सिलिचोङ गाउँपालिका २ बालाका रोशनदीप राई आफूलाई शारीरिक अपांगता भएको भनेर चिनाउन चाहँदैनन् । उनको घुँडामुनिको भाग छैन । घुँडाले टेकेरै हिँड्छन् । रोशन २७ वर्षका भए । सपांगझैं रोशन सबै काम गर्छन् । काम गरेरै घर धानेका रोशन भन्छन्, ‘मेरा दुबै खुट्टा नभए पनि मलाई दु:ख लाग्दैन, बरु गर्व लाग्छ ।’
रोशन सदरमुकाम खाँदबारीमा रहेको रेडियो संखुवासभाका प्रमुख प्राविधिक हुन् । म फरक क्षमता भएको भए पनि घरपरिवार धानेको छु उनले भने, ‘अपांगको कोटाका लागि कहिल्यै मरिहत्ते गरिनँ ।’ सीप भएकाले म दैनिक व्यस्त रहन्छु, उनले भने, ‘सीप सिके कसैलाई गुहार्न नपर्दो रहेछ ।’ उनलाई रेडियो सञ्चालकले पनि उनको क्षमता देखेर खोजेर ल्याएका थिए ।
अन्य व्यक्तिमा जस्तै जोश र जाँगर छ मसँग, उनले भने, ‘कोटामा पर्न धेरैले लड्डी गर्छन्, मलाई खासै वास्ता लाग्दैन ।’ ६ वर्षअघि रोशनलाई डोकोमा बोकेर उनकी आमा मधुमायाले सदरमुकाम ल्याएकी थिइन् । त्यसबेला उनले गाउँको सगरमाथा माध्यमिक विद्यालय ताम्कुबाट एसएलसी पास गरेका थिए । उच्च मावि र स्नातक तह उनले खाँदबारीबाटै उत्र्तीण गरे । क्याम्पसले पनि उसका लागि मासिक शुल्क मिनाहा गरिदियो । रोशन घर नगएको ६ वर्ष भयो । सदरमुकाम बसेर उनलाई अध्ययन गर्न कहिल्यै पैसाको खाँचो परेन । सीप थियो काम गरिरहे, थोरै तलब भए पनि पढ्न पुग्थ्यो, उनले भने, ‘फेरि घर जान परे डोकोमा बोकाएर जानुपर्छ ।’

रोशन अहिले मासिक २० हजार कमाउँछन् । खाँदबारी आए, त्यसपछि रेडियोमा काम सिके, पहिले काम सिक्दा पैसा पाइनँ, उनले भने, ‘त्यसपछि रेडियो स्टेशनले बोलाउन थाल्यो ।’ प्राविधिक काम सिक्दासिक्दै उनले रेडियोमा कार्यक्रम चलाउन पनि सिके । मुख्य विषय अंग्रेजी लिएर पढेका रोशनलाई साहित्यक कार्यक्रम चलाउन खासै समस्या भएन । शब्दसँग खेल्ने कुरा हो, नेपाली साहित्य भएकाले पहिलोपटक रेकर्डिङ गरेर कार्यक्रम बज्यो ।त्यसपछि सहजै चलाउन थाले, उनले भने, ‘अहिले सबै प्रकारका कार्यक्रम चलाउन सक्छु ।’ प्राविधिक कामसँगै रोशन कार्यक्रम पनि चलाउँछन् । स्टेशनमा प्राविधिक नभएका बेला एक्कैले दुबै काम गर्छु, उनले भने, ‘मेरा रेडियोका फ्यान धेरै छन् ।’ स्टेशनमा भेट्न आउने धेरैले रोशन शारीरिक अपांग भएको त्यो बेला मात्र पत्तो पाउँछन् । आफू सक्षम भए काम गर्न छेकिँदैन, उनले भने, ‘कसैको भर पर्न पनि नपर्ने रहेछ ।’ आफूले खर्च गरेको रकम बचाएर खर्चका लागि गाउँमा आमालाई पठाउने गरेको उनले बताए । रोशन आधुनिक गीत पनि राम्ररी गाउँछन् । उनले २ वटा साहित्यिक संग्रह पनि प्रकाशन गरेका छन् । पहिलो निभेको दीप नामक गजल संग्रह र सम्बन्ध नामक गजल संग्रह बजारमा छन् ।
नाम जुरेको छैन छिट्टै गजल अर्को गजल संग्रह बजारमा ल्याउने उनको तयारी छ । साहित्यमा सानैदेखि मन भएकाले पहिलो कृति २०६८ र दोस्रो २०७१ मा बजारमा ल्याए । पहिलोमा प्रकाशन सहयोगी उनले पाएनन् । बजारमा ल्याएको संग्रह बेचेर प्रकाशन खर्च उठाएको उनले बताए । दोस्रो संग्रह प्रकाशन गर्दा उनलाई प्रकाशन गर्न हेमन कुलुङले सहयोग गरे । तेस्रो संग्रह प्रकाशनका लागि पनि उनले दाता भेटिसकेको बताए । सरकारी जागिरका लागि २ पटक आवेदन दिए, उनले भने, ‘हाम्रो कोटामा अरूको रजाइँ भएको प्रत्यक्ष देखेपछि आश मर्यो । उनले खरिदार र शिक्षक आयोगमा लोक सेवा भिडेका थिए । त्यो बेला विराटनगर जानु परेको थियो, उनले भने,‘निक्कै असहज भयो, खुट्टाका आउनुजानुमै समस्या भएको थियो ।’
अपांग कोटाको दुरुपयोग भएको प्रत्यक्ष देखेको छु, हाम्रो कोटामा अरूले नै जागिर खाए, पहँुचवालाको सबै हुने देखे । अपांग संघको सिफारिस बिना पनि कोटाको जागिरे खानेहरू यहीँ जिल्लामा छन्, उनले भने, ‘समाजमा अपांग भन्न हिचकिचाउने तर, सेवासुविधा लिनेहरू पनि धेरै देखेको छु, त्यसपछि लोकसेवामा भिड्न मन लाग्न छाड्यो ।’ जिल्लामा भएका केही गैरसकरकारी संस्थामा पनि आवेदन दिएको उनले बताए । तर त्यहाँबाट अपांगले के गर्न सक्छ र भन्ने कुरा अन्तर्वार्ताका क्रममा सोधियो, उनले भने, ‘पढेर केही गर्न सक्दैनौं भन्नेहरू धेरै भेटिए ।’ जागिरका लागि कसैले मौका नदिएपछि वाक्क लागेर प्राविधिक काम सिकेको उनले बताए ।
दिपेन्द्र शाक्य/कान्तिपुर

