शिवतत्व : शिवतत्व भनेको समस्त प्राणीहरुको बिश्रामस्थल हो। मुलतः प्रकृति र पुरुष शिव र बिष्णु स्वरुपका हुन्। यी दुई स्वरुपमा एकैतत्व भएपनि शिवमा सत्वयोग मिसिदा सात्विक भई विष्णु हुन् पुग्दछन भने उही शिवमा तमयोग मिसिदा तामस भई रुद्र कहलिञ्छन। त्यसकारण यहाँ सत्व नियन्ता विष्णु र तम नियन्ता रुद्र हुन् भन्नेकुरो प्रत्येक सनातनीहरुले बुझ्नै पर्दछ। यसरी हेर्दा तमनै रुद्र हुन् र तिनै काल पनि हुन्। यसकारण महामृत्युन्जय महाकालेश्वर भगवान रुद्र हुन् पुगेका हुन्।

अर्कोतर्फ तम प्रधान प्रलयावस्थाबाटै यस पृथ्वीका समस्त अवयवहरुको शृष्टि भएको मानिएको छ। त्यस्तो किनभने ” तम ” अर्थात अन्धकार अति उच्च अवस्था हो। शृष्टिकालमा जीवजन्तु ब्याकुल हुदा तिनलाई दीर्ध सुसुप्ति दिन भगवानले प्रलयावस्था ल्याए। तम प्रधानावस्था भएको हुदा त्यसैबाट उत्पादनावस्था र पालनावस्था व्यक्त हुन् पुग्यो र सबै चिज प्रलयावस्थामा रहन पुग्यो। त्यै उत्पादन अवस्थाको निर्णायक ब्रह्मा कहलिए ,पालनावस्थाको निर्णायक विष्णु हुनपुगे , संहारावस्था र कारणावस्थाको निर्णायक शिव हुन् पुगेकाहुन। यस संसारको शृष्टिको सुरुवाती कालमा र अन्तमा कारणावस्था रहन जाने हुदा प्रथमावस्थामा पनि शिव र अन्तमा पनि शिव तत्वनै रहन पुग्दछ। तत्व योगीहरूले त्यसमै आत्मभाव दर्शाउने भएकोले शिवनै सवै बिद्द्या र भूतका ईश्वर मानिन पुगे , उनीनै महेश्वर हुन् पुगे र हुँदा हुँदा सबै प्राणीको मनमा उनीनै विराजमान हुन् पुगे। यसै कारणले हाम्रो शरीरको एकादश प्राणनै रुद्र स्वरुप मानियो र त्यै प्राणले शरीर त्याग्दा मान्छे रुन थाले , त्यसैकारण उनलाई रुद्र भनियो। हाम्रो शरीरको पाँच कर्मेंद्रिय , पाँच ज्ञानेन्द्रीय र एउटा मननै रुद्रको रुपमा परिभाषित हुन् पुग्यो। यहि नै आध्यात्मिक रुद्र कहलियो। आधिदैविक रुद्र यी भन्दा पृथक छन। जसरी बिष्णु अधिश्ठाता हुन् त्यसरीनै रुद्र अहंकारका अधिष्ठाता हुन् पुगेका हुन्।

शिवको आत्मा विष्णु र विष्णुको आत्मा शिव हुन्। तम कालो हुन्छ र सत्व सेतो हुन्छ । तिनको ध्यान जनित स्वरुप परिवर्तन हुदा सत्वगुणी विष्णु काला र तमोगुणी शिव सेता हुन् पुगे। त्यै राधा रुपबाट शिवरुप उत्पत्ति भयो। कृष्ण रुपबाट विष्णु उत्पत्ति भए। काली रुपबाट विष्णु र शंकर रुपबाट शिव उत्पत्ति हुन् पुगे। कालकुट विष र शेषनाग घाँटीमा बेर्न पुग्दा शिवको महामृत्युन्जय स्वरुप स्पष्ट हुन् पुगेको हो। जटामा गंगालाई धारण गरेकोले उनले विश्व मुक्त गर्ने स्वरुप आफुमा अन्तर्निहित भएको बताए। अग्निमय तेश्रो नेत्र नजिक चन्द्रकला धारण गरेर आफ्नो सम्हारकत्व र पोशकत्व स्वरुप विरुद्ध धर्मश्रयात्व देखाए। यस लोककोलागि लोकाधिपति भएर पनि खरानी र बाघको छालालाई आफ्नो गहना र बस्त्र बनाएर यस संसारमा वैराग्यनै श्रेष्ठ हो भन्ने तुल्याए। शिवको वाहन नन्दी ,उमाको वाहन सिंह ,गणेशको वाहन मुषा ,कर्तिकेयको वाहन मयुर रहेका छन्। त्रिशुल र भैरवादीगण शिवको सेवा गर्न लालायित देखिन्छन। सुर ,नर ,मुनि ,नाग ,गन्धर्व ,किन्नर ,अशुर ,दैत्य ,भुत ,पिशाच ,वेताल ,डाकिनी ,शाकिनी ,वृश्चिक ,सर्प , सिंह सबैले उनलाई पूजा गर्दछन। आँक , धतुरो वेलपत्र ,जल र पन्चामृतले तिनको पूजा गरीन थालियो।
पारिवारीक स्वरुप- शिवजीको परिवार अझ विचित्रको छ। भगवती अन्नपूर्णाको भण्डार सधै भरिएको छ तर शिव सधै भिखारी स्वरुपमै वर्णित छन्। कार्तिकेय सधै युद्धकोलागि उद्दत देखिंदा गणेश सधै शान्ति प्रिय रहन पुगेका छन्। कार्तिकेयको वाहन मयुर ,गणेशको मुषा ,पार्वतीको सिंह र शिवको नन्दी त्यसमाथि सर्पहरुको आभूषण सहित उनको विचित्रको स्वरुप छ। सबै एक अर्काको सत्रु भएतापनि ग्रिह्पति शिवजीको छत्र छायाँमा सबै सुख र शान्तिले रहेको देखिन्छ। उनको घरमा विचित्रको स्वभाव र रुचिको सम्मिश्रण रहन पुगेको छ। घरको शान्तिकोलागि आदर्शको शिक्षा पनि सनातनी हिन्दु समाजले शिवबाटै पाएको छ। शिव र अन्नपूर्णा विभक्त देखिए पनि तिनले यस संसारको सबै ऐश्वर्य विष्णु र लक्ष्मीलाई अर्पण गरेकाछन। त्यसकारण तिनै लक्ष्मी र विष्णुले यस संसारको सवै काम संरक्षण गर्न अवतिर्ण हुनेछन् भन्ने बिश्वाश जन जनमा रहन पुगेको छ।
शिव परिवार परस्पर विरोधी तत्वहरुको सामंजस्य स्वरुप हो। उनको आवरण पनि विचित्रको छ। टाउकोमा एकातिर चन्द्रमा छ, भने दोस्रो तिर महा विषधारी सर्प पनि उनको घाँटिमा माला छ। उनि अर्धनारीश्वर हुन्। तर कामजित छन्। उनको गृहस्थी जीवन भएपनि उनी श्मशानवासी रहेका छन। सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र हुन्। उनको परिवारमा भूत-प्रेत , नंदी, सिंह, सर्प, मयूर ,मुषा ईत्यादि सबैको सामान्जस्यता छ। उनि स्वयं द्वन्द रहित सह-अस्तित्वका महान विचारक हुन्। वेदमा इनि रुद्र स्वरुपमा छन्। शिवले छोडेमा यो संसारमा शव मात्र रहन्छ। हाम्रो शरीरको शिरमा ब्रह्माको बास छ। विष्णु हृदय अथवा शरिरको मध्य भागमा रहेका छन् र शिवको नाभी स्थान भन्दा मुन्तिरको भाग हो। त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिएको हो। इनी सृष्टिको उत्पति , स्थिति एवं संहारको अधिपति हुन्। संहारका देवता हुन्। अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यिनको महाकाल स्वरुपनै ज्योतिष शास्त्रको आधार हो। उनले लय र प्रलय दुवैलाई आफ्नो अधीनमा राखेका हुदा शिव देवताका पनि देवता अर्थात महादेव हुन् पुगेका हुन्। इनी ईश्वरका पनि ईश्वर भएकोले महेश्वर भनिएका हुन्। हिन्दु धर्ममा पर्ने शैव, शाक्त, वैष्णव, जैन, सौर, गाणपत, नाथ, सिख , बौद्ध आदि प्रमुख सम्प्रदायका भक्तजनहरुकालागि पशुपति मन्दिर समान आस्था एवं श्रद्धाको केन्द्र हो।
उपासनाको आधार : शिवलिंग उपाशनाको रहस्यको आधार क्षेत्र भग हो , बीज लिङ्ग हो। शिव सुक्ष्म अतिन्द्रिय लिङ्ग हो। शक्ति शुक्ष्म अतिन्द्रिय योनि हो। स्थूल लिङ्ग र योनि त् शुक्ष्म लिङ्ग र योनिको अभिव्यक्तिको सम्भावित रुप मध्ये एकरुप मात्र हो। त्यसको प्रतिविम्ब हो।
पशुपतिको उत्पत्ति: सिन्धु तथा वेविलोन सभ्यताको अनुदाननै लिङ्गपूजा हो भन्ने कुरा स्वीकारिएको छ। तर पौराणिक कथानुशार महाभारतको युद्ध पछि पाण्डवहरूले भगवान कृष्ण र भिष्म पितामह सँग युद्धमा आफन्तहरू मृत्यु भएकाले गोत्रहत्याको पापबाट मुक्त हुनकोलागि के उपाय गर्नु पर्ला ? भनेर सोधेका थिए। भगवान शिवको दर्शन गरेपछी गोत्रहत्याको पापबाट मुक्त हुन्छ भन्ने कुरा थाहा पाएपछी पाण्डवहरू शिवजीको दर्शन गर्ने हिमालयमा गए। पाण्डवहरू आएको देखेर भगवान शिव भैंसीको रुप लगेर भैंसीको बथानमा लुकेका थिए। पाण्डवहरूले भैंसीरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैंसीरुपी शिव जमिन भित्र धसिएका थिए। यसरी शिवजी जमिनमा धासिएपछी भैंसीरुपी शिवको पुछर पाण्डवले स्पर्श गर्दा केदारनाथमा केदारनाथ भगवान प्रकट भए भने भैंसीरुपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवान प्रकट भएका थिए। यसरी पाण्डवहरूले पशुरुपी शिवको पुछर स्पर्श गरेर गोत्रहत्यको पापबाट मुक्त भएका थिए। पशुको रुप लिएर प्रकट भएको हुनाले भगवान शिवलाई पशुपतिनाथ भनिन थालियो र भगवान शिव जमिनमा भासिएर नेपालमा टाउको निकालेकाले केदारनाथमा पुछर र नेपालमा शिर मिलाएर एक ज्योतिर्लिंग मानिन थालियो।
शैव सम्प्रदाय : हिन्दू धर्म भित्र ६ बटा संप्रदायहरु छन्। ती हुन् – शैव, वैष्णव, शाक्त, नाथ, वैदिक (श्मार्त ) र चार्वाक । यस मध्ये चार्वाक संप्रदाय लुप्त हुन् पुगेको छ अरु बाँकी धेर थोर चलन चल्तीमा छन्। यस मध्ये सबै भन्दा प्राचिन संप्रदाय शैव संप्रदाय मानिन्छ। शैव सम्प्रदायको मूल रुप शुक्ल यजुर्वेदमा रुद्रको आराधनाको रुपमा छ। ११ रुद्रहरु मध्येका प्रमुख रुद्रहरुनै पछिल्लाकालमा आएर शिव, शंकर, भोलेनाथ र महादेव भनिएका हुन्। शिव उत्तर बैदिककालिन देवता हुन्। ईनको ऋग्वेदकालिन स्वरूप रुद्र हो। रुद्र रुप शिवको संहार गर्ने स्वरूप हो। “रुतं हरिति पापात निबारयति स रुद्र ” अर्थात रोग हरण गर्ने ,पाप नष्ट गर्ने नै रुद्र स्वरुप हो। शिवबाट रौद्र रुप हटाइदिने हो भने ईनि शिव ,शंकर ,शम्भु भनेर पुकारिञ्छन। शिवको प्रिय छाला हो। शिवजीको शिव ,शंकर ,शम्भु भनेर पुकारिने स्वरूप छाला बेरिएको अवस्थामा हुन्छ।
जन्म-मरणको चक्रबाट मुक्त रहन हिन्दु धर्मीहरु चतुर्दशीको ब्रत बस्ने गर्दछन। इनलाई तेस्रो आँखा भएकाले (त्र्यम्बकम्),निलो घाँटी भएका (नीलकण्ठ) ,जटा परेको कपाल (जटाधारी) ,शिरमा गंगा भएका (गंगाधर),शरीरमा खरानी धस्ने (भष्मांगर), बाघको छाला ओढ्ने (बाघम्बर), शरीरमा सर्पहरूको माला बेर्ने (नगेन्द्र हार), डमरू तथा त्रिशुल बोक्ने ,साँढे (नन्दी) चढ्ने, कैलासमा बस्ने ,तृनेत्र धारी पनि भनिन्छ।
शिव स्वरुप:- शिव पूर्वमा रहंदा ” भव ” दक्षिण दिशामा रहंदा “शर्व ” पश्चिममा “पशुपति ” उत्तरमा “उग्र ” र ईशान रुप भई अन्तरिक्षमा रहेका हुन्छन। ईनि सँधै कल्याणकारी रहुन भन्ने अभिप्रायले “सदा शिव ” भनि पुकारिन्छ। भव ,पशुपति,महादेव र ईशान शिवको कल्याणकारी रुप हो भने रुद्र शर्व ,उग्र ,अशनि, शिवको विध्वंशकारी श्वरुप हो। यीरुपवाट शिवजीलाइ आह्वान गर्दा अरुदेवताहरु त्रशित भएर आउन्नन भन्ने लोक मान्यता छ। शिव सम्प्रदायले शिवका ५ मुख सद्दोजात ,वामदेव ,अघोर ,तत्पुरुष ,ईशानद्वारा आफ्ना भक्तहरुलाई आशिष दिन्छन भन्नेकुरा लिङ्ग पुराणमा वर्णित छ। शिवरात्रिको पूजा रात्रिको चारै प्रहर गरिनु पर्दछ। धतुरोको फूल, प्रसादमा भाङ, चरस शिवजीका प्रिय बस्तु मानिन्छन।दूध, दही, घिउ, सख्खर, मह जस्ता पाँच चिज जसलाई पञ्चामृत भनिन्छ, को प्रयोग हुन्छ।
शिवरात्रि पर्व: –शिवलिङ्गको प्रादुर्भाव चतुर्दशी तिथिको दिन भएको थियो। सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए। त्यसकारण यो पर्व कालरात्री , मोहरात्री , सुखरात्री झैँ शिवरात्री भनि मनाउनु पर्ने कारण के हो भने यसै दिन प्रदोषको समयमा भगवान शिवले ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्नेछन भन्ने मान्यता शाक्तहरुमा रहेको छ।
फाल्गुन कृष्ण चतुर्दशीको दिन शिवरात्री पर्व मनाइन्छ। यसलाई प्रतिवर्ष मनाउदा नित्य र कुनै काम बिशेषले मनाउदा काम्य हुन् जान्छ। त्रयोदशी तिथिको रात्रीको आरम्भकालमा वा मध्यरात्रीकालमा चतुर्दशी तिथि मिसियो भने त्यसलाई शिवरात्री भनिन्छ। शिवरात्री तीनवटा तिथिले (त्रिस्प्रिहा) (१३,१४,३० ) छोयो भने उत्तम मानिन्छ। चतुर्दशी तिथिका अधिपति शिवजी हुन्। प्रत्येक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई मास शिवरात्री भनिन्छ। तर फाल्गुन कृष्ण चतुर्दशीको अर्धरात्रीकालमा शिव लिंगको प्रादुर्भाव भएको हुनाले यसलाई महाशिवरात्री भनिएको हो। इनकी शक्ति (पत्नी ?) दुर्गा हुन्।इनको बासस्थान कैलाश पर्वत हो। इनका छोराहरु कार्तिकेय र गणेश मानिएका छन्।इनकि एक मात्र छोरीको नाम ” वनमाला ” हो जसलाई ” ओखा ” पनि भनेर चिनिन्छ।
शिवको अवतार : शिव पुराणमा शिवको दश अवतारहरुको वर्णन गरिएको छ जो निम्नानुसार छ – १ . महाकाल, २ . तारा, ३ . भुवनेश, ४ . षोडश, ५ . भैरव, ६ . छिन्नमस्तक गिरिजा, ७ . धूम्रवान, ८ . बगलामुखी, ९ . मातंग र १० . कमल हो । यी दशैँ अवतारहरु तंत्रशास्त्र संग संबंधित छन्।
शिवजीको अन्य ११ अवतारहरुमा : १ . कपाली, २ . पिंगल, ३ . भीम, ४ . विरुपाक्ष, ५ . विलोहित, ६ . शास्ता, ७ . अजपाद, ८ . आपिर्बुध्य, ९ . शम्भू, १० .चण्ड तथा ११ . भव को उल्लेख गरेको भेटिन्छ।इ अवतारहरु बाहेक शिवजीको दुर्वासा, महेश, वृषभ, पिप्पलाद, वैश्यनाथ, द्विजेश्वर, हंसरूप, अवधूतेश्वर, भिक्षुवर्य, सुरेश्वर, ब्रह्मचारी, सुनटनतर्क, द्विज, अश्वत्थामा, किरात र नटेश्वर आदि अवतारहरुको उल्लेख पनि ‘लिङ्ग पुराण’ मा गरेको भेटिन्छ तर यी अवतारहरू अंशावतार मात्र हुन्। सबै भन्दा चर्चित शिवजीको अवतार हनुमान र भैरव अवतार हो।
शैव ग्रंथ : वेदको श्वेताश्वतरा उपनिषद , शिव पुराण , आगम ग्रंथ र तिरुमुराई मुख्य हुन्।
शैव तीर्थ :बाह्र ज्योतिर्लिंग समेत काशी / बनारस , केदारनाथ, सोमनाथ , रामेश्वरम , चिदम्बरम , अमरनाथ र कैलाश मानसरोवर मुख्य हुन्।
शैव संस्कार : १ . शैव संप्रदायका मान्छे एकेश्वरवादी हुन्छन। ती शिवलिंगको पूजा गर्दछन। २ . यस धर्मका संन्यासीहरु जटा पाल्द्छन। ३ . यिनका अनुयायीहरु कपाल खौरिञ्छन तर शिखा राख्दैनन्। ४ . शैवहरुले पूजा अनुष्ठान रात्री कालमा गर्दछन। ५ इनको आफ्नै तांत्रिक मंत्र हुन्छ। ६ . यी निर्वस्त्र पनी रहन्छन वा भिजेको लुगा पनि लाउछन , हातमा कमण्डलु , चिमटा राखेर धूनी मा रमाउ छन्। ७ . शैवहरु चंद्रमा मा आधारित व्रत उपवास गर्दछन। ८ . शैव संप्रदायमा समाधी दिने परम्परा छ। ९ . शैव मंदिरलाइ शिवालय भनिन्छ जहा शिवलिंग मात्र हुन्छ। १० . यिनले विभूति ( भष्म ) लाउछन।
शैव साधु-संतहरु :- शैव साधु हरुलाई नाथ, नागा, अघोरी, अवधूत, बाबा, ओघड़, योगी, सिद्ध आदि भनिन्छ। शैव संतहरुमा नागा साधु र दसनामी संप्रदायका साधुहरुको प्रभूता छ । संन्यासी संप्रदाय संग जोडिएका साधुहरुको यो संसार र गृहस्थ जीवन संग केही सरोकार रहन्न। गृहस्थ जीवन जती कठिन मानिन्छ त्यो भन्दा सयौं गुणा कठिन नागा जोगीहरुको जीवन मानिन्छ। शैव संतहरुमा गुरु मच्छेन्द्र नाथ, गुरु गोरखनाथ, सांईंनाथ , गजानन नाथ, कनीफनाथ, बाबा रामदेव, तेजाजी , चौरंगीनाथ, गोगादेव, शंकराचार्य, गोपीनाथ, चुणकरनाथ, भर्तृहरि, जालन्ध्रीपाव आदि हजारौ भक्तहरु प्रसिद्ध छन्।
शैव संप्रदायका उप संप्रदायहरु : शैवमा शाक्त, नाथ, दसनामी, नाग आदि उप संप्रदाय हुन्। महाभारतमा माहेश्वर (शैव) का ४ संप्रदाय वताइएको छ – शैव, पाशुपत, कालदमन र कपालिक।
कश्मीरी शैव संप्रदाय : काश्मीरलाइ शैव संप्रदायको गढ़ मानिन्छ। वसुगुप्तले ९औ शताब्दीको उतरार्धमा कश्मीरी शैव संप्रदायको गठन गरेका थिए। त्यस भन्दा पहिले त्यहाँ बौद्ध र नाथ संप्रदायको हजारौ मठहरु थियो।
वीरशैव संप्रदाय : वीरशैव एक त्यस्तो परंपरा हो जसमा भक्त शिव परंपरामा बाँधिएको हुन्छ। दक्षिण भारतमा यो परम्परा धेरै प्रचलित छ।यो वेदमा आधारित धर्म हो। भारतको कर्नाटक राज्यमा यसका उपाशक धेरै छन्। यस बाहेक भारतको दक्षिण राज्यहरु महाराष्ट्र, आंध्रप्रदेश, केरल र तमिलनाडु तथा अफगानिस्तान, पाकिस्तान, कश्मीर, पंजाब, हरियाणामा यो सम्प्रदाय छरिएको छ। यस संप्रदायका उपाशक एकेश्वरवादी हुन्छन।
कपालिक शैव : कापालिक संप्रदाय लाइ महाव्रत-संप्रदाय पनि भनिन्छ। यो तांत्रिकहरुको संप्रदाय हो। मान्छेको टाउको धारण गर्ने भएकोले इन्लाई कापालिक भनिएको हो। यो मत रावणका दाजु कुवेरले शुरु गरेका हुन्।
तमिल शैव : सम्पूर्ण तमिल क्षेत्र शैव पंथिहरुको बहुल क्षेत्र हो। शिवपुत्र कार्तिकेयले यो मत चलाएको मानिन्छ।
(यो लेखक अधिकारीको फेसबुकवाल बाट साभार गरिएको हो)

