मंगलबार सामाजिक सञ्जालमा नेपाली चलचित्र क्षेत्रका ‘विद्वान टिप्पणीकारहरुलाई’ सम्बोधन गर्दै अभिनेत्री केकी अधिकारीले नेपाली चलचित्र क्षेत्रमा महिलामाथि हुने विभेद र छुद्र टिप्पणीविरुद्ध आफूहरु निरन्तर लडिरहने बताएकी छन्।।
उनले महिलाले लगाएको पहिरनलाई लिएर राष्ट्रिय सञ्चारमाध्यममै छुद्र टिप्पणी हुने गरेको र आफूहरुले विरोध गर्दा अर्को प्रसंग ल्याएर त्यसमा किन नबोलेको त भन्ने गरेको उल्लेख गरेकी छन्।
उनले विद्वान टिप्पणीकारका यस्तै टिप्पणीले घटना सामान्यीकरणतर्फ जाने भन्दै न्यायको लडाइमा साथ दिन आग्रह समेत गरेकी छन्।

‘राष्ट्रियस्तरका संचार माध्यमहरुबाट खुल्लमखुल्ला नेपाली महिला कलाकारहरुको शारीरिक बनावटमाथि छुद्र टिप्पणी गर्दा र संस्कारको मापदण्ड उनले लगाउने पहिरनसँग जोडिदिँदा हामीले जनाएको विरोधमा, तपाईंहरुको प्रतिकृयात्मक विद्वता ‘यस्तै वा योभन्दा गम्भीर प्रकृतिको अर्को घटनामा किन बोलिनस्रु भन्ने मै सीमित रहेको देख्दा अफशोच लागिरहेको छ’, उनले लेखेकी छन्, ‘तपाईंहरुको यस्तै टिप्पणीहरुले नै सायद पटक–पटक घट्ने यस्तै घटनाहरु सामान्यीकरण हुँदा हुन्। कमसेकम एकचोटि साथ र समर्थन दिएर न्यायलाई स्थापित गराउन मद्दत त गर्नुहोस्– लड्नलाई हामीसँग धेरै मोर्चाहरु छन्, विषयहरु छन्।’
उनले सबै घटनाका विषयमा आफूहरुले बोल्न नसकेको भए पनि अन्याय र अत्याचारबिरुद्ध निरन्तर लड्ने बताएकी छन्।
उनले आफूहरुबाट केही कमीकमजोरी भए पनि आफूहरुसँग सास र एक झिल्का आगो रहेसम्म निरन्तर लडिरहने बताइन्। उनले पछिल्लो समय आफूहरु अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र पूजा शर्माका पक्षमा लडिहरेको जानकारी दिएकी छन्।
‘महोदय, एक मुट्ठी सास हामी भित्र पनि छ। एक झिल्का आगो हामीसँग पनि छ। र, त्यो सास, त्यो आगो भएसम्म लड्छौँ। हरेक अन्यायको बिरुध्दमा लड्छौं। कहिलेकाहीँ देखिने गरी आफूले पाएका मंचहरुबाट लड्छौं। कहिलेकाहीँ हात समाई पंक्तिबध्द भएर न्यायालयको ढोकासम्म पुगेर लड्छौँ’, ट्विटरमा उनले लेखेकी छन्, ‘पूजाको लागि पनि लड्छौं, साम्राज्ञीको लागि पनि लड्छौँ। लडिरहेका छौं। संघर्षका माध्यम र स्वरुप फरक भए होलान् तर चिन्ता नगर्नुस्, हामी लड्छौं।’
अभिनेत्री अधिकारीले विद्वान टिप्पणीकारहरुलाई संघर्षमा सामले हुन आग्रह समेत गरेकी छन्।
यस्तो छ केकीको फेसबुक पोस्ट
नेपाली चलचित्र क्षेत्रका बिद्वान टिप्पणीकार ज्यूहरु,
राष्ट्रिय स्तरका संचार माध्यमहरुबाट खुल्लमखुल्ला नेपाली महिला कलाकारहरुको शारिरिक बनावट माथि छुद्र टिप्पणी गर्दा र संस्कारको मापदण्ड उनले लगाउने पहिरनसँग जोडिदिँदा हामीले जनाएको विरोधमा, तपाँईहरुको प्रतिकृयात्मक विद्वता ‘यस्तै वा यो भन्दा गम्भीर प्रकृतिको अर्को घटनामा किन बोलिनस्’ भन्ने मै सिमीत रहेको देख्दा अफशोच लागिरहेको छ। तपाँईहरुको यस्तै टिप्पणीहरुले नै शायद पटक पटक घट्ने यस्तै घटनाहरु सामान्यिकरण हुँदा हुन्। कमसेकम एकचोटि साथ र समर्थन दिएर न्यायलाई स्थापित गराउन मद्दत त गर्नुहोस् – लड्नलाई हामीसँग धेरै मोर्चाहरु छन्, विषयहरु छन्।
हो हामीले सबै बेला उतिकै शक्तिशाली र ऐक्यताबध्द भएर बोल्नु पर्ने विषयमा बोलेनौँ होला, लड्नुपर्ने मैदानमा लडेनौँ होला, अग्रपंक्तिमा उभिन सकेनौँ पनि होला। कमीकमजोरीहरु भए होलान्। तर महोदय, एक मुठ्ठी सास हामी भित्र पनि छ। एक झिल्का आगो हामीसँग पनि छ। र त्यो सास, त्यो आगो भएसम्म लड्छौँ। हरेक अन्यायको बिरुध्दमा लड्छौँ। कहिलेकाँहि देखिने गरि आफुले पाएका मंचहरुबाट लड्छौँ। कहिलेकाँहि हात समाई पंक्तिबध्द भएर न्यायालयको ढोकासम्म पुगेर लड्छौँ। पुजाको लागि पनि लड्छौँ, साम्राज्ञीको लागि पनि लड्छौँ। लडिरहेका छौँ। संघर्षका माध्यम र स्वरुप फरक भए होलान् तर चिन्ता नगर्नुस्, हामी लड्छौँ।
र, सक्नुहुन्छ भने यो संघर्षमा सामेल हुनुस्, शायद तपाँईहरुका बिद्वतापूर्ण टिप्पणीहरु, त्यतिबेला झन अर्थपूर्ण हुनेछन्। नभुलौँ – आफ्नो वचन र वाणी, विवेक र व्यवहार, साहस र संघर्ष तथा संस्कार र संवेदनाहरुको परिष्कृत रुपान्तरण गर्दै हामी सबै आ-आफ्नो उत्कृष्ट संस्करण बन्ने यात्रामा छौँ। तपाँईहरुको चेत त्यसै अनुरुप खुल्ने छन् भन्ने बिश्वास लिएका छौँ।
हिजै विवादित उद्घोषका प्रकाश सुवेदीलाई लक्षित गर्दै नायिका अधिकारीले गरेको अर्को पोस्ट यस्तो छ
रजतपट’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले आफ्नो तीन दशक लामो ईतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारिरिक बनावट माथि गर्नुभएको छुद्र टिप्पणी अत्यन्तै अशोभनिय र खेदजनक छ। साथै, त्यसै क्रममा उँहाले प्रयोग गर्नु भएको भाषा, प्रस्तुत गर्नु भएको उदाहरण (दो दिन कि चाँदनी) र देखाउनु भएको तुज्जुकले वास्तवमा उहाँकै चरित्र र मानसिकतालाई उदांगो पारिदिएको छ भन्दा फरक नपर्ला। ढुक्क हुनुहोस्, हामी यस्ता प्रवृति र यस्ता मानसिकताको सदैव विरोध र वहिष्कार नै गर्ने छौँ।
स्मरण रहोस्, पेशागत आयु दिर्घकालिन वा अल्पकालिन हुनसक्छ तर त्यसको आयु निर्धारण गर्नसक्ने हैसियत कसैको हुँदैन। जतिनै लामो ईतिहास भएपनि बेला बेला लागिरहने तीन मिनेटको ग्रहण, ग्रहण नै हुन्छ। दुई दिनकै भएपनि चाँदनीको पहिचान उज्यालो नै हुन्छ।

