यहि बिहिबार माघ १५ गते/जनवरी २८ तारिखका दिन पौष शुक्ल पूर्णिमा शुरु हुदैछ अर्थात् सनातनी नेपालीहरुको आस्थाकि प्रतिक श्रीस्वस्थानीमाताको व्रत प्रारम्भ हुदैछ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत कथालाई देश तथा बिदेशमा रहेका बिभिन्न धार्मिक संघसङ्गठनले पनि मनाउने गर्दछन । यहि क्रममा इजरायलमा पनि बिशेष कार्यक्रम हुँदैछ ।
हिन्दु जागरण नेपाल अभियान इजरायलको आयोजनामा यहि बिहिबार जनवरी २८ तारिखदेखि फेब्रुअरी २७ तारिखसम्म इजरायलमा श्रीस्वस्थानीमाताको व्रत बिशेष प्रवचन हुन लागेको हो । हरेक दिन इजरायली समय अनुसार राती ९ बजे देखि साढे १० बजेसम्म पण्डितद्वय भिमप्रसाद पौडेल र शिशिर खनालले कथा वाचन गर्ने छन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचनमा नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ ।
बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।
जुम अनलाइनमार्फत पण्डितद्वय पौडेल र खनालबाट वाचन हुने श्रीस्वस्थानीकथाको सबै भक्तजनले आध्यात्मिक लाभ लिन सक्ने छन । जसको पूर्णजानकारी तलको फोटोमा दिईएको छ ।
‘श्री स्वस्थानी व्रतकथा’ को विधि र महत्व (सुयोग ढकाल, हाम्रोपात्रोबाट )

शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रीशुल तरवार अनि कमलको फूल रहेका छन् । वैदिक सनातन संस्कारलाई धर्मसित जोडिनु भन्दा पनि सभ्यताक्रमसित जोडिनु जरुरी छ, सिन्धू नदिको तटमा भएको सभ्यता अनि शब्दकोषमा ‘स’ भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले ‘स’ को साटो ‘ह’ शब्द प्रयोग गरेर सिन्धुकोसाटो हिन्दु भएको प्रमाण अनि दस्तावेजहरु छन् । आउनुहोस् यसै हिन्दु संस्कारको स्वस्थानी व्रतकथाको थप कुरा उल्लेख गरौं । अष्ट मातृका अर्थात आठवटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।
यी अष्ट मातृकाको नेपाली जनजिवनमा अत्यन्त धेरै महत्व रहेको छ, जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठवटा गाँठो यिनै अष्ट मातृकाको प्रतिकका रुपमा लिईन्छ, आठ अङ्क शुभ अङ्ककारुपमा लिईने त हामीसबैलाई थाहै छ । वैदिक सनातन हिन्दु संस्कारमा धेरैजसो पुराणहरु एक पात्रले अर्का पात्रलाई सुत्रधारका रुपमा सुनाएका छन्, उदहारणकालागि श्रीमद्भागवत गीता कृष्ण र अर्जुनबिचको संवाद छ भने स्वस्थानी व्रतकथा शिवजीका जेष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनीबिचको संवाद हो ।
आराध्य देव भगवान शिवजीको महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रृंखलाहरु पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दु परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं अनि केश काटेर परिवारका सबै सदस्यहरु एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा हरेक दिन एक वा एक भन्दा बढि कथाका अध्यायहरू क्रमशः सुनाउने चलन छ ।
प्रसादकारुपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, पोलेको आलु, सुन्तलाका केस्राहरु आदि रहन्छन्, वालवालिकाको विशेष रुची भने प्रसाद केन्द्रित हुन्छ, हामीमध्य धेरैले सानो छँदा यो कथा सुनाँउदा र पढ्दाका अनुभवहरु लिएका छौं, कि कसो ? यदी स्वास्थानी कथाको अनुभव छैन भने यो महिना यहाँकोलागि फलदायी हुनसक्छ ।
पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।
महिला या पुरुष जो भए पनि समान रुपमा यस व्रतकथालार्इ श्रवण गरी महिनाभरि व्रत लिन सकिन्छ, यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्न सकिन्छ । आजबाट धेरै परिवारहरुमा माछामासुमा परहेज गरिन्छ, श्री स्वस्थानी माताको यो विशेष महिनामा सबैको कल्याण होस् । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट प्रारम्भ हुने यो कथाको स्तुती मन्त्र समापनमा ‘उपनयतु मंगलम’ मन्त्रका साथै समापन हुन्छ ।
काठमाडौ, साखुँस्थित शालीनदिमा ब्यापक घूँईचो लाग्ने गर्दछ । मध्य जाडो अनि पर्वतिय तटको चिसो खोलाको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारेर फर्किनेहरुको साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुन्छ ।
सतिदेवी दक्ष प्रजापतीकी छोरी हुन् तर दक्ष प्रजापतीले अन्य देवगणका अगाडी सतिदेवीकी पति आराध्यदेव भगवान शिवजीको अपमान गरेपछी, आवेगमा सतिदेवीले अग्नीकुण्डमा हामफालेर देहत्याग गर्दछिन् । जल्दै गरेको उनको शरीरलाई हातमा राखेर महादेवले भावविह्वल भएर संसार परिक्रमा गरेका छन्, यसरी परिक्रमागर्दा सतिदेवीका शरीरका अङ्गहरु क्रमैसँग धर्तीका विभिन्न स्थानमा झरेको स्कन्द पुराणले बताएको छ ।
सतिदेवीको शरीरको अन्तिम अंश झरेर गूहेश्वरी शक्तिपीठ भएको, त्यस्तै उन्को कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको, जम्मु कश्मिरको त्रिसन्देश्वर पीठमा शतिदेवीको घाँटी झरेको र यस्तै श्रीलङ्का अनि बङ्ग्लादेशमा धेरै शक्तिपीठहरु अझै रहेका छन् ।
पछी हिमालयपुत्री पार्वतीले शिवजी वर पाँउ भनेर श्री स्वस्थानी माताको व्रत बसेकाले शिवजीसँग विवाह भएका कुराहरु पनि उल्लेखित छन् । गोमा व्राह्मणीको वृद्ध व्राहमणसंगको विवाह प्रसङ्गलाई लिएर धेरैले स्वस्थानी व्रतकथालाई सामाजिक मुद्दामा जोडदै नारी समानताका तारहरु सहितको ब्याख्या गर्दछन्, तर एउटा मात्र कथाको धारलाई समातेर धर्म अनि सभ्यताको गलत अर्थ लाउनु उचित नहोला ।
गोमा व्राह्मणीको कथाले प्राचिन समयमा पनि वालविवाहका नराम्रा असरहरु प्रस्तुत गर्दे वालविवाहबारे जनचेतना फैलाएको छ । यौन अनि प्रजजन स्वास्थ्यका बारेमा पनि खुलेर उदाहरणसहित ब्याख्या गरेको यो व्रतकथाले गणेशको शिरभेदन, संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरुमार्फत धेरै ठाँउमा नारी पुरुषबिचको लैङ्गीक समातनाको वकालत पनि गरेको छ ।
स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्ने गर्दछ, व्रतालुको घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । किशोर किशोरीको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । हिउँदमा पूजा गरिएका खोलाका किनारहरुले वर्षामा सबैको रक्षा गरुन्, लैगिंक समानताका लहरहरु समाजमा साकाररुपमा फैलिउन्, माता स्वस्थानी लगायत अष्ट मातृका सबैको हामीप्रति असिम अनुकम्पा रहोस् । जय होस्, मङ्गल होस् !

