मार्ने काट्ने धम्की दिएको उनले सुनाए। अदालतमा मुद्दा अघि बढिरहेका बेला धारामा पानी लिन जाँदा बुद्धमायालाई कसुरदार कमलाले आँखा फुकालेर हेर्ने तथा उनका श्रीमानले खुकुरी उद्याउँदै बुद्धमाया र उनका छोरीहरूलाई काट्छु भनेर धम्की दिने गरेको अध्यक्ष रहपालले बताए।
‘अदालतमा मुद्दा दर्ता भएपछि बुद्धमायालाई फोन गरेर म हवल्दार हुँ, खुरुक्क मुद्दा फिर्ता लेऊ पछि मुद्दा हा¥यो भने कमलाले गरेका सबै खर्च तिमीले तिर्नुपर्छ भनेर तर्साउने गरेका थिए,’ रहपालले भने। यद्यपि अदालतले बुद्धमायाकै पक्षमा फैसला गरेर न्याय दिलाएको उनले बताए।
बुद्धमायाकी छोरी मनिषाले पनि मुद्दा परेकै दिनदेखि पीडक परिवार र छरछिमेकको व्यवहार फरक भएको बताएकी छन्। मुद्दा फिर्ता लिनका लागि विभिन्न धाक धम्की आउने गरेको उनले बताइन्। अदालतले दोषीलाई सजाय तोकेपछि झन् यो व्यवहार बढेर गएको मनिषाले सुनाइन्।
उनका अनुसार अहिले गाउँका मानिसले बाटो काटेर हिँड्ने, आँखा फुकालेर हेर्ने गर्छन्। त्यही तनावले आमाले विष खाएको हुन सक्ने उनको अनुमान छ।
घरमा पुरुष कोही छैनन्
गाउँमा गुजारा चलाउने कुनै उपाय नभएकाले बुद्धमाया विश्वकर्मा श्रीमान रोजगारीका सिलसिलामा अहिले पोखरामा छन्। श्रीमती अस्पताल भर्ना हँुदा पनि उनी आएका छैनन्। छोरा माधव विश्वकर्मा पनि मूर्तिको काम गरेर काठमाडौं बस्ने गरेका छन्। घरमा बुद्धमाया उनकी १६ वर्षीया छोरी मनिषा र उनी मुनिका अन्य दुई छोरी मात्र बस्ने गरेका छन्। घरमा कुनै पुरुष नभएकाले पनि बुद्धमाया बढी त्रासमा परेको अुनमान गरिएको छ।
सुरुको घटना के थियो?
गत वैशाख १५ गते महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ४, भब्सी टोलस्थित सार्वजनिक धारामा स्थानीय कमला गिरीकी छोरी दीपिका पानी भर्न गएकी थिइन्।
घर नजिकै रहेको धारामा बुद्धमाया विश्वकर्माकी छोरी मनिषा पनि पानी लिन गएकी थिइन्। त्यस क्रममा आफूले पानी भरिरहेका बेला धाराको पक्का छोइदिएको भन्दै दीपिकाले जातीय रूपमा होच्याउने गाली गलौज गरिन्।
घर नजिकै धारा भएकाले यो भनाभन दीपिकाकी आमा कमलाले सुनिन् र धारामा आएर मनिषाई गाली गर्दै कुटपिट गरिन्। त्यसपछि मनिषा रुँदैरुँदै घर गएपछि उनकी आमा बुद्धमाया छोरीलाई किन कुटेको भन्दै धारामा आइन्। त्यस क्रममा फेरि कमलाले सानो जाति भएर बढी कुरा गर्छेस् भन्दै नातेदार स्थानीय फन्त रामबाबु दाहाललाई बोलाएर मनिषाका आमा(छोरीलाई नै लछारपछार र कुटपिट गरे।
मुद्दा कसरी अगाडि बढ्यो?
घटनापछि न्यायकाे माग गर्दै पीडित पक्ष वडा कार्यालय (बर्दिवास-४) गएर वडाध्यक्ष दीपबहादुर कार्कीकार्कीलाई गुहारे। तर उनले विभिन्न बहाना गर्दै वेवस्ता गरेको पीडित पक्षको आरोप छ।
विश्वकर्मा समाज नेपाल प्रदेश २ का अध्यक्ष मीन रहपालका अनुसार न्यायका लागि अनुरोध गर्दा वडाध्यक्ष कार्कीले यसो भने, ‘मैले मिलाउने कोशिस गरेकै हुँ, उनीहरू सानो जातसँग माफी माग्दिनँ भन्छन् मैले के गर्नु?’
त्यसपछि आफूहरूले वैशाख २१ गते पीडकविरुद्ध इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दिइएको रहपालले जानकारी दिए। सोही दिन पीडक कमला गिरी र रामबाबु दाहाललाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्यो।
यो सरकारवादी मुद्दा भएकाले प्रहरीले जातीय भेदभाव र छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता ग¥यो। थुनछेक बहसका क्रममा अदालतले उनीहरूलाई ७० हजार धरौटीमा रिहा गरेर मुद्दा अगाडि बढायो।
अन्ततः असार २४ गते जातीय विभेदको कसुर गरेको ठहर गर्दै कमला गिरीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला ग¥यो।
साथै कुटपिटका क्रममा घाउचोट लागेका बुद्धमाया र मनिषा विश्वकर्मालाई २५/२५ हजार रुपैयाँ क्षतिपूर्ति समेत दिनुपर्ने फैसला भएको छ। हाल दोषीहरू थुना बाहिरै रहेकाले जिल्ला अदालतको फैसलाउपर पुनरावेदन गर्न सक्ने छन्।
‘अझ सशक्त रूपमा अघि बढ्छौं’
स्थानीय समेत रहेका विश्वकर्मा समाज नेपाल, प्रदेश २ का अध्यक्ष मीन रहपालले आफूले यो घटनालाई गम्भीर रूपमा लिएको बताउँदै न्यायका सशक्त ढंगले अघि बढ्ने बताएका छन्। यसमा सहयोग गर्न उनले देशका दलित संघसंस्था एवं अधिकारकर्मीहरूलाई आग्रहसमेत गरेका छन्। दोषीहरूको दबाबकै ‘अब हामी चुप लागेर बस्दैनौं,’ उनले नेपालखबरसँग भने,‘विष सेवनको कारण पनि हामी पत्ता लगाउँछौं र न्यायका लागि सशक्त ढंगले अगाडि बढ्छौं।’(नेपाल खबरबाट साभार गरिएको हो)

