गीत संगीतमार्फत् सन्सनी मच्चाइरहेकी पपस्टार याओ पेई ना, सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय थिइन्। सन् १९८१ मा हुपेई प्रान्तमा जन्मिएकी याओले सीसीटीभी गालाका साथै पीएलएसम्मका हरेक गतिविधि छुटाइनन्। अनेक अवार्ड जितेकी याओको जीवनमा अनेकन सफलताहरू एकपछि अर्को गर्दै पछ्याइरहेका थिए। संगीतप्रेमीहरूको ढुक्ढुकी बनेकी याओ समाज सेवाबाट भित्री सुन्दरता पनि निखार्दै थिइन्।

सन् २००८ मा उनी विपत्ति राहत कोषलाई सघाउने अभियानका अलावा सन् २०१३ मा ‘गुलावी रिबन’ स्तन स्वास्थ्य पुस्तिकाका लागि प्रचार दूत बनिन्। सोही वर्ष पेकिङ युनिभर्सिटी, अर्बुद जनस्वास्थ्य अस्पतालको क्यान्सर विरूद्ध प्रचार दूतको रूपमा अनुबन्ध भइन्। वृद्धवृद्धाको हेरचाहदेखि स्कूले केटाकेटीको सहयोगार्थ परोपकारी काममा पनि सानै उमेरमा दक्खल राख्न सफल भइन्। सन् २०१४ मा सछ्वानको छङ्तुमा आयोजित अण्डरवेयर सार्वजनिक सेवा अभियानमा पनि सहभागी भइन्। २०१५ मा क्वाङतोङ मेधावी मोडलको सम्मान जितेर पाँचौ चरित्रवान् राष्ट्रिय मोडलको रूपमा प्रसिद्धि पनि कमाइन्।
सानै उमेरदेखि संगीत साधनामा लागेकी याओको जीवन पद, पैसा र प्रतिष्ठाका साथ शानदार ढंगले चलिरहेको थियो। एकदिन उनले चिनियाँ ट्वीटर भनिने सामाजिक सञ्जाल वैपोमा लेखिन्, ‘‘साथीहरू केही दिन म वैपोमा आउन पाउने छैन, त्यसैले तिमिहरूलाई जवाफ फर्काउन पनि पाउन्न, म अस्पतालको अपरेशन वार्डमा जाँदैछु।’
लोकप्रिय कलाकारको स्वास्थ्यप्रतिको संवेदनशीलताले धेरै चिनियाँ युवतीहरूलाई प्रभावित पार्यो र आफ्ना स्तनप्रति निकै सजग रहन हौस्यायो। चिनियाँ युवतीमा स्तनको आकार बढाउने महत्वकांक्षाका साथ प्रसिद्ध शल्यचिकित्सा मुलुकतर्फको यात्रा पनि बाक्लिएको छ। त्यो भन्दा पनि ठूलो कुरा स्तन क्यान्सरले भेट्यो कि भनेर चिन्तित हुँदै अस्पतालमा डराई डराई पुग्नेहरूको संख्या पनि कम हुन्न। ठूलो व्ययभार पर्ने भएकाले पनि अहिले चिनियाँ महिलाहरू स्तनका लागि छुट्टै बीमा गराउन थालेका छन्।
वर्षेनी स्तन क्यान्सरको अनुपात बढ्दो छ र यसको नतीजा पनि उदेकलाग्दो छ। अचेल त पुरूषलाई पनि स्तन क्यान्सर हुन थालेको छ, कारण बदलिँदो जीवनशैली र रासायनिक खानेकुरा।
चिनियाँ महिलाहरूको जीवनशैली चुलाचौकाबाट कार्यालयसम्म पुग्दा आर्थिक सवलीकरण पनि बढ्दो छ। समाजको विकास हुँदै जानुसँगै गम्भीर वातावरणीय प्रदूषण र खाद्य सुरक्षाको सवाल पनि पेचिलो बन्दै गएको छ र महिलाहरूमा स्तन क्यान्सरको जोखिम झनै बढेको छ। तथ्यांक अनुसार स्त्रीरोगमा ट्यूमरमध्ये स्तन क्यान्सरको संभावना ५८ प्रतिशत छ। संसारमा वर्षेनी १.२ मिलियन महिलाहरू स्तन क्यान्सरले पीडित हुन्छन् र तीमध्ये ५ लाखको मृत्यु स्तन क्यान्सरका कारण हुने गर्छ। चीनमा स्तन क्यान्सरको उपचारका लागि सामान्यतः १ लाख आरएमबी (करिब १६ लाख पचास हजार रुपैयाँ) भन्दा बढी लाग्छ, सामान्य परिवारका लागि यो ठूलो रकम हो।
पेकिङ युनिभर्सिटी जनअस्पताल, स्तन क्यान्सर, प्रमुख फिजिसियन एवं पपस्टार याओका प्रमुख शल्यचिकित्सक छाओ यिङ्मिङ्का अनुसार याओ पहिलोपटक एक सहयोगीका साथ अस्पताल आएकी थिइन् र उनका सहयोगीले पपस्टार भएको परिचय गराएका थिए। परिक्षणका क्रममा देव्रे स्तनमा गिर्खा भेटिएपछि उनले सुनाएः ‘तुरून्त अपरेसन गर्नुपर्छ।’
पत्यार नलागेर याओ त्यहाँबाट निस्केर अर्को अस्पताल गइन्। अर्को अस्पतालले सामान्य भनेको झण्डै दुई सातापछि याओ फेरि सोही अस्पताल पुगेपछि डाक्टर मिङले ‘ख्यालख्यालैमा अपरेसन गर्नुपर्छ भनेको थिएँ’ भनेर ठट्टा गरे।
केमोथेरापीअघि उनले एक महत्वपूर्ण इभेन्टमा भाग लिन लागेको सुनाएकी थिइन्, डाक्टर मिङले पनि केमोथेरापी सक्किएपछि सामान्य ढंगले काम गर्नसक्ने तर सावधान रहन सुझाएर छोडिदिए। टेलिभिजनबाट प्रसारित एउटा शो इभेन्ट हेरेपछि ती डाक्टर पनि गायिका याओका फ्यान भए। हरेक बिरामीलाई उनले निरन्तर फलोअप चेकमा आउन भन्थे, तर पपस्टार याओ पेई ना धेरै व्यस्त भएकाले अस्पताल धाउन छाडिन्। तर अबेर गरेर जब उनी अस्पताल फर्किइन्, कलेजो, हड्डी र फोक्सोमा पनि क्यान्सर फैलिसकेको थियो। क्यान्सरले उनलाई सेलिब्रिटी भनेन।
सन् २०१४ को नोभेम्बर २७ तारिखका दिन पपस्टार पेइले हात्तीसँग खिचेका दुईटा फोटो पोस्ट गरेकी थिइन्, जहाँ २८ लाख ७५ हजार भन्दा बढी प्रतिक्रियाहरू छन्। उनले शनचनस्थित पेकिङ युनिभर्सिटी हस्पिटलबाट वैपोमा ट्वीट लेखिन्, ‘ओछ्यान परेको पनि एक महिना भयो, म साँच्चै गाउन चाहन्छु। फोक्सोदेखिको बिमारले दिएको यो पीडा कत्ति नमीठो। आशा छ, छिटो तङ्ग्रिन सकूँ, यो तस्वीर जस्तै मुस्कान र प्रकृतिजस्तै फुल्न सकूँ।’
लाखौं शुभेच्छुकका प्रार्थना, अनुरोध र विज्ञानको चमत्कारकाबीच एक होनहार युवा गायिका याले २०१५ को जवनरी १६ मा ३४ वर्षको उमेरमै पनि अस्पतालबाट फर्किएर प्रशंसकहरूलाई जवाफ लेख्न सकिनन्। अहिले उनको जन्मस्थल वुहानस्थित स्मृति पार्कमा बनेको मूर्तिका सामु उनका प्रशंसकहरू वर्षेनी पुष्पगुच्छा लिएर पुग्छन्, आँखाभरि आँशु भर्छन्। अनि ‘स्वास्थ्य नै सम्पूर्ण चीज रहेछ’ भन्ने सन्देशका साथ सचेत भएर घर फर्किने गर्दछन्।
गल्तीहरूले सिक्न पनि सघाउँछन्। एक सेलिब्रिटीका लागि क्यान्सरका लागि पर्ने व्ययभार ठूलो थिएन तर आम सर्वसाधारणका लागि जीवनभरिको कमाई लगाउनु पर्ने हुनसक्छ। त्यसैले पनि स्तन क्यान्सरका लागि बीमा किन्नेहरूको संख्या अचेल चीनमा बढ्दै गएको छ। चिनियाँ महिलाहरूले १५० देखि २ लाख आरएमबी वार्षिक किस्तामा बीमा किन्न सक्छन्। प्रतिष्पर्धाको होडमा फिल्मी स्टारहरू सबैभन्दा अगाडि छन्। कतिपय साधारण चिनियाँको जीवन बीमा नै त्यति पुग्नसक्दैन, जति केही स्टारहरूको स्तनको मात्रै छ।
चीनमा स्तन बीमाका लागि कम्पनीहरूले क्यान्सरका तह तह विभाजन गरेर परियोजना ल्याएका छन्। उच्च खतरा प्रिमियम, मध्यम खतरा प्रिमियम् र सामान्य प्रिमियम गरेर दीर्घकालीन बीमा योजना लिएका छन्। त्यति मात्रै नभएर स्तनका विभिन्न रोगहरूको पनि बीमा गरिएको छ। चीनले ९९ प्रतिशत जनतालाई स्वास्थ्य बीमामा समेटेको बताएको छ। स्वास्थ्य सेवा र स्वस्थ जीवनलाई प्रभावकारी बनाउनका लागि अनेकन गतिविधि तथा अभियानहरू पनि चलाइएको हुन्छ। अझ रोचक कुरा त मानिसहरू आफ्ना छुट्टाछुट्टै अंगका लागि फरक फरक बीमा गर्ने भएका छन्।
नेपाल सरकारले गत वर्षदेखि तीन वर्षभित्रमा सबै नेपालीको स्वास्थ्य बिमा गर्ने लक्ष्यसहित राष्ट्रिय स्वास्थ्य बीमा योजना ल्याएको छ। नेपाललाई सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रको सूचीबाट मध्यम आयस्तर भएका विकासशील मुलुकको सूचीमा पुर्याउने यो एउटा आधारशीला पनि हो। स्वास्थ्यबीमाका बारेमा चेतना फैलाउनका लागि नेपालले पनि विश्वका अन्य मुलुकको अनुभवलाई पच्छ्याउन सक्छ।
भनिन्छ, स्वास्थ्य नै धन हो। तर व्यक्तिगत रूपमा जो जतिसुकै सचेत भएपनि अरूको लापर्वाहीले समेत कोही कसैको जीवनमा कतिखेर बज्रपात पर्छ भन्न सकिन्न। त्यस्तै बेला संकट नपरोस् भनेर स्वास्थ्य बीमा गरिन्छ। कुनै देशका नागरिक अंगअंगका लागि बीमा गर्ने अवस्थामा पुगिसक्दा कुनै देशका नागरिक सामान्य बीमा गर्नै नसक्ने हुनु दुःखद् कुरा हो। नेपालले आम नेपालीको स्वास्थ्यजस्तो अमूल्य धन सुरक्षित गराइराख्न स्वास्थ्य बीमालाई जोडतोडका साथ अघि बढाउनु जरूरी छ।(नेपाल खबर)

