वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा जेठ १५ गते यता छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई आजिवन जेल सजायको माग राख्दै गोरखा फुजेलकी ६२ बर्षीया गंगामाया अधिकारी अनसनमा छिन् ।
उनको माग यत्ति होे– आफ्नो कान्छो छोराका हत्यारालाई कानूनी दायरामा ल्याऊ । छोराको हत्यामा संलग्न छविलाल पौडेल, जानुका पौडेल, भिमसन पौडेल र रामप्रसाद अधिकारीलाई जेलसजाय हुनुपर्ने उनको एकल माग हो । जीवन–मरणको दोसाँधमा रहेपनि केही अधिकारकर्मीबाहेक गंगामायाको आवाज सुनिदिने कोही छैन । यतिबेला अत्यन्तै प्रतिकूल स्वास्थ्य अवस्थाका बीच गंगामाया न्यायको लडाईमा छिन् ।
हजुरबुवा भेट्न चितवन गएका बेला नन्दप्रसाद र गंगामायाका कान्छो छोरा कृष्णप्रसादलाई २०६१ जेठ २४ गते तत्कालिन माओवादीका कार्यकर्ताले सुराकीको आरोपमा अपहरण गरे । र, लगत्तै हत्या गरे । जुन घटनाको जिम्मेवारी तत्कालिन माओवादीले पनि स्वीका¥यो । त्यसयता अधिकारी दम्पक्तिले निरन्तर न्यायका लागि आवाज उठाए । तर, सुनुवाई भएन । र, उनी फेरि अनसनमा छिन् ।
न्यायका लागि गोरखा र चितवनबाट संघर्ष गर्दा केही सीप नलागेपछि अधिकारी दम्पती २०६९ सालमा काठमाडौं आएर प्रधानमन्त्री निवास बालुवाटार अगाडि अनशन बसेका थिए । उनीहरूलाई प्रहरीले त्यतिबेला पक्राउ गरेर ४९ दिनसम्म थुनामा राखेको थियो । प्रहरीले उनीहरूलाई पागल करार गर्न मानसिक अस्पताल र त्यसपछि हत्कडी लगाएर गोरखा पु¥याएर छाड्यो । तर, लगत्तै फर्केका अधिकारी दम्पतीले आफ्ना छोराको हत्यारामाथि कारबाहीको माग गर्दै वीर अस्पताल अगाडि अनशन सुरु गरे । सरकारले त्यो अनशनलाई ४९औं दिनमा चारबुँदे सम्झौता गरेर टुंग्यायो, तर कार्यान्वयन गरेन । त्यसपछि अनशन बस्ने र तोड्ने श्रृंखला जारी छ ।
२०६९ सालबाट अधिकारी दम्पक्तिले न्यायको लडाई सुरु गरेका थिए । तर, गंगामायाको पति नन्दप्रसादको अनशनकै क्रममा २०७१ असोज ६ मा निधन भइसकेको छ । उनको शव अझै शिक्षण अस्पताल महाराजगञ्जमा छ । पुनरावेदन अदालत हेटौंडाको आदेशबाट धरौटीमा रिहा भएका गंगामायाका छोरा कृष्णप्रसाद हत्याका अभियुक्तमध्येका छविलाल पौडेललाई सर्वोच्चले ६ पुस २०७२ मा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि सरकारले पक्राउ गरेन ।
किटानी जाहेरीमा परेका कतिपयलाई चितवन जिल्ला सरकारी वकिलको कार्यालयले तीव्र दबाबका कारण मुद्दा नै दायर गरेन भने कतिपय मुद्दालाई कमजोर पारिएका कारण अभियुक्त रिहा भए । आफूलाई कसैले न्याय दिन नचाहेको र अनेकथरी कुरा गरेर पीडा मात्र बढाएको गंगामायाको गुनासो छ ।
राष्ट्रिय÷अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ÷संगठनले गंगामायालाई न्याय दिन पटक–पटक ध्यानाकर्षण गराए पनि सरकारले गंगामायालाई न्याय दिन निरन्तर वेवास्ता गरिरहेको छ । गंगामायाका हातको नसा सुकेर घाँटीको नसाबाट ‘स्लाइन’ दिइएको छ । स्लाइनले धानेको छ सास । स्लाइनबाट विस्तारै झर्ने पानीका थोपाको गतिझैं छ उनको मुटुको धड्कन पनि । त्यही धड्कन रहेसम्म उनी राज्यलाई छोराको हत्यारालाई कारबाही र न्यायका लागि दबाब दिइरहने दृढतामा छिन् । र, पछिल्लो अनसन सुरु गर्दा पनि उनले त्यही दृढता दोहो¥याएकी थिइन् ।
राष्ट्रिय मानवअधिकार आयोगले केही दिनअघि गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग अभियुक्त प्रक्राउबारे जानकारी लिँदा उनीहरुले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै ‘रेडकर्नर नोटिस’ जारी भएको व्यक्तिलाई नेपाल ल्याउने प्रयास भइरहेको बताएका थिए । तर, पटक–पटक पूरा नभएको प्रतिवद्धता अहिले पूरा होला भन्ने आधार छैन् । सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतापछि मन्त्रिपरिषद्ले २०६३ जेठ २९ गते माआवादीका नेता तथा कार्यकर्तामाथि आतंककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण तथा सजाय) ऐन तथा अध्यादेशअन्तर्गत नेपाल सरकार वादी भई विभिन्न अदालतमा दायर सम्पूर्ण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार अधिकारी हत्यामा संलग्नलाई कारबाही गर्न नमिल्ने सरकारले जिकीर गर्दै आएको छ । घटनाक्रम यति कारुणिक मोडमा पुगेको छ कि, आफ्नो छोराको हत्यारालाई कारबाही माग गर्दै अनसन बसेकी गंगामाया नै जीवन मरणको दोसाँधमा छिन् । अनसकै क्रममा उनको श्रीमान नन्दप्रसाद अधिकारीको मृत्यु भइसकेको छ । अनसनको क्रममा नन्दप्रसादको मृत्यु भएको दुई वर्ष पुग्दासमेत अझै सदगद हुन सकेको छैन । यो मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पाइसकेको छ । न्यायका लागि अससनमा बसेका नागरिकको मृत्यु हुनु भएको देशमा न्याय मर्नुजस्तै भएको तर्क गर्छन्, मानवअधिकारर्कीहरु ।
राज्यबाट कुनै उल्लेख्य सुविधाका लागि गंगामाया अनसन बसेकी होइनन् । उनको एकमात्र माग भनेको आफ्नो छाराका हत्यारलाई कारबाही होस् भन्ने मात्रै हो । नागरिकको जिउधनको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने सरकार नै न्यायका लागि अनसन बसेको नागरिक जीवनमरणको दोसाँधमा पुग्दा पनि चुपचाप छ । यसप्रति सर्वसाधारण नागरिक समेत आक्रोशित छन् । हिजो आन्दोलनको मोर्चाबाट आएका कम्युनिष्टहरुकै नेतृत्वमा अहिलेको सरकार छ । सरकार कानुनीराज्य र सुशासनसहितको समृद्धिको ठूलाठूला कुरा गरिरहेको छ । तर, न्यायको भिख मागेर बसेकी एक वृद्धाको अवस्था यस्तो छ ।
छोराको वियोगमा छट्पटाएर न्यायका लागि अनसन बसेकै क्रममा उनले पतिवियोगको पनि सामना गर्नुपर्यो । दुईछोरा मध्ये एकको हत्याएपछि अर्का छोरा अहिले बेपत्ता छन् । अब गंगामायाको गुम्न बाँकी भनेको सास मात्रै हो । तर मानौं, यो सरकार उनको सास पनि गुमेको हेर्न चाहन्छ । उनलाई न्याय दिनुभन्दा उनैलाई गुमाउनु यो सरकारले सजिलो ठानेको छ ।
गंगामायाको पीडा शब्दमा वर्णन गर्न र दृश्यमा देखाउन सक्ने प्रकृतिको छैन । तर यो सरकार नागरिकको पीडा महसुस गर्ने खालको छैन । यो सरकार मात्रै होइन, यसअघिका थुप्रै सरकारहरुले उनको पीडालाई मजाक बनाए । हुनत कसैकसैले गंगामायाका नाममा डलरको नै खेती गरेको आरोप पनि लाग्ने गरेको छ । मानव अधिकारलाई देखाएर गंगामायाको भावनामाथि खेल्दै डलरको खेती गर्नेहरु पनि होलान् ! तर यो समग्रमा न्यायको विषय हो । संवेदनाको विषय हो । हाम्रो राज्यको नेतृत्व गर्नेहरु किन यतिविध्न संवेदनहीन भए ? यो गम्भीर प्रश्न हो ।
विषय त यसकारण पनि बढी विवादित छ कि, तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा हत्या अभियोग लागेर सर्वोच्च अदालतले जेल सजायँ तोकेका बालकृष्ण ढुंगेललाई आममाफी दिएर जुलमुक्त गराइएको छ । तर, द्वन्द्वका बेला मारिएका सर्वसाधारणको परिवार भने वर्षौदेखि न्यायका लागि अनसन बसिरहेका छन् । अनसनकै क्रममा एकजनाको निधन भइसक्यो । अर्की एकजना जीवन मरणको दोसाँधमा छिन् । तै पनि सरकार संवेदनहीन भएर रमिता हेरिरहेको छ । यस्तो असमानता किन ? यो आमप्रश्न बनेको छ, यतिबेला ।

