साउदी स्थित नेपाली राजदूतावासले अकमाको म्याद सकिएका, नवीकरण नगरिएका नेपालीलाई दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । दूतावासले ५ महिना भन्दा लामो समय सम्म अकमा नबनाएका नेपालीलाई सम्पर्क गर्न अनुरोध गरेको हो ।
विभिन्न कारणले गैरकानूनी हैसियतमा पुगेका नेपालीको संख्या दैनिक बढ्दै गएको दूतावासले जानकारी गराएको छ । साथै भगौडा भएका तर कुनै केस नलागेका नेपाली पनि त्यतिकै मात्रमा रहेको बताइएको छ । उक्त अवस्थामा रहेका नेपालीले राजदूतावासको टेलिफोन नम्वरमा प्राथमिकतासाथ आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, पुरानो इकामा नम्वर, बोर्डर नम्वर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम जस्ता विवरणहरु टिपाउन दूतावासको अनुरोध छ ।
महिला, अशक्त विरामी भई नियमित औषधी सेवन गरिरहेका, दुर्घटनामा परी घाइते भएको अवस्थामा रहेकाहरुले समेत प्राथमिकताका साथ आफ्नो विवरण राजदूतावासमा टिपाउन सक्ने छन् । समस्या टिपाउदा टेलिफोन वा ह्वाट्स्एप वा इमेल कुनै एक माध्यमबाट मात्र टिपाउन सकिने दूतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
अस्ति (सोमबार) सम्म साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार ६ सय ५६ पुगेको छ । हिजो थप १६ सय ४५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४ हजार ४ सय ७६ जना निको भएका छन् । हिजो ८ जना सहित जम्मा १ सय ९१ जना संक्रमितको मृत्यु भएको छ । आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकोले सावधानीका लागि साउदी सरकारले अनुरोध गरेको छ । नेपाली नागरिकहरुमा संक्रमण भएको हकमा जानकारी दिन साउदी सरकारलाई अनुरोध गरिएकोमा सरकारले क्षेत्रगत हिसाबले जानकारी उपलव्ध गराउने भएको दूतावासले बताएको छ । (गोरखापत्रबाट)
साउदी स्थित नेपाली राजदूतावासद्वारा जारी सुचना
साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।
१. कोरोना संक्रमणको महामारीबाट सिर्जना भएको कठीन् परिस्थितिबाट समस्यामा पर्नुभएका नेपालीहरूले निरन्तररुपमा राजदूतावासबाट उपलव्ध गराइएका तल उल्लेख माध्यमहरुबाट आफ्ना समस्या टिपाउनुहुन अनुरोध छ । यसरी समस्या टिपाउँदा आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, पुरानो इकामा नम्वर, बोर्डर नम्वर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम जस्ता विवरणहरु उल्लेख गर्नुहुन पुनः अनुरोध छ ।
२. समस्या टिपाउँदा टेलिफोन वा ह्वाट्स्एप वा इमेल कुनै एक माध्यमबाट मात्र टिपाउनुहुन अनुरोध छ ।
३. साउदी सरकारले आप्रवासी कामदारहरुका लागि खुला गरेको घर फिर्ति प्रकृया (Return Initiative) को AWDAH प्रणालीमा नेपाल समेत समावेश गरेको छ । यस अघि ठूलो संख्यामा कामदार पठाउने र अन्य केही मुलुकहरू समावेश थिए । यसमा re-entry र final exit भीसा भएकाले स्वयं वा कम्पनी मार्फत आवेदन गर्न सक्ने छन् ।
४. आज मिति २०७७।०१।२३ (मे ५, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३०,२५१ पुगेको छ । आज थप १,५९५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ५,४३१ जना निको भएका छन् । आज ९ जना सहित आजसम्ममा जम्मा २०० जना संक्रमितको मृत्यु भएको छ । आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकोले व्यापक सावधानीका लागि साउदी सरकारले अनुरोध गरेको छ ।
५. साउदी अरबमा क्रियाशील गैर आवासीय नेपाली संघ, नेपाली संघसंस्था, अनलाइन मिडियाका प्रतिनिधिहरुको आफ्नो अद्यावधिक इमेल ठेगाना यस राजदूतावासलाई आवश्यक परेकोले तल उल्लेख इमेलमा शीघ्र उपलव्ध गराइदिनुहुन अनुरोध छ । पठाइसक्नुभएकाहरुलाई धन्यवाद । नेपाली राजदूतावास रियाद ।
-सम्पर्कः (०११४६१११०८ कार्यालय समयमा, ०५५९३८९६००(WhatsApp समेत), ०५०००३१७०५, ०५०००३४७८६

