विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)बाट विश्व नै त्रसित छ । यूरोपका विकिसित भनिएका कतिपय देशहरु कोरोना भाइरसबाट आक्रान्त बनेका छन् । यो रिपोर्ट तयार पार्दासम्म विश्वका ४७ देशका ८२ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।
कोरोना भाइरसककै कारण चीनमा मात्र दुई हजार ७ सय ४४ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै चीन बाहेक इरानमा १९ जना, इटाली र दक्षिण कोरियामा १२/१२ जना, जापानमा ७ जना, हङकङ र फ्रान्समा २/२ जना र ताइवान र फिलिपिन्समा १/१ जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोना भाइरस विश्वमा तीव्र रुपमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । गत मंगलबार चीनमा ४११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, भने चीनबाहिरका अन्य देशहरुमा ४२७ जना संक्रमित भएका छन् ।
यस भाइरसबाट विशेष सुविधा भएका एम्बुलेन्स, अस्पताल र दक्ष चिकित्सक भएका देशहरुमा पनि मानिसको ज्यान जान थालेपछि विश्वमा यसको त्रास बढ्दो छ ।
नेपालमा जोखिम र पूर्व तयारी कस्तो छ ?
कोरोना भाइरस (कोभिड १९) चीनको वुहानमा फैलिएसँगै स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, इमर्जेन्सी हेल्थ अपरेशन सेन्टरले कोरोना भाइरस हुन नदिन पूर्व तयारी गर्ने र जनचेतना फैलाउने काम गरिरहेको छ ।
गत डिसेम्बर ३१ देखि चीनमा कोरोना भाइरस संक्रमण फैलिएको एक सातापछि स्वास्थ्य मन्त्रालयले विमानस्थलमा रहेको हेल्थ डेस्कलाई शसक्त बनाएको बताएपनि अन्तर्राष्ट्रिय विमानस्थलबाट विना चेकिङ मानिसहरु बाहिर आइरहेका छन् ।
अधिकारीहरुका अनुसार थर्मल स्क्यानर मेसिन जडान गरि सबै हवाई यात्रुको फेस अटोमेटिक रूपमा डिटेक्ट गरी ज्वरो परीक्षण गरिन्छ ।
परीक्षण गर्दा ज्वरो आएका बिरामी र बिशेषगरी चीनको वुहानबाट आएकाको ज्वरो आएका बिरामीलाई टेकुको शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा राख्ने प्रबन्ध मिलाइएको छ ।
हालसम्म १४ जना शंकास्पद बिरामी शुक्रराज अस्पतालको आइसोलेसनमा बसेर कोरोना भाइरसको संक्रमण नदेखिएपछि घर फर्किइसकेका छन् ।
कोरोना संक्रमणको शंका लागेका बिरामी राख्न हाल वीर, पाटन, शुक्रराज अस्पताललगाएत देशभरका ३६ वटा अस्पतालमा १ सय ४७ वटा आइसोलेसन बेड तयार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तर, संक्रमण भित्रिएमा यो तयारी पर्याप्त नभएको बिज्ञहरुले बताएका छन् । विमानस्थलमा कोरोना संक्रमण रोक्न गरिएको तयारी झिनो भएको विमानस्थल हुँदै यात्रा गर्नेहरु बताउछन् । नेपालमा हालसम्म चीनबाट आएका मध्ये एक जनामा कोरोना भाइरस पुष्टी भएको छ ।
साउदीमा अलपत्र परेका छोराको उद्दार गर्न बुबा शम्भू मण्डलको आग्रह– सुनसरीका शम्भू मण्डल पछिल्लो तीन महिनादेखि रोजगारीका लागि साउदी गएका आफ्नो छोराको उद्दारका लागि बैदेशिक रोजगार विभाग र श्रम मन्त्रालय धाइरहेका छन् ।
रोजगारीका लागि साउदी पुगेका उनका छोरा सञ्जय कुमार मण्डलले विगत तीन महिनादेखि राम्ररी खान र बस्न पाइरहेका छैनन् । सञ्जयले कार्यक्रममा लाइभ आएर आफूले खान र बस्न समेत नपाएको गुनासो गरेका थिए ।
कार्यक्रममा छोराको गुनासो सुनेपछि उनका बुवा शम्भू पनि हाम्रो कार्यालय आएका छन् । सरकारले फ्री भिषा फ्री टिकट भनेको देशमा सञ्जय मण्डलले डेढ लाख रुपैयाँ तिरेर साउदी पुगेका हुन् ।
सञ्जय आफैले जम्मा गरेको ५० हजार रुपैयाँ र ९ कठ्ठा जमीन धितो राखेर १ लाख रुपैयाँ ऋण लिई डेढ लाख रुपैयाँ जिया ईन्टरनेश्नल सर्भिस प्रालिका सञ्चालक शाहवीर मियाँलाई बुझाएका थिए ।
मेनपावर सञ्चालक शाहवीर मियाँले सञ्जयलाई सुपर मार्केटमा क्लिनिङमा भनेर पठाएको थियो । तर, त्यहाँ पुगेपछि लोड–अनलोडको काम दिएपछि उनले काम गर्ने सकेनन् । ड्युटी आवर ८ घण्टा भनेको ठाउँमा १३/१४ घण्टा काम गराएपछि उनी थला नै परे ।
अहिले सञ्जय साउदीमा रोई कराई गरिरहेका छन्, भने उनका बुवा छोराको उद्दारका लागि काठमाडौंमा भौतारिरहेका छन् । पटक–पटक बैदेशिक रोजगार पुगेका बुबा शम्भू मण्डललाई मेनपावर व्यवसायीलाई बोलाइएको पत्र देखाइन्थ्यो तर, कहिल्यै बोलाइदैन थियो ।
बैदेशिक रोजगार विभाग धाउदा केहि सीप नचलेपछि बुबा शम्भू मण्डल १७ पटक श्रममन्त्री रामेश्वर राय यादवकोमा पनि पुगिसकेका छन् ।
त्यस्तै, सञ्जय मण्डलको परिवार पटक–पटक मेनपावरमा पुगेर सञ्चाकसँग रोई कराई गरे । तर, मेनपावर सञ्चालकले उद्दार गर्न उल्टो १ लाख ४० हजार चाहिने बताएको छ ।

