नेपालको भू-भागमाथि निरन्तर अतिक्रमण गर्दै आएको भारतले लिम्पियाधुरामा मिचेको नेपालको सीमालाई थप औपचारिकता दिन पुनः अर्को षडयन्त्र गरेको छ । नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरामाथि बर्षौदेखि कब्जा जमाउदै आएको भारतले हिन्दी र संस्कृत भाषामा प्रकाशन गरेको आफ्नो पछिल्लो नक्सामा पनि ती क्षेत्रहरुलाई आफ्नैमा समेटेको छ ।
शुक्रबार जारी गरेको नक्सामा भारतले कालापानी,लिपुलेक र लिम्पियाधुराको भूभाग प्रष्टसंग भारतकै भएको दावी गरेको छ ।
भारतले जारी गरेको नक्सालाई लिएर नेपाल भित्र चर्को विरोध भयो । सरकारी स्तरबाट नै विरोध पनि जनाइयो तर नेपालको विरोधलाई भारतले नसुन्ने प्रष्ट पारेको छ पछिल्लो पटक जारी गरेको नक्सामार्फत ।
शुक्रबार भारतको सर्वे विभागले जारी गरेको हिन्दी भाषाको नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको भूमिमै पर्ने गरी प्रष्टसंग देखाइएको छ ।
संस्कृत भाषामा जारी गरिएको भारतको अर्को नक्सामा पनि कालापानी, लिम्पियाधुरा, लिपुलेक उसैको नक्साभित्र समेटिएको छ ।
गत कात्तिक १४ गते संविधानको एउटा व्यवस्था परिवर्तन गरेर जम्मू–कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारतको सर्वेक्षण विभागले जारी गरेको नक्साले नेपाल–भारतबीच रहेको सीमा विवादलाई फेरि सतहमा ल्याएको थियो ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाल, भारत र चीनको त्रिदेशीय विन्दूमा अवस्थित कालापानी क्षेत्रलाई भारतीय भूभागको रुपमा समावेश गरियो ।
लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूमि समेटिएको नक्सालाई मानचित्र माथिको आक्रमण (क्यास्टोग्राफिक एग्रेसन) भनिएको छ । त्यस लगतै नेपालले विज्ञप्ती निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने जवाफ दियो ।
कालापानी सहितको भूभाग सुगौली सन्धिपछि आफ्नै भएको दाबी ग-यो । अझ काली नदीलाई समेत उल्लेख गरेपछि काली नदी नै सिमाना भएको नेपालले बतायो । त्यसको केहीदिनपछि भारतले काली नदी नै हटाएर उही नक्सा जारी ग-यो ।

आफ्नो भूमि फिर्ता गर्न देश भित्र दबाब बढेपछि सरकारले भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई भारतीय अधिकारीहरु भेट्न पठाएको थियो ।
राजदूत आचार्यले कात्तिक २३ गते तत्कालीन भारतीय विदेश सचिव विजय गोखलेसँग भेटवार्ता गरेर नेपालको असन्तुष्टि प्रष्टसंग राख्नु भएको थियो ।
त्यसलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २४ सर्वदलीय बैठक बोलाएर आफ्नो भूभाग फिर्ता लिन एकजुट भएको सन्देश दिनु भएको थियो । त्यसपछि नेपालले एउटा ‘नोट’ पठाएर वार्ताका लागि भारतीय पक्षसँग आग्रह ग-यो ।

वार्ताका लागि भारतले सकारात्मक भनेपनि अहिलेसम्म औपचारिक वार्ता हुनसकेको छैन । अहिले न त भारतले वास्ता गरेको छ न त नेपालले पुनः पहलको प्रयास गरेको छ ।
बरु सत्तारुढ नेकपाभित्र विवाद बढेको छ । यसैबीचमा भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नै भूमि भएको भन्दै पटक–पटक नक्सा सार्वजनिक गर्दै आएको छ ।
अहिले सीमा मिचिएको विषयमा कसैले पनि प्रश्न उठाउनै छाडेका छन् ।
-न्युजट्वान्टी फोर नेपालबाट

