दशैं आयो ! दशैं हिजो पनि आउथ्यो, आज पनि आयो र भोलि पनि आउनेछ । बर्षहरु बित्छन् तर, हर्षहरु मिसिएकी मिसिएनन् त्यो ठूलो कुरा हो । केही पूराना मानिसहरु दशैं उहिलेको जस्तो छैन, भन्छन् । तर दशैं, दशैं जस्तो किन छैन भन्छन् त मानिस ?
एकैछिन चिन्तन गरौ न हुन्न ! शहरको दशै भन्दा गाउँघरको दशैं रमाइलो भन्ने कुरा बढी नै सुनिन्छ । हिजोको दशैमा गाउँघरमा हावाले ल्याउने दशैंको बास्ना नै सुगन्धित । लाहुर गएकाहरु काँधमा टेपरेकर्डर बोक्दै घर फर्किन्थे ।
जागिर–पढाई गर्न शहर छिरेकाहरु पनि दशैंमा घर जान रमाउँथे । गरिबी त हिजो पनि थियो, आज पनि छ । तर सुख, दुःख चाडबाड आफ्नो हैसियत अनुसार सपरिवारसँगै बसेर मनाउँथे । लामो दुरीको बसमा ठूलो आवाजमा बजेको दोहोरी आजको जस्तो फोहोरी थिएन । बाल्यकालका साथीभाई जो–जहाँ पुगेपनि दशं–दशैं मात्र घर आउँथे ।
कुनै समय थियो, जतिबेला सात समुद्र पारी पुगेकाहरु विमानस्थलमा अवतरण गर्दा विमानस्थलमा खुसी र हाँसो मात्रै गुन्जिन्थ्यो । अझै पाका पूराना बा–आमाको स्मरणको दशैं त झन् कति रमाइलो थियो होला ! आजको दशै फरक छ ।
देशका कयौं गाँउहरुमा बुढा–बुढी बा–आमा मात्रै छन् । तिनको हातले टिको लगाइदिनुपर्ने निधारहरु मध्येका अधिकांश निधारहरु पसिनाको धारा मात्रै बगाउन विवश छन् । आशिर्वाद थाप्ने थाप्लोमा ऋनको बोझ र परिवारको जिम्मेवारी छ ।
देशले भयंकर प्रगति ग–यो, परिवर्तन पनि हुनु विधि भयो, तर बर्षेनी रित्ता निधारहरु बढेको बढ्यै भए । आफ्नो परिवार, आफ्नो गाँउ, आफ्नो देशमा चाडबाड मात्र रहर नभएको होला र ! तर देशमा यति परिवर्तन भइसक्यो कि २ गाँस खान, छोराछोरी पढाउन, बा–आमाको उपचार गर्न देशमा काम पाउन छोड्यो ।
ऋण–धन गरेर राजधानीमा पढ्न आउने र दशैमा घर जाने उ बेलाको दशैं जस्तो रहेनन् अचेलका दशै ! ऋण–धन गरेर जसरी भएपनि विदेश जाने र २ पैसा कमाउने अचेलका दशैले शहरलाई त्यति फरक पारेनन् तर, गाँउ–घरलाई भने शुन्य नै पारे । सयौं होइनन् हजारौं युवाहरुले देशमा दशै मनाउन नपाएको बर्षौं भयो ।
मोबाइलको स्क्रिनमा भिडियो कल गरेर टिका लगाउँदा बा–आमाको हात थरथरी काँपेका छन् । अर्को देशमा भएको सन्तानलाई प्रविधिले दिएको सुविधाले देखेर रुन चाँही पाइने तर छुन नपाइने दशैहरु कति मनाउनु ? भैगो थोरै खाँउ, आफ्नै देश जाउ भनेर जोस्सिन मन भएका कति छन् कति । पाउन गाह्रो काम, पाएपनि कमाइने थोरै दाम र महंगीले २ छाक पनि पेटभरी खान नसकिने मामका अगाडि जाबो दशैको के मूल्य भयो र !
पुलिस सिपाहीको जागिर खाने साथी १६÷१७ हजार तलब थाप्छ, कोठाभाडा तिर्ला, खाना खाजा आँफू पनि खाला, परिवारलाई पनि खुवाउला, छोराछोरी पढाउला, बा–आमालाई पाल्ला, लुगाफाटो लगाउला, आकाशिएको बजार भाउले निधारमा मुजा पर्ने गरी चिन्तित पार्ला, त्यसमाथि तरकबारीको भाउ, हिजो प्याज काट्दा आँशु आउथ्यो आज प्याज किन्दा पनि आँशु आउँछ ।
जागिर पाएका पनि सानो तहका कर्मचारी प्रहरी, सेनाका जवानहरु मजदुर, किसान, ज्यालादारी सडक पेटिमा सानो व्यापार गरी जीवन निर्वाह गर्ने, वास्तविक सुकुम्बासी आदिको मासिक आयस्रोतले के खान पूग्छ ? कस्तो लगाउन सक्छ ? कुन स्कुलमा बाल बचेरा पढाउन सक्छ ? कसरी रमाएर दशै मनाउन सक्छ ?
केही दशक अघिसम्म यो देशका प्रायः सबै राजनीतिज्ञको दशै यिनकै जस्तै थियो । यस्तो दशैँ हुनु हुँदैन, परिर्वतन हुनुपर्छ भनेर २० औँ बर्ष गरीबको दशै परिर्वतन गर्न जेल, नेल, संघर्ष गरेर फाइनल्ली दशै पनि परिर्वतन भयो । तर आम नागरिकको होइन, उहाँहरुको देशको दशै हिजोको जस्तो रहेन । किनभने दशै मान्न सबै जना घरमा छैनन् ।
सानो चिटिक्कको स्रोत साधन सम्पन्न देशका लाखाँै नागरिक कुनै दिन राम्रो दशैं मनाउलान् भनेर दशै छोडेर गएका छन् । केही मुठ्ठीमा मानिसहरुले यति सुन्दर शान्त देशमा ३६५ दिननै दशै मनाइदिनाले गरीब जनताले बर्षमा १ दिन पनि ढुक्कले दशै मनाउन सकेका छैनन् ।
तर जुन दिन ३६५ दिन नै दशै मनाउनेहरुले आफ्नो पूरानो दशै सम्झिने छन् त्यस दिन बर्षको एक दिन दशै मनाउन कसैले आफ्नो प्यारो परिवार गाँउ अनि देश छोड्नै पर्दैन । आफ्ना प्रियजनसँग टाढा रहेर विदेशमा दशै मनाउन बाध्य आदरणीय मित्रजनहरु, देशमै दशै मनाउने दिन कसो नआउला !
न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३८ औं एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएका छन् :
१. प्रहरीबाटै असुरक्षित भएको भन्दै गोप्य भिडियो सन्देश
काठमाडौं । प्रहरीको खोजी सूचिमा रहेका एक व्यक्तिले प्रहरीले आँफूलाई जतिबेला पनि इन्काउन्टर गर्न सक्ने भन्दै गोप्य स्थानबाट भिडियो रेर्कड गरी सुरक्षाको माग गरेका छन् । लामो समयदेखि प्रहरीलाई सूचना दिने काम गरेको दाबी गर्ने यी व्यक्तिले आँफू प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेको र आँफू प्रहरीको नियन्त्रणमा आउनुसाथ प्रहरी भित्रका केही प्रहरी निरीक्षकहरुको धन्दाको पोल खुल्ने डरले उनीहरुले आफ्नो इन्काउन्टर गर्न लागिपरेको दाबी गरेका छन् ।
२. कर्मचारीहरुको मिलेमत्तोमा तीन करोडको योजनामा डेढ करोड सीधै गोजीमा !
मुगु । मुगु जिल्लाको एक सडकमा मर्मत योजनामा करीब डेढ करोड भन्दा पनि बढी घोटाला भएको छ । गमगढी–नग्मा सडकखण्ड छायाँनाथ रारा नगरपालिका–८ झ्यारी खोलादेखि गमगढी शुन्य विन्दुसम्मको सडक मर्मतका लागि आर्थिक वर्ष २०७४÷७५ मा सडक डिभिजन कार्यालय जुम्लामा ३ करोड २३ लाख ९ हजारमा सम्झौता गरेको रकममा डेढ करोड रुपैयाँ घोटला भएको हो । यो सडक बनाउने जिम्मा पाएको प्रमुख ठेकेदार कार्मा नोर्वेल तामाङको धोधुंगा कन्ट्रक्सन प्रालिले ३ करोडमा लिएको ठेका सब ठेकेदार हृदयसिंह दमाईलाई डेढ करोड मात्र दिए । सब ठेकेदारले आफूले पाएका बजेटमा काम पनि सम्पन्न गरे ।
३. एक व्यक्तिले एम्बुलेन्स रोकिदिदा बिरामीको बाटोमै ज्यान गयो
नुवकोट । एम्बुलेन्सलाई एक व्यापारी युवाले जबरजस्ती रोकेकै कारण नुवाकोटमा एक महिलाको उपचार नपाएर बाटोमै ज्यान गएको छ । रसुवाको उत्तरगया गाउँपालिका–२ की २५ वर्षीया ईन्द्रकुमारी तामाङलाई बोकेर आएको एम्बुलेन्सले आफ्नो मोटरसाइकललाई छोएको भन्दै मंगलबार साँझ एक स्थानीय युवाले अवरोध गरेका थिए । जसको कारण तामाङको अस्पताल नपुग्दै ज्यान गएको छ ।

