अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने करोडौको भौतिक क्षती भएको बिवरण प्राप्त भएको छ । बाढी र पहिरोका कारण राजधानी जोडिने सडक अवरुद्ध भएका छन भने देशभरका मुख्य राजमार्ग अवरुद्ध हुंदा हजारौ यात्री बीच बाटोमा नै अलपत्र परेका छन ।
अबिरल बर्षाका कारण तराईका बिभिन्न क्षेत्र डुवानमा परेका छन भने मुलुक भरका प्रमुख नदीहरुमा पानीको बहाव अत्याधिक मात्रामा बढेको कारण स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन निर्देशन समेत दिएको छ ।
अबिरल बर्षापछि आएको बाढीमा परी राजधानीको महादेव खोलाले बगाउदा धमस्थलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रकाश पुर्कुटी रहेका छन । उनको शवलाई प्रहरीले पोष्टमार्टमकालागि अस्पताल लगेको छ ।

अबिरल बर्षाका कारण ५ नम्वर प्रदेशको प्रमुख ब्यापारिक शहर नेपालगन्ज ढुवानमा परेको छ । बाकेंका बिभिन्न भागमा आएको बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलाबहादुर बुढा, लोकबहादुर सुनार, रिमादेवी यादव र रन्जित पासीको मृत्यु भएको बाके प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि राप्तीपारीको नरैनापुर गाउँपालिकाको सदरमुकाम नेपालगञ्जसँग सम्पर्क टुटेको छ । राप्ती नदीमा बाढी आउने सक्ने संभावनालाई मध्यनगर गर्दै जिल्ला दैवी प्रकोप उद्धार समितिले उद्धार टोली र तयारी खाद्यान्न तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ ।
राप्ती नदीमा भारतले बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँधका कारण वर्षेनी डुब्दै आएको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरिसकेको छ । उसले सबै स्थानीय तहलाई बाढीप्रति सचेत रहन र जोखिममा परेकालाई उद्धार र उच्च स्थानमा बासका साथै तयारी खाद्यान्न तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । जिल्ला प्रशासन कार्यालयका प्रवक्ता खगेन्द्र पौडेलले बाढीपीडितलाई उद्धार गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउनुभयो ।
अविरल बर्षापछि नेपालगन्जका सडक पूरै अबरुद्ध भएको छ । नेपालगञ्जको मुख्यबजार क्षेत्र डुवानमा परेका छन् । सेतुविक चोक, न्यूरोड, बसपार्क, घरबारीटोल, धम्बोझी, गणेशपुर, फूल्टेक्रा, बुलबुलिया, बेलासपुर जलमग्न भएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले राम्ररी नाली सफा गरेर निकास दिन नसकेपछि यो वर्ष अलि धेरैबेर परेको पानीले दर्जनबढी ठाउँ डुवानमा परेका छन् । नेपालगञ्जका यी बजार क्षेत्र भने वर्षेनी डुवानमा पर्ने गर्दछन् निर्माणाधीन हुलाकी सडक निर्माणका क्रममा लापरबाही गरिँदा आवतजावत प्रभावित भएको हो ।
पुल निर्माणको काममा ढिलाई हुँदा उचित डाइभर्सनको अभावमा गएरातिदेखि आवतजावत ठप्प भएको छ । ‘ठाउँ–ठाउँमा पुल बनिरहेका छन् तर पुल बनाउनुअघि डाइभर्सन बनाउनुपर्ने मापदण्डलाई बेवास्ता गरिएकाले अहिले पानी परिरहँदा सडक पूरै सडक अवरुद्ध भएको छ,’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आक्रोश पोख्नुभयो ।
घरहरु डुबानमा
अविरल बर्षापछि कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका दर्जनौं घर डुबानमा परेका छन् ।
पानीको सहज निकास नभएका कारण सयौं घरहरु डुबेका हुन् । भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि बर्षेनी त्यहाँका गाउँहरु डुबानमा पर्ने गरेका छन् । ‘एक त लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले बर्षेनी डुबान हुन्थ्यो, अब त झन् भारतले सीमामा बाँध जस्तो सडक बनाएपछि समस्या थपिएको छ,’ अध्यक्ष शाहले भन्नुभयो ।
शिशुसहित तीनको मृत्यु
रोल्पामा सोमबार बिहान पर्खाल भत्कीदा च्यापिएर १ नाबालक सहित ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको रूण्टीगढी गाउपालीका ५ सैबाङमा अबिरल बर्षा पछी स्थानिय अशोक घर्तीको पर्खाल भत्किदा भान्सा कोठा पुरिदा च्यापिएर मृत्यु भएको हो ।
ढुङ्गा माटोले बनेको पर्खाल भत्किएर कच्ची भान्षा घरले च्यापिदा राजकुमार बिकको श्रीमती कमला बि.क,१८ दिन कि छोरी आयुषा र स्थानीय चित्रा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनु भएको छ ।
बिहान ११ बजेरिर सुतकेरी कमलाले नाबालक छोरीलाइ आगोमा सेकाउदै गर्दा घटना भएको हो । च्यापिएर गम्भीर घाइते कमलाको उपचारकोलागी प्राथामिक स्वास्थ्य केन्द्र होलेरी लैजादै गर्दा बाटोमै र २ जनाको घटना स्थलमै मृत्यु भएको प्रहीले जानकारी दिएको छ ।
सोमबार परेको कारण पर्साको पर्सागढी नगरपालिकास्थित पन्थी नदीमा आएको बाढीले बगाउँदा एक विद्र्याीको मृत्यु भएको छ । अर्का एक विद्यार्थी बेपत्ता भएका छन् ।पर्सागढी नगरपालिका–४ मा रहेको पन्थी नदीमा आएको बाढिले चारजन विद्यार्थीलाई बगाएको थियो । बाढीले बगाएर पर्सागढी नगरपालिका–४ की प्रतिमा रामको मृत्यु भएको हो । बगाएका पर्सागढी–८ का सुरेन्द्र महतोको अवस्था अज्ञात छ । बाढिले बगाएका त्यही गाउँकी संगीता चौरसिया र सुमन पासवानको भने स्थानीयले उद्धार गरेका छन् ।
त्यसैगरी वर्षाका कारण वीरगन्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका छन् । मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती पाएका छन भने वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ ।
घर तथा पसलबाट निस्कने फोहोरहरु जथाभावी सडक र नालामा नै फाल्ने गरिएको कारण नाला जाम भएर वर्षेनी पानी पर्नेवित्तिकै वीरगन्जका अधिकांश सडकहरु तालमा परिणत हुने गरेका छन् ।(न्युज अफ नेपालबाट)

